Showing posts with label समाज. Show all posts
Showing posts with label समाज. Show all posts

कमाउन परदेश गएका पतिलाई 'धोका'

'मोबाइल, फेसबुकबाट चिनापर्ची बढाएर धोका दिने महिला बढ्दो' 
       विराटनगर/कात्तिक २५- परदेशबाट फुरुंग हुँदै घर फर्किएका मोरङ, राजघाट-७ का पूर्णबहादुर गुरुङको खुसी तीन दिन राम्रोसँग टिकेन। वर्षौंपछि भेट भएकी श्रीमती परपुरुषसँग लागेको घटनाले उनलाई दुःखी तुल्यायो। 

श्रीमती अर्कैसँग लहसिएपछि दुई-चार वर्ष खाडी मुलुकमा काम गरेर धन कमाएका गुरुङ निराश भएका छन्। 'श्रीमतीलाई सुखसयलमै राखेको थिएँ,' प्रहरी कार्यालयमा पत्नीको हुलियाबारे जाहेरी दिन आउँदा उनी भावुक भए, 'लटिपटी सबै लिएर गई।' विदेशबाट पटक-पटक पठाएको तीन लाखभन्दा बढी रकम श्रीमतीले अनाश्यक खर्च गरेको उनले बताए।
दुई सन्तानकी आमा दिलकुमारीले त्यो रकम मोजमस्तीमै खर्च गरिन्। पूर्णबहादुरका अनुसार ३० वर्षीया दिलकुमारी उर्लाबारी-४ का आफूभन्दा झन्डै ९ वर्ष कान्छा सोमनाथ ढुंगेलसँग 'पोइल' गइन्। गत वैशाख महिनायता राजघाट-७ मा यस्तै तीन घटना भए।
दाजु विदेशिएको मौका छोपी खड्का थरका एक व्यक्तिले एकाघरकी भाउजुलाई भगाए। सोही गाउँमा चार वर्षदेखि श्रीमान् विदेश रहेकै बेला एक महिलाले परपुरुषसँगको सम्पर्कबाट बच्चा जन्माइन्।
४० वर्षीया मगर थरकी ती महिलाले दमक बस्ने एक युवकसँगको सम्बन्धबाट बच्चा जन्मिएको स्वीकार गरेपछि उनलाई उक्त व्यक्तिको जिम्मा लगाइएको राजघाटका बलबहादुर घिसिङले बताए। अमरदह-४ का मिलन गुरुङ बहराइन गएका मात्र के थिए, छिमेकी दयाराम दाहालले उनकी श्रीमती मीनासँग 'हिमचिम' बढाउन सुरु गरे। तीनवर्षे काखे छोरीलाई छाडेर मीनाले दाहालसँग बहुविवाह गरिन्।
प्रहरीको सहयोगमा श्रीमतीले लगेको गरगहना र रकमबापत १ लाख ६० हजार लिएर गुरुङले चित्त बुझाए। अनैतिक सम्बन्ध गाउँभरि फैलिएपछि बाध्य भएर २२ वर्षीय दाहालले आफूभन्दा आठ वर्ष जेठी मीनालाई श्रीमती स्वीकार्न बाध्य भए।
पूर्वी मोरङका स्थानीय प्रहरी कार्यालयमा श्रीमान्-श्रीमतीका 'संयोगान्त क्षण टुंगिए'का घटनाको उजुरी बढेको छ। प्रहरीका अनुसार वैदेशिक रोजगारमा गएका युवा सबैभन्दा बढी आफ्नै श्रीमतीबाट प्रताडित हुने गरेका छन्।
खाडी गएका पुरुषले मुलुकमा 'रेमिट्यान्स' भिœयाए पनि पारिवारिक विखण्डन बढ्दै गएको छ। 'शारीरिक आवश्यकता पूरा गर्न परपुरुषसँग लागेर श्रीमान्लाई छाड्ने गरेको पाइयो,' इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक श्यामसारु मगरले भने, ' श्रीमान्ले पठाएको पैसा परपुरुषसँग मोजमस्ती गरेर सिध्याएको उदाहरण धेरै छन्।'
श्रीमान् विदेशिएको केही समयमै परपुरुषसँग लाग्ने र श्रीमान्ले पठाएको रकम लिएर हिँड्ने गरेका कारण विदेश गएका पुरुष पीडित बनेको उजुरी धेरै आउने गरेको मगरले बताए। 'मोबाइल सजिलो माध्यम बनेको छ,' मगरले भने, 'इमेल, फेसबुकको माध्यमबाट 'कन्ट्याक्ट' मिलाएर विदेश गएका श्रीमान्लाई धोका दिने महिलाको संख्या दिनप्रतिदिन बढेको छ।' यस्ता घटना यौन आवश्यकता पूर्ति गर्नकै निम्ति भएका प्रहरीले जनाएको छ।
'अवैध' सम्बन्ध पर्दाफास भएपछि धेरैजसोले बिहे गर्ने गरेका छन्। मगरका अनुसार गाउँमा 'डिभोर्स' का घटना सामान्य बन्न थालेका छन्। 'छलफलपछि कतिपयको मुद्दा यहीँ टुंग्याउँछौं,' मगरले भने, 'नमिलेका मुद्दा चाहिँ अदालततिरै पठाउने गरेका छौं।'

मोरङ जिल्ला अदालतमा आर्थिक वर्ष २०६७-६८ मा २ सय ८१ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। जसमध्ये ६० प्रतिशतभन्दा बढी विदेशबाट फर्किएका युवाले श्रीमतीसँग पारपाचुके गर्न निवेदन दिएका मुद्दा छन्।खिलानाथ ढकाल, साभार:नागरिक न्यूज 

अपराध नियन्त्रण गर्न ‘विशेष भिसा’को प्रस्ताव

काठमाडौं/कात्तिक-२१
इन्टरपोलको ८०औं सम्मेलन
   पर्याप्त साधन–स्रोतको अभावमा आपराधिक गतिविधि नियन्त्रणमा कठिनाइ रहेको भन्दै नेपाल प्रहरीले ‘अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन’(इन्टरपोल)को ध्यानाकर्षण गराएको छ ।
१ सय ९० राष्ट्रका प्रहरी प्रमुख तथा अन्य वरिष्ठ सुरक्षा अधिकारीहरू सहभागी इन्टरपोलको ८०औं महासभालाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले अपराध नियन्त्रण गर्न प्रहरी संगठन सक्षम रहे पनि आधुनिक प्रविधिको पर्याप्त साधनस्रोतको अभाव रहेको बताए ।
महासभामा इन्टरपोल सदस्य राष्ट्रहरूमा हुने ‘द्रुत सूचना’ आदान–प्रदान तथा अपराध नियन्त्रण प्रयोजनका लागि हुने सम्बद्ध कर्मचारीको भ्रमणमा ‘विशेष भिसा’को व्यवस्था गर्नसमेत आग्रह गरिएको महानिरीक्षक शाहले जानकारी दिए ।
शाहले अपराध नियन्त्रण गर्नेबारे इन्टरपोल सदस्य राष्ट्रहरूबीच सूचना आदान–प्रदानमा समेत ‘प्रभावकारी संयन्त्र’ आवश्यक रहेको औंल्याए ।
भियतनामको राजधानी हनोइमा सम्पन्न ८०औं महासभामा सहभागी भई महानिरीक्षक शाह आइतबार राति स्वदेश फर्किएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ तथा नेपाल प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर कार्कीसहित पाँच सदस्य टोलीको नेतृत्व गर्दै महानिरीक्षक शाह कात्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा साइबर तथा वित्तीय अपराध, अपराध नियन्त्रण तथा अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग, हवाई तथा सीमा सुरक्षा र व्यवस्थापन, फरार अपराधीको खोजी तथा अनुसन्धानमा इन्टरपोल प्रविधिकोे प्रयोग विषयमा छलफल भएको थियो ।
संगठित तथा सीमापार अपराध, मानव बेचबिखन तथा तस्करी, आतंकवाद, बालयौन शोषण, लागूऔषधको अबैध ओसार–पसारविरुद्ध इन्टरपोल प्रविधिकोे प्रयोग, वन्यजन्तु चोरी सिकारी नियन्त्रण, सदस्य राष्ट्रहरूबीच सूचना आदान–प्रदान गर्ने विषयमा पनि छलफल भएको महानिरीक्षक शाहले बताए ।
सम्मेलनले ‘रेडकर्नर नोटिस’ को अन्तर्राष्ट्रिय मान्यता तथा कार्यान्वयन, सूचना आदान–प्रदानसम्बन्धी नियम, एसियाली क्षेत्रीय सूचना तथा समन्वय केन्द्रसँग अवैध लागूऔषध ओसारपसारविरुद्ध गरिएको सहयोग सम्झौता, इन्टरपोल विधानलाई राष्ट्रसंघको बडापत्रमा दर्ता गर्नेलगायत दर्जनौं प्रस्तावलाई दुईतिहाई बहुमतले पारित गरेको छ ।
विश्वमा लुकिछिपि बसेका अपराधीहरूको पहिचान तथा पक्राउ गरी आवश्यक कारबाहीका लागि विश्वभरिका प्रहरी संगठनहरूबीच सहयोग तथा सहकार्य आदान–प्रदान गर्ने उद्देश्यले सन् १९२३ मा स्थापना भएको इन्टरपोलको नेपाल १ सयौं सदस्य राष्ट्र हो ।
नेपालले सन् १९६७ मा यसको सदस्यता प्राप्त गरेको थियो । यसअघि इन्टरपोलमा १ सय ८७ राष्ट्र थिए । यसवर्ष कुरासाओ, सेन्ट मार्टिन र दक्षिणी सुडानले नयाँ सदस्यता पाएपछि इन्टरपोल राष्ट्रको संख्या १ सय ९० पुगेको छ ।साभार:कारोबार दैनिक 

युवाहरुको कुटपीटबाट शिक्षकको मृत्यु

    तनहुँ/कात्तिक २१- स्थानीय युवाहरुको कुटपीटबाट गएराति तनहुँ सदरमुकाम दमौलीमा एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की बाटुलेचौरका चुनबहादुर थापा रहेको प्रहरीले जनाएको छ। तनहुँको बैदीस्थित एक सरकारी विद्यालयका शिक्षकसमेत रहेका थापालाई व्यास–१०, देउराली नगरका युवाले कुटपीट गरेका हुन्। 

कुटपीटबाट घाइते भई सडकमा लडेका उनलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

कुटपीटमा संलग्न ४ युवालाई पक्राउ गरिसकेको र अन्य युवाको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक वीरेन्द्र शाहीले बताए। स्रोत:समुन्द्र पौडेल,नागरिक न्यूज

मेलामा झडप हुँदा दर्जन बढी घाइते

    १२ कात्तिक/रुकुम, जाजरकोट जिल्लाको खगेनकोट गाविस-७ स्थित ताँसेमा लागिरहेको स्थानीय मेलामा दुई समूहबीच आपसमा झडप हुँदा दर्जन बढी घाइते भएका छन् । गम्भीर घाइते हुनेहरुमा शेरबहादुर खत्री, हरिबहादुर परियार, विष्णुलाल खत्री, नेरन्द्र केसीलगायत रहेका छन् ।
मेलाको बीचमा नाचगान चलिरहेको बेला शेरबहादुर खत्री र मनरुप परियारबीचको आपसी विवादले ठूलो रुप लिएपछि दुई पक्षबीच झडप भएको बताइएको छ । परियार र खत्रीहरुको बीचमा झडप भएको हो ।
अहिलेसम्म घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । घटनास्थलबाट प्रहरी चौकी मैदे पुग्न दुई घन्टा पैदल यात्रा गर्नुपर्ने स्थानीय हेमन्त केसीले जानकारी दिए ।
यसैबीच, जाजरकोटकै सदरमुकाम खलङ्गामा स्थानीय युवाको दुई समूहबीच आपसी झडप हुँदा चारजना घाइते भएका छन । घटनामा घाइते भएकामध्ये दुईजनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । रासस

मुस्ताङ गाडी पल्टिंदा १ जनाको मृत्यु

       धादिङ, कात्तिक १२-उत्तरी धादिङको कटुञ्जे-९ चरङ्गेमा शनिबार दिउँसो यात्रुवाहक मुस्ताङ गाडी पल्टिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य तीन जना घाइते छन्। 
जिल्ला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदी तर्फ यात्रु बाकेर जाँदै गरेको बा १ ज ३०८६ नम्बरको मुस्ताङ म्याक्स कच्चि सडकमा मोडमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रेमसागर केसीले जानकारी दिए। 
दुर्घटनमा परी मृत्यु हुनेमा दार्खा गाविस ३ की अन्दाजी २५ वर्षिय जोमायाँ तामाङ रहेको प्रहरीले जनाएको छ। तीन जना घाइतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ।
- रामेश्वर कार्की/नागरिक

किशोरीलाई करणी गर्न खोज्ने दुई पक्राउ

        इटहरी, कात्तिक १२ (नागरिक)- घरमा कोही नभएको मौका पारेर सुनसरी खनारकी एक किशोरीलाई शुक्रबार राति जर्वरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ परेका छन्।
खनार-५ की १९ वर्षीया किशोरीलाई जर्बरजस्ती करणी गर्न खोज्ने दुहवी-५ का १९ वर्षीय महमद वकिल मियाँ र मोरङ हात्तीमुढाका महमद इब्राइम मियाँ पक्राउ परेका हुन्। पीडित किशोरीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई जर्वरजस्ती करणीमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

यसैबीच युवाहरुको दुई टोलीबीच इटहरी-३ मा झगडा हुँदा स्थानीय सन्तोष गिरी घाइते भएका छन्। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घटनामा संलग्न युवाको खोजी कार्य भइरहेको प्रहरीले बतायो।-स्रोत:नागरिक 

नारायणगढबाट पोखरा जाँदै गरेको बस दुर्घटना, सात जना घाइते

चितवन (रत्‍ननगर), कात्तिक १२- चितवन–नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गतको चण्डीभञ्ज्याङ–६ किलोमा शनिबार भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन्। नारायणगढबाट पोखरा जाँदै गरेको ना ३ ख २६९५ नम्बरको बस सडकछेउको पहरामा ठक्कर खाँदा सो दुर्घटना भएको हो। 
           घाइतेको मुग्लिङको मेडिकलमा उपचार भइरहेको छ। बसका चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। 
- रासस 

घूस लिने कर्मचारीलाई कडा कारबाही गर्न प्रधान मन्त्रीको निर्देशन

Share
      उजिर मगर, काठमाडौं, कात्तिक १२- अमेरिका जान लागेकी महिलासँग घूस खाने कर्मचारीलाई तत्काल कडा कारबाही गर्न प्रधान मन्त्रीले गृह सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई निर्देशन दिएका छन्। पासपोर्ट र नागरिकता देखाउँदा-देखाउँदै पनि यति प्रमाणले नेपाली भन्ने प्रमाणित हुँदैन भन्दै  उनीसँग घूस मागिएको थियो। अमेरिका जाने लागेकी डिचेन डोल्मा शेर्पासँग १ लाख १० हजार घूस लिइएको थियो। बुधबार नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल शेर्पा सङ्घ, नेपाल शेर्पा महिला सङ्घ र शेर्पावर्ल्डडटकमले आयोजना गरेको पत्रकार सम्मेलनमा घूस खाने कर्मचारीको नाम, फोटो र घूस लिँदै गरेको बेलाको भिडियो पनि सार्वजनिक गरिएको थियो। 
    घूस लिएको आरोप लागेका कर्मचारी पूर्णबहादुर बस्नेत निलम्बनमा परिसकेका छन्। घटनाबारे छानबिन गर्न समिति पनि बनेको छ। स्रोत:नागरिक 

'बोका चोरीको आरोप खप्न नसक्दा मगर परिवारको हत्या'


उदयपुर, अषाढ २७ - बोका चोरको आरोप लगाउदाँ खप्न नसकेर स्थानीय ३५ बर्षीय ललितकुमार राईले ठानागाउँ - ५ थुम्कीका एकै परिवारका चारको हत्या गरेको रहस्य खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले सोमबार पत्रकार सम्मेलन गरि केशरबहादुर मगर, उनकी पत्नी हर्कमाया, छोरीहरु रन्जु र प्रेमी हत्याको चोरको आरोप खप्न नसकेर ललितकुमारले गरेका वताए । करिव चार बर्षअघि केशरबहादुरको बोका चोरी गरेर ललितकुमारले लगेका थिए ।

बोका चोरी गरेपछि स्थानीयले ललितकुमारलाई १४ सय रुपैयाँ जरिवाना गराएको प्रहरी नायाव उपरिक्षक उप्रेतीले वताए । जरिवाना तिरेपछिपनि केशरबहादुरले पटक पटक चोरको आपरोप लगाएको खप्न नसकेको ललितले मादक पर्दाथ सेवन गरेर केशरबहादुरको हत्या गरेको प्रहरीलाई वयान दिएका छन् ।

प्रारम्भिक वयानमै ललितले बोका चोर र हर्कमायासँग अवैध सम्वन्ध राखेको भन्दै स्थानीयले बहिष्कार गरेको बिषयलाई केशरबहादुरले पटक पटक भनेकोले हत्या गरेको वताएका छन ।

सामाजिक रुपमा बहिष्कार भएपछि पनि केशरबहादुरले त्यहि बिषयलाई पटक पटक आरोप लगाउँदा मादक पदार्थ सेवन गरेपछि आफू आक्रोसित हुने गरेको ललितकुमारले वताए । उनले भने 'मादक पर्दाथ सेवन गरेपछि बोका चोरेको र दण्ड तिरेको बिषयमा आक्रोसीत हुन्थे।' त्यस दिन (बुधबार राती)पनि मादक पर्दाथ सेवन गरेपछि केशरबहादुलाई बदलाको भावना लिन मध्यरातमा गएर खुकुरीले काटेर हत्या गरेको उनले वताए ।

ललितले भने'मध्यरातमा मैले १० मिनेटमा चारै जानको हत्या गरे' । चारै जनालाई हत्या गर्न दिउसै खुकुरी तयार गरेर केशरकै घर छेउमा राखेर राखेको उनले वताए ।

केशरबहादुरको परिवार सुति रहेको अवस्था मध्य राति १२ बजे खुकरी प्रहार गरि चारै जनाको निर्मम हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी नायव उपरिक्षक उप्रेतीले वताए । ललितले पहिले केशरबहादुरको हत्या गरेपछि उनकी पत्नी हर्कमाया र छोरीहरुको हत्या गरेको स्वीकार गरेका छन ।

केशरबहादुर, हर्कमाया, रन्जु र प्रेमीको हत्यापछि केशरका छोरा नेत्रलाईपनि खुकुरी प्रहार गरि घाइते बनाएको ललितले वताए । नेत्रको विराटनग स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले घटनास्थलबाट ललितले हत्या गर्न प्रयोग गरेको खुकुरी र रगत लागेको लुगा बरामद गरेको छ । ललितलाई मुलुकी ऐन २०२० को ज्यान सम्वन्धि महल अनुसार प्रहरी हिरासतमा राखि अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक अनिल पौडेलले वताए । हत्या गरिएका केशबहादुर ५ बर्षयता पक्षघातले थलिएका थिए ।

उनकी पत्नी हर्कमाया सुस्तमनस्थितीकी थिइन । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने केशरबहादुरको ४ छोरी र २ छोरा थिए । जेठी छोरी जिल्लाकै कटारी बजारमा मजदुरी गरेर उतै बस्दै आएकी र अर्की छोरी हत्या गरिएको समयमा गाउँ तिर गएकीले बाच्न सफल भएका थिए ।

११ महिनको कान्छो छोरालाई हत्या गरेको समयमा नदेखेकोले हत्या नगरेको ललितले वताए । उनले भने 'देखेको भए कान्छोलाई समेत हत्या गर्ने थिए ।'


धनलक्ष्मी यन्त्र बेच्ने पाँच पक्राउ



काठमाडौं, असार २७ (नागरिक)- सहजै धन प्राप्त हुने प्रचार गरी धनलक्ष्मी यन्त्र बेचेर ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार काठमाडौंबाट विकास अग्रवाल, हृदयजंग शाही, सुनील श्रेष्ठ, सागर श्रेष्ठ र जितेन महर्जनलाई पक्राउ गरेको छ।
उनीहरूले सहजै धन प्राप्त हुने भन्दै पाँच हजार ७ सय ६० रुपैयाँमा सो यन्त्र बिक्री गरेर ठगी गरेको प्रयोगकर्ताको उजुरीपछि प्रहरीले आइतबार विशेष टोली परिचालन गरेको थियो।

पक्राउ परेकाहरूको साथबाट २५ थान धनलक्ष्मी यन्त्र, यसअघि नै प्रतिबन्धित शिवशक्ति यन्त्र पाँच वटा र २ वटा नवदुर्गा कवचसमेत फेला पारेको महाशाखाका डिएसपी राजकुमार लम्सालले बताए।

सप्तऋषि संस्थानद्वारा उत्पादित कवच लगाएको १५ दिनमै धन लाभ हुने दाबी गर्दै उनीहरूले उपभोक्ता ठग्दै आएका थिए। उनीहरूले कवच बिक्री गर्न आधा घन्टाको टेलिभिजन कार्यक्रम बनाएर प्रशारण गराउँदै आएका थिए। झुठो विज्ञापन गरी भ्रम फैलाएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयले धनलक्ष्मी यन्त्रको विज्ञापन प्रशारणमा रोक लगाउने निर्णय गरेपनि टेलिभिजनहरूमा विज्ञापन आइरहेकै थियो।

यन्त्र निर्माण गर्ने कम्पनी सप्तऋषि संस्थान नेपालमा दर्ता नरहेको र दाबी गरिएअनुसार संस्थाको कार्यालय वीरगन्जको आदर्शनगरमा समेत नरहेको महाशाखाले जनाएको छ।

यस अगाडि शिवशक्ति कवचको नाममा यस्तै प्रकृतीको कवचको कारोवारीलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका शाही शिवशक्ति कवचका नेपाल प्रतिनिधी हुन। उनी ठगी र राजश्व छलीको अभियोगमा पांच लाख धरौटी बुझाएर रिहा भएर पुन धनलक्ष्मीको कारोवारमा संलग्न रहेको खुलेको प्रहरीको दावी छ।

यन्त्रको प्रचारमा प्रयोग गरिएका व्यक्तिको नाम र उनीहरूको कथा नक्कली रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। डिएसपी लम्सालका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट समेत धनलक्ष्मी यन्त्र बिक्रीको नाममा ठगी भइरहेकाले अनुसन्धान गर्न महाशाखामा पत्र आएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। '१० जना पीडितले समेत उजुरी दिएका थिए,' लम्सालले भने।

प्रहरीले कारोबारीसम्म पुग्न उनीहरूले विज्ञापनमा प्रयोग गर्ने मोबाइल नम्बरलाई नै आधार बनाएका थिए। प्रहरी आफैं ग्राहक बनेर फोन गरी २ वटा धनलक्ष्मी यन्त्र मगाएको थियो। यन्त्र बोकेर आएका सागर श्रेष्ठ र जितेन महर्जनलाई पक्राउ गरी प्रहरीले मुख्य व्यक्तिको खोजी गरेको थियो।

'एक सातादेखि यन्त्र मगाए पनि उनीहरू आइतबार मात्र आए,' डिएसपी लम्सालले भने, 'उनीहरू अर्डर आएको ठाउँमा पुर्‍याउने काम मात्र गर्ने खुलेपछि अन्य व्यक्ति खोज्यौं।'
उनीहरूको बयानपछि जमलबाट यन्त्र दिने विकास अग्रवाल, हृदयजंग शाही र अजयकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको थियो। अग्रवाल स्थानीय डिलर र तामाङ यन्त्रको नेपाल प्रतिनिधि र शाही शिवशक्ति कवचको नेपाल प्रतिनिधि रहेको प्रहरीले जनाएको छ।

अर्को डिलर नयाँबानेश्वरमा रहेको खुलेपछि प्रहरीले सुनिल श्रेष्ठको घरमा छापा मारेर उनलाई पक्राउ गरेको थियो। प्रहरीले श्रेष्ठको साथबाट २० वटा धनलक्ष्मी यन्त्रका साथै माँ दुर्गा कवच र शिवशक्ति कवचसमेत बरामद गरेको छ।

एसएलसीमा अधिकांश लडाकु सफल

-काशीराम डाँगी/रोल्पा
                यो वर्षको एसएलसीमा रोल्पाबाट परीक्षा दिएका माओवादी शिविरका ९७ प्रतिशत लडाकुहरू उत्तीर्ण भएका छन् । ४ सय १६ जनाले प्रथम श्रेणी ल्याएका छन् ।
माओवादी सेनाको पाँचौं डिभिजन दहवनका ८४३ लडाकुले तीन परीक्षा केन्द्रबाट परीक्षा दिएकोमा २६ मात्र असफल भए । तीमध्ये ८ सय १६ लडाकु उत्तीर्ण भएका हुन् । ३ सय ८७ जना द्वितीय र १९ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । लडाकुकै लागि ३ परीक्षा केन्द्र थप गरिएको थियो । पाँचौं डिभिजनका सहकमान्डर राजबहादुर बुढामगर 'अविनाश' ले मसिना केन्द्रबाट सहभागी २ सय ९० मध्ये २ सय २५ प्रथम श्रेणीमा उत्तीर्ण भएको बताए । सैबाङ केन्द्रबाट १ सय ६ र नुवागाउँ केन्द्रका ८५ प्रथम श्रेणीमा उत्तीर्ण भए ।
'सबैतिरबाट बधाई आइरहेको छ,' अविनाशले भने, 'पास भएकाहरू पनि धेरै उत्साहित हुनुहुन्छ ।' परीक्षार्थीहरूलाई जिल्ला शिक्षाले विशेष सुविधा प्रदान गरेको थियो । लडाकुहरूलाई अलग्गै केन्द्रमा राखिएको थियो । माओवादी लडाकुहरूलाई सरकारले खुला विद्यालयअन्तर्गत समावेश गरी छुट्टै केन्द्र बनाई परीक्षामा सहभागी गराएको शिक्षा अधिकारी दिनेश खनालले जनाए । आगामी वर्ष करिब ५ सय लडाकुले रोल्पाबाट परीक्षा दिने तयारी गरिरहेका छन् ।
सुर्खेत संवाददाता मोतीलाल पौडेलका अनुसार दशरथपुरस्थित छैटौं डिभिजनसहित चार सहायक शिविरका १ सय ८९ लडाकुले एसएलसी उत्तीर्ण गरेका छन् ।
डिभिजनको मुख्यालयसहित चारवटा सहायक शिविरबाट २ सय ६० लडाकु परीक्षामा सहभागी थिए । '७१ लडाकुको परीक्षा असफल भएको छ,' छैटौं डिभिजन प्रमुख महेन्द्र शाहीले भने, नतिजा राम्रै भएकाले शिविरमा खुसियाली छ ।'
लामो समयपछि विद्यालयस्तरको परीक्षामा सामेल भए पनि लडाकुहरूले ल्याएको नतिजाबाट आफू सन्तुष्ट भएको उनले बताए । 'यो वर्ष असफल हुनेले पनि पढाइलाई निरन्तरता दिनु हुनेछ,' उनले भने । उनीहरूको उच्च शिक्षामा पनि अस्थायी शिविरले सहयोग गर्ने भएको छ । उत्तीर्ण लडाकुलाई उच्च शिक्षा दिलाउन शिविर छेउका उच्च माविमा भर्ना गर्ने शिविरले जनाएको छ ।
ँशान्ति प्रक्रियाले पढ्न पाइयो’
माओवादी सेनाको पाँचौं डिभिजनमा कार्यरत रोल्पा बडाचौरका धनबहादुर राना 'छिरिङ' अहिले निकै खुसी छन् । एसएलसी उत्तीर्ण गरेको खुसियालीमा गाउँमा पनि खुसीको आदानप्रदान भइरहेको छ । प्रथम श्रेणीमा फलामे गेट पार गरेपछि थप अध्ययनका लागि उनी क्याम्पस खोज्दैछन् । 
 'पढ्न छाडेर लडाइँमा होमिएको थिएँ,' रानाले कान्तिपुरसित भने, 'दस वर्षपछि पुनः पढेर पास भएँ ।' छोरा युद्धमा होमिएपछि पढाइ बिगारेको भन्दै खिन्न उनको परिवार पनि खुसीले दंग छ । परीक्षाको नतिजा थाहा पाएलगत्तै उनले बडाचौरमा रहेका बुबाआमालाई फोनबाट खबर सुनाए । 'उहाँहरू निकै खुसी हुनु भो,' उनले भने ।
दस वर्षअघि माओवादीको सशस्त्र संघर्षमा सामेल नहुँदै उनी बडाचौरस्थित बराहक्षेत्र माविमा कक्षा १० मा पढ्दै थिए । पढाइ छाडेर बन्दुक समाइसकेपछि पुनः पढाइमा फर्किएला भन्ने उनलाई लागेकै थिएन । 'देश शान्ति प्रक्रियामा लागेकाले पढ्ने मौका पाएका हौं,' रानाले भने । 
शिक्षा र अर्थशास्त्र विषयलाई मुख्य बनाएका उनले ५ सय ३२ अर्थात् ६६.५ प्रतिशत अंक ल्याएका छन् । फाराम भरेपछि लामो समय ट्युसन पढे । त्यसैले पनि उनलाई सफल हुन सघायो । माओवादी लडाकु रहेको पाँचौं डिभिजनको संक्राम बि्रगेडमा रहेका उनी भन्छन्, मेहनत गर्‍यो भने जति वर्ष अवरुद्ध भए पनि पुनः क्याम्पस फर्किन सकिने रै'छ ।
फेलपछि आत्महत्या
बझाङ- बझाङको चौधारी ७ की एक छात्राले एसएलसी परीक्षामा फेल भएपछि बुधबार साँझ घर नजिकैको एक रूखमा झुन्डिएर आत्महत्या गरेकी छन् ।
चौधारी उच्च माविबाट यसपटक एसएलसी परीक्षा दिएकी गायत्री कोइरालाले आत्महत्या गरेको उनका आफन्तले जनाएका छन् ।
कक्षा १ देखि कहिल्यै पनि असफल नभएकी कोइराला एसएलसी परीक्षामा भने ५ विषयमा असफल भएकीले आत्महत्या गरेको हुन सक्ने उनका बुबा सिद्धराज कोइरालाले बताए ।
सर्लाहीमा २७ प्रतिशत मात्रै
सर्लाही- यस वर्ष जिल्लामा २७ प्रतिशत परीक्षार्थी मात्रै एसएलसीमा उत्तीर्ण भएको शिक्षा कार्यालयले जनाएको छ । अधिकांश सरकारी विद्यालयले राम्रो नतिजा ल्याउन सकेनन् । शिक्षा कार्यालय परीक्षा फाँटका शम्भु ठाकुरले भने, 'निजी विद्यालयका लगभग शतप्रतिशत उत्तीर्ण भएका छन् । तर सरकारी विद्यालयको नतिजा निराशाजनक छ ।'
विगतका तुलनामा उत्तीर्ण प्रतिशत तीन गुणा कम हुनुमा यस वर्षको परीक्षा मर्यादित हुनु प्रमुख कारण रहेको शिक्षा अधिकारी हेमन्त सिंह बताउँछन् ।
आठ हजार विद्यार्थीले एसएलसी दिएकोमा जम्मा २ हजार १ सय ९२ परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये विशिष्ट श्रेणीमा १ सय ९९, प्रथम श्रेणीमा ८ सय ७३, द्वितीय श्रेणीमा १ हजार ५८ र तृतीय श्रेणीमा ६२ जना उत्तीर्ण भएको शिक्षा कार्यालयले जनायो ।
संस्कृत माविको नतिजा शून्य
नुवाकोट- यहाँको एकमात्र संस्कृत माविसहित तीन विद्यालयको एसएलसी नतिजा शून्य भएको छ ।
एसएलसी नतिजामा राष्ट्रिय तथ्यांकभन्दा दस प्रतिशत कम विद्यार्थी उत्तीर्ण भएको नुवाकोटमा एसएलसी मा सहभागी भएका ९३ विद्यालयमध्ये तीन वटाको नतिजा शून्य रहेको छ । देवीघाटमा रहेको जिल्लाको एकमात्र संस्कृत अध्यापन हुने सहिद जगतप्रकाश जंग शाह संस्कृत माविबाट परीक्षा दिएका ९ जनामध्ये कोही पनि उत्तीर्ण हुन सकेनन् । दिव्यरत्न बोर्डिङ र प्राइभेट कायम गरिएको शिक्षा कार्यालय केन्द्रको नतिजा शून्य रहेको छ । निजी स्तरमा सञ्चालित दिव्यरत्न बोर्डिङले भने प्रवेशिका परीक्षामा सहभागिता नजनाएका कारण नतिजा शून्य रहेको जनायो ।

न्युरोडको ब्युटी पार्लरमा यौनकर्मीको आरोपमा ९ पक्राउ


काठमाडौं, असार ५ (नागरिक)- यौन व्यवसाय सञ्चालन गरेको प्रहरीले धर्मपथको न्यु सहेली ब्युटी पार्लरमा छापा मारी शनिबार ९ जनालाई पक्राउ गरेको छ।

तीन कोठाको ब्युटी पार्लरमा छापा मार्दा तीन पुरुष र तीन युवती भित्री कोठा भेटिएपछि पार्लर सञ्चालिका उर्मिला विष्ट र अन्य दुई युवतीसहित सबैलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग जनसेवाले जनाएको छ। पक्राउ पर्ने पुरुषमा दुई नेपाली र एक भारतीय छन्।
प्रभागप्रमुख कवित कटुवालका अनुसार स्थानीयले पटकपटक गुनासो गरेपछि रिसिइबीका कारण होला भन्दै यसअघि छापा मारिएको थिएन। 'निरन्तर गुनासो आएकाले छापा मार्न टोली पठाएको साँच्चै रहेछ,' उनले भने।

प्रहरीका अनुसार तीनमध्ये दुई कोठामा खाट राखिएको थियो भने ती कोठाबाट कन्डम र रक्सीका बोतलहरू बरामद भएका छन्। क्यासिनोमा प्रयोग गरिने क्वाइन आकारका सामग्री र ताससमेत बरामद भएकाले त्यहाँ जुवासमेत खेलाउने गरेको प्रहरीको आशंका छ।

पाँच वर्षदेखि पार्लर चलाउँदै आएकी विष्ट भने प्रहरीले झुठो आरोप लगाएको दाबी गर्छिन्। 'पार्लरमा काम गर्ने कर्मचारीलाई गलत आरोप लगाएर पक्राउ गरिएको छ,' नागरिकसँग उनले भनिन्।
साभार : नागरिक न्युज

एउटै कार्यालयमा दुई हाकिम /पुरानाले कुर्सी नछाडेपछि नयाँ हाकिम सोफामा


सायद धेरै ठाउँका कार्यालयहरु लामो समय कार्यालय प्रमुख तथा कर्मचारी विहिन बन्दै आएको समाचार हामीले धेरै पढेका र सुनेका छौं । तर, एउटै पदमा दुई/दुई जना प्रमुख पनि बस्छन् भन्ने सुन्दा अलि अचम्म लाग्नु स्वाभाविक हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा अहिले त्यस्तै भएको छ । नयाँ कार्यालय प्रमुख आएको सातादिन वित्तिसक्दा पनि पुराना कार्यालय प्रमुखले कुर्सी नछाडेपछि यस्तो समस्या भएको हो । जिल्लामा पर्वतबाट शम्भु ज्ञवाली सरुवा भएर आएका छन् भने हाल रहेका टंकप्रसाद चापागाई रामेछाप सरुवा भैसकेका छन् । तर सरुवा भएको दुई साता र ज्ञवाली आएको सातादिन वित्तिसक्दा पनि चापागाईले जिल्ला छाडेका छैनन् । मन्त्रालयले दुवै जनालाई एउटै मितिमा गत जेठ १६ गते सरुवा गरेको हो ।

ज्ञवाली गत जेष्ठ २५ गते नै जिल्ला आइपुगेका थिए । तर, चापागाईले कुर्सी नछाडेपछि उनी अहिले हरेक दिन कार्यालय प्रमुखकै कक्षभित्र अतिथि बस्ने सोफामा बस्दै दिन ब्तिाउदै आएका छन् । 'जिल्ला आएको आठ दिन भयो, मैले कुनै काम गर्न पाएको छैन । ज्ञवालीले भने, नियमले नपाउने हो, तर हाकिम जस्तो मान्छेलाई कसरी हस्तक्षेप गर्ने ।'

चापागाईले सरुवा भएको दुई साता ब्िित्तसक्दा पनि त्यही कुर्सीमा बसेर दैनिक प्रश्ाासन चलाउँदै आएका छन् । स्रोतका अनुसार चापागाई अहिले कार्यक्रम भन्दा पनि हिसावकिताव मिलाउनमा वेस्ता छन् । उनी आफै पनि हरहिसाव मिलाउने काम धेरै बाँकी रहेको बताउँछन् । अहिले प्रशासनिक कामदेखि चेकमा हस्ताक्षेर गर्नेसम्मका सवै काम पुरानै हाकिमले गर्दै आएका छन् । उनको बसाइ देखेर अहिले कर्मचारीहरु समेत दंग छन् । उनी भने कहिले आफू सरुवा भएको जानकारी मन्त्रालयबाट औपचारिक रुपमा नआएको र कहिले काम धेरै बाँकी रहेकाले बसेको बताउँछन् ।

अझ नयाँ हाकिमले आफूसँग पूर्वजानकारी र सल्लाह नगरी आएको बताउँछन् । 'आफू आउने भएपछि कहिले आउने भनेर फोन गर्नुपर्छ सल्लाह नै नगरी आए, उनले भने, 'म नगएसम्म त सवै काम म आफैं गर्छु ।' उनले आफू सरुवा भैसकेकाले जान त जाने तर, काम भ्याएर मात्र जाने बताए ।

दुई जना कार्यालय प्रमुख भएपछि अहिले कर्मचारीलाई कसबाट अनुमति लिएर काम गरौं भन्ने दुविधा बढेको छ । 'उहाहरुलाई भन्दा हामीलाई पो गाह्रो छ, जनस्वास्थ्यका एक कर्मचारीले भने- नयाँलाई सोधौं, पुरानो रिसाउछन् भन्ने लाग्ने, पुरानोलाई सोधौं नयाँ रिसाउछन् कि भन्ने डर, काम गर्न सारै गाह्रो भएको छ ।'

सामान्यतय सरुवा भएको २१ दिनभित्रमा सम्बन्धित जिल्लमा हाजिर हुनुपर्ने नियम छ । एक हप्ता कार्यभार छाड्ने समय, एक हप्ता बाटोमा र एक हप्ता कार्यभार समाल्नका लागि समय दिएको हुन्छ ।
साभार - इ. कान्तिपुर

गर्भमै विवाह छिनोफानो


बच्चाबच्ची जन्मेकै हु'दैनन् तर विवाहको टुङ्गो लागिसक्छ । १० वर्ष उमेर नपुग्दै उनीहरूको औपचारिक विवाह हुन्छ । बाजुराको विकट बिच्छ्या' गाविसको गुम्बा गाउ'मा अझै पनि गर्भमा छ'दै विवाह छिनिन्छ । गाउ'मा कुनै महिलाको गर्भ रहेको केही महिनामै तिनका परिवारले त्यस्तै अर्की महिलाको गर्भमा रहेको शिशुबीच विवाहको छिनोफानो गर्छन् । त्यहा'का लागि अनिवार्य र स्वाभाविक मानिने यो चलन गुम्बावासीको मौलिक परम्परा हो ।
पेमा लामा भर्खर दस वर्षकी भइन् तर गएको मंसिर महिनामा उनको विवाह आफूभन्दा ६ वर्ष कान्छा गाउ'कै देवबहादुर लामास'ग भइसक्यो । पेमा र देवबहादुरको जस्तै उमेर समूहका चार जोडी यसै वर्ष विवाह बन्धनमा बा'धिए । दस वर्षअघि नै पेमा र देवबहादुरका बुबाले सम्धी साइनो गा'सिसकेका थिए । पेमाकी आमा पासाङले भनिन्, 'मेरो गर्भ रहेको केही महिनामै देवबहादुरका बुबास'ग कुरा पक्का गरेका थियौं ।'
सदरमुकाम मार्तडीदेखि ४० कोस टाढा रहेको यो गाउ'मा २४ परिवार छन् । अहिले यस गाउ'मा पा'च वर्षमुनिका बालबालिकाको संख्या ३५ छ । उनीहरूकोे कोस'ग बिहे हुने ? पक्का भइसकेको स्थानीय दोर्जे लामाले बताए ।
स्थानीयका अनुसार जनजाति समुदायका थापा, गुरुङ, लामा र कु'वरको बसोबास रहेको गुम्बामा फुपू र मामाका छोराछोरीबीचको विवाहलाई प्राथमिकता दिइन्छ ।
अभिभावकले नै नाबालक उमेरका बालबालिकाको विवाहलाई स्वाभाविक र अनिवार्य ठान्ने परम्परा भएपछि बालबालिकाहरूले त्यसमा नाइनास्ती गर्ने कुरै भएन । 'विवाह भएको कम्तीमा तीन वर्षसम्म बेहुलीले दुलहाको घरमा घरजम गर्नुपर्ने हुन्छ । त्यसपछि दुलही इच्छाअनुसार माइतीमा भेटघाट गर्न जान छुट पाउ'छिन््,', छिमेकी गाउ' देउसैनका धनबहादुर थापाले भने ।
साभार - इ. कान्तिपुर

कक्षा १० को अन्तमा क्षेत्रीय परीक्षा, १२ मा राष्ट्रिय स्तरको परीक्षा


सरकारले चार वर्षभित्रमा कक्षा ९- १२ लाई माध्यमिक तह बनाउने रणनीतिअन्तर्गत संरचना परिवर्तनको तयारी सुरु गरेको छ।
२०६६ भदौ ४ मा सरकारले स्वीकृत गरेको विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत ९-१२ को पाठ्यक्रम तथा संरचनामै परिवर्तन गर्न गृहकार्य थालेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।
केन्द्रका उपनिर्देशक दीनानाथ गौतमले माध्यामिक तह (९ - १२ ) को पाठ्यक्रम तथा संरचना परिवर्तनका लागि बिहीबार कार्यपत्र प्रस्तुत गरे।
परिवर्तित पाठ्यक्रमअनुसार कक्षा १० को अन्तमा क्षेत्रीय परीक्षा हुने तथा कक्षा १२ मा राष्ट्रियस्तरको परीक्षाको प्रस्ताव गरिएको छ। मुख्य पाँच विषय पास गर्ने विद्यार्थीलाई उक्त तह उत्तीर्ण गरेको प्रमाण-पत्र प्रदान गरिनेछ। ऐच्छिक विषयको परीक्षा विद्यालयले नै लिई राष्ट्रिय परिक्षा बोर्डमा अंक पठाउने व्यवस्था गरिएको छ। विद्यार्थीको सिकाइस्तर निर्धारण तथा परीक्षा सञ्चालनको जिम्मेवारी केही मात्रामा विद्यालयलाई नै दिने व्यवस्था गर्न लागिएको गौतमले बताए।
आधारभूत तह (१ - ८ ) को पाठ्यक्रम २०६८ देखि १६ जिल्लाका सय स्कुलमा परीक्षणका रूपमा लागू गरिसकिएकाले त्यसकै निरन्तरताका रूपमा यस वर्ष ९-१२ को पाठ्यक्रम संरचना परिवर्तन गर्न लागेको उनले जनाए। ९-१२ को विषय, पाठ्यभार तथा पूर्णांकसमेत परिवर्तन गरिने केन्द्रले जनाएको छ। कक्षा ९ देखि १२ सम्म नै ७ सय पूर्णांक राखिने भएको छ। अहिले ११ र १२ मा ५ सय पूर्णांक छ।
केन्द्रले दलका प्रतिनिधि, शिक्षक , विद्यार्थी, पाठ्यक्रम विशेषज्ञ, अभिभावक र सरोकारवाला संघ-संस्थासँग यसबारे छलफल गरिरहेको जानकारी दिएको छ। 'असार दोस्रो साता राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्मा नयाँ पाठ्यक्रम संरचना पठाइनेछ,' गौतमले भने, 'परिषद्को सिफारिस र शिक्षा मन्त्रालयको स्वीकृतिपछि आगामी वर्षदेखि ९- १२ को पाठ्यक्रम परीक्षणको रूपमा लागू गरिने छ।'
सरकारको नीति र कार्यक्रम-२०६७ ले पनि १- १२ लाई विद्यालय शिक्षा मानेकाले ९ - १२ को पाठ्यक्रम तथा संरचना परिवर्तन गर्न लागेको केन्द्रका महानिर्देशक चित्रप्रसाद देवकोटाले बताए। उनले भने, 'खण्डीकृत रहेको विद्यालय शिक्षामा एउटै व्यवस्था मिलाउन पाठ्यक्रम तथा संरचना परिवर्तन गर्न लागिएको हो। नयाँ संरचनाले साधारण विद्यालय, मदरसा, गुम्बा, गुरुकुल, संस्कृत र प्राविधिक शिक्षालाई एकै धारमा ल्याउनेछ।' ९-१२ लाई एकीकृत विद्यालय शिक्षा बनाउने तयारी गरिरहेको विभागले जनाएको छ।
विभागका निर्देशक खगराज बरालले ९-१२ को नमुना विकास निर्देशिका-२०६८ स्वीकृत गराई पाँच जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको बताए। बरालका अनुसार वैशाख अन्तिम साता स्वीकृत निर्देशिका जेठ दोस्रो साता पूर्वाञ्चलको धनकुटा, मध्यमाञ्चलको रसुवा, पश्मिाञ्चलको कपिलवस्तु, मध्यपश्चिमाञ्चलको बाँके र सुदूरपश्चिमाञ्चलको डडेल्धुराका सबै उच्चमाविमा लागू गर्न निर्देशन दिइएको छ।
निदैशिका अनुसार विद्यालय क्षेत्र सुधार योजना कार्यन्यन गर्न ( ९ - १२ ) लाई विद्यालय शिक्षामा ल्याउन विद्यालय ब्यवस्थापन समिती र हेडसर एउटै हुनु पर्ने , ९ - १२ सम्मको कार्ययोजना एउटै बनाउनु पर्ने , विद्यालयको लेखा प्रणाली ९ - १२ को एउटै बनाउने निर्देशन दिएको बरालले बताए
एकीकृत विद्यालय संरचना मिलाउन अति आवश्यक भएकोले हामीले छनौटका जिल्लाका विद्यालयहरुलाई पहिले निर्देशिका अनुसार मिलाउन निर्देशन दिएका छौं। ' बरालले नागरिकसँग भने ' यो शैक्षिक सत्रमा ब्यवस्था मिलान गरी अगामी वर्षदेखि परिक्षणको रुपमा लागु हुन्छ। '
शिक्षा मन्त्रालयले पनि विद्यालय क्षेत्र सुधार योजना र राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले ब्यवस्था गरे अनुसार एकीकृत विद्यालय शिक्षा लागु गर्न तत्परता देखाएको छ । शिक्षा मन्त्रालयका सहप्रवक्ता लेखनाथ पौड्यालले शिक्षा ऐनमा राष्ट्रिय परिक्षा बोर्ड गठन गर्ने प्रस्ताव गरेको जनाए।
२०१४ देखि मुलुकभरि एकीकृत शिक्षा लागु गर्नैपर्ने भएकोले राष्ट्रिय परिक्षा बोर्डको गठन र कार्यन्वयन पनि २०१४ मा हुन्छ। ' पौडेलले भने ' यसकालागि मन्त्रालयले ऐन केविनेटमा पठाएको छ छिटै टुंगो लाग्ने छ। '
साभार : नागरिक न्युज

मौलाउँदै यौन व्यवसाय


हरेक वर्ष पाँच सय यौनकर्मी बढ्ने गरेको पाइएको छ ।
उपत्यकामा मात्र आठ हजार यौनकर्मी सक्रिय छन् । यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी निकायहरूका अनुसार देशभर यो संख्या तीस हजारभन्दा बढी छ ।
यौनकर्मीहरूमा चेतना जगाउने उद्देश्यले स्थापित कम्युनिटी एक्सन सेन्टर (सिएसी नेपाल) ले सार्वजनिक गरेको तथ्यांकमा काठमाडौंमा पाँच हजार ५५ यौनकर्मी रहेको पाइएको हो । ती यौनकर्मीका आठ हजार तीन सय ८९ नियमित ग्राहक रहेका छन् । यस्तै भक्तपुरमा एक हजार ७९ यौनकर्मी र तिनका ग्राहकहरू एक हजार नौ सय ४४ रहेका छन् । हरेक वर्ष पाँच सय यौनकर्मी बढ्ने गरेको पाइएको छ ।
एक यौनकर्मीबराबर २० जना ग्राहक सम्पर्कमा आउने गरेको अनुमानका आधारमा ग्राहकको संख्या निर्धारण गरिएको हो । सिएसी नेपालका क्लिनिकहरूमा नियमित आउने गरेका र सिएसीका फिल्ड मोबिलाइजरसँग गरिएको सम्पर्कका आधारमा सक्रिय यौनकर्मीको संख्या अनुमान गरिएको सो संस्थाले जनाएको छ ।
राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण केन्द्रले अक्टुबर २०१० मा सार्वजनिक गरेको रिपोर्टमा हालसम्म आठ सय ८१ यौनकर्मीलाई एड्स लागेको र तीमध्ये आठ सय ७४ महिला र सातजना पुरुषसमेत रहेको दाबी गरिएको छ । पतिबाट हेपिएका, युद्धबाट विस्थापित भई काठमाडौंमा आई शरणार्थीझैँ जीवन बिताएका, गरिबीले थलिएका, बालबच्चा पढाउन नसकी समस्यामा परेका महिला यस क्षेत्रमा बाध्य भएर संलग्न हुने गरको पनि सिएसी नेपालले जनाएको छ । यौन क्षेत्रमा लाग्नेहरू १६ वर्षदेखि ६० वर्षसम्मका पाइएको छ । यस्ता यौनकर्मीलाई सिएसीले निःशुल्क कन्डम वितरण, रक्तपरीक्षण र निःशुल्क औषधि प्रदान गर्ने गरेको छ ।
यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूको अनुमानमा यौन क्षेत्रमा लागेका महिलामध्ये ८० देखि ९० प्रतिशत महिलामा यौनरोग लागेको हुन्छ । कन्डम प्रयोग गर्दा एड्स सर्ने सम्भावना नभए पनि यौनांगमा रहने गरेका मुसा र जनैखटिराजस्ता यौनरोग भने कन्डम प्रयोगबाट पनि सर्ने सम्भावना रहन्छ । 'हामीले यौनकर्मीलाई सुरक्षित यौनसम्पर्कका लागि प्रोत्साहित गर्ने गरेका छौँ । यसका लागि हामीले विभिन्न किसिमका चेतनाका कार्यक्रम सुरु गरेका छौँ,' सिएसी नेपालकी कार्यकारी निर्देशक तुलसालता अमात्य भन्छिन्, 'यौनकर्मी महिला दिदी-बहिनीको बाध्यता पनि बुभ\mनुपर्छ । उनीहरूलाई घृणा गरेर, दुःख दिएर यो समस्याको समाधान हुँदैन । उनीहरूलाई वैकल्पिक आयआर्जनको काम दिन सक्यौँ भने उनीहरू यो पेसा छोड्न तयार हुन्छन् ।'
यौनकर्मीलाई चेतना नजगाई यस क्षेत्रलाई वैधता दिन नहुने तर्क पनि अमात्य गर्छिन् । 'म यो क्षेत्रलाई वैधता दिनुभन्दा पनि यस क्षेत्रमा संलग्न यौनकर्मीलाई जागरुक बनाउनुपर्छ भन्ने पक्षमा छु,' अमात्य भन्छिन् । उता, यौनकर्मीहरू भने आफूहरू राज्यबाटै हपिएको बताउँछन् । आप\mना कुराहरू कसैले नसुन्ने र सबैले घृणा गर्ने गरेको गुनासो उनीहरूको छ । 'हामीसँग सम्पर्क गर्दा उनीहरूले हामीलाई रानी ठान्छन्, तर बाहिर गएर भने घृणा गर्छन् । के हामी मान्छे होइनौँ ?' सिएसीको सम्पर्कमा आएकी एक यौनकर्मी यसरी दुखेसो पोख्छिन्

छोराछोरी पाल्न ग्राहक नखोजी हुँदैन

रिमा नेपाली (नाम परिवर्तन) सिन्धुपाल्चोक
श्रीमान्ले सौता ल्याएपछि यो पेसामा लाग्नु मेरो बाध्यता भयो । गाउँमा बस्न सकिनँ । गाउँकै एकजना दाजुसँग म काठमाडांै आएँ । ती दाजुले नै सुरुमा मेरो सतित्व लुटे । त्यसपछि उनले मलाई एउटा गलैँचा कारखानामा काम गर्न राखिदिए । त्यहाँको मालिकले ममाथि शोषण गर्न थाल्यो । साथीहरूसँगको संगतमा लागेँ । साथीहरू पनि त्यस्तै रहेछन् ।
पहिलोपटक म सय रुपैयाँमा बिक्री भएँ । त्यो रुपैयाँ पनि मेरो लागि धेरै थियो । मेरा दुईजना छोराछोरी छन् । ती छोराछोरीलाई पाल्न पनि म यो क्षेत्रमा नलागी हुँदैन । मलाई थाहा छ, मैले गरेको काम राम्रो होइन, तर छोराछोरीलाई पाल्न मैले ग्राहक नखोजी हुँदैन ।
म एड्सदेखि सचेत छु । तीन-तीन महिना रगत चेक गराउँछु र कन्डमविना मरिकाटे पनि सम्पर्क गर्दिनँ । अब त मेरो उमेर पनि बित्न थालिसक्यो । ४० नाघिसकेँ । अब कति समयसम्म यो काम गर्ने ? एकजना ग्राहकसँग पाँच सय रुपैयाँसम्म लिने गरेकी छु । म आफैँ ग्राहक त खोज्दिनँ । होटेलवालाहरूले ग्राहकसँग सम्पर्क गरेर बोलाएपछि जाने गर्छु । मैले गरेको यो कामबारे मेरा साथी, परिवार र श्रीमान्ले थाहा पाउँछन् कि भनेर सधैँ डर लाग्छ ।

अब हामी पनि संगठित हुनुपर्छ

मन्दिरा शर्मा (नाम परिवर्तन) नुवाकोट
प्रहरीले बर्दीमै हामीलाई शोषण गर्छन् । तर, तिनै प्रहरीले वेश्यावृत्ति भयो भनेर हामीलाई पक्राउ गर्छन् । हाम्रो अधिकार खोई ? के हामी मान्छे हाइनौँ ? प्रहरीले बर्दीमै एकजना साथीलाई शोषण गरिरहेको दृश्य मैले मेरो मोबाइलमा खिचेर राखेकी छु ।
हामी आफ्नै इच्छाले बिक्री हुँदा अपराध गरेको ठहर हुने, तर प्रहरीले जबर्जस्ती हामीलाई गर्दा केही नहुने ? हामीले कसैको केही बिगारेका छैनौँ । कसैको श्रीमान् खोसेका छैनौँ र कसैको घरबार बिगारेका पनि छैनौँ । कसैले हामीलाई प्रयोग गरेर पनि पैसा दिँदैन । त्यो पनि सहन्छौँ । रत्नपार्कमा एकजना महिला यौनकर्मीलाई त्यहाँका स्थानीय बासिन्दाले नांगै बनाएर कुटपिट गरे । त्यस्तो अत्याचार पनि हामीले सहनुपर्छ ।
त्यसकारण यौनकर्मी महिलाहरू अब संगठित हुनुपर्छ र आप\mनो अधिकार खोज्नुपर्छ भन्ने हामीलाई लागेको छ । सरकारी अधिकृतहरू हाम्रा ग्राहक हुन्छन्, तर उनीहरू बाहिर गएर आफैँ विकृत भयो पनि भन्छन् । यस्तो दोहोरो चरित्र देखाउँदा मलाई घृणा लाग्छ ।
बिए पास गरिसकेकी छु
सिर्जना मगर (नाम परिवर्तन) बुटवल
हुन त म क्याम्पसमा पढ्छु ।बिए पास गरिसकेकी छु
। यस्तो काम गर्नुहुँदैन भन्ने थाहा छ । तैपनि पैसाका लागि यस्तो गर्नुपर्छ । अरूले झैँ पैसा पाउनेबित्तिकै आफूलाई सुम्पन्न । केटा मन पर्‍यो भने र पैसामा पनि चित्त बुभ\mयो मात्र भने उसले भनेको गर्छु । मलाई यस्तो गर्न सिकाउने एकजना केटा साथी हो । त्यसलाई म कहिल्यै बिर्सन्नँ । उसले मलाई धोका दियो । अहिले त मैले गरेको फोनसमेत उठाउँदैन । मलाई बिहे गर्छु भनेर जे पनि गर्‍यो, तर बिहे गरेन ।
त्यो केटासाथीको संगतले यस्तो बानी पर्‍यो । पछि यस्तै-यस्तै काममा लाग्न थालेँ । कहिलेकाहीँ त रातभर रुन्छु । मेरा बुबाआमाले थाहा पाए भने के गर्लान् भनेर निकै डर लाग्ने गर्छ । केटाहरूले मलाई देख्नेबित्तिकै कति राम्री भन्छन्, मरिहत्ते पनि गर्छन् । तर, उनीहरूको चाहना भने उही हो । बिहेको कुरा गर्ने हो भने भाग्न खोज्छन् ।
अब कसले गर्छ होला मलाई बिहे ? यदि बिहे गरे पनि म यस्तो केटी हुँ भन्ने थाहा पाएपछि उसले मलाई छोड्छ होला । तर, मेरो चाहना भने बिहे गरी घरजम गर्ने र यो पेसा छोड्ने हो ।
साभार : नया पत्रिका

बोक्सीको आरोपमा चरम यातना


बोक्सीको आरोपमा कुटिएकी मनमाया नेपालीको पाठेघरबाट लगातार रगत बगेपछि थप उपचारका लागि बुधबार कोसी अञ्चल अस्पतालमा ल्याइएको छ

बोक्सीको आरोपमा कुटपिट गरिएकी एक महिलाको स्वास्थ्य स्थिति गम्भीर भएको छ । तपेश्वरी-९ उदयपुरकी ५५ वषर्ीया एकल महिला मनमाया नेपालीलाई दुहुनु भैंसीलाई बोक्सी लागेको भन्दै मरणासन्न हुनेगरी कुटपिट गरिएको हो ।
नेपालीलाई आइतबार छिमेकी ममता राउतले भैंसीले दूध नदिएपछि बोक्सी लगाएको भन्दै कुटपिट गरेकी हुन् । नेपालीको आँखा, गाला, अनुहार र पाठेघरमा गम्भीर चोट लागेको छ । पीडितको पाठेघरबाट लगातार निस्किएको रगत नरोकिएपछि थप उपचारका लागि बुधबार विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याइएको छ । 'बाख्रा पाखा लगाउन आइतबार दिउँसो खन्ती माग्न गएकी थिएँ, के हेरेकी तेरो नजर लागेर भैंसीले दूध दिन छाड्यो भन्दै राउतनीले झम्टिहालिन्,' उनले भनिन्, 'आँगनमा पछारेपछि त केही थाहा पाइनँ, भरे होसमा आएपछि त अनुहारैभरि मुड्कीले हानेर सुन्निएको थियो, कुट्दै लडाएपछि त पाठेघरबाट भलभली रगत बग्न थाल्यो ।
कुटपिटबाट गम्भीर घाइते भई भुइँमा लडेकी उनलाई स्थानीय महिला सञ्जालका सदस्यले स्थानीय फत्तेपुर अस्पतालमा उपचारका लागि भर्ना गराएका थिए । त्यहाँ पाठेघरबाट रगत बग्ने समस्याको उपचार हुन नसकेपछि उनलाई विराटनगर स्थित विराट नर्सिङ होममा ल्याइएको थियो । 'त्यहाँ पनि कुटपिटको केस रहेछ यो त कोसी अञ्चल अस्पतालमा लानुपर्छ भनेकाले यहाँ ल्याएका हौँ,' दलित नेटवर्क तपेश्वरी गाविसका अध्यक्ष एवं पीडितका मामा पर्ने विचारी सार्कीले भने । १५ वर्षअघि मनमायाको श्रीमान्को मृत्यु भएपछि उनी एक्लै बस्दै आएकी थिइन् । छोरीज्वाइँले कहिलेकाहीँ सहयोग गर्ने गरेपनि मनमायालाई दैनिक गुजाराका लागि भने धौधौ हुने गरेको छ ।
कुटपिट भएपछि महिला अधिकारकर्मीले स्थानीय प्रहरीचौकीमा जाहेरी दिएपनि उपचारमा लाग्ने सबै खर्च बेर्होने कबोल गरेको र सोहीअनुसार उपचारका लागि ल्याइएको पीडक ममताका जेठाजु गोविन्द राउतले बताए ।
साभार : नया पत्रिका

मोबाइल अपराधको यो हद !


'राति ढोका खोलिराख्नु ल डार्लिङ, म आउँदैछु।' यस्तो वाक्यांश एसएमएस बनेर आउँदा कविता बाँस्तोला (नाम परिवर्तन) ले परदेशमा रहेका आफ्ना श्रीमान्लाई सम्झिन्। सन्देश हेरेर 'रोमान्टिक मुड' बनाएकी कवितालाई लाग्यो, सायद खसमले काठमाडौं आएर 'म्यासेज' पठाएको हुनुपर्छ। यस्तै गम खाइरहेका बेला विदेशबाटै श्रीमान्ले सन्चो-सुविस्ता खोजबिन गर्दै कल गर्दा पो कविता छाँगाबाट खसेझैं भइन्। त्यो विश्वासमा ठेस लागेपछि उनको उमङ्ग क्षणभरमै पानीको फोका सावित भयो। कविताले भनिन्- 'त्यसपछि पो ननभेज म्यासेज पठाउने अरू कोही रहेको भेउ पाएँ।' मोरङ उर्लाबारीकी कवितालाई जेठ १ गते पहिलोपल्ट 'राति ढोका खोलिराख्नु...' लेखिएको मात्र होइन, तारन्तर तीन दिनसम्म अश्लील शब्दको वर्षा नै भयो, उनको मोबाइल 'इनबक्स'मा। 'पढेर सुनाउने खालको शब्द नै होइन,' प्रहरी हाताका लेखन्दास गणेश गुरुङले भने- 'यस्तो एसएमएसको कानुनी उपचार खोज्नु कविताको साहसिक निर्णय हो।' दुई सन्तानकी आमा कविताले मानसिक तनावबाट मुक्ति पाउन जेठ ५ गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिइन्। प्रहरीले सिम नम्बरका आधारमा अनुसन्धान तीव्र पारेपछि कविताकै भनाइमा कल्पनासमेत नगरेको व्यक्ति दोषी देखिए अर्थात् छिमेकी लोमनाथ ढुंगेल। ३५ वर्षीय ढुंगेलले अश्लील एसएमएस पठाउनकै लागि मधुमल्ला, तोरीबारीका नरबहादुर निरौलाका छोरा कमल निरौला बनेर एनसेलको ९८१५३३०५२५ नम्बरको सिम किनेको रहस्य पनि त्यतिबेलै खुल्यो।
प्रहरीले सिम कमल निरौलाको नाममा रहेको र कमलको बाबुको नाम नरबहादुर नै भएको आधारमा नरबहादुरलाई पनि पक्राउ गर्‍यो। तर, उनका छोरा कमल तीन वर्षअघि नै साउदी अरब गएको कुरा स्पष्टपछि ढुंगेलले किर्ते गरी एनसेलको सिम निकालेको रहस्योद्घाटन भएकोे हो। ७५ वर्षीय वृद्ध नरबहादुरले दुःखी हुँदै भने- 'के दिन आयो, मजस्तो पाकोले पनि अनाहकमा तीन दिन तारेख धाउनुपर्‍यो।'
पछिल्लो समय मोबाइलबाट हुने अपराध अचाक्ली बढेको छ। एउटा बिराउने शाखा पिराउने भनेझैं एउटाले गल्ती गर्दा अनुसन्धानका नाममा निरपराधीले पनि सास्ती खेप्न थालेका छन्।
मधुमल्लाका निरौलाजस्तै सास्ती खेप्नेमा पर्छन् उर्लाबारीका हेमराज अग्रवाल। कसैको मोबाइलमा नम्बर 'सेभ' भएकै कारण उनले सात दिन थुनामा बिताउनुपर्‍यो। हेमराजले ०६७ असार ३२ गते एनसेलको सिम लिएका थिए, तर विक्रेताले लापरवाहीपूर्वक ९८१४३१०२९५ नम्बरको सिम दिएर दर्ता खातामा ९८१४३१०२६५ नम्बर टिपेपछि अग्रवालले प्रहरीको सास्ती भोगेका हुन्। एक महिनाअघि झापाको बिर्तामोडमा घुमुवा प्रहरी अम्बिका पोखरेललाई गोली हान्ने माओवादी लडाकु भेषराज दर्जीको मोबाइल 'कल डिटेल्स' खोज्ने क्रममा अग्रवालको नाम देखिएपछि उनी प्रहरी फन्दामा परेका थिए। हाल १५ दिने तारेख खेपिरहेका व्यापारी अग्रवालले आफूले लडाकु भेषराज दर्जीको फोन रिसिभ पनि नगरेको र उनलाई कल पनि नगरेको उल्लेख गर्दै भने- 'लापरबाही गर्ने सिम विक्रेता कारबाहीको भागीदार हुनुपर्थ्यो तर उल्टो भयो।'
अग्रवाललाई सिम बेच्ने उर्लाबारीस्थित एनसेलका आधिकारिक विक्रेता डम्बर तुम्वाहाङ भने मोबाइल बोक्नेहरू नै सतर्क र सजग हुनुपर्ने कुरा बताउँदै भन्छन्। उनले भने- 'नम्बर दर्ता मात्र सबै थोक होइन।' यस्तै गत वैशाख ९ गते पथरीकी चन्द्रकला गुरुङलाई स्थानीय अन्नपूर्ण आवासीय विद्यालयका शिक्षक महेश नायकले मोबाइलबाटै ५० लाख रुपैयाँ माग गर्दै धम्की दिएपछि उनी पक्राउ परे। अहपरण ऐनअन्तर्गत इलाका प्रहरी कार्यालय उर्लाबारीले मुद्दा चलाएपछि नायकलाई जेठ १ गते पुर्पक्षका लागि मोरङ कारागार चलान गरिएको प्रहरी निरीक्षक श्याम सारु मगरले बताए।
महिनैपिच्छे मोबाइलबाट हुने अपराधका घटना दुई-चारवटा दर्ता हुने गरेको उर्लाबारी प्रहरी बताउँछ। यद्यपि पीडितकै आग्रहमा कतिपय घटनामा मिलापत्र गराउनुपर्ने बाध्यता भएको पनि प्रहरीले बतायो। एक वर्षअघि पथरीका व्यापारी महावीर जैनलाई लिम्बुवान संगठनका नाममा मोबाइलबाट धम्की दिइएको घटना सामाजिक छलफलबाटै मिलापत्रमा पुगेर टुंगिएको थियो। त्यस्तै चार महिनाअघि पथरीका पत्रकार अर्जुन जम्नेली राईलाई एसएमएस गरी धम्की दिने विवेक भट्टराईविरुद्ध सार्वजनिक मुद्दा दायर गरियो। अभियुक्त भट्टराई हाल २८ हजार धरौटी तिरेर रिहा भएका छन्। पत्रकार राईलाई धम्की दिने अन्य अपराधी भने नेपथ्यमै हराएका छन्।
मोबाइल प्रदायक कम्पनीहरूले हचुवाको भरमा सिम वितरण गर्दा यस्ता घटनाहरू हुने गरेको प्रहरी निरीक्षक सारुमगरले बताए। खासगरी पानपसल तथा किराना पसलहरूमा समेत पाइने सिमकार्ड ग्राहकको तस्बिर, तीनपुस्ते र नागरिकताबिना नै बिक्री हुने गरेका छन्। सस्तो मूल्यमा पाइने सिमका कारण सर्वसाधारण जनता सञ्चारको पहुँचमा पुगे पनि सिम दुरुपयोगको घटनाबाट धेरैले ताडना खेप्नुपरेको यथार्थ हो।
साभार :- कांतिपुर साप्ताहिक

मसाजमा आचारसंहिता

व्यवसायीहरूले मसाजका लागि चाहिने सम्पूर्ण सामग्री राख्नुपर्ने, पारदर्शी सिसा जडान गरेको खुला कोठा हुनुपर्ने र उमेर पुगेका प्रशिक्षित युवायुवतीले मात्र यो सेवा दिन पाउनेछन् ।


तोकिएको आचारसंहितामा नबसी मसाज सञ्चालन गर्नेको व्यवसाय दर्ता र नवीकरण नहुने भएको छ । यसअनुरूप व्यवसायीहरूले मसाजका लागि चाहिने सम्पूर्ण सामग्री राख्नुपर्ने, पारदर्शी सिसा जडान गरेको खुला कोठा हुनुपर्ने र उमेर पुगेका प्रशिक्षित यु्वायुवतीले मात्र यो सेवा दिन पाउनेछन् ।
ठमेल पर्यटन विकास परिषद्, महानगरपालिका, स्थानीय प्रहरी, मसाज व्यवसायी संघ र नागरिक समाजले सम्बद्ध व्यवसायीहरूलाई ७ देखि १० दिनभित्र आचारसंहिताको पालना गर्न सुझाव दिएको छ । 'दस दिनभित्र आचारसंहिताअनुरूप सञ्चालन भए/नभएको अनुगमन सुरु हुन्छ,' ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले कान्तिपुरसँग भने । उनले तोकिएको मापदण्ड पालना नगर्ने व्यवसायीसहित घरबेटीलाई समेत कारबाही हुने बताए । मसाजको आडमा देह व्यवसाय गर्नेलाई प्रहरीको सहयोगले मानव बेचबिखनको मुद्दा लगाउने श्रेष्ठले बताए ।
'दुई साताअघि देह व्यवसायको अखडा बनेका सबै मसाजहरू बन्द गरेको हो,' उनले भने । श्रेष्ठका अनुसार अधिकांश मसाजमा १४ वर्षमुनिका बालिका राखेर खुलारूपमा यौन व्यवसाय सञ्चालन गरेको देखिएपछि यो कदम चालिएको हो । ठमेल क्षेत्रमा झन्डै ७३ मसाज विधिवत् सञ्चालन भएको देखिए पनि व्यवसाय दर्ता नगरी चलाउनेको संख्या योभन्दा दोब्बर छ । आचारसंहिताअनुरूप सञ्चालन नभएको मसाजको दर्ता र नवीकरण नगर्न स्थानीय २९ नं वडा कार्यालयसँग सहमति भइसकेको श्रेष्ठले बताए ।
सहमतिअनुरूप गत पुस चार गतेदेखि नयाँ मसाजको दर्ता र पुरानोको नवीकरण रोकिएको वडा कार्यालय सचिव सुमन अधिकारीले बताए । कार्यालयमा आयुर्वेद मसाज, मसाज र स्पा नाम राखेर ती व्यवसाय दर्ता भएको देखिन्छ । महानगरपालिकाले प्राथमिकता क्षेत्रमा राखेको मसाज व्यवसायीहरूले दर्ता र नवीकरणका लागि ३ हजार रुपैयाँ तिनुपर्छ । उक्त क्षेत्रमा दुई लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्मको लगानीमा मसाज सञ्चालन भएको देखिन्छ ।

'हाम्रो संयुक्त टोलीले आचारसंहिता लागू भए, नभएको अनुगमन गर्छ, त्यसपछि मात्र अब व्यवसाय दर्ता र नवीकरण हुन्छ,' अधिकारीले भने । उनले आचारसंहिता लागू भएपछि आँखा चिम्लेर प्रहरीले गर्ने कारबाहीमा निर्दोष व्यक्ति नपर्ने बताए । 'प्रहरीको कारबाहीमा मसाज मात्र गराउन पुगेका पनि पर्छन्,' आचारसंहिताका प्रस्तावकसमेत रहेका अधिकारीले भने, 'त्यही भएर मापदण्ड बनाइएको हो ।'
नेपाल मसाज व्यवसायी संघका अध्यक्ष केबी लामाले अनुगमन सुरु भइसकेको बताए । तीसवटा मसाज सदस्य रहेको उक्त संघले यसका लागि सात जनाको निगरानी समितिसमेत बनाएको छ ।
उनले १८ वर्ष मुनिकालाई मसाजमा राख्न नपाउने भनिए पनि कमैले मात्र यसको पालना गरेको बताए । 'राम्रो ढंगले यो व्यवसाय गर्ने कमै मात्र छन्,' उनले भने, 'निरीक्षण गर्न पुग्दा मसाज सञ्चालक/सञ्चालिकाले दूधले नुहाएझंै भलाद्मी शैलीमा कुरा गर्ने र कोही नभएपछि भित्रभित्रै बदमासी गरिहाल्छन् ।'
संघका अनुसार २०५०/५१ सालसम्म ठमेलमा विदेशीलाई मात्र लक्षित गरेर खोलिएका मुस्किलले १५ मसाज पार्लर थिए । विदेशका मसाजमा यौन आनन्द लिनेहरूले ठमेलका मसाजमा समेत यौनको माग गर्न थालेपछि यसको स्वरूप परिवर्तन भएको लामाले बताए । 'विदेशमा झैं स्थानीय मसाजले ससाज (यौन सेवा) दिन सुरु गरे, थोरै लगानीमा धेरै आम्दानी हुन थाल्यो,' उनले भने, 'नयाँ व्यवसायी र कलिला अनुहारको प्रयोग बढ्दै गयो ।'उनले यसलाई नियन्त्रणमा राख्न संघसंस्था, सरकारी निकाय र प्रहरीलाई आग्रह गर्न कुनै कसर बाँकी नराखेको बताए तर प्रहरीको दोहोरो चरित्रले गर्दा मसाज पार्लरलाई मर्यादित बनाउन झनै समस्या परेको लामाले बताए । उनले प्रहरी धरपकड मात्र यसको समाधान नभएको बताए । 'प्रहरीले मुखले सहयोग गर्ने भन्छ,' लामाले भने, 'भन्ने बेलामा एउटा कुरा गर्छ, गर्ने बेलामा अर्कै गर्छ ।'
स्थानीयवासीका अनुसार ठमेलमा ६० प्रतिशत मसाज पार्लर स्थानीय गुन्डा समूहको सहयोगमा र ३० प्रतिशत प्रहरीको संरक्षणमा सञ्चालित छन् । 'कसैको संरक्षण प्राप्त नभएका १० प्रतिशत मसाज प्रहरी र गुन्डाको चेपुवामा पर्छन्,' एक स्थानीय होटल व्यवसायीले भने । प्रहरीकै नातागोता र संरक्षणमा चल्ने ४० प्रतिशत मसाजमा कहिल्यै छापा नपर्ने र देखाउनलाई पक्राउ गरिहाले पनि कारबाही नगरिने उनले बताए ।
'प्रहरी, डन र गुन्डालाई ब्वाइफ्रेन्ड र पार्टनर बनाएर मसाज सञ्चालिका खुलेआम यौन व्यवसाय गर्छन्,' उनले भने, 'सञ्चालिकामा केही चलचित्र, म्युजिक भिडियो र जग्गामा लगानी गर्नेसमेत छन् ।' उनका अनुसार प्रहरीले रकम खान पाएको ठाउँमा मसाज चलिरहेको हुन्छ भने नपाएको ठाउँमा कडाइ गर्छ । ठमेल भगवान् बहालका विश्वम्भरलाल प्रधानले ९० प्रतिशत मसाज देह व्यवसायको थलो भएको खुला, गोप्य सबैलाई थाहा भएको बताए । उनले ठमेलमा ७० प्रतिशत राजधानी बाहिरबाट आएका र ३० प्रतिशत मात्र स्थानीय भएको बताए ।'२० प्रतिशत स्थानीय मात्र यहाँ बस्छन्,' उनले भने, 'महँगो भाडामा घर दिएर १० प्रतिशत अन्यत्र बस्छन् ।' भाडामा घर नदिनेले महानगरपालिकालाई घरजग्गा करसमेत तिर्न नसक्ने स्थानीयले बताए । उक्त क्षेत्रको एउटै घरमा दुईदेखि पाँचवटा मसाज र रेस्टुरेन्टहरू देख्न सकिन्छ । व्यवसायीहरूले एउटा कोठाको मासिक २५ देखि ५० हजार रुपैयाँ भाडा तिर्छन् । ठमेलमा २५ जति पब, बार एवं झन्डै १ सय ३० रेस्टुरेन्ट छन् ।
सरकारले सामाजिक, स्वास्थ्यबर्द्धक र अपराध नहुने किसिमले निश्चित ठाउँ तोकेर यौन व्यवसायलाई अनुमति दिनुपर्ने प्रधानले बताए । लैनचौर प्रहरी प्रभागका प्रमुख निरीक्षक शिवबहादुर सिंहले स्पाबाहेक ९५ प्रतिशत मसाज नियन्त्रणमा रहेको दाबी गरेका छन् । स्थानीयवासीले ठमेलका केही गल्ली र टोल रेडलाइट एरियामा परिणत भएर छोरी-बुहारीलाई हिंड्नसमेत गाह्रो भएको गुनासो गरेपछि निरन्तर कारबाही र अनुगमन जारी रहेको उनले बताए ।
साभार - इ. कान्तिपुर

लागुपदार्थ सेवन गर्ने बेहुला विवाहमण्डपबाटै पक्राउ


सुनसरी, १४ जेठलागुऔषध सेवन गरेका बेहुलाले विवाहमण्डपमै बेहुली र उनका परिवारलाई अपशब्द प्रयोग गरेपछि बेहुली पक्षकाले पक्राउ गर्न लगाए
लागुपदार्थ सेवन गरी दुलही लिन जाने बेहुला विवाहमण्डपबाटै पक्राउ परेका छन् । मोरङको बेलबारी-४ लालभित्तीबाट बेहुली लिन आएका कृष्णप्रसाद ओझा शनिबार सुनसरीको इटहरीस्थित सत्संघ भवनमा आयोजित विवाहमण्डपबाटै समातिएका हुन् ।
इटहरी-५ का अर्जुन पोखरेलले २५ वषर्ीया छोरी सकुन्तलाको विवाहका लागि शनिबार सत्संघ भवनमा आफन्तलाई बोलाएर भव्य भोज आयोजना गरेका थिए । विवाहमा बेहुली पक्षका सयाँै आफन्त उपस्थित थिए । उनीहरू बिहानैदेखि जन्तीको प्रतीक्षामा थिए । बेहुला पक्ष पनि बिहान ८ बजेतिर बस र कार रिजर्भ गरेर विवाहमण्डप पुगे । तर, बेहुला ३२ वषर्ीय ओझा विवाहमण्डपमा पुगेपछि खुसीको
वातावरण खल्बलियो । मण्डपमा बस्नासाथ ओझाले बेहुली पक्षलाई अपशब्द प्रयोग गर्दै गाली गर्न सुरु गरेका थिए । 'विवाहमण्डपमा बेहुलालाई राखेर स्वयम्बर गर्ने तयारी हँुदै थियो, बेहुलाले बेहुली र उनका परिवारविरुद्ध गाली गर्न थाले,' विवाहमा सहभागी पोखरेलका एक आफन्तले भने, 'त्यसपछि त फिल्ममा जस्तो नाटक सुरु भयो ।' बेहुला ओझाले बेहुली पक्षकालाई मनपरी गाली गर्न सुरु गरेपछि जन्तीको भागाभाग भएको ती सहभागीले बताए ।
विवाहमण्डपमा भागाभाग मच्चिएपछि बेहुली पक्षले स्थिति साम्य पार्न प्रहरीलाई गुहार्नुपरेको थियो । बेहुला ओझाविरुद्ध अपशब्द प्रयोग गर्दै गाली गर्न सुरु गरेपछि प्रहरीमा खबर गर्नुपरेको बेहुलीका बुबा अर्जुन पोखरेलले बताए । 'उनी दुव्र्यसनी छन् भन्ने हामीलाई केही थाहा थिएन,' उनले भने, 'जब यस्तो व्यवहार देखाए, त्यसपछि दुव्र्यसनी भएको पत्ता लाग्यो ।' बेहुली पक्षले प्रहरीमा उजुरी गरेपछि बेहुला ओझालाई इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र श्रेष्ठको नेतृत्वमा गएको टोलीले मण्डपबाटै पक्राउ गरेका थिए ।
लागुपदार्थ प्रयोग गरेर नराम्रो व्यवहार गरेको भन्दै दुलही पक्ष आक्रोशित भएपछि मन्दिरपरिसर केही समय तनाबग्रस्त बनेको थियो । तनाब साम्य पार्न प्रहरी टोलीलाई समेत हम्मे परेको थियो । दुलाहा ओझालाई प्रहरीले त्यस क्षेत्रबाट प्रहरी कार्यालयतर्फ लगेपछि तनाबग्रस्त स्थिति सामान्य भएको थियो । प्रहरी निरीक्षक श्रेष्ठले बेहुला ओझा लागुपदार्थ दुव्र्यसनी नै भएको बताए । 'बेहुला भएकै अवस्थामा पाँचपटकसम्म शौचालय गई नशालु पदार्थ सेवन गरेको बेहुली पक्षको उजुरीका आधारमा ओझालाई पक्राउ गरेका हौँ,' उनले भने, 'तर पछि दुव्र्यसनी नै भएको प्रमाणित भयो ।
दुवै पक्षको सहमतिमा विवाह रद्द गर्ने निर्णय भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनका अनुसार, विवाहका लागि फूलमालादेखि भएको २ लाख ५० हजार खर्च बेहुला पक्षले क्षतिपूर्तिबापत् तिर्ने सहमति भएको उनले बताए । बेहुलाले क्षतिपूर्ति बेहुलीपक्षलाई तिरेपछि मात्र पक्राउ परेका ओझालाई छाडिने उनले बताए । श्रेष्ठका अनुसार ३२ वषर्ीय बेहुला काठमाडौं बस्दै आएको र एक फाइनान्समा काम गर्दै आएको जानकारी बेहुलापक्षले दिइएको छ ।
बेहुलाले लागुपदार्थ प्रयोग गरेर नराम्रो व्यवहार गरेका कारण आफूले छोरी नदिने निर्णय गरेको बेहुलीका बुबा अर्जुन पोखरेलले बताए । 'त्यस्तो मान्छेलाई झन्डै छोरी दिएछु, उनी भासिने खडाल उनैले खने मलाई अब भन्नु केही छैन,' उनले भने । बेहुली भने सम्पर्कमा आउन चाहिनन् । यता बेहुला ओझा भने आफूले आप\mनो कुल नपुजेका कारण बिरामी भएको र यसैलाई लागुऔषध प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी गरी पक्राउ गराएको बताएका छन् ।
साभार : नया पत्रिका