शान्ति प्रकृया निष्कर्षमा पुर्‍याउने अन्तिम तयारी

बहुमतबाटै भएपनि माओवादी अघि बढ्ने
    १३ कार्त्तिक, काठमाडौं । शान्ति प्रकृया अगाडी बढाउँदा खोज्दा सडक र सदनमा बिरोध गर्ने तर पार्टीका वैठक बहिस्कार गर्ने वैद्यको पक्षको रणनीतिबाट आजित भएको एकीकृत नेकपा माओवादीको संस्थापन पक्षले बहुमतको निर्णयबाट शान्ति प्रक्रिया अघि बढाउने भएको छ ।
सहमति जुटाउन आइतबार बोलाइएको स्थायी समितिको बैठक वरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षले बहिस्कार गरेपछि संस्थापन पक्ष बहुमतको निर्णयबाट शान्ति प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगेको हो । संस्थापन पक्षले सोमबार बस्ने तीन दलको बैठक अघिसम्म बैद्य पक्षसँग सहमतिको प्रयास गर्ने तर सहमति नभए बहुमतबाट शान्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सहमतिका लागि माओवादी अध्यक्ष प्रचण्डले आइतवार बिहान र साँझ वैद्यसँग छुट्टै छलफल गर्नुभयो ।
‘सहमतिको प्रयासमा छलफल जारी छ’ प्रचण्ड निकटका पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले भन्नुभयो-’सहमति भएन भने पनि शान्ति प्रक्रिया अघि बढाउनुको कुनै विकल्प छैन ।’ यस्तै माओवादी प्रवक्ता दीनानाथ शर्माले पनि सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गरेर शान्ति प्रक्रिया अघि बढाउने बताउनु भयो ।
लडाकूहरुको हतियार भण्डारण गरिएको कन्टेनरको साँचो विशेष समितिलाई बुझाएकोमा असन्तुष्ट बैद्य पक्षले एकतर्फी रुपमा शान्ति प्रक्रिया अघि बढाउन नहुने अडान राख्दै आएको छ ।
श्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुरा भट्टराई अब बन्ने तीन दलको बैठकमा शान्ति प्रक्रियामा ‘ब्रेक थू्र’ गराउने तयारीमा हुनुहुन्छ । प्रमुख तीन दलबीच सुरक्षा निकायमा समायोजन गरिने लडाकूहरुको संख्या र पुनःस्थापनामा जानेलाई दिने राहत बाहेकका सबै विषयमा सहमति भइसकेको छ । माओवादीले ७ हजारको समायोजन र ६ देखि ९ लाख रुपैयाँसम्मको पुनःस्थपना प्याकेज हुनु पर्ने अडान राख्दै आएको छ भने कांग्रेस र एमालेले ५ हजारलाई समायोजन गर्ने र ३ देखि ६ लाख रुपैयाँको पुनःस्थापना प्याकेज बनाउने बताएका छन् ।
श्रोतका अनुसार सोमबार बस्ने तीन दलको बैठकमा ६ हजार लडाकूलाई समायोजन गर्ने र ७ लाखसम्मको राहत प्याकेज बनाउने मध्यमार्गी प्रस्तावमा सहमति जुट्ने सम्भावना छ । प्रधानमन्त्री सार्क शिखर सम्मेलनमा जानुअघि नै शान्ति प्रकृयामा दलहरुवीच सहमति जुटाउने प्रयासमा दलहरु लागेका छन् । मिल्न बाँकी बिषयमा कार्यदल बनाएर भएपनि मूल बिषयमा सहमति जुटाउने गृहकार्यमा रहेको दलहरुले दावी गरेका छन् । प्रधानमन्त्री डा. भट्टराईले शान्ति प्रकृया ५ बर्षयताकै सवैभन्दा सकरात्मक मोडमा पुगेको भन्दै छिट्टै सहमति जुट्ने दावी गर्नुभएको छ ।स्रोत:अनलाइन खबर/नेपाल 

No comments: