म्याद थप्ने कसरतमा सशस्त्रका आइजिपी


सेवा अवधिका कारण बिदामा बस्नुपर्ने आइजिपी सनतकुमार बस्नेत म्याद थप्ने कसरतमा छन्, तर तत्कालीन आइजिपी वासुदेव ओलीले दुई वर्ष म्याद छदै उमेर हदका कारण अवकाश पाएका थिए

सेवा अवधिका कारण सशस्त्र प्रहरी बलका महानिरीक्षक -आइजिपी) सनतकुमार बस्नेतले ३१ असारमा अवकाश पाउँदैछन् । तर, उनी दुई वर्ष म्याद थप्ने कसरतमा लागेका छन् ।

सशस्त्र प्रहरी नियमावली-०६५ को परिच्छेद ७ को दफा ४९ अन्तर्गत उपदफा १ मा सबै प्रहरीले ३० वर्ष सेवा अवधि पूरा भएपछि अवकाश पाउने प्रावधानअनुसार आइजिपी बस्नेत बिदामा बस्नुपर्ने हुन्छ । अवकाश पाउने एक महिनाअघि नै प्रहरी महानिरीक्षकले बिदा लिने चलन छ । तर, उनी राजनीतिक नेतृत्वलाई आर्थिक प्रलोभनमा पारेर गलत नजिर बसाल्ने कसरतमा लागेको स्रोतको दाबी छ ।

सशस्त्रका तत्कालीन आइजिपी वासुदेव ओलीले नियमावलीअनुसार नै अवकाश पाएका थिए । ओलीले ३० वर्षे उमेर हदका कारण दुई वर्षअघि नै अवकाश पाएका हुन् । तर, सशस्त्र प्रहरी ऐन, ०५८ को परिच्छेद ३ को दफा ९ अन्तर्गत उपदफा २ मा महानिरीक्षकको पदावधि चार वर्ष हुने प्रावधान छ । सोही प्रावधानलाई आधार मानेर आइजिपी बस्नेत अहिलेसम्म बिदामा बसेका छैनन् ।

गृहमन्त्रालयका केही अधिकारी सेवा अवधि सकिएकाले बस्नेतको म्याद थपिएमा समस्या उत्पन्न हुने बताउँछन् । गृह मन्त्रालयका सचिव लीलामणि पौडेलले भने म्याद थप्ने कुरा राजनीतिक विषय भएकाले त्यसबारे आफूले केही भन्न नसक्ने बताए । उनले भने, 'म्याद थप्ने कुरा राजनीतिक हो ।'

सरकारले सशस्त्रको नियमावली परिमार्जन गरे पनि समयमै ऐन परिमार्जन नगर्दा समस्या आएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । ऐनको व्यवस्थाले महानिरीक्षकको पदावधि बढीमा चार वर्ष हुने भन्ने अर्थ लाग्ने उनीहरूले बताएका छन् । तर, आइजिपी बस्नेतले राजनीतिक नेतृत्वलाई आर्थिक प्रलोभनमा पारेर भए पनि म्याद थप्ने कसरत गरिरहेको स्रोतको दाबी छ ।

आइजिपी बस्नेतको म्याद थपिएमा सशस्त्रको नेतृत्वमा उथलपुथल हुनेछ । नियमावलीअनुसार सेवा अवधिका कारण आइजिपी बस्नेतसँगै एआइजी कृष्णबहादुर विष्टले पनि एकैदिन अवकाश पाउनेछन् । उनीहरू दुवैजना नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् । त्यसपछिका वरिष्ठ एआइजी किशोर लामाले पनि साउनको तेस्रो साता ३० वर्षे सेवा अवधिकै कारण अवकाश पाउनेछन् ।

आइजिपी बस्नेतको अवकाशपछि वरिष्ठताका आधारमा वरिष्ठ एआइजी लामा नयाँ आइजिपी हुनेेछन् । तीन सातामै अवकाश पाउने भएकाले उनलाई कामु मात्र दिने वा बढुवा गर्ने विषयमा भने अन्योल छ ।

आइजिपी बस्नेतले अवकाश पाएमा वरिष्ठताका आधारमा लामा पछि अर्का एआइजी शैलेन्द्र श्रेष्ठ करिब १० महिनाका लागि आइजिपी बन्नेछन् । तर, बस्नेतको म्याद थपिएमा भने उनले एआइजीबाटै अवकाश पाउनेछन् । त्यसपछि कोषराज पन्त र ठाकुरमोहन श्रेष्ठमध्ये वरिष्ठताका आधारमा एकजना आइजिपी हुनेछन् ।

उता, बस्नेतले अवकाश पाएमा सशस्त्रमा एकैचोटि तीनवटा एआइजीका पद रिक्त हुनेछन् । रिक्त पदमा बढुवा हुने डिआइजी भविष्यमा आइजिपी हुने भएकाले एक नम्बरमा पर्नका लागि पनि दौडधूप भइरहेको स्रोतले बतायो । सशस्त्रका ११ डिआइजीमध्ये जनआन्दोलनमा दोषी ठहरिएका दुर्जकुमार राई वरिष्ठतामा अगाडि छन् । तर, विवादास्पद व्यक्ति भएकाले उनले एक नम्बरमै बढुवा पाउने सम्भावना कम छ ।

नयाँ पत्रिका

No comments: