Showing posts with label शिक्षा. Show all posts
Showing posts with label शिक्षा. Show all posts

थिएटरमा जम्दै स्कुले नानीहरु, रंगमञ्च जोगाउँन खुत्रुके अभियान


 ‘यति साना नानीहरुले यस्तो कला देखाँउछन् भन्ने कल्पनै गरेको थिइँन्,’ पसिना पुछ्दै महेन्द्र राई भन्दै थिए, ‘नानीहरुको प्रस्तुतीले मलाई भावुक बनायो ।’ 

 धनकुटाबाट आफ्नो छोराको प्रस्तुती हेर्नै भनेर इटहरी आएका राईले स्कुल थिएटर २ मा बालबालिकाले मञ्चन गरेको नाटक हेरेपछि आफुले जीवनमा यस्तो कहिल्यै नदेखेको बताए । आफु धनकुटामा व्यपार गरेपनि छोरा कपिललाई पढाउन इटहरीमा राखेको बताउँदै राइले छोराले आफुहरुको नाटक मञ्चन हुने खबर गरेपछि धनकुटाबाट झरेको उनको भनाइ थियो ।  

एसएलसीमा अधिकांश लडाकु सफल

-काशीराम डाँगी/रोल्पा
                यो वर्षको एसएलसीमा रोल्पाबाट परीक्षा दिएका माओवादी शिविरका ९७ प्रतिशत लडाकुहरू उत्तीर्ण भएका छन् । ४ सय १६ जनाले प्रथम श्रेणी ल्याएका छन् ।
माओवादी सेनाको पाँचौं डिभिजन दहवनका ८४३ लडाकुले तीन परीक्षा केन्द्रबाट परीक्षा दिएकोमा २६ मात्र असफल भए । तीमध्ये ८ सय १६ लडाकु उत्तीर्ण भएका हुन् । ३ सय ८७ जना द्वितीय र १९ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । लडाकुकै लागि ३ परीक्षा केन्द्र थप गरिएको थियो । पाँचौं डिभिजनका सहकमान्डर राजबहादुर बुढामगर 'अविनाश' ले मसिना केन्द्रबाट सहभागी २ सय ९० मध्ये २ सय २५ प्रथम श्रेणीमा उत्तीर्ण भएको बताए । सैबाङ केन्द्रबाट १ सय ६ र नुवागाउँ केन्द्रका ८५ प्रथम श्रेणीमा उत्तीर्ण भए ।
'सबैतिरबाट बधाई आइरहेको छ,' अविनाशले भने, 'पास भएकाहरू पनि धेरै उत्साहित हुनुहुन्छ ।' परीक्षार्थीहरूलाई जिल्ला शिक्षाले विशेष सुविधा प्रदान गरेको थियो । लडाकुहरूलाई अलग्गै केन्द्रमा राखिएको थियो । माओवादी लडाकुहरूलाई सरकारले खुला विद्यालयअन्तर्गत समावेश गरी छुट्टै केन्द्र बनाई परीक्षामा सहभागी गराएको शिक्षा अधिकारी दिनेश खनालले जनाए । आगामी वर्ष करिब ५ सय लडाकुले रोल्पाबाट परीक्षा दिने तयारी गरिरहेका छन् ।
सुर्खेत संवाददाता मोतीलाल पौडेलका अनुसार दशरथपुरस्थित छैटौं डिभिजनसहित चार सहायक शिविरका १ सय ८९ लडाकुले एसएलसी उत्तीर्ण गरेका छन् ।
डिभिजनको मुख्यालयसहित चारवटा सहायक शिविरबाट २ सय ६० लडाकु परीक्षामा सहभागी थिए । '७१ लडाकुको परीक्षा असफल भएको छ,' छैटौं डिभिजन प्रमुख महेन्द्र शाहीले भने, नतिजा राम्रै भएकाले शिविरमा खुसियाली छ ।'
लामो समयपछि विद्यालयस्तरको परीक्षामा सामेल भए पनि लडाकुहरूले ल्याएको नतिजाबाट आफू सन्तुष्ट भएको उनले बताए । 'यो वर्ष असफल हुनेले पनि पढाइलाई निरन्तरता दिनु हुनेछ,' उनले भने । उनीहरूको उच्च शिक्षामा पनि अस्थायी शिविरले सहयोग गर्ने भएको छ । उत्तीर्ण लडाकुलाई उच्च शिक्षा दिलाउन शिविर छेउका उच्च माविमा भर्ना गर्ने शिविरले जनाएको छ ।
ँशान्ति प्रक्रियाले पढ्न पाइयो’
माओवादी सेनाको पाँचौं डिभिजनमा कार्यरत रोल्पा बडाचौरका धनबहादुर राना 'छिरिङ' अहिले निकै खुसी छन् । एसएलसी उत्तीर्ण गरेको खुसियालीमा गाउँमा पनि खुसीको आदानप्रदान भइरहेको छ । प्रथम श्रेणीमा फलामे गेट पार गरेपछि थप अध्ययनका लागि उनी क्याम्पस खोज्दैछन् । 
 'पढ्न छाडेर लडाइँमा होमिएको थिएँ,' रानाले कान्तिपुरसित भने, 'दस वर्षपछि पुनः पढेर पास भएँ ।' छोरा युद्धमा होमिएपछि पढाइ बिगारेको भन्दै खिन्न उनको परिवार पनि खुसीले दंग छ । परीक्षाको नतिजा थाहा पाएलगत्तै उनले बडाचौरमा रहेका बुबाआमालाई फोनबाट खबर सुनाए । 'उहाँहरू निकै खुसी हुनु भो,' उनले भने ।
दस वर्षअघि माओवादीको सशस्त्र संघर्षमा सामेल नहुँदै उनी बडाचौरस्थित बराहक्षेत्र माविमा कक्षा १० मा पढ्दै थिए । पढाइ छाडेर बन्दुक समाइसकेपछि पुनः पढाइमा फर्किएला भन्ने उनलाई लागेकै थिएन । 'देश शान्ति प्रक्रियामा लागेकाले पढ्ने मौका पाएका हौं,' रानाले भने । 
शिक्षा र अर्थशास्त्र विषयलाई मुख्य बनाएका उनले ५ सय ३२ अर्थात् ६६.५ प्रतिशत अंक ल्याएका छन् । फाराम भरेपछि लामो समय ट्युसन पढे । त्यसैले पनि उनलाई सफल हुन सघायो । माओवादी लडाकु रहेको पाँचौं डिभिजनको संक्राम बि्रगेडमा रहेका उनी भन्छन्, मेहनत गर्‍यो भने जति वर्ष अवरुद्ध भए पनि पुनः क्याम्पस फर्किन सकिने रै'छ ।
फेलपछि आत्महत्या
बझाङ- बझाङको चौधारी ७ की एक छात्राले एसएलसी परीक्षामा फेल भएपछि बुधबार साँझ घर नजिकैको एक रूखमा झुन्डिएर आत्महत्या गरेकी छन् ।
चौधारी उच्च माविबाट यसपटक एसएलसी परीक्षा दिएकी गायत्री कोइरालाले आत्महत्या गरेको उनका आफन्तले जनाएका छन् ।
कक्षा १ देखि कहिल्यै पनि असफल नभएकी कोइराला एसएलसी परीक्षामा भने ५ विषयमा असफल भएकीले आत्महत्या गरेको हुन सक्ने उनका बुबा सिद्धराज कोइरालाले बताए ।
सर्लाहीमा २७ प्रतिशत मात्रै
सर्लाही- यस वर्ष जिल्लामा २७ प्रतिशत परीक्षार्थी मात्रै एसएलसीमा उत्तीर्ण भएको शिक्षा कार्यालयले जनाएको छ । अधिकांश सरकारी विद्यालयले राम्रो नतिजा ल्याउन सकेनन् । शिक्षा कार्यालय परीक्षा फाँटका शम्भु ठाकुरले भने, 'निजी विद्यालयका लगभग शतप्रतिशत उत्तीर्ण भएका छन् । तर सरकारी विद्यालयको नतिजा निराशाजनक छ ।'
विगतका तुलनामा उत्तीर्ण प्रतिशत तीन गुणा कम हुनुमा यस वर्षको परीक्षा मर्यादित हुनु प्रमुख कारण रहेको शिक्षा अधिकारी हेमन्त सिंह बताउँछन् ।
आठ हजार विद्यार्थीले एसएलसी दिएकोमा जम्मा २ हजार १ सय ९२ परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये विशिष्ट श्रेणीमा १ सय ९९, प्रथम श्रेणीमा ८ सय ७३, द्वितीय श्रेणीमा १ हजार ५८ र तृतीय श्रेणीमा ६२ जना उत्तीर्ण भएको शिक्षा कार्यालयले जनायो ।
संस्कृत माविको नतिजा शून्य
नुवाकोट- यहाँको एकमात्र संस्कृत माविसहित तीन विद्यालयको एसएलसी नतिजा शून्य भएको छ ।
एसएलसी नतिजामा राष्ट्रिय तथ्यांकभन्दा दस प्रतिशत कम विद्यार्थी उत्तीर्ण भएको नुवाकोटमा एसएलसी मा सहभागी भएका ९३ विद्यालयमध्ये तीन वटाको नतिजा शून्य रहेको छ । देवीघाटमा रहेको जिल्लाको एकमात्र संस्कृत अध्यापन हुने सहिद जगतप्रकाश जंग शाह संस्कृत माविबाट परीक्षा दिएका ९ जनामध्ये कोही पनि उत्तीर्ण हुन सकेनन् । दिव्यरत्न बोर्डिङ र प्राइभेट कायम गरिएको शिक्षा कार्यालय केन्द्रको नतिजा शून्य रहेको छ । निजी स्तरमा सञ्चालित दिव्यरत्न बोर्डिङले भने प्रवेशिका परीक्षामा सहभागिता नजनाएका कारण नतिजा शून्य रहेको जनायो ।

एसएलसी नतिजा प्रकाशित, नतिजा SMS गरेर प्राप्त गर्न सकिने

अनमोलमणि/मकर,भक्तपुर
        २०६७ सालको एसएलसीमा ५५ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  नियमित तर्फको यो नतिजा गत वर्ष भन्दा ९ प्रतिशतले घटेको छ ।
आंशिक तर्फ १७ दशमलव ३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । केन्द्रीय परीक्षा समितिको सोमबारको वैठकले नतिजा सार्वजानिक गरेको हो ।
परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार कुल ४ लाख ५४ हजार २२ जना परीक्षार्थीमध्ये २ लाख ३० हजार ४ सय ९९ सय जना उत्तीर्ण भएका छन् । नतिजा अनुसार २० हजार १ सय ११ जनाको विशिष्ट श्रेणी (डिस्टिङ्सन) र ८२ हजार ६ सय १९को प्रथम श्रेणी छ । सबैभन्दा बढी १ लाख ९ हजार ७ सय ९५ जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा उत्तीर्ण हुनेको संख्या ८ हजार २ सय ४१ छ ।
'झण्डै ४४ प्रतिशत विद्यार्थी एसएलसीमै फेल हुनु शैक्षिक क्षति हो', गत सालभन्दा कम विद्यार्थी उत्तीर्ण हुनुको कारणबारे नियन्त्रक गौतमले नतिजा सार्वजानिकपछि भने, 'हरेक साल फरक सिकाइ क्षमता भएका विद्यार्थी अध्ययन गर्छन्, त्यसकारण नतिजा तलमाथि परिरहन्छ । यसले विद्यार्थीको क्षमता अनुसार विद्यालयको पठन पाठन प्रभावकारी छैन भन्ने देखाउँछ । शैक्षिक सत्रको सुरुदेखिनै प्रभावकारी शिक्षण चलाउन ध्यान दिनु पर्छ ।'
१ लाख ४४ हजार विद्यार्थी २ विषयमा अनुतीर्ण भएका छन् । ५ नम्बर ग्रेस दिदा १७ हजार ७ सय ४० जना उत्तीर्ण भएको गौतमले बताए । उनले यसपालीको परीक्षा सुरुदेखिनै विगत वर्षमा भन्दा मर्यादित भएको तथा नतिजा प्रकाशनमा पनि मिसिङ कम भएको बताए । परीक्षा गत चैत १० देखि १८ गतेसम्म चलेको थियो । प्ररम्भीक अनुमान अनुसार सामुदायिक विद्यालयको नतिजा कमजोर भएको छ । यसको विश्लेषण भने भइसकेको छैन । पछिल्लो ५ वर्षमा यो सबैभन्दा कमजोर नतिजा हो ।
शिक्षा सचिव शंकर पाण्डेले अध्ययनपछिमात्रै विद्यार्थीको नतिजा विश्लेषण गर्न सकिने बताए । 'अहिलेनै यसको कारण बताउन सकिन्न', उनले कान्तिपुरसित भने, 'यसैमा निरास हुनु पर्दैन । पढ्ने सबै पास हुनु पर्छ भन्ने आधारभूत कुरा हो, तर त्यसमा सुधारका ठाउ धेरै छन् । सरकार सुधारका पक्षमा छ ।'  नतिजा २०६२ पछि बढ्दै गएको थियो । पछिल्लो ५ वर्षमा यो सबैभन्दा कम हो । शिक्षाविद् डा विष्णु कार्कीले यसले शिक्षक, परीक्षा तथा पठन पाठनमै प्रश्न खडा गरेकेा टिप्पणी गरे । उनले भने, '४४ प्रतिशत विद्यार्थी फेल हुनुमा कहा कमजोरी भयो, शिक्षकले पनि सोच्नु जरुरी छ ।'
पुरक साउनदेखि
यसैबीच परीक्षा नियन्त्रण कार्यालयले दुई विषय अनुत्तीर्ण विद्यार्थीका लागि साउन २३ देखि २० गतेसम्म पुरक परीक्षाको व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयल जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको नतिजा कान्तिपुरको K'MAZZA सेवामा पनि SMS गरेर प्राप्त गर्न सकिने छ । नतिजा प्राप्त गर्नका लागि: SLC <स्पेश> सिम्बोल न‌. टाइप गरी ८०८० मा SMS पठाउनु पर्नेछ । :ई-कान्तिपुर