काठमाडौं/कात्तिक-२१
| इन्टरपोलको ८०औं सम्मेलन |
पर्याप्त साधन–स्रोतको अभावमा आपराधिक गतिविधि नियन्त्रणमा कठिनाइ रहेको भन्दै नेपाल प्रहरीले ‘अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन’(इन्टरपोल)को ध्यानाकर्षण गराएको छ ।
१ सय ९० राष्ट्रका प्रहरी प्रमुख तथा अन्य वरिष्ठ सुरक्षा अधिकारीहरू सहभागी इन्टरपोलको ८०औं महासभालाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले अपराध नियन्त्रण गर्न प्रहरी संगठन सक्षम रहे पनि आधुनिक प्रविधिको पर्याप्त साधनस्रोतको अभाव रहेको बताए ।
महासभामा इन्टरपोल सदस्य राष्ट्रहरूमा हुने ‘द्रुत सूचना’ आदान–प्रदान तथा अपराध नियन्त्रण प्रयोजनका लागि हुने सम्बद्ध कर्मचारीको भ्रमणमा ‘विशेष भिसा’को व्यवस्था गर्नसमेत आग्रह गरिएको महानिरीक्षक शाहले जानकारी दिए ।
शाहले अपराध नियन्त्रण गर्नेबारे इन्टरपोल सदस्य राष्ट्रहरूबीच सूचना आदान–प्रदानमा समेत ‘प्रभावकारी संयन्त्र’ आवश्यक रहेको औंल्याए ।
भियतनामको राजधानी हनोइमा सम्पन्न ८०औं महासभामा सहभागी भई महानिरीक्षक शाह आइतबार राति स्वदेश फर्किएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ तथा नेपाल प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर कार्कीसहित पाँच सदस्य टोलीको नेतृत्व गर्दै महानिरीक्षक शाह कात्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा साइबर तथा वित्तीय अपराध, अपराध नियन्त्रण तथा अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग, हवाई तथा सीमा सुरक्षा र व्यवस्थापन, फरार अपराधीको खोजी तथा अनुसन्धानमा इन्टरपोल प्रविधिकोे प्रयोग विषयमा छलफल भएको थियो ।
संगठित तथा सीमापार अपराध, मानव बेचबिखन तथा तस्करी, आतंकवाद, बालयौन शोषण, लागूऔषधको अबैध ओसार–पसारविरुद्ध इन्टरपोल प्रविधिकोे प्रयोग, वन्यजन्तु चोरी सिकारी नियन्त्रण, सदस्य राष्ट्रहरूबीच सूचना आदान–प्रदान गर्ने विषयमा पनि छलफल भएको महानिरीक्षक शाहले बताए ।
सम्मेलनले ‘रेडकर्नर नोटिस’ को अन्तर्राष्ट्रिय मान्यता तथा कार्यान्वयन, सूचना आदान–प्रदानसम्बन्धी नियम, एसियाली क्षेत्रीय सूचना तथा समन्वय केन्द्रसँग अवैध लागूऔषध ओसारपसारविरुद्ध गरिएको सहयोग सम्झौता, इन्टरपोल विधानलाई राष्ट्रसंघको बडापत्रमा दर्ता गर्नेलगायत दर्जनौं प्रस्तावलाई दुईतिहाई बहुमतले पारित गरेको छ ।
विश्वमा लुकिछिपि बसेका अपराधीहरूको पहिचान तथा पक्राउ गरी आवश्यक कारबाहीका लागि विश्वभरिका प्रहरी संगठनहरूबीच सहयोग तथा सहकार्य आदान–प्रदान गर्ने उद्देश्यले सन् १९२३ मा स्थापना भएको इन्टरपोलको नेपाल १ सयौं सदस्य राष्ट्र हो ।
नेपालले सन् १९६७ मा यसको सदस्यता प्राप्त गरेको थियो । यसअघि इन्टरपोलमा १ सय ८७ राष्ट्र थिए । यसवर्ष कुरासाओ, सेन्ट मार्टिन र दक्षिणी सुडानले नयाँ सदस्यता पाएपछि इन्टरपोल राष्ट्रको संख्या १ सय ९० पुगेको छ ।साभार:कारोबार दैनिक
No comments:
Post a Comment