बोक्सीको आरोपमा चरम यातना


बोक्सीको आरोपमा कुटिएकी मनमाया नेपालीको पाठेघरबाट लगातार रगत बगेपछि थप उपचारका लागि बुधबार कोसी अञ्चल अस्पतालमा ल्याइएको छ

बोक्सीको आरोपमा कुटपिट गरिएकी एक महिलाको स्वास्थ्य स्थिति गम्भीर भएको छ । तपेश्वरी-९ उदयपुरकी ५५ वषर्ीया एकल महिला मनमाया नेपालीलाई दुहुनु भैंसीलाई बोक्सी लागेको भन्दै मरणासन्न हुनेगरी कुटपिट गरिएको हो ।
नेपालीलाई आइतबार छिमेकी ममता राउतले भैंसीले दूध नदिएपछि बोक्सी लगाएको भन्दै कुटपिट गरेकी हुन् । नेपालीको आँखा, गाला, अनुहार र पाठेघरमा गम्भीर चोट लागेको छ । पीडितको पाठेघरबाट लगातार निस्किएको रगत नरोकिएपछि थप उपचारका लागि बुधबार विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याइएको छ । 'बाख्रा पाखा लगाउन आइतबार दिउँसो खन्ती माग्न गएकी थिएँ, के हेरेकी तेरो नजर लागेर भैंसीले दूध दिन छाड्यो भन्दै राउतनीले झम्टिहालिन्,' उनले भनिन्, 'आँगनमा पछारेपछि त केही थाहा पाइनँ, भरे होसमा आएपछि त अनुहारैभरि मुड्कीले हानेर सुन्निएको थियो, कुट्दै लडाएपछि त पाठेघरबाट भलभली रगत बग्न थाल्यो ।
कुटपिटबाट गम्भीर घाइते भई भुइँमा लडेकी उनलाई स्थानीय महिला सञ्जालका सदस्यले स्थानीय फत्तेपुर अस्पतालमा उपचारका लागि भर्ना गराएका थिए । त्यहाँ पाठेघरबाट रगत बग्ने समस्याको उपचार हुन नसकेपछि उनलाई विराटनगर स्थित विराट नर्सिङ होममा ल्याइएको थियो । 'त्यहाँ पनि कुटपिटको केस रहेछ यो त कोसी अञ्चल अस्पतालमा लानुपर्छ भनेकाले यहाँ ल्याएका हौँ,' दलित नेटवर्क तपेश्वरी गाविसका अध्यक्ष एवं पीडितका मामा पर्ने विचारी सार्कीले भने । १५ वर्षअघि मनमायाको श्रीमान्को मृत्यु भएपछि उनी एक्लै बस्दै आएकी थिइन् । छोरीज्वाइँले कहिलेकाहीँ सहयोग गर्ने गरेपनि मनमायालाई दैनिक गुजाराका लागि भने धौधौ हुने गरेको छ ।
कुटपिट भएपछि महिला अधिकारकर्मीले स्थानीय प्रहरीचौकीमा जाहेरी दिएपनि उपचारमा लाग्ने सबै खर्च बेर्होने कबोल गरेको र सोहीअनुसार उपचारका लागि ल्याइएको पीडक ममताका जेठाजु गोविन्द राउतले बताए ।
साभार : नया पत्रिका

No comments: