वीरगन्ज महोत्सव पुसमा

    वीरगंज/कात्तिक २२ -खुला बजार तथा सञ्चारको सर्वसुलभताले गर्दा बर्सेनि हजारौँ उत्पादनहरू भित्रिएको र भित्रने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै छानामुनि अवलोकन गराउने उद्देश्यले बृहत् वीरगन्ज महोत्सव तथा प्रदर्शनी आयोजना हुने भएको छ ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घको मूल आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल सरकार उद्योग मन्त्रालय, लघु घरेलु तथा साना उद्योग विकास कोषसमेतको आयोजनामा वीरगन्जको आदर्शनगर फुटबल मैदानमा पौष ३ गतेदेखि ११ गतेसम्म चल्ने आइतबार यहाँ पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपाललगायत छिमेकी राष्ट्रहरूको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरूलाई एउटै थलोमा भेला गराई सरसामग्रीहरूको प्रत्यक्ष अवलोकन तथा जानकारी गराइने पत्रकार सम्मेलनमा बताइयो ।
विभिन्न औधोगिक, पर्यटन, कृषि, साना तथा लघु उद्यम, वित्तीय संस्थाहरूलगायतका उत्पादन तथा सेवाहरू समेत गरी एक सय ६० वटा स्टलहरू रहने महोत्सव तथा प्रदर्शनी करिब १८ हजार वर्ग मिटर क्षेत्रफलमा सञ्चालन हुने वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानीले जानकारी दिनुभयो ।
काठमाडौँपछिको व्यापार व्यवसाय बढी हुने र छिमेकी भारतसँग समेत सीमा जोडिएकाले विभिन्न समयमा आयोजना हुँदै आएका मेला महोत्सवमा भारतीयहरूको समेत बृहत् सहभागिता रहँदै आएको जानकारी दिँदै सङ्घका अध्यक्ष टेमानीले ५० वटा विदेशी स्टल रहने बताउनुभयो ।स्रोत:अनलाइन खबर 

No comments: