नेपाली फुटबल टोली कम्बोडियामा

काठमाडौं/कात्तिक ९ : तीन वर्षपछि फरक उद्देश्य साथ नेपाली राष्ट्रिय फुटबल टोली कम्बोडिया पुगेको छ। यसअघि सन् २००८ मा नेपाली टोली एएफसी च्यालेन्ज कपको समूह चरणमा भाग लिन कम्बोडिया गएको थियो। 
त्यसबखत आयोजक कम्बोडिया र मकाउलाई हराउँदै नेपाल च्यालेन्ज कपको अन्तिम चरणलाई छनोट भएको थियो। यसपालि २०१२ को च्यालेन्ज कपको अन्तिम चरणलाई छनोट भइसकेको नेपाल मैत्री खेलका लागि कम्बोडिया पुगेको हो। मंसिर १६ बाट भारतमा हुने साफ च्याम्पियनसिप र फागुनमा काठमाडौंमै हुने च्यालेन्ज कपको अन्तिम चरण तयारीका लागि आसियन क्षेत्रको भ्रमण गर्ने क्रममा नेपाली टोली कम्बोडिया पुगेको हो। नेपालले कम्बोडियाको ओलम्पिक टोली (यु-२३) सँग शुक्रबार खेल्नेछ। 
एक साताको मलेसिया बसाइपछि टोली मंगलबार कम्बोडिया पुगेको हो। टोलीले मंगलबार साँझ नै नोमफेनस्थित राष्ट्रिय रंगशालामा अभ्यास गरेको छ। मलेसियाअघि नेपाली टोलीले फिलिपिन्सको भ्रमण गरेको थियो। मैत्री खेलमा नेपाली टोलीले फिलिपिन्ससँग ४-० र मलेसियाको ओलम्पिक टोलीसँग २-० को पराजय भोगेको थियो। कम्बोडियापछि थाइल्यान्डको राष्ट्रिय टोली र ओलम्पिक टोलीसँग खेल्ने भनिएपनि त्यहाँको बाढीका कारण ती दुवै खेल अझै निश्चित भएको छैन। अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो साताभित्र ती खेलको टुंगो लाग्ने जनाएको छ।
२००८ मा जर्मन प्रशिक्षक थोमस फ्लाथको नेतृत्वमा नेपाली टोलीले च्यालेन्ज कपको यात्रा तय गरेको थियो। अहिले पनि विदेशी प्रशिक्षकले राष्ट्रिय टोलीको कमान सम्हालेका छन्। इङल्यान्डका पूर्वखेलाडी ग्राहम रोबर्टस झन्डै १० महिनादेखि राष्ट्रिय टोली सम्हालेका छन्। 
उनको नेतृत्वमा राष्ट्रिय टोलीले च्यालेन्ज कपको छनोट चरण पार गरेको छ भने इतिहासमै पहिलोपटक नेपालले विश्वकप छनोटको दोस्रो चरण तय गर्‍यो। रोबर्टस आएयता नेपाली टोलीले घरेलु मैदानमा उच्च प्रदर्शन गरेको छ। त्यसको ठिक विपरीत नेपाली टोली विदेशी भूमिमा कमजोर रहँदै आएको छ। 
रोर्बटसको वास्तविक परीक्षा भने मंसिरको साफ च्याम्पियनसिपमा हुँदैछ। नेपाल एकपटक मात्र साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्न सकेको छैन। साफ च्याम्पियनसिपलाई मुख्य लक्ष्य बनाएर आसियन क्षेत्रको भ्रमण गर ेपनि मैत्री खेलमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक छैन। यद्यपि रोबर्टसले त्यसको बचाउ गर्दै आएका छन्। उनले साफ च्याम्पियनसिप मुख्य लक्ष्य भएकाले हारबाट पाठ सिक्नुपर्ने बताउँदै आएका छन्। स्रोत: (नागरिक)

No comments: