माथिल्लो तामाकोसी शिलान्यासको भव्य तयारी

प्रधानमन्त्री र मन्त्रीका लागि दुई ठूला हेलिकप्टर

काठमाडौंका भिआइपीलाई ५० वटा पिकअप

अन्य पाहुनाका लागि १२ बस

१५ सयलाई खाना खुवाउन क्याटरिङलाई जिम्मा

डेढ सय सुरक्षाकर्मी परिचालन



स्वदेशी लगानीले निर्माण हुन लागेको देशकै सबैभन्दा ठूलो विद्युत् आयोजना माथिल्लो तामाकोसी शिलान्यासको भव्य तयारी सुरु भएको छ । प्रधानमन्त्री झलनाथ खनालले बुधबार शिलान्यास गर्ने ४ सय ५६ मेगावाटको यस आयोजनास्थलमा झन्डै १५ सयको उपस्थिति रहने छ ।

दोलखा सदरमुकाम चरिकोटबाट ५० किलोमिटर उत्तरतर्फ चीनको सिमानामा पर्ने आयोजना शिलान्यास गर्न प्रधानमन्त्री खनाल हेलिकप्टरबाट आउने कार्यक्रम छ । यस्तै गृहमन्त्री, ऊर्जामन्त्री र सञ्चारमन्त्री पनि हेलिकप्टरबाटै आउने छन् । भाडामा लिइएका दुई एमआई १७ हेलिकप्टरबाट प्रधानमन्त्री र अन्य विशिष्ठ पाहुना सीधै आयोजना स्थलमा पुग्ने छन् ।

२९ जना भिभिआइपीहरू हेलिकप्टरबाट आउने छन् । एउटामा प्रधानमन्त्रीसहित उप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरा र मुख्य सचिवलगायत आउने छन् । अर्कोमा ऊर्जा, रक्षा र सूचनामन्त्रीसहित ठूला तीन दलका सचेतक आउने कार्यक्रम छ । योजना आयोगका कार्यबाहक उपाध्यक्ष र आठ जना सचिव पनि आउने कार्यक्रम छ ।

निम्तालु बोक्न काठमाडौंबाट ५० वटा पिकअपको व्यवस्था गरिएको छ । काठमाडौं, चरिकोट र सिंगटीबाट निम्तालु बोक्न १२ बसको व्यवस्था छ ।

काठमाडौंबाट आउने सभासद्, सञ्चालक समितिका पदाधिकारी, ऊर्जा क्षेत्रका विज्ञहरू र अन्य पाहुनाका लागि मंगलबार र बुधबारलाई चरिकोटका होटलहरूका १ सय कोठा आयोजनाले लिएको छ । आयोजनास्थल नजिकको बजार सिंगटीका होटल बुक गरिएका छन् ।

उद्घाटनमा मितव्ययिता अपनाउन निरीक्षणमा आएका ऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले खानलाई सकेसम्म स्थानीय सालको टपरीमा दिने भने पनि ठूलै खर्च गरी राजधानीबाट क्याटरिङ

बोलाइएको छ ।

आउने प्रत्येक व्यक्तिलाई खाना खुवाउने निर्देशनबमोजिम आयोजनाले करिब १५ सय व्यक्तिलाई भोजन गराउन काठमाडौंको क्याटरिङ ल्याउने तयारी गरिसकेको छ ।

यसअघिका प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यासको तयारी गरे पनि काम चलाउ प्रधानमन्त्री भनेर शिलान्यास गर्न एकीकृत माओवादीले अवरोध पुर्‍याउने धम्कीपछि कार्यक्रम स्थागन गरिएको थियो । त्यही बेला आयोजनाको प्रचारका ब्यानर र निरीक्षण खर्चबापत आयोजनाले ठूलो खर्च बेहर्नुपर्ने देखिन्छ । भाडा, होटल खर्च प्रचार प्रसारलगायत गरी शिलान्यासमा करिब ३० लाख खर्च हुने आयोजनाले जनाएको छ ।

शिलान्यासमा एसएसपी नवराज सिलवाल लगायत डेढसय प्रहरी सुरक्षार्थ खटिने छन् । जिल्लास्थित सबै कार्यालय प्रमुख, पत्रकारको जमघट शिलान्यास कार्यक्रममा हुनेछ । तामाकोसीले व्यवस्था गरेबाहेक अरू १ सय सानाठूला मोटर गोंगर पुग्ने अनुमान छ । यसपटक भने शिलान्यास कार्यक्रमलाई सर्वपक्षीय सहयोग रहेको छ ।
साभार - इ. कान्तिपुर

No comments: