११ कात्तिक, काठमाडौँ । तिहारको भाईटीकाको दिनमात्र खुला रहने काठमाडौं रानीपोखरीको बीचमा रहेको गोपालेश्वर मन्दिरमा आज बेग्लै चहलपहल छ ।भाइटीकाको दिन दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनी त्यहाँभित्र रहेको मन्दिरमा पुगेर टीका लगाउने चलन रहेकाले यसको रंगरोगन र सरसफाई गरिएको छ भने सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ । बिहान ५ बजेदेखि खुलेको मन्दिर साँझ ५ बजेसम्म खुला रहने बताइएको छ ।
विक्रम संवत १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि तत्कालिन प्रधानमन्त्री जुद्धशमशरेले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरुप दिएका हुन् । भाइटीकाको दिन दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनी त्यहाँभित्र रहेको मन्दिरमा पुगेर तेल हाल्ने चलन छ । तिहारमा टीका लगाउनको लागि यही मन्दिरमा जानुको शास्त्रीय अर्थ चाहिं केही पनि छैन । ‘भाइटीकाको दिनमा मात्रै खुल्ने परम्परा भएकाले यो मन्दिरमा यसरी दर्शनार्थीको भीड लाग्ने गर्छ’ नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डाक्टर माधवप्रसाद भट्टराईले भन्नुभयो -’यसमा शास्त्रीय कारण केही छैन, प्रचलन मात्रै हो ।’
कसरी बन्यो मन्दिर
आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात प्रताप मल्लले शोकाकूल रानीलाई खुशी पार्न वि.सं १७१७ मा रानीपोखरी निर्माण गर्न लगाएका थिए । पोखरीको दक्षिण किनारमा हात्तीमाथि बसेका दुई छोराको सालिक पनि बनाए । पोखरीको बीचमा यमलेश्वर महादेवको मन्दिर बनाई त्यस मन्दिरमा जाने पूल पनि प्रताप मल्लले नै बनाउन लगाएको किम्वदन्दी छ । यो मन्दिरलाई गोपालेश्वर र यमलेश्वर दुवै नामले चिनिन्छ । तर यमलेश्वर भन्ने नाम बढी प्रख्यात छ । यमलेश्वरबाटै जमल भन्ने नाम रहेको हो ।स्रोत:अनलाइन खबर
No comments:
Post a Comment