सगरमाथा दिवस मनाउँदै नेपाली झण्डा अष्ट्रेलियाको आकाशमा

सिड्नी, जेठ १८ - सगरमाथा दिवस मनाउने क्रममा नेपाली झण्डा पहिलो पटक अष्ट्रेलियाको आकाशमा १४ हजार फिटको उचाइमा फहरायो। अष्ट्रेलियास्थित नेपाली राजदुतावास, नेपाली महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स तथा नेपाली समाचार अनलाइन असनेपालन्युजको संयुक्त आयोजनामा अष्ट्रेलियाका पर्यटकको ध्यान खिच्न यस्तो कदम चालिएको हो।
नेपाली राजदुतावासका अनुसार सगरमाथाको आधा उचाइको आकाशमा संचारकर्मी भीमसेन सापकोटाको संयोजकत्वमा गएको टोलीले अष्ट्रेलियाकै अधिकतम उचाइको स्काई डाइभिङ मार्फत नेपालको झण्डा फहराएका हुन्। सो टोलीमा नेपाली वैज्ञानिक राजन क्षेत्री र अष्ट्रेलियन नेपाल प्रेमी वैज्ञानिक तामसिन समेत रहेका थिए। सिड्नी नजिकको शहर नर्थ वलङगङगको आकाशमा यहि मे २९ आइतबारका दिन अपरान्ह ४ बजे सगारमाथा आरोहणको प्रथम दिनको सम्झना तथा "नेपाल पर्यटन वर्ष २०११" मा 'नेपाल जाउँ र खेल -पर्यटनको प्रवर्द्धन गरौ। भन्ने सन्देशका साथ सो नेपाली झण्डा लाई फहराइएको क्यानवेरा स्थित दुतावासको कार्यालयले जनाएको छ। "आफूले जोखिम मोलेरै भएपनि नेपाली पोशाक दौरा सुरुवालमा फ्री फल जम्प गर्दै झन्डा फहराइएको र यसले नेपाल र अष्ट्रेलियाबीचको पर्यटकीय सम्बन्धलाई थप गाढापन दिने अपेक्षा गरिएको स्काइडाइभिङका सहभागीहरुले बताए। सो अवसरमा राजदुत ढकाल र महावाणिज्यदुतले संयुक्त रुपमा स्काइडाइभर्सहरुलाई चन्द्र सुर्य अंकित नेपालको झण्डा झन्डा हस्तान्तरण गरेका थिए।
यसअघि स्काइडाइभिङका सहभागीहरुलाई नेपाली राजदुत योगेन्द्र ढकाल, एन एस् डब्लु कन्सुलेट जनरल दिपक खड्क, सगरमाथा आरोहण गरेका अष्ट्रेलियन नागरिक लिन्कोन हल, नेपाल पर्यटन वोर्डका अष्ट्रेलियन प्रतिनिधि मन के सी, एन आर एन अस्ट्रेलियाका तर्फ बाट सल्लहाकार रामजी विष्ट, नेपाली आदिवासी जनजाति मन्च अष्ट्रेलियाका अध्यक्ष्य गणेश तमाङ तथा नेपाली समुदायका अगुवा प्रतिनिधिहरु र संचारकर्मीहरुले महाबाणिज्यदुतको कार्यलायमा सफलताको शुभकामना र शुभेच्छा प्रदान गरेका थिए।
सगरमाथा आरोहीलाई अभिनन्दन
यसैगरी सगरमाथामा मानव पाइला पुगेको प्रथम दिनको सम्झना गर्दै अष्ट्रेलियाका सगरमथा आरोही लिन्कोन हललाई विशेष समारोहकाबीच अभिनन्दन गरियो। अष्ट्रेलियावासी नेपाली समुदायबीच आयोजित सो सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम राजदुत योगेन्द्र ढकालले सगरमाथा विश्वकै आकर्षण भएको बताउँदै सगरमाथा आरोहण दिवसमा विदेशमा पनि पर्वतारोहीको सम्मान गर्ने परम्पराले नेपालकै गौरव बढाएको उल्लेख गर्दै नेपालको पर्यटकिय प्रचारमा लाग्न सबै प्रवासी नेपालीहरुलाई अनुरोध गरे।
साभार : नागरिक न्युज

No comments: