पर्यटकीय क्षेत्रमा सीसीटीभी राखिने

   पोखरा/पर्यटकीय गतिविधि तीव्र रहने पोखराको बैदाम क्षेत्रमा सीसीटीभी जडान गरिने कार्यको प्रारम्भ भएको छ ।
पोखराको पर्यटन व्यवसायलाई सुरक्षामैत्री बनाउन कास्की प्रहरीले सो अभियान अगाडि ल्याएकोमा स्थानीय पर्यटन व्यवसायीले त्यसलाई स्वीकार गर्दै सीसीटीभी जडान कार्यलाई अगाडि बढाएका छन् ।
कास्कीको बैदाम क्षेत्रमा मात्र १६ वटा सीसीटीभी जडान गरिने छ । सो टीभी जडान गर्नका लागि अन्य उपकरणसहित १९ लाख रूपियाँका क्यामरा आवश्यक रहनेछन् । सो रकम स्थानीय पर्यटन व्यवसायी एवं सङ्घसंस्थाबाट उपलब्ध हुन थालेको छ ।
हालसम्म झण्डै रु आठ लाख सङ्कलन भइसकेको छ । नागरिकबाट रकम सङ्कलन भएपछि प्रहरी प्रधानकार्यालयले सीसी क्यामरा जडानका लागि आवश्यक पर्ने कन्ट्रोल कक्षको निर्माणका लागि रु दुई लाख प्रदान गरेको छ ।
झण्डै रु. तीन लाख ५० हजार लागतमा निर्माण हुन लागेको सो कक्षको सोमबार एक समारोहबीच कास्कीका प्रहरी प्रमुख यादवराज खनालले शिलान्यास गर्नुभयो ।
उक्त कक्ष निर्माणका लागि प्रहरी प्रधान कार्यालयबाट रु. दुई लाख प्राप्त भइसकेको र बाँकी रकम पनि आउने बताउँदै करिब दुई महिनाभित्र निर्माण सम्पन्न गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा सीसीटीभी जडान संयोजक टीकाराम सापकोटाले सीसीटीभी जडानले लेकसाइडको सुरक्षा व्यवस्था प्रभावकारी हुने विश्वास व्यक्त गर्दै लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म जडान गरिने तयारी गरिएको बताउनुभयो ।स्रोत:अनलाइन खबर

No comments: