१० कात्तिक, भक्तपुर । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तिहारलगत्तै दलहरु एकजुट भएर शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउने दाबी गर्नुभएको छ ।
राष्टिय विभुति शंखधर साँख्वा प्रतिष्ठानले नेपाल सम्बत् ११३२ को अवसरमा भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले दलहरुबीच त्यसबारे सकारात्मक छलफलसमेत सुरु भइसकेको जानकारी दिनुभयो । प्रधानमन्त्रीले दलहरु मिलेर शान्तिप्रक्रिया टुंगोमा पुर्याउनुको विकल्प नभएको दोहोर्याउनुभयो । ‘दलहरुबीच एकचरणमा कुरा भईसकेको छ’, भट्टराईले भन्नुभयो, ‘अब तिहारलगत्तै फेरि छलफल गरेर शान्तिप्रक्रिया कसरी टुंगोमा पुर्याउने भन्नेबारे निस्कर्ष निस्काल्ने काम हुन्छ ।’ सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको मान्यता दिइसकेको बताउँदै प्रधानमन्त्रीले आगामी वर्षदेखि सरकारले प्रकाशित गर्ने सबै प्रकाशनमा नेपाल सम्बतको तिथिमिति उल्लेख गरिने जानकारी दिनुभयो । कार्यक्रममा नेपाल सम्बतलाई राष्ट्रिय सम्बत् बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै नागरिक आन्दोलनका अगुवाद्वय पद्मरत्न तुलाधर र मल्ल के सुन्दरलाई सम्मान गरिएको थियो ।
यसैबीच नेपाल सम्बत् ११३२ को अवसरमा काठमाडौँको खुलामञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले अब नेपाल सम्वत र नेपाल भाषाको मान्यता दिन माग गर्दै कसैले पनि आन्दोलन गर्न नपर्ने बताउनुभयो । कार्यक्रमलाई नेपाल भाषामा सम्बोधन गर्नुभएका प्रधानमन्त्रीले राणाशासन, पञ्चायत र गणतन्त्र स्थापनामा उपत्यकाका नेवार समूदायले महत्वपूर्ण योगदान गरेको भन्दै खुलेरै प्रशंसा गर्नुभयो । नेपाल सम्बत् नेवारी समुदायको मात्र नभई नेपालको आफ्नै मौलिक सम्बत् भएको प्रधानमन्त्रीको भनाइ छ । शान्तिप्रक्रिया र संविधान निर्माण टुंगोमा पुर्याउन नेवार समुदायले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
No comments:
Post a Comment