Showing posts with label news-nepal. Show all posts
Showing posts with label news-nepal. Show all posts

‘हेलो सरकार’मा आएका गुनासा सम्वोधन नभएको प्रधानमन्त्रीको गुनासो

    काठमाडौं/मंसिर ५ -प्रधानमन्त्री बाबुराम भट्टराईले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी संस्थानका महाप्रबन्धक तथा मन्त्रालयका सचिवहरुलाई जनगुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा सोमबार विभिन्न २२ वटा विभाग तथा सम्बन्धित मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री भट्टराईले वर्तमान सरकारप्रति नेपाली जनताको ठूलो अपेक्षा रहेकोले त्यहि अनुरुप काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्रीले 'हेलो सरकार' एउटा सुरुवात मात्रै भएको भन्दै यसलाई सबैले गम्भीर ढंगले लिनु पर्ने बताए । उनले 'हेलो सरकार' कक्षमा आउने हरेक गुनासोको तत्काल सम्बोधन गर्न निर्देशन दिँदै जनताको सेवालाई आफ्नो कर्तव्य र धर्म सम्झन आग्रह गरे ।
'हेलो सरकार'मा आएका गुनासाहरुको सम्बोधन जुन ढंगबाट हुनु पर्ने हो त्यो हुन नसकेको गुनासो आएको भन्दै प्रधानमन्त्री भट्टराईले अव निरन्तरतामा क्रम भंग गर्न आग्रह गरे  । जनताका गुनासाहरुको सम्बोधन पनि योजनाबद्ध ढंगबाट गर्नु पर्ने भन्दै उनले गुनासोको आधारमा तत्कालिन र दीर्घकालीन योजना बनाउन सचिव तथा महाप्रबन्धकहरुलाई निर्देशन दिए ।:ई-कान्तिपुर

मकालु एयरको जहाज दुर्घटना

     ताल्चा,मुगु/मंसिर ५ -मुगुको ताल्चा विमानस्थलमा सोमबार साँझ मकालु एयरको जहाज दुर्घटना भएको छ । दुर्घटनामा जहाजको अघिल्लो भाग जले पनि मानवीय क्षति भएन ।
नेपागन्जबाट साँझ ४ बजे ताल्चा विमानस्थल आएको विमान धावनमार्गबाट पल्टिएर बाहिर पुगेको छ । चालक तथा यात्रु भने तत्कालै जहाजबाट बाहिर निस्किएका थिए । चार्टर्ड उडानमा ताल्चा आएको विमानमा ६ यात्रु थिए ।
विमान चालक पीजे शाह सामान्य घाइते भएका छन् । उनको उपचारका लागि जिल्ला अस्पतालबाट चिकित्सक टोली ताल्चा आएको छ ।
ताल्चा विमानस्थलमा यसअघि तीनपटक जहाज दुर्घटना भएको थियो । धावन मार्ग फराकिलो नहुँदा अवतरणमा समस्या भएको विमान चालकहरुले पनि गुनासो गर्दै आएका थिए ।स्रोत:ई-कान्तिपुर

प्रधानमन्त्री निवासमा सहिद र घाइते परिवारको धर्ना

     काठमाडौं/५-मंसिर पटकपटक गरिएका सम्झौताको कार्यान्वयन हुनुपर्ने माग राख्दै सहिद परिवार तथा जनआन्दोलनका घाइते संयुक्त संघर्ष समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई घन्टे धर्ना दिएको छ ।

उनीहरुले सहिद घोषणा र घाइतेको उचित व्यवस्थापन गर्न आयोग गठन गर्नुपर्ने, राजनीतिक नियुक्तिमा सहिद परिवार तथा घाइतेको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, सहिद तथा घाइतेलाई दीर्घकालीन सेवासुविधा दिनुपर्ने, राहत प्रदान गर्नुपर्ने, उपचार खर्चको व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै धर्ना दिएका हुन् ।


प्रधानमन्त्री डा। बाबुराम भट्टराईले मागको सम्बोधन गर्ने भनिए पनि प्रधानमन्त्री धर्ना सुरु हुनु अघि नै बालुवाटारबाट बाहिरिएका थिए । उनीहरुले आफ्ना मागप्रति प्रधानमन्त्री गम्भिर नभएको आरोप लगाए । ऐतिहासिक जनआन्दोलन २०६२र०६३ सहिद परिवार तथा घाइते सरोकार समितिका अध्यक्ष मेघराज आचार्यले भने, ूमुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा घाइते तथा सहिद भएकालाई प्रधानमन्त्रीले समय नदिएर अपमान गरेका छन् ।:अर्घाखाची टाइम्स

देशभरका विमानस्थलको स्तरोन्नति गर्न मन्त्रीको निर्देशन

    काठमाडौं/५-मंसिर पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले देशभरका प्रमुख विमानस्थलको स्तरोन्नति गर्ने काम तत्काल अघि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।


यसका लागि नियमित बजेटबाट प्राप्त १ अर्ब ३२ करोड ९३ लाख र नपुग रकम एसियाली विकास बैंक ९एडीबी० तथा दातृ निकायबाट सहुलियत दरमा ऋण लिने तयारी मन्त्रालयले गरिरहेको उनले बताए ।


पोखरा विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्ने, गौतम बुद्ध विमानस्थलको क्षेत्रफल बढाउने र प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बारामा जग्गा अधिकरणको काम यसै वर्षभित्र सकाउने कार्यक्रम मन्त्रालयले तय गरेको छ ।


ूसुर्खेत विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न सरकारले अगाडि सारेको प्रस्ताव पनि तत्काल कार्यान्वयनमा ल्याइनेछ,ू विभागीय प्रमुखहरुसँग मन्त्री विष्टले भने, ूनीतिगतरूपमा कुनै बाधा व्यवधान भए त्यसलाई हल गरिनेछ ।ू


विष्टका अनुसार दाङ र धनगढी विमानस्थलको पनि स्तरोन्नति गरी रातिसमेत उडानरअवतरणको व्यवस्था मिलाउने योजना छ ।


कार्यक्रममा राज्यमन्त्री दिलीप महर्जनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अत्याधुनिकीकरण गर्न आवश्यक कामको योजना पेस गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।


मन्त्रालयका सचिव गणेशराज जोशीले केही काममा नीतिगतरुपमै समस्या भएकाले त्यसलाई हल गरेर अगाडि बढ्न सके मन्त्रालयले तय गरेको लक्ष्यमा पुग्न सकिने बताए ।:अर्घाखाची टाइम्स

अमिलो मन, मलिन अनुहार

    झापा/मंसिर ४ - 'जनयुद्ध' मा होमिएर दशक बिताएका माओवादी लडाकु मलिन अनुहार र अनिश्चिततासहित शिविर छाड्ने तयारीमा छन्। शनिबारदेखि सुरु पुनर्वर्गीकरणमा सहभागी इलाम चुलाचुलीस्थित प्रथम डिभिजन मुख्यालयका अधिकांश लडाकु भावी दैनिकी र योजनाबारे अन्योलग्रस्त छन्। 
२०६१ मा स्कुल पढ्दा पढदै 'नेताहरूबाट प्रभावित भएर' युद्धमा छिरेका संखुवासभाका छिरिङ शेर्पा शिविर छाड्ने दिन नजिकिँदा खिन्न छन्। 'ठूलो उद्देश्य लिएर पढ्दापढ्दै यता लागेको थिएँ,' २३ वर्षे लडाकुले मलिन स्वरमा भने 'अब मन अमिलो पारेर घर फर्कदैछु।'
तीन दिन अघिमात्रै शिविरमा नागरिकसँग कुरा गर्दा सेनामा जाने बताएका उनले शनिबार भने निर्णय बदलिसकेका थिए। 'स्वैच्छिक अवकाशमा जाने निर्णय लिनुमा पार्टी वा नेताको निर्देशन छैन,' उनले भने, 'के गरौं र कसो गरौं भइरहेको थियो, आमाले फोनमा ढाडस दिनुभो, अनि घरै जाने निर्णय गरें।'
खेतीपाती सम्हालेर खाऔंला भनी आमाले भनेको उद्धृत गर्दै छिरिङले भने, 'आमाले त्यति भनेपछि म घरै फर्किने अठोटमा छु।'
छिरिङजस्तै स्वैच्छिक अवकाश रोजेका दमक- १२ का रामकुमार लिम्बुले पहिलेझैं पार्टीलाई समय नदिने बताए। 'घर फर्केर के गर्ने भन्ने टंुगो छैन,' उनले भने, 'तर, पहिलेजस्तो पूरै समय पार्टीमा खट्दिनँ।'
रामकुमारकी २८ वर्षे पत्नी रमिला मिश्र पनि जनसेनामै छिन्। 'अवकाशमै जाने निश्चित भयो,' शनिबार बिहान डिभिजन मुख्यालय परिसरमा उनले नागरिकसँग भनिन्, 'अब अन्योल भनेको के गर्ने भन्ने मात्रै हो।'
आठ वर्षअघि माओवादी सेना बनेर उनी युद्धमा होमिएका थिए। पार्टी नै संसार हो भन्ने स्कुलिङ पाएका उनले उनले शिविर छाड्ने बेलामा 'अब सामान्य आस्थासम्म रहने' जानकारी दिए।
'जनयुद्ध' मा सात वर्ष बिताएका पाँचथर फँलैचा- १ का रामकुमार राई 'सँगै लडेका सहिद साथीको सपना अधुरै रहेकामा खेद जनाउँछन्। पत्नी, छोरीसहितको परिवार भएका उनलाई घर फर्केपछि के गर्ने भन्ने अन्योल छ। 'म ज्यादै निम्न वर्गको मान्छे, अब के गर्ने भन्ने अन्योल छ,' २७ वर्षे यी लडाकुले थपे, 'देश र जनतालाई मुक्ति दिने उद्देश्य पनि अधुरै रहेको जस्तो लागिरहेछ।':राजु अधिकारी/स्रोत-नागरिक न्यूज

ट्रिपर १५० मिटर तल खस्यो, चालक घाइते

धुन्चे(रसुवा)/कात्तिक २७- पासाङ ल्हामु मार्ग मर्मत प्रयोग भइआएको कालिका कन्ट्रक्सनको एक ट्रिपर आज बिहान दुर्घटना हुँदा त्यसका चालक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार घाइते हुने हेटौँडा निवासी अन्दाजी २३ वर्षीय नवराज लामा हुन्। उनको अवस्था गम्भीर रहेकाले काठमाडौँ लगिएको छ।
आज बिहान धुन्चे गाविसको वडा नं. ४ भीमली इलाकामा ना.१क २५६४ नम्बरको ट्रिपर सडकबाट १५० मिटर तल खसी दुर्घटना भएको र ट्रिपर घटनास्थलमा क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। रासस

हुनमानढोकामा किन जंगिए हमाल ? (भिडियो पनि )

काठमाडौं । तीन सन्तानकी आमाले आफुलाई पति दावी गरेपछि तनावमा परेका राजेश हमाल प्रहरी बोलबाटपछि बुधबार अपरान्ह काठमाण्डौं प्रहरी कार्यालय हनुमानढोका पुगे । फिल्मभन्दा बाहिर कहिलेपनि त्यस्तो क्रोधित मुद्रामा नदेखिएका हमाल हनुमानमा नराम्रोसँग जंगिए पत्नी दावी गर्ने बालकुमारीसँग ।
हमाल हनुमानढोको मुद्दा शाखामा पुग्दा पत्नी दावी गर्ने वालकुमारी अधिकारी सोफामा वसीरहेकी थिईन् । हमाल छिर्नेवित्तिकै वालकुमारी पनि उठिन् । ‘उहाँलाई टाढै राख्नुहोस’ भन्दै हमाल एक्कासि जङ्गिए । तपाईले के गर्न खोज्नुभएको यो ? हमालले आफ्नो आक्रोश पोखे वालकुमारी माथी । वालकुमारीले हमाललाई एक घन्टा समय दिनु, तपाई र म गोप्य ठाउँमा भेटेर कुरा गरौ न भन्दै आग्रह गरिन् । तर, हमालले यो आग्रहलाई मान्ने कुरै थिएन । हमाल केही समय जङ्गिएपछि प्रहरीले उनलाई अर्को कोठामा लग्यो ।

प्रहरीसँगको लामो छलफलपछि हमाल वाहिर निस्किए । ‘अव यो कुरालाई म के भन्नु ?- बाहिरिदै गर्दा हमालले संचारकर्मीसँग भने-उहाँ मानसिक सन्तुलन कमजोर भएको महिला हुनुहुन्छ भन्ने पुष्टि भैसक्यो, मैले आफ्नो सुरक्षाको माग गरें ।’
वालकुमारीका भाईलाई ‘सहयोग गरीदिनुभएकोमा धन्यवाद’ भनेका हमालले आफूले वालकुमारीको विरुद्ध कुनै कदम नचाल्ने वताए । उनले भने-’म उहाँको स्वास्थ्य लाभको कामना गर्दछु । मैले उहाँप्रति कुनै पुर्वाग्रही राखेको छैन । हनुमानढोकावाट निस्कने वेला एक महिला फ्यानलाई हमालले भनेका थिए-’सवै कुरा वन्नुहोस् तर चलचित्रको नायक चै नभन्नुहोस् है ।’ सेलिब्रेटी हुँदा प्राप्त सित्तैको बेइज्यतीप्रति हमालले कुण्ठा पोखे ।
‘बालकुमारी मानसिक रोगी’
राजेश हमाललाई आफ्नो श्रीमान् दावी गर्ने प्रहरी हवल्दार वालकुमारी अधिकारी मानसिक रोगी भएको उनका भाईले बताएका छन् । दिदी हनुमानढोका पुगेको थाहा पाएपछि चितवनबाट काठमाण्डौं आएका उनका भाई ढाकाराम अधिकारीले दिदी मानसिक रुपमा कमजोर रहेको र विगत २ वर्षदेखि औषधी खाईरहेको वताएका छन् ।
नेपाल प्रहरी अस्पतालमा अहिले उनको उपचार भईरहेको छ । भाई ढाकारामले उनको उपचारका सम्पूर्ण कागजपत्र प्रहरीलाई वुझाएका थिए । उनका श्रीमान् कृष्णवहादुर राना पनि प्रहरी पेशामा नै कार्यरत रहेका छन् । कृष्ण र वालकुमारीको विहे भएको १० वर्ष भएको छ । वालकुमारी १७ वर्षदेखि प्रहरीमा कार्यरत रहेकी छिन् । दुई बर्षदेखि बिरामी उनले औषधी खान छोडेकाले पनि अहिले उनको रोग वल्भिmएको भाइले बताए ।
चितवनवाट भागेर काठमाण्डौ आएकी बालकुमारीले हनुमानढोका पुगेर हमालविरुद्ध उजुरी हालेकी थिईन् । आइतवारदेखि सुरु भएको हमालको बिहे चर्चा मानसिक रोगीको लहडमात्रै भएको पुष्टी हुँदै अन्त्य भएको छ ।स्रोत:अनलाइन खबर 
हेर्नुहोस् भिडियो:-

कर्मचारी युनियनको दबाबले प्राधिकरण प्रमुखको राजीनामा

     काठमाडौ/कार्तिक २५ - खुला प्रतिस्पर्धाबाट करिब तीन महिनाअघि विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त दीपेन्द्रनाथ शर्माले बुधबार पदबाट राजीनामा दिएका छन् । प्राधिकरणको आधिकारिक ट्रेड युनियनको निर्वाचनको विषयमा दबाब बढेपछि उनले राजीनामा दिएका हुन् ।
प्राधिकरणका अध्यक्ष समेत रहेका ऊर्जासचिव बालानन्द पौडेलको कार्यकक्षमा राजीनामा दर्ता गराए पनि स्वीकृत भएको छैन । उनले राजीनामा दर्ता गराएपछि प्राधिकरणकै महाप्रबन्धक रामेश्वर यादवलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको छ । 'कार्यकारी निर्देशक शर्मा हाजिर नभएसम्म यहाँलाई निमित्त नियुक्त गरिएको' बेहोराको पत्र यादवलाई दिइएको छ ।
माओवादी समर्थित ट्रेड युनियनले निर्वाचन गराउन नहुने र कांग्रेस एमाले समर्थित युनियनले गराउनुपर्ने दबाब दिएपछि उनले काम गर्न नसकिने भन्दै राजीनामा दिएको प्राधिकरण स्रोतले बतायो ।
हाल धनकुटामा रहेका ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले राजधानी फर्केर शर्मासँग कुरा गरेपछि राजीनामाबारे कारबाही अगाडि बढ्ने बताए । 'उहाँले राजीनामा दिए नदिएको थाहा हुन सकेन,' उनले टेलिफोनामा भने, 'त्यसैले पूरै विषय थाहा नभएको हुँदा अहिले केही भन्न सकिन्न ।' शर्मासँग भने सम्पर्क हुन सकेको छैन । सचिव पौडेलले भने राजीनामा नदिएको बरु शर्मा बिदामा बसेको प्रतिक्रिया दिएका छन् ।
प्राधिकरणमा आधिकारिक ट्रेड युनियनका लागि शनिबार हुन लागेको निर्वाचन स्थगित गर्न माओवादी सम्बद्ध युनियनले दबाब दिइरहेको थियो । तर कांग्रेस र एमालेसम्बद्ध युनियनचाहिँ घोषित मितिमै निर्वाचन गराउनुपर्ने माग गरिरहेका थिए । दोहोरो दबाबका कारण निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थिएन । कांग्रेस र एमालेसम्बद्ध कर्मचारी युनियनले बुधबारसम्म निर्वाचन कार्यक्रम सार्वजनिक गर्न अल्टिमेटम दिँदै बिहीबारदेखि कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकको कार्यकक्ष घेराउ गरेका थिए ।
अर्कोतिर माओवादी युनियनले चाहिँ बिहीबार निर्वाचन स्थगितको निर्णय नगरे शुक्रबारदेखि कार्यालय बन्दलगायत विरोध कार्यक्रम घोषणा गरेको थियो । 'असल र भलाद्मी स्वभावका शर्माले फोहोरी राजनीतिबाट बिरक्तिएर राजीनामा गरेका हुन्,' स्रोतले भन्यो । एक महिनाअघि निर्वाचनको मिति घोषणा गर्दा माओवादी युनियनले विरोध गरेको थिएन । तर कांग्रेस र एमालेसम्बद्ध युनियनबीच प्रतिस्पर्धा हुने र आफू तेस्रो स्थानमा पुग्ने निश्चित ठानेर माओवादी युनियन निर्वाचन स्थगित गराउन लागिपरेको थियो ।
मन्त्री बोगटीले भने सहमतिको बनाएर अघि बढ्नु मात्र भनेको बताए । 'निर्वाचन स्थगित गराउन दबाब दिएको होइन,' उनले थपे, 'मुलुक सहमतिको दिशामा अघि बढिरहेको बेला यहाँ पनि सहमति गराउनुस् भनेको हुँ ।' आफूले नयाँ ढंगले प्राधिकरण सुधारको पहल गर्ने शर्माको कामलाई सकारात्मक रूपमा लिएको उनले बताए ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सहसचिव रहेका ४२ वर्षीय शर्माले प्राधिकरणको नेतृत्व लिएपछि चुहावट नियन्त्रणका साथै प्राधिकरणको आर्थिक अनियमितता नियन्त्रण गर्न प्रयास गरिरहेका थिए । उनको पालामा उद्योग क्षेत्रमा भएको चुहावटमा कारबाही गरी करिब १० करोड रुपैयाँ असुल गराएका थिए । यस प्रकरणमा ठूला उद्योग समेत कारबाहीमा परेका थिए । 'प्राधिकरणमा सुधार गरिछा््ने अठोट लिएर उनी प्रयास गरिरहेका थिए,' एक उच्च अधिकृतले भने, 'तर खान पल्केको प्राधिकरणको समूह उनलाई असहयोग गरिरहेको थियो ।'
सरकारी कार्यालय र औद्योगिक क्षेत्रको बक्यौता असुलीमा पनि उनले सक्रियता देखाएका थिए ।
जसबाट करिब ५० करोड रुपैयाँ असुलसमेत भइसकेको छ ।
उनले कर्मचारीको कार्यप्रगतिका आधारमा सरुवा बढुवाको तालिका समेत तयार पारेका थिए । तर सबै काममा युनियनहरूको हस्तक्षेप हुने र केही उच्च अधिकारीले पनि त्यसलाई सघाउन थालेपछि उनी बिरक्तिएका थिए ।
उनले विद्यु्त् प्राधिकरणको साढे २७ अर्ब रुपैयाँको सञ्चित नोक्सानी अपलेखन लगायत सरकारले दिने ऋणको ब्याजदर घटाउन समेत पहल गरेका थिए । जसमा अर्थ मन्त्रालयले पनि नीतिगत सहमति जनाएको थियो ।
पूर्वमन्त्री गोकर्ण बिष्टको पहलमा विज्ञ समूहले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शर्माले प्राधिकरणको अतिक्रमित जग्गा फिर्ता लिने कामलाई पनि अगाडि बढाएका थिए । प्राधिकरणको करिब १४ सय रोपनी जग्गा प्रभावशाली व्यापारी, प्राधिकरणकै कर्मचारी र सर्वसाधारणले कब्जा गरेका छन् । 'यी सबै प्रक्रियामा चित्त नबुझाउनेहरूको समूहले विभिन्न माध्यमबाट चलखेल गरेर उनलाई काम गर्न अप्ठेरो पारेका थिए,' प्राधिकरण स्रोतले भन्यो । शर्मा निकटस्थ स्रोतका अनुसार उनले राजीनामा फिर्ता लिने सम्भावना कम छ ।स्रोत:ई-कान्तिपुर 

भिओआइपीमा मुछिएका आइएसपीलाई उन्मुक्तिको तयारी

     काठमाडौं/कात्तिक २५- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले खारेज गर्न निर्देशन दिएका आधा दर्जन इन्टरनेट सेवा प्रदायकमाथि दूरसञ्चार प्राधिकरणले बिनाकारबाही उन्मुक्ति दिने तयारी गरेको छ। 


भिओआइपीका माध्यमबाट कल बाइपास गरेका कारण सिआइबीले ग्लोबल, चेरीवर्ल्ड, नेटप्लस, आइप्लसलगायतका आइएसपीलाई खारेज गर्न आग्रह गरेको थियो। प्राधिकरणले भने तीन महिनादेखि अनुसन्धान भइरहेको भन्दै कारबाही नगरी छाड्ने तयारी गरेको हो। 
प्राधिकरण सञ्चालक समितिले केही आइएसपी सञ्चालकलाई बोर्ड बैठकमै बोलाएर छलफल गरेका थिए। त्यसपछि यो विषयमाथि अनुसन्धान सुस्त बनाइएको छ।
ग्लोबल नेटले भिओआइपीमार्फत् कल बाइपास गर्दा टेलिकमलाई ९५ करोड रुपैयाँ घाटा पुगेको छ। टेलिकमले ग्लोबलसँग यसको क्षतिपूर्ति तिराउन प्राधिकरणसँग तीन महिनाअघि नै माग गरेको थियो।
प्राधिकरणले बिवादास्पद आइएसपी चेरीवर्ल्डका कानुनी सल्लाहकारलाइ बोर्ड बैठकमै राखेर छलफल गरेपछि कारबाहीबाट पछाडि हटेको हो। 'यो विषय अनुसन्धानकै क्रममा छ, त्यसो हुँदा टिप्पणी नगरौं,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने।
प्राधिकरणले यो मुद्दाका विषयमा अध्ययन गरिरहेको भन्दै प्रक्रिया लम्ब्याइरहेको छ। यसले गर्दा अहिले अवैध भिओआइपी कल बाइपास बढिरहेको छ। जसका कारण विदेशबाट नेपालमा कल गर्नेले गुणस्तर र सस्तो दरमा पाइरहेका छैनन्। अवैध भिओआइपीबाट आएको कलबाट रिसिभ गर्नेले स्पष्टसँग आवाज सुन्न पनि सक्दैनन्।
सिआइबीले भिओआइपीमा संलग्न भएको प्रमाणसमेत फेला पारेर कारबाहीका लागि प्राधिकरणसँग आग्रह गरेको हो। दूरसञ्चार र इन्टरनेटसम्बन्धी मुद्दाको कारबाही गर्ने निकाय प्राधिकरण हो। प्रमाण भेटिसकेपछि पनि प्राधिकरणले आइएसपीलाई कारबाही नगर्नुलाई सञ्चार मन्त्रालयका अधिकारीहरूले आश्चर्यको रूपमा लिएका छन्।
ग्लोबल नेट सञ्चालन गर्ने भोलाकिशोर डंगोल अहिले पनि फरार छन्। उनले हङकङ बसेर यो व्यवसाय सञ्चालन गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्राधिकरणले लाइसेन्स शुल्क प्राप्त हुने भएपछि इन्टरनेट सेवाको लाइसेन्स जथाभावी वितरण गरेकोमा सिआइबीले पटक-पटक आपत्ति जनाइरहेको छ। बन्दै गर्न आग्रह गरिएको कम्पनीलाई समेत प्राधिकरणले अनुसन्धानको नाममा लामो समयसम्म अड्काएर राखेपछि सिआइबीका अधिकारीहरू पनि प्राधिकरणसँग रुष्ट छन्।
सिआइबीले त्यतिखेरै खारेज गर्न भनेको कम्पनी ग्लोबलको ब्यान्डविथ (इन्टरनेट गति) घटाएर ५ सय १२ केबिपिएसमा सीमित गरिएको थियो। अहिले यही ब्यान्डविथको भरमा कम्पनी चलिरहेको छ।
ग्लोबल र चेरीवर्ल्डलाई खारेज गर्न प्राधिकरणसँग पर्याप्त कानुनी आधार छन्। ग्लोबलले ग्राहक संख्यालगायत विवरणसमेत प्राधिकरणलाई अहिलेसम्म दिएको छैन। चेरीवर्ल्डले भने ग्राहक १ सय ७० रहेको जानकारी दिएको छ। प्राधिकरणका अधिकारीहरू आइएसपी टिक्नका लागि कम्तिमा १ हजार ग्राहक हुनुपर्ने बताउँछन्। सिआइबीले १ हजारभन्दा थोरै ग्राहक हुने आइएसपीलाई शंकाको घेरामा राखेको छ।
टेलिकमले ग्लोबलसँग ९५ करोड क्षतिपूर्ति दाबी गरे पनि चेरीवर्ल्डसँग अहिलेसम्म दाबी गरिसकेको छैन। 'चेरीवर्ल्डसँग टेलिकमले दाबी नगरेकाले पनि अनुसन्धान ढिला भएको हो,' अनुसन्धानमा संलग्न प्राधिकरणका एक अधिकारीले भने।
चेरीवर्ल्डले कल बाइपास गर्दा टेलिकमलाई भएको आर्थिक नोक्सानीको विवरण प्राधिकरणले मागेको छ। तर, अहिलेसम्म टेलिकमले यो विवरण दिएको छैन।
ग्लोबल नेट, चेरीवर्ल्डलगायत भिओआइपी कलबाइपासमा संलग्न कम्पनीले गर्दा राजस्वमा भएको नोक्सानीबारे राजस्व अनुसन्धान विभागले कारबाही सुरु गरेको छ। विभागको प्रारम्भिक अनुमानअनुसार ग्लोबलले मात्र २० करोड बराबरको राजस्व चुहावट गरेको छ। 
कारबाही गर्ने निकाय दूरसञ्चार प्राधिकरणले भने लाइसेन्स खारेज नगरी नियमित सञ्चालन गर्न दिइरहेपछि प्राधिकरणकै अन्य अधिकारीहरूले सञ्चालक समितिका पदाधिकारीको नियतमा 'शंका' गरेका छन्।स्रोत;नागरिक न्यूज

डोटीमा जिप खस्यो,कम्तीमा चार जनाको मृत्यु

    डडेल्धुरा/कार्तिक २५ - डडेल्धुराबाट धनगढी जाँदै गरेको जिप डोटीको छतिवन गाविसमा दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । यद्यपी घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । स्थानीयले घट्नास्थलमा चार जनाको शव भेटिएको जनाएका छन् ।
प्रहरीकमा अनुसार दुई महिला दुई पुरुषको शव फेला परेको छ । से १ ज ३४१ नम्वरको जिप भिमदत्त राजमार्ग अन्तर्गत डोटीको छतिवन ९ को रुपसकाडा  दुर्घटना भएको हो । जीप सडकबाट झण्डै ६ सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ । । मृतकहरुको सनाखत हुन नसकेको घटना स्थलबाट प्रहरी नायव निरीक्षक धर्मराज अवस्थीले जानकारी दिएका छन् । अवस्थीका अनुसार दुर्घटना बिहीबार राति नै भएको हुनसक्ने र दिउँसो मात्रै स्थानीय बासिन्दाहरुले देखेपछि जानकारी प्राप्त भएको हो ।स्रोत:DR. पन्त/ई-कान्तिपुर 

कमाउन परदेश गएका पतिलाई 'धोका'

'मोबाइल, फेसबुकबाट चिनापर्ची बढाएर धोका दिने महिला बढ्दो' 
       विराटनगर/कात्तिक २५- परदेशबाट फुरुंग हुँदै घर फर्किएका मोरङ, राजघाट-७ का पूर्णबहादुर गुरुङको खुसी तीन दिन राम्रोसँग टिकेन। वर्षौंपछि भेट भएकी श्रीमती परपुरुषसँग लागेको घटनाले उनलाई दुःखी तुल्यायो। 

श्रीमती अर्कैसँग लहसिएपछि दुई-चार वर्ष खाडी मुलुकमा काम गरेर धन कमाएका गुरुङ निराश भएका छन्। 'श्रीमतीलाई सुखसयलमै राखेको थिएँ,' प्रहरी कार्यालयमा पत्नीको हुलियाबारे जाहेरी दिन आउँदा उनी भावुक भए, 'लटिपटी सबै लिएर गई।' विदेशबाट पटक-पटक पठाएको तीन लाखभन्दा बढी रकम श्रीमतीले अनाश्यक खर्च गरेको उनले बताए।
दुई सन्तानकी आमा दिलकुमारीले त्यो रकम मोजमस्तीमै खर्च गरिन्। पूर्णबहादुरका अनुसार ३० वर्षीया दिलकुमारी उर्लाबारी-४ का आफूभन्दा झन्डै ९ वर्ष कान्छा सोमनाथ ढुंगेलसँग 'पोइल' गइन्। गत वैशाख महिनायता राजघाट-७ मा यस्तै तीन घटना भए।
दाजु विदेशिएको मौका छोपी खड्का थरका एक व्यक्तिले एकाघरकी भाउजुलाई भगाए। सोही गाउँमा चार वर्षदेखि श्रीमान् विदेश रहेकै बेला एक महिलाले परपुरुषसँगको सम्पर्कबाट बच्चा जन्माइन्।
४० वर्षीया मगर थरकी ती महिलाले दमक बस्ने एक युवकसँगको सम्बन्धबाट बच्चा जन्मिएको स्वीकार गरेपछि उनलाई उक्त व्यक्तिको जिम्मा लगाइएको राजघाटका बलबहादुर घिसिङले बताए। अमरदह-४ का मिलन गुरुङ बहराइन गएका मात्र के थिए, छिमेकी दयाराम दाहालले उनकी श्रीमती मीनासँग 'हिमचिम' बढाउन सुरु गरे। तीनवर्षे काखे छोरीलाई छाडेर मीनाले दाहालसँग बहुविवाह गरिन्।
प्रहरीको सहयोगमा श्रीमतीले लगेको गरगहना र रकमबापत १ लाख ६० हजार लिएर गुरुङले चित्त बुझाए। अनैतिक सम्बन्ध गाउँभरि फैलिएपछि बाध्य भएर २२ वर्षीय दाहालले आफूभन्दा आठ वर्ष जेठी मीनालाई श्रीमती स्वीकार्न बाध्य भए।
पूर्वी मोरङका स्थानीय प्रहरी कार्यालयमा श्रीमान्-श्रीमतीका 'संयोगान्त क्षण टुंगिए'का घटनाको उजुरी बढेको छ। प्रहरीका अनुसार वैदेशिक रोजगारमा गएका युवा सबैभन्दा बढी आफ्नै श्रीमतीबाट प्रताडित हुने गरेका छन्।
खाडी गएका पुरुषले मुलुकमा 'रेमिट्यान्स' भिœयाए पनि पारिवारिक विखण्डन बढ्दै गएको छ। 'शारीरिक आवश्यकता पूरा गर्न परपुरुषसँग लागेर श्रीमान्लाई छाड्ने गरेको पाइयो,' इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक श्यामसारु मगरले भने, ' श्रीमान्ले पठाएको पैसा परपुरुषसँग मोजमस्ती गरेर सिध्याएको उदाहरण धेरै छन्।'
श्रीमान् विदेशिएको केही समयमै परपुरुषसँग लाग्ने र श्रीमान्ले पठाएको रकम लिएर हिँड्ने गरेका कारण विदेश गएका पुरुष पीडित बनेको उजुरी धेरै आउने गरेको मगरले बताए। 'मोबाइल सजिलो माध्यम बनेको छ,' मगरले भने, 'इमेल, फेसबुकको माध्यमबाट 'कन्ट्याक्ट' मिलाएर विदेश गएका श्रीमान्लाई धोका दिने महिलाको संख्या दिनप्रतिदिन बढेको छ।' यस्ता घटना यौन आवश्यकता पूर्ति गर्नकै निम्ति भएका प्रहरीले जनाएको छ।
'अवैध' सम्बन्ध पर्दाफास भएपछि धेरैजसोले बिहे गर्ने गरेका छन्। मगरका अनुसार गाउँमा 'डिभोर्स' का घटना सामान्य बन्न थालेका छन्। 'छलफलपछि कतिपयको मुद्दा यहीँ टुंग्याउँछौं,' मगरले भने, 'नमिलेका मुद्दा चाहिँ अदालततिरै पठाउने गरेका छौं।'

मोरङ जिल्ला अदालतमा आर्थिक वर्ष २०६७-६८ मा २ सय ८१ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। जसमध्ये ६० प्रतिशतभन्दा बढी विदेशबाट फर्किएका युवाले श्रीमतीसँग पारपाचुके गर्न निवेदन दिएका मुद्दा छन्।खिलानाथ ढकाल, साभार:नागरिक न्यूज 

पर्यटकीय क्षेत्रमा सीसीटीभी राखिने

   पोखरा/पर्यटकीय गतिविधि तीव्र रहने पोखराको बैदाम क्षेत्रमा सीसीटीभी जडान गरिने कार्यको प्रारम्भ भएको छ ।
पोखराको पर्यटन व्यवसायलाई सुरक्षामैत्री बनाउन कास्की प्रहरीले सो अभियान अगाडि ल्याएकोमा स्थानीय पर्यटन व्यवसायीले त्यसलाई स्वीकार गर्दै सीसीटीभी जडान कार्यलाई अगाडि बढाएका छन् ।
कास्कीको बैदाम क्षेत्रमा मात्र १६ वटा सीसीटीभी जडान गरिने छ । सो टीभी जडान गर्नका लागि अन्य उपकरणसहित १९ लाख रूपियाँका क्यामरा आवश्यक रहनेछन् । सो रकम स्थानीय पर्यटन व्यवसायी एवं सङ्घसंस्थाबाट उपलब्ध हुन थालेको छ ।
हालसम्म झण्डै रु आठ लाख सङ्कलन भइसकेको छ । नागरिकबाट रकम सङ्कलन भएपछि प्रहरी प्रधानकार्यालयले सीसी क्यामरा जडानका लागि आवश्यक पर्ने कन्ट्रोल कक्षको निर्माणका लागि रु दुई लाख प्रदान गरेको छ ।
झण्डै रु. तीन लाख ५० हजार लागतमा निर्माण हुन लागेको सो कक्षको सोमबार एक समारोहबीच कास्कीका प्रहरी प्रमुख यादवराज खनालले शिलान्यास गर्नुभयो ।
उक्त कक्ष निर्माणका लागि प्रहरी प्रधान कार्यालयबाट रु. दुई लाख प्राप्त भइसकेको र बाँकी रकम पनि आउने बताउँदै करिब दुई महिनाभित्र निर्माण सम्पन्न गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा सीसीटीभी जडान संयोजक टीकाराम सापकोटाले सीसीटीभी जडानले लेकसाइडको सुरक्षा व्यवस्था प्रभावकारी हुने विश्वास व्यक्त गर्दै लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म जडान गरिने तयारी गरिएको बताउनुभयो ।स्रोत:अनलाइन खबर

इजरायल पठाउन म्यानपावरले साढे ६ लाखसम्म उठाएको खुलासा

  • ६ लाख ५० हजार रुपैयाँसम्म उठाएको खुलासा
  •  पैसा उठाउने दुई व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ः महानिर्देशक
  •   इजरायल पुनः बन्द हुने हल्ला निराधार ः विभाग
  •  व्यवसायीले २ हजार ९ सय ७५ अमेरिकी डलर लागत खर्च हुनुपर्ने बताए पनि बोर्डद्वारा २ हजार ९ सय २५ डलर लागत खर्च प्रस्ताव
  •  राजधानीबाहिर पनि एजेन्टमार्फत रकम उठाउने गिरोह सक्रिय

काठमाडौं/कात्तिक  २१
      वैदेशिक रोजगार विभागले नेपाली कामदार इजरायल पठाउनका लागि सूचीकृत म्यानपावरहरूको नतिजा प्रकाशित नगर्दै व्यवसायीहरूले अनधिकृत रूपमा कामदारबाट रकम उठाउन थालेका छन् ।
कामदार इजरायल पठाउन निवेदन दिएका २ सय ४५ म्यानपावरलाई विभागले यसै साता सूचीकृत गर्ने तयारी गरेको बेला व्यवसायीहरूले २ लाखदेखि ६ लाख ५० हजारसम्म उठाउने गरेको पाइएको छ । म्यानपावर कम्पनी र एजेन्टहरूले इजरायल पठाइदिने भन्दै ठूलो रकम उठाइरहेको विभाग स्रोतले बताएको छ । म्यानपावर कम्पनी र कन्सल्टेन्सीहरूले ‘इजरायल खुल्यो’ भन्दै विभिन्न पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरी रकम लिन थालेका हुन् ।
हिब्रु भाषा र केयरगिभरको तालिम दिने भन्दै विज्ञापन गरेका तालिम केन्द्रले नै इजरायल पठाइदिने भन्दै पेस्की रकम उठाएको पाइएको छ । ‘वर्किङ भिसा’मा नभए ‘भिजिट भिसा’मा पठाई इजरायलमा काम खोजी दिने आश्वासनमा रकम उठाइरहेको एक पीडितले कारोबारलाई बताए । झापाको भद्रपुरका कपिल ढुंगेलले आफूले एक म्यानपावर कम्पनीका एजेन्ट रवि थापालाई पेस्कीस्वरूप २ लाख रुपैयाँ बुझाएको बताए । आफूले मात्र नभई आफ्ना साथीहरूले पनि इजरायलका लागि रकम दिइसकेको उनले जानकारी दिए ।
विभागका नवनियुक्त महानिर्देशक पूर्णचन्द्र भट्टराईले इजरायलका विषयमा रकम उठाउने गरेको गुनासो आउन थालेको जानकारी दिए । उनले भने, “इजरायल पठाउने भन्दै पैसा उठाउने दुई व्यक्तिलाई पक्राउ गरी अनुसन्धानसमेत भइरहेको छ ।”
म्यानपावर कम्पनीको नाम सूचीकृत नहुँदै रकम उठाउने कार्य अवैधानिक भएको स्पष्ट पार्दै महानिर्देशक भट्टराईले रकम उठाउने जोकोहीलाई कारबाही गरिने बताए । यस्तै कार्यले यसअघि इजरायल बन्द भएको भन्दै उनले त्यसलाई दुर्घटनाको संज्ञा दिए । फेरि दुर्घटना भयो भने व्यवसायीका साथै मुलुकलाई नै हानि हुने उनको भनाइ छ । इजरायलका सम्बन्धमा सम्बन्धित मन्त्रालयले विज्ञप्ति जारी गरिसक्नुका साथै कार्यविधिसमेत तयार भएको भन्दै उनले रकम दिने र लिने दुवै कारबाहीको भागीदार हुने स्पष्ट पारे ।
इजरायल पठाउने भन्दै राजधानीबाहिर पनि एजेन्टमार्फत रकम उठाउने काम भइरहेको विभाग स्रोतले जनाएको छ । गोरखामा इजरायल पठाउने भन्दै रकम उठाउने एक व्यक्ति पक्राउ परिसकेको विभागले जानकारी गराएको छ ।
दुई वर्षअघि अनधिकृत तवरले रकम उठाएको भन्दै इजरायल सरकारले नेपाली कामदार लिन बन्द रोक लगाएको थियो । फेरि त्यस्तै भए स्वयं म्यानपावर व्यवसायीलाई नै असर पुग्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजूले बताए । म्यानपावर कम्पनी सूचीकृत नहुँदै रकम उठाउने कार्य गलत भएकाले यसप्रति विभागले निगरानी गर्नुपर्ने उनको भनाइ छ ।
कामदार इजरायल पठाउन दुई महिनाअघि पुनः खुला गरिएपछि श्रम तथा यातायात व्यवस्था मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, विभाग र व्यवसायीहरूबीच गत बुधबार लागत खर्चका विषयमा छलफल भएको थियो । छलफलमा व्यवसायीहरूले २ हजार ९ सय ७५ अमेरिकी डलर लागत खर्च हुनुपर्ने बताए पनि बोर्डले प्रधानमन्त्रीसमक्ष २ हजार ९ सय २५ डलर लागत खर्च प्रस्ताव गरिसकेको छ ।
यसैबीच विभागका महानिर्देशक भट्टराईले केही म्यानपावर कम्पनीले लागत खर्च कम भएको भन्दै इजरायल पुनः बन्द हुने हल्ला चलाएको जनाएको छ । हल्लाको पछाडि नलाग्न भट्टराईले आग्रह गरेका छन् ।प्रकटकुमार शिशिर/कारोबार दैनिक

वीरगन्ज महोत्सव पुसमा

    वीरगंज/कात्तिक २२ -खुला बजार तथा सञ्चारको सर्वसुलभताले गर्दा बर्सेनि हजारौँ उत्पादनहरू भित्रिएको र भित्रने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै छानामुनि अवलोकन गराउने उद्देश्यले बृहत् वीरगन्ज महोत्सव तथा प्रदर्शनी आयोजना हुने भएको छ ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घको मूल आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल सरकार उद्योग मन्त्रालय, लघु घरेलु तथा साना उद्योग विकास कोषसमेतको आयोजनामा वीरगन्जको आदर्शनगर फुटबल मैदानमा पौष ३ गतेदेखि ११ गतेसम्म चल्ने आइतबार यहाँ पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपाललगायत छिमेकी राष्ट्रहरूको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरूलाई एउटै थलोमा भेला गराई सरसामग्रीहरूको प्रत्यक्ष अवलोकन तथा जानकारी गराइने पत्रकार सम्मेलनमा बताइयो ।
विभिन्न औधोगिक, पर्यटन, कृषि, साना तथा लघु उद्यम, वित्तीय संस्थाहरूलगायतका उत्पादन तथा सेवाहरू समेत गरी एक सय ६० वटा स्टलहरू रहने महोत्सव तथा प्रदर्शनी करिब १८ हजार वर्ग मिटर क्षेत्रफलमा सञ्चालन हुने वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानीले जानकारी दिनुभयो ।
काठमाडौँपछिको व्यापार व्यवसाय बढी हुने र छिमेकी भारतसँग समेत सीमा जोडिएकाले विभिन्न समयमा आयोजना हुँदै आएका मेला महोत्सवमा भारतीयहरूको समेत बृहत् सहभागिता रहँदै आएको जानकारी दिँदै सङ्घका अध्यक्ष टेमानीले ५० वटा विदेशी स्टल रहने बताउनुभयो ।स्रोत:अनलाइन खबर 

७ मन्त्री र १९ राज्यमन्त्री थपिए :मन्त्रीको नालीबेलीसहित

     काठमाडौं/कात्तिक 22- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज आफ्नो नेतृत्वको मन्त्रिपरिषद् छैठौँपटक विस्तार गर्नुभएको छ । माओवादी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराईले आफ्नै पार्टीका ६ र साना दलका तर्फबाट १ गरी सात मन्त्री र १९ राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रधानमन्त्रीले पहिले मन्त्रीहरुको राष्ट्रपतिको उपश्थितिमा राष्ट्रपति भवन शीतलनिवासमा र राज्यमन्त्रीहरुको आफ्नै कार्याकक्ष सिंहदरबारमा पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

प्रधानमन्त्री भट्टराईले माओवादीबाट शिक्षामा स्थायी समिति सदस्य एवं प्रवक्ता दीनानाथ शर्मा, पोलिट्ब्युरो सदस्यद्वय लोकेन्द्र विष्ट मगर र भीमप्रसाद गौतमलाई क्रमशः पर्यटन र भूमिसुधार, सामान्य प्रशासनमा केन्द्रीय सदस्य रामकुमार यादव, शान्तिमा सत्या पहाडी र विज्ञान तथा प्रविधिमा कल्पना धमलालाई नियुक्त गर्नुभएको हो । साना दलका तर्फबाट भने सदभावना आनन्दीदेवीकी नेतृ सरिता गिरीलाई श्रम मन्त्री बनाइएको छ । शरतसिह भण्डारीले विवादमा परेर राजीनामा दिएपछि खाली रहेको फोरम लोकतान्त्रिकको भागमा परेको रक्षा मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्न बताइएको थियो । तर, सो पार्टीबाट नाम नआएकाले आज सपथ नगराइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
माओवादीबाट राज्यमन्त्रीको सपथ लिनेमा सूर्यमान दोङ उर्जा, लीला भण्डारी शिक्षा, धनश्याम यादव स्थानीय विकास, दिलिप महर्जन पर्यटन, गोपी अछामी युवा तथा खेलकुद, हरि खेवा लिम्बु अर्थ, ज्वाला साह भूमिसुधार तथा व्यवस्था, सुनिता महतो सामान्य प्रशासन, सुषमा शर्मा संघीय मामिला, संविधानसभा तथा संस्कृति र विष्णुप्रसाद चौधरी वाणिज्य छन् ।
अन्य राज्यमन्त्रीहरुमा भीमराज चौधरी गृह, रामवच्चन अहिर यादव रक्षा, लक्ष्मण महतो वन, दुर्गादेवी महतो वातावरण, काशीदेवी झा कानुन, ईश्वरदयाल मिश्र भौतिक योजना तथा निर्माण, अरविन्द्र साह महिला बालबालिका तथा समाजकल्याण र रमणि राम सिञ्चाई छन् । अरविन्द्र साह विदेश भ्रमणमा रहेकाले उनीबाहेक सबैले आज सपथ लिएको प्रधानमन्त्रीका प्रस सल्लाहकार रामरिझन यादवले जानकारी दिनुभयो । यसैबीच युवा तथा खेलकुद राज्यमन्त्रीमा नियुक्त गोपी अछामीले असन्तुष्टि जनाएका छन् । आफूलाई पहिला शिक्षा राज्यमन्त्री भनिए पनि खेलकुदमा सपथ खुवाइएको भन्दै अछामीले असन्तुष्टि जनाएका हुन् । पार्टीका अर्का उपाध्यक्ष मोहन बैद्य पक्षका लागि छुट्याएको मन्त्रालयमा अध्यक्ष प्रचण्ड र आफू पक्षका नेताहरुलाई प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नुभएको हो । बैद्य पक्षले भने सरकार गठनका क्रममा मधेसी मोर्चासँग भएको चारबुँदे सहमति खारेज नभएसम्म सरकारमा नजाने अडान लिँदै आएको छ ।
कस्ता छन् नयाँ मन्त्री
   नवनियुक्त शिक्षामन्त्री दीनानाथ शर्मा बागलुङ बलुवाका स्थायी बासिन्दा हुन् । उनी माओवादीका स्थायी समिति सदस्य र प्रवक्तासमेत छन् । शर्मा पहिलोपटक मन्त्री भएका हुन् । लामो समय बागलुङमा शिक्षण पेशामा बिताएका शर्मा माओवादीभित्र जारी अन्तसंघर्षमा पछिल्लो समय अध्यक्ष प्रचण्ड निकट मान्छिन् । शर्मा समानुपातिक तर्फका सभासद् हुन् । माओवादीले जनयुद्ध सुरु गर्दा मोहनविक्रम सिंहले नेतृत्वको मसालमा रहेका शर्मा सिंहबाट अलग्गिएर आफ्ना केही समर्थक र कार्यकर्तासहित २०५६ सालमा जनयुद्धरत माओवादीसँग एकता गर्न पुगेका थिए ।
नवनियुक्त पर्यटमनन्त्री लोकन्द्र विष्ट मगर माओवादीको उदगम स्थल मानिने रोल्पाका स्थायी बासिन्दा हुन् । रुकुमको विकट मुरु गाविस-१ धौवालाङ घर भएका विष्ट समानुपातिकतर्फका साभासद् हुन् । विष्ट मगर यसअघि झलनाथ खनाल नेतृत्वको सरकारमा पनि केही समय स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए । हाल माओवादीको पोलिट्ब्युरो सदस्य रहेका उनी पुनस्र्थापित व्यवस्थापिका संसदमा पनि सदस्य थिए । विष्ट मगर अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । उनी जनयुद्धका समयमा माओवादीको केन्द्रीय समितिमा रहेका नेतामध्ये सबैभन्दा बढी समय जेल जीवन बिताएका व्यक्ति हुन् । पञ्चायतविरोधी आन्दोलनमा सक्रिय रहेका विष्टले २०४५ सालमा केही महिना, जनयुद्ध सुरु भएपछि २०५२ देखि २०५८ सम्म ८ वर्ष र भारतमा २०६१ देखि २०६३ सालसम्म गरी १० वर्षभन्दा बढी समय जेलमा बिताएका छन् ।
तनहुँका स्थायी बासिन्दा नवनियुक्त भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतम माओवादी पोलिट्ब्युरो सदस्य हुन् । उनी पनि समानुपातिकतर्फकै सभासद् हुन् । गौतम माओवादी शान्तिप्रक्रियामा आएपछि नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको तत्कालीन एकताकेन्द्र-मसालबाट पार्टी एकीकरण गरी माओवादीमा आएका हुन् । गौतम हाल माओवादी उपाध्यक्ष र उपप्रधान तथा परराष्ट्रन्त्रीसमेत रहेका श्रेष्ठका विश्वासपात्र मानिन्छन् ।
सामान्य प्रशासनमन्त्री रामकुमार यादव पनि एकताकेन्द्र मसालबाटै माओवादीमा एकता गरी आएका हुन् । उनी माओवादीको केन्द्रीय सदस्य र सिरहाबाट समानुपातिक सभासद् छन् । यादव पनि हालका माओवादी उपाध्यक्ष र उपप्रधान तथा परराष्ट्रन्त्रीसमेत नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । सुदूरपश्चिमको डोल्पा जिल्लास्थित लिखु गाविसमा जन्मिएकी नवनियुक्त शान्ति तथा पुनर्निमाणमन्त्री सत्या पहाडी माओवादीकी राज्य समित सदस्य हुन् । तत्कालीन अन्तरिम व्यवस्थापि संसदमा समेत सदस्य रहेकी पहाडी अहिले पनि समानुपातिक समभासद् छिन् । उनी माओवादी पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतकी श्रीमतीसमेत हुन् । माओवादी आन्तरिक राजनीतिमा पहाडीले अध्यक्ष प्रचण्डलाई साथ दिँदै आएकी छन् ।
वननियुक्त विज्ञान तथा प्रविधिमन्त्री कल्पना धमला धादिङ ज्यामरुङकी स्थायी बासिन्दा हुन् । उपाध्यक्ष बाबुराम भट्टराई निकट रहेकी धमला माओवादीको ताम्शालीङ राज्य समिति सदस्य छिन् । उनी संविधानसभा निर्वाचनमा एमाले नेता गंगालाल तुलाधरलाई पराजित गर्दै धादिङ निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । धमला लमजुङ स्थायी घर भएका तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष देवेन्द्र पराजुलीकी श्रीमती हुन् ।साभार:अनलाइन खबर

युवाहरुको कुटपीटबाट शिक्षकको मृत्यु

    तनहुँ/कात्तिक २१- स्थानीय युवाहरुको कुटपीटबाट गएराति तनहुँ सदरमुकाम दमौलीमा एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की बाटुलेचौरका चुनबहादुर थापा रहेको प्रहरीले जनाएको छ। तनहुँको बैदीस्थित एक सरकारी विद्यालयका शिक्षकसमेत रहेका थापालाई व्यास–१०, देउराली नगरका युवाले कुटपीट गरेका हुन्। 

कुटपीटबाट घाइते भई सडकमा लडेका उनलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

कुटपीटमा संलग्न ४ युवालाई पक्राउ गरिसकेको र अन्य युवाको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक वीरेन्द्र शाहीले बताए। स्रोत:समुन्द्र पौडेल,नागरिक न्यूज

पति विदेश गए पत्नीहरु स्कुलतिर

   २० कात्तिक । तीन वर्षीया कुँवारी पुनले काम गर्न साउदी अरब गएका पतिलाई फोन गरेर ‘म स्कुल पढ्न जान थालेँ’ भन्दा अचम र खुसीले उनी एकछिन त केही बेाल्नै सकेनन् ।
केही बेरमा हाँसेर भने, ‘जाऊ राम्ररी पढ्नु, छोराछोरी नि पढाउनु ।’ कुँवारीमात्रै होइन, उनीजस्ता बिहावारी भएर गृहस्थी चलाइरहेका दाङका धेरै महिला अहिले स्कुल गएर कखरा र एबीसीडी सिक्न थालेका छन् । धेरै जसोका पति काम गर्न विदेश गएका छन् । श्रीमान विदेशमा छन्, यहाँ म पढ्दै छु’, लालमटिाया-४ की सरिता जिसीले भनिन्, छोराछेारी पनि स्कुल जान्छन् ।’ उनका पति साउदी अरब गएको एक वर्ष भएको छ । विदेशबाट श्रीमानले पठाएको उसएमएस पढ्न नजानेर हैरान भएकी सरिता हिजोआज आफैं एसएमएस लेखेर पठाउन सक्नेसमेत भएकी छन् । ‘पहिलो छोराछोरीलाई एसएमएस पढ्न दिन्थें, ‘श्रीमान श्रीमतीको कुरा लाज लाग्ने पनि हुने, छोराछोरी नै लाज मान्थे’ , उनले हाँस्दै भनिनघरमा चुलोचौकोका काम सकेर उनीहरु १२ बजे विद्यालय पुग्छन् र छोरानाति र्फकनुभन्दा अघि नै ३ बजे घरधन्दामा फर्किसक्छन् । आजको नागरिक दैनिकमा छापिको समाचारमा लेखिएको छ, दाङको लालमटिया-४ भालुवाङमा केृही महिनाअघि सञ्चालनमा आएको गृहणी प्राथमिक महिला विद्यालयमा उमेर ढल्किएका थुप्रै महिला कखरा सिक्दै छन् ।

प्रेस युनियन उपसभापतिको भीरबाट खसेर मृत्यु

      पाल्पा/कात्तिक १९ - प्रेस युनियन पाल्पाका उपसभापति एवं त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका प्राध्यापक लक्ष्मण घिमिरेको शुक्रबार राति भीरबाट खसेर मृत्यु भएको छ। ३५ बर्षीय घिमिरेको शव शनिबार बिहान पाल्पा नायरनम्तलेस स्थित घर नजिकैको भीरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
  अघिल्लो रात खसेका उनको शव शनिबार बिहान स्थानीयले भीरमा अड्केको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए।
पत्रकार महासंघ पाल्पाका पूर्व कार्यसमिति सदस्य समेत रहेका घिमिरेका एक छोरी र श्रीमती छन्। उनी घर नजिकै आर्यभञ्ज्याङ बजारबाट फर्केर घर आउँदै गर्दा रातको समयमा सडकबाट खसेका प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले बताए। करिब ५० मिटर तल खसेका घिमिरेको अघिल्लो रात नै परिवारले खोजी गरेको भएपनि भेटेका थिएनन्। उनलाई राति केहिबेर खोजी गरेको तर नभेटिएपछि साथीको घरमा गएको हुनसक्ने भन्दै परिवारले घर फर्कने आशमा कुरेर बसेका थिए।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तानसेनमा ल्याइएको छ। पत्रकार महासंघले शनिबार दिउसो उनको शरीरमा संस्थाको झण्डा ओढाएर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको महासंघका उपाध्यक्ष राजेशकुमार अर्यालले बताए। घिमिरे स्थानीय पाल्पा टाइम्स साप्ताहिकमा कार्यरत थिए भने क्याम्पसमा अर्थशास्त्रका प्राध्यापक थिए।/टेकनारायण भट्टराई,:-नागरिक न्यूज

गुनासो सुन्न हेलो सरकार सेन्टरको शुभारम्भ


  • ‘हेलो सरकार’ कार्यक्रम सुरु

    १७ कात्तिक/काठमाडौं-सरकारले बिहीबारदेखि ‘हेलो सरकार’ कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सिंदरवारस्थित आफ्नै कार्यालयमा स्थपित ‘हेलो सरकार’ सेन्टरको शुभारम्भ गर्नु भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत विभिन्न मन्त्रालय तथा निकायका विषयमा आउने जनगुनासो, माग र सुझावहरुको उचित सुनुवाई गर्न सरकारले हेलो सरकार सेन्टरको व्यवस्था गरेको हो । २४ सै घण्टा खुल्ला रहने हेलो सरकार डेस्कले हरेक मन्त्रालयबाट हुने नीतिगत निर्णय, कार्यसञ्चालन, शान्ति र सुशासन व्यवस्थापन तथा सञ्चालनलाई समेत व्यवस्थित गर्नेछ । हेलो सरकार कक्ष सञ्चालन गर्नकालागि सरकारले ‘हेलो सरकार’ कक्ष सञ्चालन निर्देशिका, यसअघि नै पारित गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहने यो कक्षमा २४ सै घण्टा सातै दिन सहसचिवको सुपरिवेक्षण रहने छ । चार सिफ्टमा सञ्चालन हुने कक्षमा हरेक सिफ्टमा उपसचिव एक, टेलिफोनमा दुईजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एक गरी पाँच जनाको जनशक्ति रहने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
यस कक्षमा गुनासा, माग तथा सुझावका लागि निःशुल्क टेलिफोन नम्बर ११११ र १११० नम्बरको फ्याक्सको व्यवस्था गरिएको छ । यसरी आएका सुझावलाई सोही माध्यमबाटै यथासम्भव सुनुवाई हुनेछ । त्यस्तै गुनासा, माग तथा सुझावलाई इमेल तथा एसएमएसबाट पनि राख्न सकिनेछ । हेलो सरकार कक्ष प्राप्त गुनासा तथा सुझावलाई तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने तथा सुनुवाई गर्ने व्यवस्था समेत गरिएको छ ।
यस्तो अवस्थामा सम्बन्धित मन्त्रालयका अधिकारीबाट सम्बोधन नभए वा लापरवाही भए तत्काल विभागिय कारवाहीका लागि सिफारिस गर्न सक्ने समेत अधिकार प्रदान गरिएको छ । स्रोत:अनलाइन खबर/नेपाल