काठमाडौं, असार ५ (एजेन्सी)- आध्यात्मिक गुरु साइबाबाको निधनपछि प्रशान्ति निलयम आश्रममा रहेको उनको निजी कोठा खोल्दा करोडौं मूल्यका गहना र पैसा फेला परेको छ। यजुर मन्दिर नामको उनको कोठा खोल्दा त्यहाँबाट स्रोत नखुलेको ९८ किलो सुन, तीन सय ७ किलो चाँदी र १२ करोड रुपियाँ नगद बरामद भएको छ।
साइका भक्तबाट प्राप्त उपहार सहयोग ट्रष्टमार्फत् ब्याङ्कमा राख्ने गरिए पनि बाबाले आफूसँगै करोडौं सम्पत्ति राख्ने गरेको यो घटनाले पुष्टि गरेको छ। सत्य साई ट्रष्टका पदाधिकारीले उनको निजी कोठा खोलेर निरीक्षण गर्ने क्रममा यो सम्पत्ति फेला परेको थियो। ट्रष्टका पदाधिकारीले शनिबार नै निरीक्षण गरे पनि पाइएका सामग्रीको सूची भने आइतबारमात्र सार्वजनिक गरेका थिए।
साई भक्तहरुले ट्रष्टका पदाधिकारीले साईको कोठामा रहेको बहुमूल्य सामग्रीहरु लुकाएको दाबी गर्दै आएका थिए। शनिबार उच्च न्यायालयका अवकास प्राप्त न्यायाधीश एपी मिश्रा र कर्नाटक उच्च न्यायालयका अवकास प्राप्त न्यायाधीश वैद्यनाथको रोहवरमा ट्रष्टका पदाधिकारीले साईको निजी कोठा खोलेका थिए।
ट्रष्टका सदस्य तथा साईका भतिज आरजे रत्नाकरले बाबाको कोठामा बारमद भएको सम्पत्तिको सूची तयार पार्दा आयकर विभागका पदाधिकारीसमेत उपस्थित थिए।
साईको निधनपछि सो कोठा बन्द गरिएको थियो।
शनिबार कोठाको ताल्चा खोल्दा स्टेट ब्याङ्कका मेनेजर शशीकुमार रकम गन्ने तीन वटा डिजिटल मेसिन र साँचो बोकेर पुगेका थिए। ३६ घन्टासम्म २० जनाले साईको कोठामा फेला परेका रकम गनेका थिए।
साभार : नागरिक न्युज

No comments:
Post a Comment