कसरी वित्दै छ कलाकारको तिहार ?

      नेपालीहरुको दोश्रो महान चाड तिहार अर्थात शुभदिपावली घरघरमा भित्रीसकेको छ । तिहारको आगमनले सवैतिर उमङ्ग पनि छरेको देख्न पाइन्छ । वर्षभरी आ-आफ्नै तरिकावाट काम गरेपनि तिहारको दिनमा दाजुभाई र दिदी वहीनीसँगसँगै हुने हुँदा पनि यो चाडको महत्व रहेको छ । नेपाली चलचित्रका कलाकारहरु पनि आआफ्नै तरीकाबाट यो पर्वलाई मनाउने तयारीमा छन् । नेपाली चलचित्रका कलाकारले तिहार पर्व कसरी मनाउँदैछन् त ?
आयुष रिजाल, नायक
अहिले पोखरामा छायांकनको क्रममा रहेकाले पनि कतिबेला घर जाउँ जस्तो भएको छ । मेरो २ जना बहिनीहरु छन् । उनीहरुको हातबाट टिका लगाउँछु । दक्षिणा, अब सकेको दिने त हो । उनीहरुलाई पढाएँ, लेखाएँ, यही नै हो नि मेरो दक्षिणा । धार्मिक महत्वका हिसावले पनि तिहार धेरै ठूलो पर्व हो । यो पर्वमा दाजुभाइ र दिदीबहिनीको जुन आत्मियता हुन्छ, यसको महत्व आफैंमा रहेको छ । यमराजले आफ्नो भाइलाई लिन आउँदा दिदीले मखमली माला र दुबो नसुक्दासम्म नलैजानु भनेर जसरी आफ्नो भाइको रक्षा गरिन्, यो नै यसको सबैभन्दा ठूलो धार्मिक महत्व हो । यो पर्वमा जनावरको पनि पूजा गरिन्छ, जुन सद्भावको हिसावले हेर्दा धेरै महत्वपूर्ण पनि छ । लक्ष्मीको पूजालाई म सम्बृद्धिको पूजाको रुपमा हेर्ने गर्दछु । जुवा तासको कुरा गर्ने हो भने शास्त्रमा पनि लक्ष्मीपूजा सकेर नरिवलको पानी खाएर द्यउित क्रिडा अर्थात जुवा तास खेल्नु भनिएको छ । तर, म भने जुवा तास खासै खेल्दिन ।
अर्जुन पोख्रेल, संगीतकार
लक्ष्मीपूजाको दिन म आफ्नो घर चितवन जान्छु । दुईजना दिदी बहिनी छन् मेरो । म उनीहरुकै हातबाट टीका लगाउँछु । दक्षिणा त मिलाएर दिने हो । यति नै भन्ने छैन । यो पर्वमा दिदीबहिनीको हातबाट टीका लगाउनुको मजा नै बेग्लै छ । साँगीतिक चाड पनि भएकाले मलाई यो पर्व निकै मनपर्छ । धार्मिक सोचका अनुसार हेर्ने हो भने पनि यो पर्वको आफ्नै महत्व छ । आफ्नो दाजुभाइको दीर्घायूको लागि दिदीबहिनीले कामना गर्ने चाड हो यो । आफ्नो दैनिक जीवनमा सहयोग गर्ने जनावरको समेत पूजा गरिने भएकाले यो पर्व धार्मिक रुपमा पनि निकै महत्वपूर्ण छ । कौडा खेल्नुपर्छ भनिन्छ, यो पर्वमा । म पनि खेल्छु, तर साथीभाइसँग मात्र । कौडा खेल्दाको मजा नै बेग्लै हुन्छ, तिहारमा ।
बेनिशा हमाल, नायिका
म चितवन छु । मेरा ५ जना दाजुभाइ हुनुहुन्छ । तर एकजना बाहिर भएकाले चारजनालाई मात्र टीका लगाईदिन्छु । तिहारमा निकै रमाईलो गर्न मन लाग्छ । चारैतिर उज्यालो हुने, झिलिमिली बत्ती बाल्नदेखि देउसीभैलो पनि खेल्न पाईने भएकाले यो पर्व मेरो मनपर्ने चाड हो । धार्मिक नजरले हेर्दा, यो पर्वले समृद्धि र उज्यालो पनि ल्याउने संकेत गर्छ भन्ने मलाई लाग्छ । घर परिवारसँग एकै ठाउँमा भेला हुन पाउने भएकाले पनि यो पर्वको महत्व धेरै छ । जुवातास त म खेल्दै खेल्दिन ।
रिमा विश्वकर्मा, नायिका
म हिन्दू भएपनि मेरो ममी र भाइ क्रिश्चियन हो । यसैले, तिहारमा म आफ्नो भाइलाई टीका लगाउँदिन । आफैंले बनाएका दाजुभाइहरु हुनुहुन्छ । उहाँहरुलाई नै म टीका लगाईदिन्छु । देउसी भैलो खेल्न त मन लाग्छ । तर साथीहरुको समुह नै बनेको छैन । यसैले पनि खेल्ने रहर हुँदाहँुदै पनि खेल्न पाउँदिन जस्तो छ । यो पर्वमा देउसीभैलो, झिलीमीली बत्ती खुबै मनपर्छ । अझ, सेलरोटी त आहा….कस्तो मनपर्छ । सेलरोटी पकाउने तयारी भईरहेको छ, हाम्रो घरमा । तिहार पर्व दाजुभाइ र दिदीबहिनीको सम्वन्धलाई अझ नजिक बनाउने भएकाले पनि मलाई निकै मन पर्छ ।
झरना थापा, नायिका
घरमा लक्ष्मी भित्र्याउने चाहना सबैको हुन्छ । यो मेरो पनि चाहना हो । हामी दुई दिदीबहिनी छौं । दुई दिदीबहिनीले एकजना भाइलाई टीका लगाईदिन्छौ । भाइलाई टीका लगाएर उसको लामो दीर्घायूको कामना गर्न पाउँदा खुशी लाग्छ । अब घर पुगेपछि घर सिंगार्ने काम छ । देउसी भैलो खेल्नका लागि सवैतिरबाट निमन्त्रणा आएको छ । यसैले पनि निमन्त्रणा मान्दै देउसी भैलो खेल्न जाने पनि ईच्छा छ । तास, जुवा म केही पनि खेल्दिन । धार्मिक दृष्टिकोणले पनि यो पर्व को महत्व धेरै छ जस्तो लाग्छ । धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । भाइको दीर्घायुको कामना गर्दै टीका लगाईन्छ । घरमै रमाईलो गरिन्छ । छायांकनबाट छुट्टिपाईने भएकाले पनि आनन्द लाग्छ ।
रेखा थापा, नायिका
अहिले म परिवारसँग बसेर आफ्नो दिदीको घर क्षेत्रपाटीमा तास खेलिरहेको छु । कति रुपैंया पोईन्ट भन्ने त मलाई पनि यस्तो याद छैन । तर निकै रमाईलो भईरहेको छ । तर, तिहार मनाउनका लागि भने म आफ्नो घर मोरङ नै जान्छु । परिवारसँग बसेर आफ्नो दाईलाई टीका लगाईदिन्छु । यसपटक म सागर -काठमाण्डौका वाईसियल ईन्चार्ज) दाईलाई टीका लगाउन पाउँदिन । किनकी, उहाँको यसपटक टीका लगाउन नहुने भएको छ । तिहारमा देउसी भैलो खेल्दै लक्ष्मी पूजा गर्न मन पर्छ । यमराजले भाइटीकाको दिनमा लिन आएका आफ्ना भाइको संरक्षण यमुनाले गरेकी थिईन् । यसकारण, पनि हामी दिदी भाइका लागि यो पर्वको महत्व अत्यन्तै धेरै रहेको छ । तिहारमा झिलिमिली बत्ती बालेर देउसी भैलो खेल्न आएकाहरुसँग रमाईलो गर्न पनि मलाई मन पर्छ ।
नन्दिता के.सी, नायिका
तिहार यसपटक पनि सधैंको जस्तै नै हो । मेरो एकजना मात्र दाई हुनुहुन्छ । हामी, तीनजना दिदीबहिनी छांै । एकजना दिदी भने भारतमा रहेकाले आउन पाउनु हँुदैन । हुन त, दाजु र बहिनीबीचमा सधैं नै माया हुन्छ । तर, यो पर्वमा झन् माया गाढा हुने भएकाले पनि मलाई रमाईलो लाग्छ । तिहार त अझ हामी महिलाहरुका लागी झनै उत्साहको चाड हो । जुवातासको कुरामा सामान्य परिवारसँग वसेर खेल्ने हो । देउसी भैलो खेल्न जाने योजना त छ, तर हेरौं के हुन्छ ।स्रोत:फिल्मिखबर


No comments: