Showing posts with label सन्दर्भ. Show all posts
Showing posts with label सन्दर्भ. Show all posts

जाम हटाउन ट्राफिकमा सुन्दरी भर्ति

     नेपालमा महिला ट्राफिक प्रहरीले पुरुष प्रहरीले भन्दा प्रभावकारी रुपमा ट्राफिक व्यवस्थापन गर्ने गरेको भन्दै जाम हुने मुख्य सडकहरुमा महिला ट्राफिक प्रहरी नै खटिने गरेका छन् ।
नेपालका महिला ट्राफिक प्रहरीहरु निकै सुन्दरी भएकाले पुरुष चालकहरु उनीहरुप्रति नतमस्तक बनेर नियम उल्लंघन नगर्दा ट्राफिक व्यवस्था सहज बनेको हो वा महिलाले पक्र्यो भने त बेइज्जतै हुन्छ भन्ने पुरुष चालकहरुको मानसिकताका कारण उनीहरु संयम भएका हुन् त्यो त थाहा छैन ।
तर जे होस् फिमेल फर्मूला नेपालको ट्राफिकमा फापेको छ । तर अब यो फर्मूला नेपालमा मात्र होइन इण्डोनेसियामा पनि लागु गरिने भएको छ ।

इण्डोनेसिया सरकारले राजधानी जकार्ताको अस्तव्यस्त ट्राफिक व्यवस्थापन गर्नका लागि भन्दै तीनजना सुन्दरी मोडेलहरुलाई प्रहरी बलमा भर्ति गरेको छ । यसअघि प्रायः क्याटवाकमा व्यस्त हुने यी सुन्दरीहरुले आफ्नो सुन्दरताले चालकहरुलाई मन्त्रमुग्ध पार्दै नियमपालना गराउनेछन् र नियम उल्लंघन घटेर ट्राफिक जाम हट्नेछ भन्ने आशामा सरकारले यस्तो कदम चालेको हो ।
भर्ति हुनेहरुमा मोडेलहरु इनी रेगामा, एभी ओलिभिया आतम र एका युलिआन्टी छन् । उनीहरुले प्रहरीप्रति सर्वसाधारणको नकारात्मक धारणा हटाएर पुलिस र जनताबीचको सम्बन्ध सुधार गरी ट्राफिक दुर्घटना घटाउने आफुहरुले भूमिका खेल्ने बताएका छन् । उनीहरुलाई तालिम पनि दिइसकिएको छ ।
झण्डै १ करोड मानिस बसोबास गर्ने जकार्तामा वर्षेनी ३१ हजार वटा सडक दुर्घटना हुने गरेका छन् ।स्रोत;अनलाइन खबर 

१२ वर्षपछि नेपाली गाडीको परीक्षा

विष्णु पोखरेल/ काठमाडौं
   झट्ट हेर्दा 'मिनी ट्रक'जस्तो देखिन्छ। बाहिरी आवरणमा कुनै आकर्षण छैन। ठूलो आवाज निकाल्छ। त्यसमाथि संवेदनशील ओहोदाका व्यक्तिलाई चाहिने न्यूनतम सुरक्षा व्यवस्था छैन।
प्रधानमन्त्री बाबुराम भट्टराईले सुविधासम्पन्न गाडीहरूको विकल्प छाडेर नेपालमै 'एसेम्बल' गरिएको 'मुस्ताङ म्याक्स' रोजेपछि यसको सुविधा र सुरक्षालाई लिएर टिकाटप्पणी भइरहेका छन्।
उत्पादक हुलास मोटर्सले भने यसलाई सकारात्मक रूपमा लिँदै प्रधानमन्त्रीले चढ्ने गाडीमा सुविधा र सुरक्षा थप्न दुईजना इन्जिनियर बिहीबार भारत पठाउँदैछ।
कम्पनीको भनाइमा यो 'गर या मर'को स्थिति हो। १२ वर्षदेखि गाडी उत्पादन गरिरहेको हुलास मोटर्समा यतिविधि उत्साह कहिल्यै छाएको थिएन। पहाडी सडकमा कुद्दै आए पनि सहरी क्षेत्रका धेरैले यसको नामै सुनेका थिएनन्। आयातीत मोटरसँग प्रतिस्पर्धा गर्न नसक्ने र ६५ प्रतिशतभन्दा बढी अन्तःशुल्क तिर्नुपर्ने भएकाले यो स्वदेशी उद्योग चल्नै नसक्ने हालतमा पुगेको कम्पनीको भनाइ छ।
प्रधानमन्त्री भट्टराईले रोजेपछि हुलास मोटर्सले कहिल्यै नपाएको चर्चा पायो। यत्तिकै चर्चा बटुल्न करोडौं खर्च गर्नुपर्थ्यो। कम्पनीका महाप्रबन्धक प्रफुल्लचन्द्र दास 'यो चर्चा खेर जान नदिने' बताउँछन्। 'यो परीक्षाको घडी हो,' उनले भने, 'जसरी भए पनि पास गर्नैपर्छ, हाम्रो सारा बल यसैमा छ।'
उनका अनुसार कम्पनीले गाडीको बनोट सुधार्न अनुसन्धान सुरु गरिसकेको छ। इन्जिनियर टोलीको भारत भ्रमण त्यसैअन्तर्गत हो। 'उनीहरूले भारतमा अध्ययन गरेर आएपछि सुविधा थपिनेछ,' उनले भने, 'टोलीले मुस्ताङ म्याक्सलाई उपयुक्त हुने पार्टपूर्जाको नमूना पनि हेर्नेछ।'
गाडीको मोडेल र आकार परिवर्तन गर्न लामो अनुसन्धान चाहिने भएकाले अहिलेलाई भित्री बनोटमात्र परिवर्तन गर्न लागेको कम्पनीले जनाएको छ। 'मोडेलै फेर्न एक वर्ष लाग्छ,' दासले भने, 'अहिलेलाई हाम्रो प्रयास लक्जरी, सेफ्टी र इन्टेरियर परिवर्तनमा हुनेछ।'
उनका अनुसार भारत गएको टोलीले दिने सिफारिसका आधारमा मुस्ताङ गाडीको भित्री स्वरूप परिवर्तन गरेर जतिसक्दो सुविधायुक्त र सुरक्षित बनाइनेछ। यत्ति गर्न एकदेखि डेढ महिना लाग्ने उनले जानकारी दिए।
कम्पनीले प्रधानमन्त्रीको आवश्यकतालाई हेरेर तात्तातै यी तयारी थालेको हो। यसबाहेक सहरमा उपयोगी हुने खालका अन्य मोडलको डिजाइन बनाउन अर्को छुट्टै टोली अनुसन्धानमा खटाएको कम्पनीले जनाएको छ। अहिलेको चर्चाबाट हौसिएर विदेशी कम्पनीको जस्तै 'ह्याचब्याक' र 'एसयुभी' गाडी उत्पादनको योजना पनि बनाएको दासले बताए।
चीनमा बनेको जिआई रिजर्भ टर्क इन्जिन प्रयोग भएको मुस्ताङ म्याक्स विशेषगरी पहाडी कच्ची बाटोलाई लक्ष्य गरी निर्माण गरिएको हो। २ हजार ५ सय ४० सिसी डिजेल इन्जिन क्षमताको यो गाडी एक लिटर डिजेलबाट ११ किलोमिटर दौडिनसक्छ। यसलाई अधिकतम प्रतिघन्टा ९० किलोमिटरको गतिमा कुदाउन सकिन्छ। यो फोरह्विल गाडीको इन्जिन उकालो बाटोलाई उपयुक्त मानिन्छ। @Nagarik news