स्वरोजगार बन्न पुष्प व्यवसायतर्फ आकर्षण


देशबाहिरबाट नेपालमा वार्षिक करोडौंको पुष्प सामग्रीहरू आयात भइरहेको अवस्थामा नुवाकोटका युवायुवतीहरू भने बढ्दो खपतलाई कम गरी विदेश निर्यात गर्नेसम्मको अठोट बोकेर पुष्प व्यवसायतर्फ आकर्षित भएका छन् ।
हाल देशले बढ्दो मागअनुरूप आवश्यक मात्रामा पुष्प सामग्रीको पूर्ति गर्न नसकिरहेको बेला बजारको भर दिनमात्र नभई बेरोजगार व्यक्तिहरूका लागि आर्थिक आयआर्जन गरी स्वरोजगार बन्नतर्फ यहाँका युवायुवतीको आकर्षण बढेको हो । अरू व्यवसाय र पेसाभन्दा फूल खेतीबाट राम्रै आम्दानी मिल्ने भएपछि मुख्य स्रोत र अवसरका रूपमा युवायुवतीहरू यसतर्फ लालायित भएका हुन् । घर सजाउनदेखि विभिन्न धार्मिक कार्य, आतिथ्य सत्कार र सभासमारोहमा प्रयोग हुने फूल आजकाल तयारी वस्तुमा कच्चा पदार्थका रूपमा प्रयोग मात्र होइन सामाजिक सभ्यतामा समेत महत्वपूर्ण मानिन्छ । सबै क्षेत्रमा महत्व र आवश्यकता बोकेको पुष्प व्यवसाय यस जिल्लामा बेरोजगार व्यक्तिहरूलाई ध्यानमा राखी नुवाकोट उद्योग वाणिज्य संघले एक नमुना कृषि उद्यमका रूपमा विकास गर्ने लक्ष्यसमेत राखेको छ ।

भौगोलिक र वातावरणीय दृष्टिकोणले फूल खेतीको राम्रो संभावना बोकेको यस जिल्लामा यसको विकास गर्न सकेमा केही हदसम्म भए पनि बेरोजगारलाई स्वरोजगार बनाउने र बजारको बढ्दो मागलाई थेग्न सकिने जिल्लाका उद्योगी व्यवसायीहरू बताउँछन् । त्यसैअनुरूप पुष्प विकास केन्द्र गोदावरीले नुवाकोट जिल्लाका ४० भन्दा बढी युवायुवतीहरूलाई पुष्प खेती र व्यवसायको विस्तारसँगै खेती सुरु गरेपछि फूलका बिरुवा प्रसारण तथा रोग, कीरा व्यवस्थापन विषयगत निःशुल्क तालिमसमेत प्रदान गरेको छ । यसै महिनाको २२ देखि सञ्चालित भएको तालिममा उत्साह र जाँगर बोकेर शिक्षण पेसा गरिरहेकादेखि कृषक, गृहिणी र अन्य पेसा व्यवसाय तथा फूलको खेती गरिरहेकाहरू समेत सामेल भएका थिए ।

वैकल्पिक व्यवसायका रूपमा अन्य पेसाहरूभन्दा पुष्पजन्य खेती गतिलो आम्दानीको स्रोत भएको हाल शिक्षण पेसा गरिरहेका जिलिङ गाविसका पोस्तकप्रसाद गजुरेलले बताए । “शिक्षक पेसा गरेर मेरो दैनिक खर्जसमेत व्यवस्थापन गर्न सकिरहेको छैन तर फूल खेती गर्न सकेमा सोचेजस्तो राम्रो आयस्रोतको सम्भावना देखेकाले तालिमपछि पुष्प व्यवसायलाई अँगाल्ने सोच बनाएको छु,” गजुरेलको योजना छ । नुवाकोट उद्योग वाणिज्य संघ नुवाकोटको आर्थिक सहयोग र पहलमा सञ्चालन भएको यस तालिममा अर्का सहभागी मदानपुर गाविस जुरेथुमका सूर्यबहादुर तामाङको पनि उत्साह कम छैन । जो केही वर्षयता पुष्पव्यवसाय गर्दै आएका छन्, यसका लागि थप प्राविधिक ज्ञान हासिल गर्न यस तालिममा सहभागी भएको उनी बताउँछन् । “म परम्परागत खेतीबालीमै सीमित थिएँ, तीन वर्षदेखि व्यावसायिक रूपमै फूलखेती गरेर वार्षिक लाखौं आम्दानी गर्न सफल भएको छु थप प्राविधिक ज्ञान र दक्षता पाउन तालिम लिने अवसर पाएँ ।” तालिमबाट व्यवसायलाई अझ विस्तार गर्न ऊर्जा मिलेको बताउने तामाङ यसको सुरुवात गर्नु पहिले पुष्प विकास केन्द्र गोदावरीमा जाँदा यस व्यवसायप्रति आकर्षण बढेको बताउँछन् ।

विगत १२ वर्षदेखि ५ रोपनी क्षेत्रफलमा फूल खेती गरी पुष्पव्यवसायबाट अधिकतम सफलता पाइसकेका नुवाकोटका अर्का सफल व्यक्ति हुन, सोमप्रसाद पाण्डे । मेहनत गर्न सके र नुवाकोटको हावापानीलाई चिन्न सके यहाँ सुन खानी भएको बताउँछन् । “आयस्तर बलियो बनाउन बजारको माग र अहिलेको फरक व्यवसाय फूल खेती नै हो,” पाण्डेको अनुभव छ । पुष्प व्यवसायको गतिलो संभावनालाई व्यावहारिक रूपमै नजिकबाट अनुभव बटुलिसकेका पाण्डे मात्र होइन, सुरु नै नगरेका अन्य व्यक्तिहरूसमेत आफ्नो आर्थिकस्तर उकास्ने बाटो यसैलाई रोज्ने मनसायमा छन् । यो व्यवसाय तुसारो नहुने र २८ डिग्री सेन्टिग्रेडभन्दा तल तापक्रममा हुने हुँदा यस जिल्लामा हावापानी र तापक्रम मिलेको विभिन्न अध्ययनले देखाएको छ ।

तालिममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष प्रदीपजंग पाण्डेले महँगो ठाउँ काठमाडौंमा सफल भएको व्यवसाय नुवाकोटमा सुरुवात भए छोटो अवधिमै राजधानीको तुलनामा विकास गर्न सकिने सम्भावना रहेको दाबी गरे । “काठमाडौं उपत्यकाभित्र भाडामा जग्गा लिएर पुष्प व्यवसायीहरूले वार्षिक लाखौं आम्दानी गरिरहेका छन्, तर यहाँ आफ्नै जग्गामा गर्न सकिने भएकाले काठमाडांै नै जान पर्दैन,” उपाध्यक्ष पाण्डेको भनाइ छ । “फरक आम्दानीको स्रोत बनेको पुष्प व्यवसायलाई विकास गर्न जिल्लावासीलाई उद्योग वाणिज्य संघले जुनसुकै प्राविधिक र आर्थिक सहयोग गर्न तत्पर छौँ,” नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरण उत्सुक सापकोटाले प्रतिबद्धता जनाए । सरकारी तथा निजी साझेदारी अवधारणमा नुवाकोट उद्योग वाणिज्य संघले बेरोजगारहरूका लागि इलम प्रशिक्षण केन्द्रमार्फत विभिन्न सीपमूलक र स्वरोजगारमूलक सीप तथा तालिमहरू महिनैपिच्छे सञ्चालन गरिरहेको छ । अध्यक्ष सापकोटाका उनका अनुसार हालसम्ममा सो केन्द्रबाट १५ हजारभन्दा बढी बेरोजगार युवायुवती तथा व्यक्तिहरू विभिन्न तालिममार्फत स्वरोजगार बन्न सफल भइसकेका छन् ।
साभार : कारोबार

No comments: