- ‘हेलो सरकार’ कार्यक्रम सुरु
१७ कात्तिक/काठमाडौं-सरकारले बिहीबारदेखि ‘हेलो सरकार’ कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सिंदरवारस्थित आफ्नै कार्यालयमा स्थपित ‘हेलो सरकार’ सेन्टरको शुभारम्भ गर्नु भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत विभिन्न मन्त्रालय तथा निकायका विषयमा आउने जनगुनासो, माग र सुझावहरुको उचित सुनुवाई गर्न सरकारले हेलो सरकार सेन्टरको व्यवस्था गरेको हो । २४ सै घण्टा खुल्ला रहने हेलो सरकार डेस्कले हरेक मन्त्रालयबाट हुने नीतिगत निर्णय, कार्यसञ्चालन, शान्ति र सुशासन व्यवस्थापन तथा सञ्चालनलाई समेत व्यवस्थित गर्नेछ । हेलो सरकार कक्ष सञ्चालन गर्नकालागि सरकारले ‘हेलो सरकार’ कक्ष सञ्चालन निर्देशिका, यसअघि नै पारित गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहने यो कक्षमा २४ सै घण्टा सातै दिन सहसचिवको सुपरिवेक्षण रहने छ । चार सिफ्टमा सञ्चालन हुने कक्षमा हरेक सिफ्टमा उपसचिव एक, टेलिफोनमा दुईजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एक गरी पाँच जनाको जनशक्ति रहने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
यस कक्षमा गुनासा, माग तथा सुझावका लागि निःशुल्क टेलिफोन नम्बर ११११ र १११० नम्बरको फ्याक्सको व्यवस्था गरिएको छ । यसरी आएका सुझावलाई सोही माध्यमबाटै यथासम्भव सुनुवाई हुनेछ । त्यस्तै गुनासा, माग तथा सुझावलाई इमेल तथा एसएमएसबाट पनि राख्न सकिनेछ । हेलो सरकार कक्ष प्राप्त गुनासा तथा सुझावलाई तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने तथा सुनुवाई गर्ने व्यवस्था समेत गरिएको छ ।
यस्तो अवस्थामा सम्बन्धित मन्त्रालयका अधिकारीबाट सम्बोधन नभए वा लापरवाही भए तत्काल विभागिय कारवाहीका लागि सिफारिस गर्न सक्ने समेत अधिकार प्रदान गरिएको छ । स्रोत:अनलाइन खबर/नेपाल
No comments:
Post a Comment