-काशीराम डाँगी/रोल्पा
यो वर्षको एसएलसीमा रोल्पाबाट परीक्षा दिएका माओवादी शिविरका ९७ प्रतिशत लडाकुहरू उत्तीर्ण भएका छन् । ४ सय १६ जनाले प्रथम श्रेणी ल्याएका छन् ।
माओवादी सेनाको पाँचौं डिभिजन दहवनका ८४३ लडाकुले तीन परीक्षा केन्द्रबाट परीक्षा दिएकोमा २६ मात्र असफल भए । तीमध्ये ८ सय १६ लडाकु उत्तीर्ण भएका हुन् । ३ सय ८७ जना द्वितीय र १९ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । लडाकुकै लागि ३ परीक्षा केन्द्र थप गरिएको थियो । पाँचौं डिभिजनका सहकमान्डर राजबहादुर बुढामगर 'अविनाश' ले मसिना केन्द्रबाट सहभागी २ सय ९० मध्ये २ सय २५ प्रथम श्रेणीमा उत्तीर्ण भएको बताए । सैबाङ केन्द्रबाट १ सय ६ र नुवागाउँ केन्द्रका ८५ प्रथम श्रेणीमा उत्तीर्ण भए ।
'सबैतिरबाट बधाई आइरहेको छ,' अविनाशले भने, 'पास भएकाहरू पनि धेरै उत्साहित हुनुहुन्छ ।' परीक्षार्थीहरूलाई जिल्ला शिक्षाले विशेष सुविधा प्रदान गरेको थियो । लडाकुहरूलाई अलग्गै केन्द्रमा राखिएको थियो । माओवादी लडाकुहरूलाई सरकारले खुला विद्यालयअन्तर्गत समावेश गरी छुट्टै केन्द्र बनाई परीक्षामा सहभागी गराएको शिक्षा अधिकारी दिनेश खनालले जनाए । आगामी वर्ष करिब ५ सय लडाकुले रोल्पाबाट परीक्षा दिने तयारी गरिरहेका छन् ।
सुर्खेत संवाददाता मोतीलाल पौडेलका अनुसार दशरथपुरस्थित छैटौं डिभिजनसहित चार सहायक शिविरका १ सय ८९ लडाकुले एसएलसी उत्तीर्ण गरेका छन् ।
डिभिजनको मुख्यालयसहित चारवटा सहायक शिविरबाट २ सय ६० लडाकु परीक्षामा सहभागी थिए । '७१ लडाकुको परीक्षा असफल भएको छ,' छैटौं डिभिजन प्रमुख महेन्द्र शाहीले भने, नतिजा राम्रै भएकाले शिविरमा खुसियाली छ ।'
लामो समयपछि विद्यालयस्तरको परीक्षामा सामेल भए पनि लडाकुहरूले ल्याएको नतिजाबाट आफू सन्तुष्ट भएको उनले बताए । 'यो वर्ष असफल हुनेले पनि पढाइलाई निरन्तरता दिनु हुनेछ,' उनले भने । उनीहरूको उच्च शिक्षामा पनि अस्थायी शिविरले सहयोग गर्ने भएको छ । उत्तीर्ण लडाकुलाई उच्च शिक्षा दिलाउन शिविर छेउका उच्च माविमा भर्ना गर्ने शिविरले जनाएको छ ।
ँशान्ति प्रक्रियाले पढ्न पाइयो’
माओवादी सेनाको पाँचौं डिभिजनमा कार्यरत रोल्पा बडाचौरका धनबहादुर राना 'छिरिङ' अहिले निकै खुसी छन् । एसएलसी उत्तीर्ण गरेको खुसियालीमा गाउँमा पनि खुसीको आदानप्रदान भइरहेको छ । प्रथम श्रेणीमा फलामे गेट पार गरेपछि थप अध्ययनका लागि उनी क्याम्पस खोज्दैछन् ।
'पढ्न छाडेर लडाइँमा होमिएको थिएँ,' रानाले कान्तिपुरसित भने, 'दस वर्षपछि पुनः पढेर पास भएँ ।' छोरा युद्धमा होमिएपछि पढाइ बिगारेको भन्दै खिन्न उनको परिवार पनि खुसीले दंग छ । परीक्षाको नतिजा थाहा पाएलगत्तै उनले बडाचौरमा रहेका बुबाआमालाई फोनबाट खबर सुनाए । 'उहाँहरू निकै खुसी हुनु भो,' उनले भने ।
दस वर्षअघि माओवादीको सशस्त्र संघर्षमा सामेल नहुँदै उनी बडाचौरस्थित बराहक्षेत्र माविमा कक्षा १० मा पढ्दै थिए । पढाइ छाडेर बन्दुक समाइसकेपछि पुनः पढाइमा फर्किएला भन्ने उनलाई लागेकै थिएन । 'देश शान्ति प्रक्रियामा लागेकाले पढ्ने मौका पाएका हौं,' रानाले भने ।
शिक्षा र अर्थशास्त्र विषयलाई मुख्य बनाएका उनले ५ सय ३२ अर्थात् ६६.५ प्रतिशत अंक ल्याएका छन् । फाराम भरेपछि लामो समय ट्युसन पढे । त्यसैले पनि उनलाई सफल हुन सघायो । माओवादी लडाकु रहेको पाँचौं डिभिजनको संक्राम बि्रगेडमा रहेका उनी भन्छन्, मेहनत गर्यो भने जति वर्ष अवरुद्ध भए पनि पुनः क्याम्पस फर्किन सकिने रै'छ ।
फेलपछि आत्महत्या
बझाङ- बझाङको चौधारी ७ की एक छात्राले एसएलसी परीक्षामा फेल भएपछि बुधबार साँझ घर नजिकैको एक रूखमा झुन्डिएर आत्महत्या गरेकी छन् ।
चौधारी उच्च माविबाट यसपटक एसएलसी परीक्षा दिएकी गायत्री कोइरालाले आत्महत्या गरेको उनका आफन्तले जनाएका छन् ।
कक्षा १ देखि कहिल्यै पनि असफल नभएकी कोइराला एसएलसी परीक्षामा भने ५ विषयमा असफल भएकीले आत्महत्या गरेको हुन सक्ने उनका बुबा सिद्धराज कोइरालाले बताए ।
सर्लाहीमा २७ प्रतिशत मात्रै
सर्लाही- यस वर्ष जिल्लामा २७ प्रतिशत परीक्षार्थी मात्रै एसएलसीमा उत्तीर्ण भएको शिक्षा कार्यालयले जनाएको छ । अधिकांश सरकारी विद्यालयले राम्रो नतिजा ल्याउन सकेनन् । शिक्षा कार्यालय परीक्षा फाँटका शम्भु ठाकुरले भने, 'निजी विद्यालयका लगभग शतप्रतिशत उत्तीर्ण भएका छन् । तर सरकारी विद्यालयको नतिजा निराशाजनक छ ।'
विगतका तुलनामा उत्तीर्ण प्रतिशत तीन गुणा कम हुनुमा यस वर्षको परीक्षा मर्यादित हुनु प्रमुख कारण रहेको शिक्षा अधिकारी हेमन्त सिंह बताउँछन् ।
आठ हजार विद्यार्थीले एसएलसी दिएकोमा जम्मा २ हजार १ सय ९२ परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये विशिष्ट श्रेणीमा १ सय ९९, प्रथम श्रेणीमा ८ सय ७३, द्वितीय श्रेणीमा १ हजार ५८ र तृतीय श्रेणीमा ६२ जना उत्तीर्ण भएको शिक्षा कार्यालयले जनायो ।
संस्कृत माविको नतिजा शून्य
नुवाकोट- यहाँको एकमात्र संस्कृत माविसहित तीन विद्यालयको एसएलसी नतिजा शून्य भएको छ ।
एसएलसी नतिजामा राष्ट्रिय तथ्यांकभन्दा दस प्रतिशत कम विद्यार्थी उत्तीर्ण भएको नुवाकोटमा एसएलसी मा सहभागी भएका ९३ विद्यालयमध्ये तीन वटाको नतिजा शून्य रहेको छ । देवीघाटमा रहेको जिल्लाको एकमात्र संस्कृत अध्यापन हुने सहिद जगतप्रकाश जंग शाह संस्कृत माविबाट परीक्षा दिएका ९ जनामध्ये कोही पनि उत्तीर्ण हुन सकेनन् । दिव्यरत्न बोर्डिङ र प्राइभेट कायम गरिएको शिक्षा कार्यालय केन्द्रको नतिजा शून्य रहेको छ । निजी स्तरमा सञ्चालित दिव्यरत्न बोर्डिङले भने प्रवेशिका परीक्षामा सहभागिता नजनाएका कारण नतिजा शून्य रहेको जनायो ।
No comments:
Post a Comment