खै ! के भयो यो समयलाई ?
पनौती गैह्रीगाउँका चक्रबहादुर देउजा शनिबार आफ्नै घरको आँगनमा सुर्ती माडिरहेका भेटिए । साथमा थिए उनका छोरा तथा एमाले नेता शिवबहादुर देउजा । ती बा-छोरा समयको व्यापक परिवर्तनबारे गफ गर्दै थिए । उमेरले १०१ वर्ष पुगिसकेका चक्रबहादुरले एकबारको जुनीमा के पो देखेनन् ? तर, अझै देख्न बाँकी कुरा बग्रेल्ती रहेको भन्ठान्छन् उनी ।
नामः चक्रबहादुर देउजा ।
उमेरः १०१ वर्ष ।
शिक्षाः कखरा लेख्न सक्ने, बिहान-बेलुकी गीता पढ्ने ।
पेसाः पहिले खेती-किसानी, अहिले केही छैन ।
सोखः पुराना लोकदोहोरी गीत र भजन गाउने, मादल, खैंजडी, झ्याम्टा बजाउने ।
मनलाग्ने खानेकुराः खानेकुराको कुरै नगरौँ, मेरो पालामा पाँच रुपैयाँको १५ धार्नीको खसी आउँथ्यो । अहिले पाँच रुपैयाँमा के पो आउँछ र ?
मनपर्ने ठाउँ: पाकिस्तान, गोविन्दनगर ।
जीवनमा नौलो कुराः समयको परिवर्तन सबै नौला । टेलिभिजन हेरेको र छोरानातिले मोबाइल फोन चलाएको सबैभन्दा नौलो ।
फेरिएको समयः हाम्रो पालामा केटीहरू शिरदेखि पाउसम्म लुगाले छोपिन्थे, अहिलेका केटीहरू त आम्मै ! आधा जिउ देखाएर लुगा लाउँछन् । खै ! के भएको हो यो समयलाई ?
चक्रबहादुर देउजाको 'सर्टकट' चिनारी यत्ति नै हो । एक शताब्दी उमेर नाघिसकेका चक्रबहादुरले एकबारको जुनीमा के पो देखेनन् होला र ? तर, अझै देख्न बाँकी कुराका लामो चाङ बाँकी रहेको भन्ठान्छन् उनी । 'म त यो गाउँकै जेठो पो त,' उनी भन्दै थिए, 'यो पनौती, गैह्रीगाउँमा मजत्तिको बूढो कोही छैन ।'
आफू १०१ वर्ष भएको उनलाई ख्याल छ । तर, आफ्नो जन्ममिति वा अन्य तिथिमितिको उति नजरअन्दाज गर्दैनन् चक्रबहादुर । 'आमा बारीमा घाँस काट्न जानुभएको वेला म जन्मेको रहेछु,' हिउँ कपाल कन्याउँदै उनी भन्छन्, 'म बुझ्ने भएपछि आमाले मेरो हात समाउँदै बारीको पाटोमा लगेर 'यी तँ यहीँ जन्मेको होस्' भन्नुभएको थियो ।' यसरी नै घरतलको बारीको पाटो सम्झेर बितेका छन् यत्तिका वर्ष ।
वानप्रस्त उमेरमा पुगेका, शरीरमा कुनै पनि रोग नभएका यी हट्टाकट्टा बूढालाई जीवनमा पहिलोपटक शरीरमा डर उम्रेर आएको छ- केही दिनअघि नाकबाट रगत बगेपछि यिनको मुटु ढक्क फुल्यो र त्यस साँझ लाग्यो रे- अब धेरै बाँचिन्न कि त ? उमेरमा शताब्दी नाघे पनि उनी स्वस्थ, स्फूर्त देखिन्छन् । कान राम्ररी सुन्छन्, बिहान-बेलुका गीता पढ्छन्, छोरा-नातिलाई वेला-वेला लौरो बजारेर झपार्छन्, 'लौ आओ, तिमीहरूसँग एक-एक भिड्छु ।' '४०/५० वर्षेजस्तो त कहाँ हुन्छ र ?' बातचितको सुरुमै उनले सुनाए, 'पहिले त केहीको पनि डर हुन्नथ्यो । कोही जुध्न आए त परालको मुठोजसरी हुत्याइदिन्छु जस्तो लाग्थ्यो । अब केही नगरी आफूखुसी बाँच्न पाए पुग्छ ।'
जवानीका जोसिला दिनहरू फिरन्ते बन्दै बिते, कहिले भारत त कहिले पाकिस्तानतिर । त्यसवेला उनी खोलाको ठूलो भेल पनि तर्थे र अग्ला पहाड पनि चढ्थे । १५ वर्षको उमेरमा कैलाली पुगेर वनपालेको जागिर खाए । तीन वर्ष जागिर खाएपछि 'दुनियाँ नघुमी, संसार नदेख केही नजानिँदोरहेछ' भन्ने ज्ञान पलाएछ र हिँडेछन् पटना । 'उत्ताउलो मस्ती थियो, उट्पट्याङ स्वभाव थियो,' उनले भने, 'केही कुराको डर लाग्दैनथ्यो । कसैले निहुँ खोजे जो आए पनि कुटिन्छजस्तो लाग्थ्यो ।' समयले मान्छेमा यस्तो तुजुक भर्दोरहेछ । तीन वर्ष पटनामा एउटा साहुको कपडा पसलमा काम गरेपछि चक्रबहादुर पाकिस्तानतिर लागेछन्, पानीजहाजबाट । गोविन्दनगर पुगेपछि तरबार देखाउँदै मुसलमानले सोधेछ,
'तेरो धर्म के हो ?'
'हिन्दू,' उनले भने ।
'तँलाई अल्ला आउँछ ?'
'आउँछ । म अल्ला पनि जप्छु र गीता पनि । मेरा लागि संसारका सबै धर्म बराबर हुन् ।' उनको उत्तर सुनेर मुसलमानले उनलाई आफ्नै घरमा राखेछ । एक रात मुसलमानले चक्रबहादुरको सिरानीबाट खुकुरी निकालेछ र गाई मारेछ । आफ्नो खुकुरीले गाई मारेपछि चक्रबहादुर निकै विक्षिप्त बने र घरै छोडेर हिँडे । यसरी फिरन्ता बन्दै उनी पाकिस्तान, भारतमा गरी ६ वर्ष बसे र नेपाल फर्किए । उता देश-दुनियाँ देखे-भोगेर आएपछि पनि उनी स्थिर भएर एकै ठाउँमा अडिन सकेनन् । यता खेती-किसानी गर्ने र वर्षको दुई-चार महिना कलकत्ता, दार्जिलिङतिर बरालिने । घुम्ने त आदत नै बस्यो उनको । यसरी यता-उता घुम्दाघुम्दै बिते जवानीका दिन ।
उनले तीनवटी श्रीमती बिहे गरे । जेठी बिहे गर्दा चक्रबहादुर १० वर्षका थिए भने श्रीमती ६ वर्षकी । जेठीको नाम उनलाई सम्झना छैन । अनुहार पनि धमिलो मात्रै सम्झना छ । २१ वर्ष पुगेपछि उनले 'बिछट्टै राम्री' मखमलीसँग बिहे गरे र जेठीलाई एक छोरा, एक छोरीका साथ छुट्टै घर बनाएर राखिदिए । जेठीले त उनलाई फर्केर पनि हेर्न छोडिन् । एउटी छोरीको जन्मपछि माइलीलाई रोगले च्याप्यो । रोग पत्ता नलागीकन मखमलीले बिहे गरेको दुई वर्षपछि आँखा चिम्लिन् सधैंका लागि । चक्रबहादुर एक्लिए । मखमली गएपछि जीवनमा नरमाइलो त लाग्ने नै भयो । सुख-दुःख गर्ने अर्की साथी खोज्न पाए... भन्ने पनि मनमा आयो । माइलीको मृत्यु भएको एक वर्षपछि बुबाले खोजिदिएकी सरस्वती घर भित्र्याए चक्रबहादुरले । उनका अनुसार, कान्छी श्रीमतीबाट उनले सुख पाए ।
उनलाई देख्नासाथ सिंगो एउटा युगको कुरा गर्न मन लाग्छ । जीवन, समाज, समय र बुढ्यौलीका कुरा । राणाकालीनदेखि गणतान्त्रिक नेपालसम्मको चित्र-चरित्र प्रत्यक्ष बोध गरिरहेका चक्रबहादुरले देखेको नेपाल अलि भिन्न छ । 'मैले देखे-भोगेको नेपाल अहिले निकै बदलियो । पुराना कुरा सबै फेरिए । नेपालसँगै हामी आफू पनि बदलियौँ कि ? हातखुट्टामा बल भइन्जेल खुबै घुमियो । अहिले त लौरो टेक्दै आँगनसम्म पुग्यो, फर्कियो । बस यत्ति हो जिन्दगी,' उनी भन्छन् ।
तिघ्रामा बल छउुन्जेल समय अपुगजस्तो लाग्थ्यो । दिन पनि मिलिक्कै बितेजस्तो । रात झिमिक्कै कटेजस्तो । धान रोप्दै, मकै गोड्दै, वन पुगेर ठमठम हिँडेर दाउरा ल्याउँदा-ल्याउँदै घडीको सुई स्वाट्टै घुमिसक्थ्यो । अहिले समय पूरै फेरिएको छ, चक्रबहादुरको । घडीको सुई पनि नहिँडेजस्तो, समय बल गरेर ढिलो घिसि्रएजस्तो । रातका प्रहर बिस्तारै ढल्किएजस्तो । कतै दिनको समय २४ घन्टाभन्दा लम्बिएको हो त ? जीवनको उत्तरार्द्धमा यसको उत्तर खोज्नु निकै अप्ठ्यारो पर्नेरहेछ ।
'बिहान चारै बजे उठ्छु, शरीरले साथ दिए नुहाउँछु, गीता पढ्छु,' बा दिन कसरी बित्छ भनेर सोधिदिनेलाई चक्रबहादुर भन्दारहेछन्, 'यस्तै त हो, बितिहाल्छ नि ।' एकान्तिक जीवन बिताइरहेका यिनले छिनछिनमा गर्ने अर्को काम पनि छ, दूधको चिया पिउनु र गोलो बट्टाभित्रको सुर्ती तल्लो ओठले च्यापिरहनु । यसरी पनि दिन बितेन भने उनी अर्को काम पनि गरिभ्याउँछन्, लौरो टेकेर घरमुनिको चिया पसल पुग्छन् र ठिटाका कुरा सुनिबस्छन् अनि तिनका कुरा चित्त नबुझे हप्काइहाल्छन् ।
राष्ट्रले वृद्धवृद्धालाई 'सम्मानित नागरिक' भनिरहेका वेला आफन्त र शुभेच्छुकको भीडमा बाँचिरहेका छन् चक्रबहादुर । उनका छोरा शिवबहादुर देउजा एमालेका नेता हुन्, तीनपटकसम्म सांसद भइसकेका । 'म त धेरै भाग्यमानी बूढो !' छेउछाउमा भेला भएका बुहारी र नातिहरूबीच उनी भन्दै थिए, 'मभन्दा माथिका सबै गइसके, म भने आफन्तका माझ खुसी मनाउँदै छु ।'
'९० सालको भुँइचालो सम्झँदा अहिले पनि अत्तालिन्छु,' चक्रबहादुर सम्झँदै थिए, 'माघेसंक्रान्तिको दिन दिउँसो दुई बजे भुँइचालो आउँदा म आँगनमा गाउँका केटाहरूसँग 'पलाँसी' खेल्दै थिएँ । एकाएक सबै साथीसँगै म पनि भुँइमा लडँे । हामी उभिएको जमिन फाट्न थाल्यो । खेतमा काम गरिरहेका मान्छे कोकोहोलो गर्दै कराउन थाले । आँखाअघि पूरै कुहिरो छाएजस्तो भयो । आँखाले देखुन्जेल वरिपरि धुलो व्याप्त भयो । घरहरू त फाट्दै-जोडिँदै पो गर्न थाले । हामी त यता न उताका बन्यौँ ।' हुन त उनको घर-गाउँ वरिपरिका कोही पनि मान्छे भुँइचालोको कारण मरेनन् । तर, भुँइचालो आएको वेला चक्रबहादुरलाई बाँचिएला भन्नेचाहिँ लागेको थिएन । स्वभावले निकै हठी उनलाई त्यसवेला मात्रै 'ज्या मर्नलाई त केहीबेर पनि लाग्दोरहेनछ' भन्ने भएको थियो । चक्रबहादुरका सम्झनामा उसवेला काठमान्डुबाट टाढाको पनौतीवरिपरि साह्रै पातलो नेवारी बजार थियो । खड्पु र पनौतीवरिपरि मात्रै हाटबजार हुन्थे -गाउँले नुन-तेल र लुगाफाटो किन्न टाढाको बजार पुग्नुपथ्र्यो) तर अहिले त सबतिर बजारैबजार । यहाँसम्म कि एउटै भवनमा सबैखाले सामान पाइने खुम्चिएको बजार देखेर उनी जिल्ल परेका छन् ।
साँझ परेपिच्छे उनका घरैअघि स्यालका हुल कराउन थाल्थे । रात-साँझ हिँडिरहँदा घरनजिकै बाघ कराउनु उनका लागि सामान्य कुरा थियो । गाउँका गांैडा र चौरहरू शौचालय बन्थे । पनौतीनजिकको सहर बनेपाका बाटो दायाँबायाँ खुला शौलाचय थिए । बनेपाका केही भित्री गल्लीमा त भूत-प्रेतको बाससमेत छ भन्ने हल्ला व्याप्त थियो ।
उनी भारततिर फिरन्ते बनिहिँड्दा कहिलेकाहीँ राम्री तरुनीलाई ट्याक्सीमै राखेर फिल्म हेर्न सिनेमा हल पुग्थे रे । यता नेपाल आएपछि त्यो आदत छुट्यो । तर, चक्रबहादुर खेतमा काम गर्ने खेताला र माइली श्रीमती मखमलीलाई आफूले भारतमा हेरेका फिल्मबारे गफचाहिँ दिइरहन्थे । एकपटक खेतका केही खेताला र श्रीमती मखमलीलाई लिएर चक्रबहादुर पनौतीदेखि हिँडरै काठमान्डुको जनसेवा हलमा फिल्म हेर्न पनि गएछन् । तर, फिल्मबारे अरू सम्झना उनलाई छैन ।
'के कुरा गर्ने नाति (संवाद गर्दा खुल्दै गएपछि चक्रबहादुर वेलावेला मलाई नाति भनेर सम्बोधन गर्थे) कुरैको दुःख !' यसै भन्दै वेलावेला 'गोल्डेन टोबाको' सुर्ती मुखमा हाल्थे र उहिलेको हिसाबकिताब फिँजाउन थाल्थे चक्रबहादुर । 'पाँच पैसामा एक ठेकी घ्यू आउँथ्यो । पाँच रुपैयाँमा १५ धार्नीको खसी आउँथ्यो । २० रुपैयाँमा साढे दुई मुरी धान आउँथ्यो । सात आनामा दुई माना खानेतेल र तीन सुकामा एक पाथी मासको दाल आउँथ्यो । दुई पैसामा एक माना दूध आउँथ्यो,' उनी आफ्नो जमानाको हिसाब लगाउँदै थिए । उनी आफ्नो जमानामा चुरोटको अम्मली थिए । फूलमार चुरोट पिउँथे । एक दिनमा तीन बट्टासम्म चुरोट पिउँथे रे उनी । ९५औँ जन्मोत्सवमा उनले चुरोट पिउन छोडे । र, एक वर्षपछि फेरि सुरु गरे सुर्ती । उमेरमा उनी रक्सी पनि पिउँथे रे । रक्सीचाहिँ ६० लागेपछि छोडे । आजभोलिका ठिटाले चुरोट, रक्सी पिएकोचाहिँ उनलाई पटक्कै मनपरेको छैन । 'चुरोट, रक्सीले राम्रो र स्वस्थ समाजको निर्माण गर्दैन रहेछ । यो ठीक बाटो होइन,' उनले हृदयबाटै बोलेजसरी सुनाए ।
गाउँकै वरिष्ठ नागरिक भएकाले चक्रबहादुर बिहा, ब्रतबन्ध, स्थानीय विद्यालय वा क्लबका कार्यक्रम, चाडपर्वमा सधैँ सहभागी हुन्छन् । दसैंमा त उनको हातको टीको लगाउन सिंगो गाउँ नै उल्टिन्छ । वरिपरिका गाउँका मान्छे पनि धाएरै उनीकहाँ टीका लगाउन आउँछन् । छोरा-नाति आफ्नै काममा व्यस्त हुन्छन् । घरमा पालेको अजंगको कुकुर उनको बुढेसकालको साथी बनेको छ । अरू फुर्सदमा 'गीता' पढ्ने, देशको हालखबर बुझ्न कहिलेकाहीँ पत्रपत्रिका पढ्ने, पुराना लुगाफाटामा टाँक लगाउनेजस्ता धन्दा गरिरहेका हुन्छन् चक्रबहादुर । १५ वर्षअघि कान्छी श्रीमती बितेपछि उनी अझ एकान्तिक बनेका छन् । उनले धेरै कुरा दाँजेका छन् पहिले र अहिलेमा । पहिले माया पनि दोहोरो हुन्थ्यो । तर, अहिले माया फेरिएको उनले देखेका छन् ।
भनिन्छ, वृद्धहरूलाई मर्नुअघि केही हेरेर, केही खाएर वा कसैलाई भेटेर मर्ने इच्छा हुन्छ । उनलाई अनौठो इच्छा रहेछ- मर्नुअघि साथमा मोबाइल बोकेर टाढाका आफन्तसँग गफ गर्ने । ५० वर्षको उमेरमा पहिलोपटक रेडियो देखेका चक्रबहादुर अहिले समयमा आएको परिवर्तन देखेर आफैं दंगदास छन् ।
पहिले ठूलो डोकोभरि गाईवस्तुकोे मल बोकेर ठमठम हिँड्ने कृषक चक्रबहादुर अहिले आँखैसामुमा विकासे मलले 'शुद्ध गाईवस्तुको मल'को ठाउँ लिएको हेरिरहेका छन् । गाउँभरमै मादल र झ्याम्टा बजाउन, रातैभरि दोहोरी र रोदी खेल्न कहलिएका बूढा चक्रबहादुरले यी सबै चलन हराउँदै गइरहेको देखिरहेका छन् । '१११ वर्षसम्म बाँच्छुजस्तो लाग्छ,' चक्रबहादुरले निकैबेरसम्मको खोकी थामिएपछि सुस्तरी सुनाए, 'मृत्यु अन्धकारजस्तै हो, अँध्यारोकै बीच लैजान्छ कालले । मेरा लागि समयले ल्याएका सबै परिवर्तन नौला हुन् । अब बाँच्नुपर्ने दिनमा के-के नौला कुरा देख्नुपर्ने हो ?'
साभार : नया पत्रिका
Subscribe to:
Post Comments (Atom)




No comments:
Post a Comment