व्यवसायीहरूले मसाजका लागि चाहिने सम्पूर्ण सामग्री राख्नुपर्ने, पारदर्शी सिसा जडान गरेको खुला कोठा हुनुपर्ने र उमेर पुगेका प्रशिक्षित युवायुवतीले मात्र यो सेवा दिन पाउनेछन् ।
तोकिएको आचारसंहितामा नबसी मसाज सञ्चालन गर्नेको व्यवसाय दर्ता र नवीकरण नहुने भएको छ । यसअनुरूप व्यवसायीहरूले मसाजका लागि चाहिने सम्पूर्ण सामग्री राख्नुपर्ने, पारदर्शी सिसा जडान गरेको खुला कोठा हुनुपर्ने र उमेर पुगेका प्रशिक्षित यु्वायुवतीले मात्र यो सेवा दिन पाउनेछन् ।
ठमेल पर्यटन विकास परिषद्, महानगरपालिका, स्थानीय प्रहरी, मसाज व्यवसायी संघ र नागरिक समाजले सम्बद्ध व्यवसायीहरूलाई ७ देखि १० दिनभित्र आचारसंहिताको पालना गर्न सुझाव दिएको छ । 'दस दिनभित्र आचारसंहिताअनुरूप सञ्चालन भए/नभएको अनुगमन सुरु हुन्छ,' ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले कान्तिपुरसँग भने । उनले तोकिएको मापदण्ड पालना नगर्ने व्यवसायीसहित घरबेटीलाई समेत कारबाही हुने बताए । मसाजको आडमा देह व्यवसाय गर्नेलाई प्रहरीको सहयोगले मानव बेचबिखनको मुद्दा लगाउने श्रेष्ठले बताए ।
'दुई साताअघि देह व्यवसायको अखडा बनेका सबै मसाजहरू बन्द गरेको हो,' उनले भने । श्रेष्ठका अनुसार अधिकांश मसाजमा १४ वर्षमुनिका बालिका राखेर खुलारूपमा यौन व्यवसाय सञ्चालन गरेको देखिएपछि यो कदम चालिएको हो । ठमेल क्षेत्रमा झन्डै ७३ मसाज विधिवत् सञ्चालन भएको देखिए पनि व्यवसाय दर्ता नगरी चलाउनेको संख्या योभन्दा दोब्बर छ । आचारसंहिताअनुरूप सञ्चालन नभएको मसाजको दर्ता र नवीकरण नगर्न स्थानीय २९ नं वडा कार्यालयसँग सहमति भइसकेको श्रेष्ठले बताए ।
सहमतिअनुरूप गत पुस चार गतेदेखि नयाँ मसाजको दर्ता र पुरानोको नवीकरण रोकिएको वडा कार्यालय सचिव सुमन अधिकारीले बताए । कार्यालयमा आयुर्वेद मसाज, मसाज र स्पा नाम राखेर ती व्यवसाय दर्ता भएको देखिन्छ । महानगरपालिकाले प्राथमिकता क्षेत्रमा राखेको मसाज व्यवसायीहरूले दर्ता र नवीकरणका लागि ३ हजार रुपैयाँ तिनुपर्छ । उक्त क्षेत्रमा दुई लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्मको लगानीमा मसाज सञ्चालन भएको देखिन्छ ।
'हाम्रो संयुक्त टोलीले आचारसंहिता लागू भए, नभएको अनुगमन गर्छ, त्यसपछि मात्र अब व्यवसाय दर्ता र नवीकरण हुन्छ,' अधिकारीले भने । उनले आचारसंहिता लागू भएपछि आँखा चिम्लेर प्रहरीले गर्ने कारबाहीमा निर्दोष व्यक्ति नपर्ने बताए । 'प्रहरीको कारबाहीमा मसाज मात्र गराउन पुगेका पनि पर्छन्,' आचारसंहिताका प्रस्तावकसमेत रहेका अधिकारीले भने, 'त्यही भएर मापदण्ड बनाइएको हो ।'
नेपाल मसाज व्यवसायी संघका अध्यक्ष केबी लामाले अनुगमन सुरु भइसकेको बताए । तीसवटा मसाज सदस्य रहेको उक्त संघले यसका लागि सात जनाको निगरानी समितिसमेत बनाएको छ ।
उनले १८ वर्ष मुनिकालाई मसाजमा राख्न नपाउने भनिए पनि कमैले मात्र यसको पालना गरेको बताए । 'राम्रो ढंगले यो व्यवसाय गर्ने कमै मात्र छन्,' उनले भने, 'निरीक्षण गर्न पुग्दा मसाज सञ्चालक/सञ्चालिकाले दूधले नुहाएझंै भलाद्मी शैलीमा कुरा गर्ने र कोही नभएपछि भित्रभित्रै बदमासी गरिहाल्छन् ।'
संघका अनुसार २०५०/५१ सालसम्म ठमेलमा विदेशीलाई मात्र लक्षित गरेर खोलिएका मुस्किलले १५ मसाज पार्लर थिए । विदेशका मसाजमा यौन आनन्द लिनेहरूले ठमेलका मसाजमा समेत यौनको माग गर्न थालेपछि यसको स्वरूप परिवर्तन भएको लामाले बताए । 'विदेशमा झैं स्थानीय मसाजले ससाज (यौन सेवा) दिन सुरु गरे, थोरै लगानीमा धेरै आम्दानी हुन थाल्यो,' उनले भने, 'नयाँ व्यवसायी र कलिला अनुहारको प्रयोग बढ्दै गयो ।'उनले यसलाई नियन्त्रणमा राख्न संघसंस्था, सरकारी निकाय र प्रहरीलाई आग्रह गर्न कुनै कसर बाँकी नराखेको बताए तर प्रहरीको दोहोरो चरित्रले गर्दा मसाज पार्लरलाई मर्यादित बनाउन झनै समस्या परेको लामाले बताए । उनले प्रहरी धरपकड मात्र यसको समाधान नभएको बताए । 'प्रहरीले मुखले सहयोग गर्ने भन्छ,' लामाले भने, 'भन्ने बेलामा एउटा कुरा गर्छ, गर्ने बेलामा अर्कै गर्छ ।'
स्थानीयवासीका अनुसार ठमेलमा ६० प्रतिशत मसाज पार्लर स्थानीय गुन्डा समूहको सहयोगमा र ३० प्रतिशत प्रहरीको संरक्षणमा सञ्चालित छन् । 'कसैको संरक्षण प्राप्त नभएका १० प्रतिशत मसाज प्रहरी र गुन्डाको चेपुवामा पर्छन्,' एक स्थानीय होटल व्यवसायीले भने । प्रहरीकै नातागोता र संरक्षणमा चल्ने ४० प्रतिशत मसाजमा कहिल्यै छापा नपर्ने र देखाउनलाई पक्राउ गरिहाले पनि कारबाही नगरिने उनले बताए ।
'प्रहरी, डन र गुन्डालाई ब्वाइफ्रेन्ड र पार्टनर बनाएर मसाज सञ्चालिका खुलेआम यौन व्यवसाय गर्छन्,' उनले भने, 'सञ्चालिकामा केही चलचित्र, म्युजिक भिडियो र जग्गामा लगानी गर्नेसमेत छन् ।' उनका अनुसार प्रहरीले रकम खान पाएको ठाउँमा मसाज चलिरहेको हुन्छ भने नपाएको ठाउँमा कडाइ गर्छ । ठमेल भगवान् बहालका विश्वम्भरलाल प्रधानले ९० प्रतिशत मसाज देह व्यवसायको थलो भएको खुला, गोप्य सबैलाई थाहा भएको बताए । उनले ठमेलमा ७० प्रतिशत राजधानी बाहिरबाट आएका र ३० प्रतिशत मात्र स्थानीय भएको बताए ।'२० प्रतिशत स्थानीय मात्र यहाँ बस्छन्,' उनले भने, 'महँगो भाडामा घर दिएर १० प्रतिशत अन्यत्र बस्छन् ।' भाडामा घर नदिनेले महानगरपालिकालाई घरजग्गा करसमेत तिर्न नसक्ने स्थानीयले बताए । उक्त क्षेत्रको एउटै घरमा दुईदेखि पाँचवटा मसाज र रेस्टुरेन्टहरू देख्न सकिन्छ । व्यवसायीहरूले एउटा कोठाको मासिक २५ देखि ५० हजार रुपैयाँ भाडा तिर्छन् । ठमेलमा २५ जति पब, बार एवं झन्डै १ सय ३० रेस्टुरेन्ट छन् ।
सरकारले सामाजिक, स्वास्थ्यबर्द्धक र अपराध नहुने किसिमले निश्चित ठाउँ तोकेर यौन व्यवसायलाई अनुमति दिनुपर्ने प्रधानले बताए । लैनचौर प्रहरी प्रभागका प्रमुख निरीक्षक शिवबहादुर सिंहले स्पाबाहेक ९५ प्रतिशत मसाज नियन्त्रणमा रहेको दाबी गरेका छन् । स्थानीयवासीले ठमेलका केही गल्ली र टोल रेडलाइट एरियामा परिणत भएर छोरी-बुहारीलाई हिंड्नसमेत गाह्रो भएको गुनासो गरेपछि निरन्तर कारबाही र अनुगमन जारी रहेको उनले बताए ।
साभार - इ. कान्तिपुर


No comments:
Post a Comment