दुर्गा खनाल/काठमाडौँ
माआवादीले उपाध्यक्ष मोहन वैद्य पक्षले तीव्र विरोध गरे पनि लडाकुका हतियार रहेको कन्टेनरको साँचो विशेष समितिलाई बिहीबार बुझाएको छ ।
प्रमुख ३ दलको सहमतिमा समितिले बुधबार व्यावहारिक रूपमै शिविर कन्टेनर आफू मातहत ल्याउने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनबारे वैद्य पक्षले असन्तुष्टि जनाएपछि अध्यक्ष पुष्पकमल दाहालले बिहीबार दिउँसो आफ्नै निवासमा प्रधानमन्त्री बाबुराम भट्टराईसहित लडाकुका प्रमुख नन्दकिशोर पुन र ७ वटै डिभिजन कमान्डरको बैठक गरेका थिए ।
बैठकमा कमान्डरहरूले पनि समायोजन र पुनःस्थापनामा जाँदा आफ्नो सम्मान हुने/नहुने विषयमा चासो राखेका थिए । अध्यक्ष दाहालले कमान्डरहरूलाई सम्मानजनक समायोजन र पुनःस्थापन गर्ने आश्वासन दिएपछि साँचो हस्तान्तरणको निर्णय कार्यान्वयन गर्न कमान्डरहरू पनि सहमत भएका थिए । नयाँ बजारको बैठकमा दाहालले पार्टीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपछि साँझ ५ बजेबाट लडाकु शिविरमा चाबी बुझाउने काम सुरु भएको थियो ।
'शिविरमा रहेका विशेष समितिअन्तर्गतका समितिलाई चाबी बुझाउने काम भइरहेको छ,' लडाकुका प्रवक्ता चन्द्रदेव खनालले कान्तिपुरसँग भने, 'पार्टी स्थायी समितिले यसअघि गरेको निर्णय नै कार्यान्वयन गरिएको हो ।'
कन्टेनरको साँचो शिविरका स्थानीय कमान्डरले विशेष समिति मातहतको अनुगमन टोलीलाई बुझाएका छन् । अनमिन फिर्तापछि शिविर र हतियार अनुगमनका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी माओवादी र निजामती कर्मचारीका प्रतिनिधि सम्मिलित ८ सदस्यीय अनुगमन टोली हरेक शिविरमा परिचालित छन् । कन्टेनरका साँचो निजामती कर्मचारीका प्रतिनिधिले बुझ्छन् । शिविर कमान्डरले हतियार, लडाकुको संख्यासहितको काजगी विवरण र चाबी समिति टोलीलाई बुझाउने माओवादी नेता वर्षमान पुनले जनाए ।
विशेष समिति सचिवालय संयोजक बालानन्द शर्माले पनि कन्टेनरका चाबी बुझाउने काम थालिएको
बताए । 'अनुगमनकर्तालाई बुझाउने काम सुरु भएको छ,' उनले भने, 'भोलिसम्म (शुक्रबार) सकिन्छ होला ।' हतियारको संख्या गनेर बुझ्नुपर्ने र बिहीबार ढिला भएकाले शुक्रबारसम्म काम सकिने उनले जनाए ।
माओवादीले यसअघि स्थायी समिति बैठकबाट आफ्नो नेतृत्वमा सरकार बने कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णय गरेको थियो । निर्णयअनुसार उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि शान्ति प्रक्रिया टुंग्याउने ४५ दिने योजना कार्यान्वयन गर्ने सिलसिलामा साँचो बुझाउन माओवादी तयार भएको थियो । दिउँसो बालुवाटारमा बसेको तीन दलको बैठकपछि साँझ विशेष समितिले व्यावहारिक रूपमा नै शिविरको सम्पूर्ण जिम्मेवारी लिने निर्णय गरेको थियो । माधव नेपाल नेतृत्वको सरकारकै पालामा लडाकु शिविर विशेष समिति मातहत आए पनि कन्टेनरको साँचो माओवादीसँगै थियो । लडाकु विशेष समितिलाई हस्तान्तरण भए पनि नियन्त्रण माओवादीकै रहेका कारण साँचो बुझाउनुपर्ने माग अन्य दलले गर्दै आएका थिए । माओवादीले भने बुझाउन मानिरहेको थिएन ।
'साँचो बुझाउने निर्णय आत्मघाती’
माओवादी उपाध्यक्ष मोहन वैद्यले लडाकुका शिविर र कन्टेनरका चाबी विशेष समितिलाई बुझाउने निर्णयको विरोध र भत्र्सना गर्दै तत्काल उक्त निर्णय खारेज गर्न माग गरेका छन् । विशेष समितिलाई साँचो बुझाउनुलाई उनले 'जनमुक्ति सेना' निःशस्त्र पारी विघटन गर्ने निर्णय भनी टिप्पणी गरेका छन् । 'विशेष समितिलाई कन्टेनर र हतियारको चाबी बुझाउने भन्ने आकस्मिक तथा आश्चर्यजनक रूपमा जुन निर्णय गरिएको छ त्यो जनमुक्ति सेनालाई निःशस्त्र पारी विघटन गर्ने निर्णय हो,' वैद्यले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'हामी यस प्रकारको निर्णयको घोर विरोध तथा भत्र्सना गर्दछांै र यो आत्मघाती निर्णयलाई अविलम्ब खारेज गर्न सबै सम्बद्ध पक्षलाई हार्दिक अपिल गर्दछौं ।' पार्टीका विभिन्न स्तरका बैठकमा सम्मानजनक रूपमा सेना समायोजन गर्नेबारे पटक-पटक निर्णयहरू हुँदै आएको स्पष्ट रहेको उल्लेख गर्दै वैद्यले बृहत् शान्ति सम्झौताअनुरूप नयाँ संविधान निर्माण र सेना समायोजनलाई सार्थक निष्कर्षमा पुर्याउने प्रतिबद्धताप्रति पार्टी दृढ रहीआएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कन्टेनरका साँचो बुझाउने निर्णयको विरोध गर्दै वैद्य पक्षका नेता देव गुरुङले यसबारेमा पार्टीभित्र भन्डाफोर गर्ने बताए । समायोजन र पुनःस्थापनका काम नसकी हतारमा हतियारको चाबी बुझाएर लडाकुलाई निःशस्त्रीकरण गर्न खोजिएको उनको आरोप छ ।
'चाबी बुझाउने विषयमा पार्टीभित्र निर्णय भएको छैन,' वैद्य पक्षका स्थायी समिति सदस्य देव गुरुङले कान्तिपुरसँग भने, 'हामी यसको सशक्त विरोध गर्छौं, यसबारे पार्टीभित्र तीव्र भन्डाफोर हुन्छ ।'
कुन शिविरमा के भयो ?
१. चुलाचुलीमा साँझ मात्र हस्तान्तरण
२. सिन्धुलीमा खबर आएलगत्तै बिहानै बुझाइयो
३. नेतृत्वमा विवादले शक्तिखोरमा साँझ ५ बजेपछि मात्र बुझाइयो
४. नवलपरासीमा अनुगमन टोलीका प्रमुख नै बिदामा
५. रोल्पामा सहसचिवस्तरको कर्मचारी नआएको भन्दै बुझाइएन
६. सुर्खेतमा पनि रात परेपछि मात्रै बुझाइयो
७. कैलालीमा स्पष्ट जानकारी नआएको भन्दै कमान्डरहरू रोकिए @e-Kantipur Nepali
No comments:
Post a Comment