पालो अन्नपूर्ण म्याराथनको

राजु घिसिङ/काठमाडौ, जेष्ठ २६ -
           सगरमाथा आधार शिविरबाट सुरु भएर नाम्चेमा टुंगिने तेन्जिङ-हिलारी एभरेस्ट म्याराथन हिमाली दौडका लागि विश्वविख्यात मानिन्छ । समुद्री सतहबाट ५ हजार ३ सय मिटर उचाइबाट सुरु हुने यो म्याराथन विश्वकै सर्वाधिक उचाइमा हुने दौड हो । यस्तै अर्को हिमाली क्षेत्र अन्नपूर्णमा पनि यसपल्टदेखि म्याराथन सुरु भएको छ ।
चार हजार १ सय ३० मिटर उचाइस्थित अन्नपूर्ण बेस क्याम्पबाट सुरु गर्दै १ हजार ५ सय ८० मिटरको धम्पुससम्म दुई विदेशीसहित ५० धावक दौडेका थिए । त्यसमा पुरुषतर्फ तीर्थबहादुर तामाङ र महिलामा याङ्डी लामा शेर्पा विजेता भए ।
अन्नपूर्ण साउथको काखबाट सुरु भएको दौड माछापुच्छ्रे बेस क्याम्प, हिमालय, दोभान, बेम्बो, छोम्रोङ, टोल्का, देउराली, पोथना हुँदै धम्पुससम्मको ४२ दशमलव १९५ किलोमिटर दूरी चार घन्टा २३ मिनेट २९ सेकेन्डमा पूरा गरेर तीर्थले पहिलो माउरिस हर्जोग तथा स्वर्गीय डा.हर्क गुरुङ अन्नपूर्ण म्याराथन जितेका हुन् । उनलाई कडा चुनौती दिएका पूर्णबहादुर तामाङ २२ सेकेन्ड पछि परे । चार घन्टा ३५ मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै समीर तामाङ तेस्रो भए । तीनै धावक आर्मीका हुन् । पाँच घन्टाभन्दा कम समयमा दौड पूरा गर्ने अर्का धावक राम भण्डारी पनि आर्मीकै हुन् । उनले ४ घन्टा ४९ मिनेट २४ सेकेन्डमा दौड पूरा गरे ।
राम्रो तयारी गरेकाले म्याराथन जिम्नेमा आत्मविश्वासी थिए, भोजपुरका तीर्थले भने, ओरालो उकालो धेरै भएकाले बाटोचाहिँ गाह्रो लाग्यो । लक्ष्यभन्दा कम समयमा दौड पूरा गरे । त्यसैले निकै खुसी लागेको छ । २२ वषर्ीय उनले ५ घन्टा ३० देखि ४० मिनेटसम्ममा दौड पार गर्ने लक्ष्य बनाएका थिए । म्याराथनमा आफूलाई राम्रो धावकका रूपमा स्थापित गर्ने उनको योजना छ । पहाडी क्षेत्रमा हुने दौडमा उनी सहभागी हुँदै आएका छन् । गत वर्षको एभरेस्टमा म्याराथनमा उनी पाँचौं भएका थिए ।
प्ााँच दिनअघि मात्र एभरेस्ट म्याराथन च्याम्पियन भएका सुदीप कुलुङ राई ३४ किलोमिटरसम्म सबैभन्दा अगाडि थिए । देउरालीको उकालोमा खुट्टाको मांसपेशीमा समस्या -फर्केको) अनुभव गरेपछि उनले उपाधि होडको दौड त्यागेका थिए । त्यसपछि तीर्थ अगाडि बढेका थिए । खुटामा समस्या नआएको भए जित्नेमा ढुक्क थिएँ, उनले भने, पहिलोपल्ट दौडेकाले दूरी पार गर्न नसके पनि रमाइलो लागेको छ । पाँच घन्टा ९ मिनेट २३ सेकेन्डमा दौड पूरा गर्दै उनी सातौंमा  रहे ।
आर्मीका सहभागी ६ मध्ये चार खेलाडी शीर्ष चारमा रहे । रुकुमका उत्तम बुढामगर ५ घन्टा २९ सेकेन्डमा दौड पूरा गर्दै पाँचौं भए । धम्पुसका पदमलाल गौतम छैटौं, होमलाल श्रेष्ठ आठौं, गंगालाल तामाङ नवौं र दामोदार बुढामगर दसौं स्थानमा रहे ।
तीनपल्टकी एभरेस्ट म्याराथन विजेता याङ्डी ६ घन्टा २ मिनेट २ सेकेन्डमा दौड पूरा गर्दै महिलातर्फ च्याम्पियन भएकी हुन् । सोलुखुम्बुकी उनले डोल्मा शेर्पालाई १ घन्टा २९ मिनेट ४६ सेकेन्डले पछि पारेकी
थिइन् । उनले ६ घन्टाभित्र दौड पूरा गर्ने लक्ष्य राखेकी थिइन् । एभरेस्ट म्याराथनमा उनको सबैभन्दा राम्रो समय ५ घन्टा २२ मिनेट हो । २४ वषर्ीय ट्रेकिङ गाइड याङ्डी भन्छिन्, 'अन्नपूर्ण म्याराथनमा दौडिनका लागि नै यसपल्ट एभरेस्ट म्याराथनमा सहभागी भइनँ । उकालो ओरालो र धेरै पुल भएकाले एभरेस्ट म्याराथनभन्दा यो रुट गाह्रो छ । यस्तो रुटमा पाएको सफलतालाई विशेष उपलब्धि मानेकी छु ।'
सात घन्टा ४० मिनेट ५१ सेकेन्डमा दौड पूरा गर्दै पार्वतीकुमारी विष्ट तेस्रो भइन् । याङ्डीले ३० हजार रुपैयाँ हात पारिन् । डोल्माले २० हजार र पार्वतीले १५ हजार हात पारे । पुरुषतर्फका विजेता तीर्थले ५० हजार, उपविजेता पूर्णले ३० हजार र तेस्रो समीरले २० हजार रुपैयाँ पाए । स्पोर्टस् टुरिजम सोसाइटी र हिमालय एक्सपिडिसन नेपालले पर्यटन वर्षको अवसर र अन्नपूर्ण क्षेत्रको संरक्षण गर्ने लक्ष्यसाथ संयुक्त रूपमा म्याराथन आयोजना गरेका हुन् । ठीक ६१ वर्षअघि मे ३ मा प|mान्सेली पर्वतारोही माउरिस हर्जोगले पहिलोपल्ट अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । त्यसैले उही दिन म्याराथन आयोजना गरिएको हो  ।

No comments: