- ६ लाख ५० हजार रुपैयाँसम्म उठाएको खुलासा
- पैसा उठाउने दुई व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ः महानिर्देशक
- इजरायल पुनः बन्द हुने हल्ला निराधार ः विभाग
- व्यवसायीले २ हजार ९ सय ७५ अमेरिकी डलर लागत खर्च हुनुपर्ने बताए पनि बोर्डद्वारा २ हजार ९ सय २५ डलर लागत खर्च प्रस्ताव
- राजधानीबाहिर पनि एजेन्टमार्फत रकम उठाउने गिरोह सक्रिय
काठमाडौं/कात्तिक २१
वैदेशिक रोजगार विभागले नेपाली कामदार इजरायल पठाउनका लागि सूचीकृत म्यानपावरहरूको नतिजा प्रकाशित नगर्दै व्यवसायीहरूले अनधिकृत रूपमा कामदारबाट रकम उठाउन थालेका छन् ।
कामदार इजरायल पठाउन निवेदन दिएका २ सय ४५ म्यानपावरलाई विभागले यसै साता सूचीकृत गर्ने तयारी गरेको बेला व्यवसायीहरूले २ लाखदेखि ६ लाख ५० हजारसम्म उठाउने गरेको पाइएको छ । म्यानपावर कम्पनी र एजेन्टहरूले इजरायल पठाइदिने भन्दै ठूलो रकम उठाइरहेको विभाग स्रोतले बताएको छ । म्यानपावर कम्पनी र कन्सल्टेन्सीहरूले ‘इजरायल खुल्यो’ भन्दै विभिन्न पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरी रकम लिन थालेका हुन् ।
हिब्रु भाषा र केयरगिभरको तालिम दिने भन्दै विज्ञापन गरेका तालिम केन्द्रले नै इजरायल पठाइदिने भन्दै पेस्की रकम उठाएको पाइएको छ । ‘वर्किङ भिसा’मा नभए ‘भिजिट भिसा’मा पठाई इजरायलमा काम खोजी दिने आश्वासनमा रकम उठाइरहेको एक पीडितले कारोबारलाई बताए । झापाको भद्रपुरका कपिल ढुंगेलले आफूले एक म्यानपावर कम्पनीका एजेन्ट रवि थापालाई पेस्कीस्वरूप २ लाख रुपैयाँ बुझाएको बताए । आफूले मात्र नभई आफ्ना साथीहरूले पनि इजरायलका लागि रकम दिइसकेको उनले जानकारी दिए ।
विभागका नवनियुक्त महानिर्देशक पूर्णचन्द्र भट्टराईले इजरायलका विषयमा रकम उठाउने गरेको गुनासो आउन थालेको जानकारी दिए । उनले भने, “इजरायल पठाउने भन्दै पैसा उठाउने दुई व्यक्तिलाई पक्राउ गरी अनुसन्धानसमेत भइरहेको छ ।”
म्यानपावर कम्पनीको नाम सूचीकृत नहुँदै रकम उठाउने कार्य अवैधानिक भएको स्पष्ट पार्दै महानिर्देशक भट्टराईले रकम उठाउने जोकोहीलाई कारबाही गरिने बताए । यस्तै कार्यले यसअघि इजरायल बन्द भएको भन्दै उनले त्यसलाई दुर्घटनाको संज्ञा दिए । फेरि दुर्घटना भयो भने व्यवसायीका साथै मुलुकलाई नै हानि हुने उनको भनाइ छ । इजरायलका सम्बन्धमा सम्बन्धित मन्त्रालयले विज्ञप्ति जारी गरिसक्नुका साथै कार्यविधिसमेत तयार भएको भन्दै उनले रकम दिने र लिने दुवै कारबाहीको भागीदार हुने स्पष्ट पारे ।
इजरायल पठाउने भन्दै राजधानीबाहिर पनि एजेन्टमार्फत रकम उठाउने काम भइरहेको विभाग स्रोतले जनाएको छ । गोरखामा इजरायल पठाउने भन्दै रकम उठाउने एक व्यक्ति पक्राउ परिसकेको विभागले जानकारी गराएको छ ।
दुई वर्षअघि अनधिकृत तवरले रकम उठाएको भन्दै इजरायल सरकारले नेपाली कामदार लिन बन्द रोक लगाएको थियो । फेरि त्यस्तै भए स्वयं म्यानपावर व्यवसायीलाई नै असर पुग्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजूले बताए । म्यानपावर कम्पनी सूचीकृत नहुँदै रकम उठाउने कार्य गलत भएकाले यसप्रति विभागले निगरानी गर्नुपर्ने उनको भनाइ छ ।
कामदार इजरायल पठाउन दुई महिनाअघि पुनः खुला गरिएपछि श्रम तथा यातायात व्यवस्था मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, विभाग र व्यवसायीहरूबीच गत बुधबार लागत खर्चका विषयमा छलफल भएको थियो । छलफलमा व्यवसायीहरूले २ हजार ९ सय ७५ अमेरिकी डलर लागत खर्च हुनुपर्ने बताए पनि बोर्डले प्रधानमन्त्रीसमक्ष २ हजार ९ सय २५ डलर लागत खर्च प्रस्ताव गरिसकेको छ ।
यसैबीच विभागका महानिर्देशक भट्टराईले केही म्यानपावर कम्पनीले लागत खर्च कम भएको भन्दै इजरायल पुनः बन्द हुने हल्ला चलाएको जनाएको छ । हल्लाको पछाडि नलाग्न भट्टराईले आग्रह गरेका छन् ।प्रकटकुमार शिशिर/कारोबार दैनिक
No comments:
Post a Comment