अमिलो मन, मलिन अनुहार

    झापा/मंसिर ४ - 'जनयुद्ध' मा होमिएर दशक बिताएका माओवादी लडाकु मलिन अनुहार र अनिश्चिततासहित शिविर छाड्ने तयारीमा छन्। शनिबारदेखि सुरु पुनर्वर्गीकरणमा सहभागी इलाम चुलाचुलीस्थित प्रथम डिभिजन मुख्यालयका अधिकांश लडाकु भावी दैनिकी र योजनाबारे अन्योलग्रस्त छन्। 
२०६१ मा स्कुल पढ्दा पढदै 'नेताहरूबाट प्रभावित भएर' युद्धमा छिरेका संखुवासभाका छिरिङ शेर्पा शिविर छाड्ने दिन नजिकिँदा खिन्न छन्। 'ठूलो उद्देश्य लिएर पढ्दापढ्दै यता लागेको थिएँ,' २३ वर्षे लडाकुले मलिन स्वरमा भने 'अब मन अमिलो पारेर घर फर्कदैछु।'
तीन दिन अघिमात्रै शिविरमा नागरिकसँग कुरा गर्दा सेनामा जाने बताएका उनले शनिबार भने निर्णय बदलिसकेका थिए। 'स्वैच्छिक अवकाशमा जाने निर्णय लिनुमा पार्टी वा नेताको निर्देशन छैन,' उनले भने, 'के गरौं र कसो गरौं भइरहेको थियो, आमाले फोनमा ढाडस दिनुभो, अनि घरै जाने निर्णय गरें।'
खेतीपाती सम्हालेर खाऔंला भनी आमाले भनेको उद्धृत गर्दै छिरिङले भने, 'आमाले त्यति भनेपछि म घरै फर्किने अठोटमा छु।'
छिरिङजस्तै स्वैच्छिक अवकाश रोजेका दमक- १२ का रामकुमार लिम्बुले पहिलेझैं पार्टीलाई समय नदिने बताए। 'घर फर्केर के गर्ने भन्ने टंुगो छैन,' उनले भने, 'तर, पहिलेजस्तो पूरै समय पार्टीमा खट्दिनँ।'
रामकुमारकी २८ वर्षे पत्नी रमिला मिश्र पनि जनसेनामै छिन्। 'अवकाशमै जाने निश्चित भयो,' शनिबार बिहान डिभिजन मुख्यालय परिसरमा उनले नागरिकसँग भनिन्, 'अब अन्योल भनेको के गर्ने भन्ने मात्रै हो।'
आठ वर्षअघि माओवादी सेना बनेर उनी युद्धमा होमिएका थिए। पार्टी नै संसार हो भन्ने स्कुलिङ पाएका उनले उनले शिविर छाड्ने बेलामा 'अब सामान्य आस्थासम्म रहने' जानकारी दिए।
'जनयुद्ध' मा सात वर्ष बिताएका पाँचथर फँलैचा- १ का रामकुमार राई 'सँगै लडेका सहिद साथीको सपना अधुरै रहेकामा खेद जनाउँछन्। पत्नी, छोरीसहितको परिवार भएका उनलाई घर फर्केपछि के गर्ने भन्ने अन्योल छ। 'म ज्यादै निम्न वर्गको मान्छे, अब के गर्ने भन्ने अन्योल छ,' २७ वर्षे यी लडाकुले थपे, 'देश र जनतालाई मुक्ति दिने उद्देश्य पनि अधुरै रहेको जस्तो लागिरहेछ।':राजु अधिकारी/स्रोत-नागरिक न्यूज

No comments: