मंगलबार बिहान ८ बजे, दोहाबाट आएको कतार एयरवेज उतै 'डाइभर्ट' हुनुपर्यो । त्यस्तै दिल्लीबाट आएको जेट एयरवेज पनि 'डाइभर्ट' भयो । कारण थियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धानवमार्ग (रनवे) भत्किनु । तर यो पहिलोपटक होइन, २० दिनयता भएको यो चौथो घटना हो । रनवे भत्किएपछि मंगलबार ३ घन्टा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भए ।
अन्तर्राष्ट्रिय उडानमा अवरोध भएपछि यात्रु समयमा गन्तव्यमा पुग्न सकेनन् । यस्ता घटनाले अन्तर्राष्ट्रियस्तरमा यहाँको विमानस्थलको साख खस्कँदै गएको स्वयं प्राधिकरणका कर्मचारी बताउँछन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण संगठन (आइकाओ) ले गर्ने वाषिर्क अडिटमा नेपाल उसै पनि पछाडि त छँदै छ । हवाई क्षेत्रमा सबैभन्दा संवेदनशील भाग 'रनवे'
हो । आइकाओका अनुसार हवाई दुर्घटनामध्ये १ तिहाइ रनवेमा देखिएको समस्याका कारण हुने गर्छन् । यद्यपि नागरिक उड््डयन प्राधिकरणले गम्भीर रूपमा लिएको छैन । विमानस्थलकै कार्यरत कर्मचारी भने यस्तो समस्या आउनुमा कमसल निर्माण सामग्रीको प्रयोगलाई कारक मान्छन् । तर प्राधिकरणको नेतृत्वमा रहेकाहरू भने दोष पन्छाउन खोज्छन् । 'पहिले विमानस्थलका जीएमलाई सोध्नुस्, त्यसपछि कुरा गरौंला', प्राधिकरणका महानिर्देशक राम न्यौपाने भन्छन् । व्यवास्थापनले रवने बिगि्रएर उडान अवरुद्ध हुन थालेको समाचार आएपछि एक साताअघि निर्माण कार्यमा संलग्न परामर्शदातालाई स्पष्टीकरण सोधेको थियो ।
रनवे निर्माणमा खटिएका इन्जिनियरहरू वषर्ात् कारण भत्केको दाबी गर्दै छन् भने विमानस्थल सुधार आयोजना, प्राधिकरणका जिम्मेवारहरू एकअर्कालाई दोष देखाएर पन्छिनमै व्यस्त छन् । रनवे 'ओभर ले' २४ करोड लागतमा ३ महिनाअघि पूरा भएको हो । त्यस्तै करिब २ करोड ७० लाख रुपैयाँ लागतमा बनाइएको हेलिप्याड ४ महिनामै बिग्रनुले आर्थिक अनियमितताको शंका जन्माएको छ । पाँच दिनमा कारबाहीको सिफारिस सहित आउनुपर्ने प्रतिवेदन अहिलेसम्म आएको छैन । विमानस्थलको क्षमता विस्तारअन्तर्गत चार हेलिकप्टर र नौ अन्य हेलिकप्टर पार्किङका लागि नयाँ हेलिप्याड बनाइएको हो ।
विमान कम्पनी सञ्चालकसमेत रनवे ओभरले र हेलिप्याड बनाउँदा न्यूनतम मापदण्डसमेत पूरा नभएको बताउँछन् । निर्माण गर्दा गुणस्तरीय सामग्रीको प्रयोग नभएको र बढी भार थेग्न नसक्ने गरी बनाइएकाले पिच भत्केको तिनको दाबी छ । 'एकपटक बनाएपछि कम्तीमा पनि २० वर्ष चल्नुपर्छ,' उनीहरू भन्छन् । मर्मत गर्ने अवधि पाँच/पाँच वर्षको हुन्छ तर यहाँ पाँच/पाँच दिनमा रनवेलाई मर्मत गर्नुपर्ने भइरहेको छ । दुईचोटि रनवे भत्किएको खबर त व्यवस्थापनले बाहिरै ल्याएन । तेस्रो पटक 'इन्टेल सेक्सन' ४ र ५ को करिब ९ सय मिटर रनवे भत्कियो । त्यस्तै चौथोपटक सेक्सन ३ र ४ मा रनवे बिगि्रयो ।
'आफ्नो जागिर जाला' एउटै डरका कारण कमिसन खाएर कमसल सामग्री प्रयोग गर्न दिने अधिकारीको गल्तीबारे कर्मचारीहरू मुख खोल्न सक्दैनन् । कुनै पनि जहाज/हेलिकप्टर पार्किङस्थलमा 'पिच' गर्नै नहुने विज्ञहरू बताउँछन् । अन्तर्राष्ट्रियस्तरमा यस्तो पार्किङ क्षेत्रमा कंक्रिट ढलान गरिन्छ । तर यस्तो ढलान गर्दा रकम बढी लाग्ने भएकाले विमानस्थल पिच गरिएको सम्बन्धित योजनामा संलग्न इन्जिनियरहरूको भनाइ छ ।
कम रकममा गरिएको पिच पनि सही समग्रीको प्रयोग भएको भए पाँच वर्ष त टिक्थ्यो होला । पहिले नै बजेट कम हुने र त्यसमा पनि कमिसन खेल हुँदा गुणस्तरीय निर्माण कसरी हुन्छ ? यस्ता काममा हुने त्रुटि भएको पाइए दोषीलाई कारबाही गर्न सकिने व्यवस्था विमानस्थल नियममा छ तर कसैलाई कारबाही भएको छैन । व्यवस्थापनको महाप्रबन्धक र प्राधिकरणको महानिर्देशक पदमा बस्न पैसा ख्वाउने, पदमा बसिसकेपछि खर्चिएको रकमभन्दा दोब्बर असुल्ने प्रवृत्ति सम्बद्ध संस्थाको पुरानो रोग हो । यसका कारण आफूले गरेका गल्ती लुकाउन अरूले गर्ने भ्रष्टाचार थाहा पाए पनि कारबाही गर्न सक्दैनन् व्यवस्थापकीय अधिकारीहरू । उनीहरू व्यवस्थापकीय पदमा बस्ने दल, मन्त्री आदिको दबाबमा छिटो काम सक्नुपर्ने भएकाले केही न केही कमजोरी हुने र निर्माण कार्य छिट्टै बिग्रने समस्या देखिने बताउँछन् । अनुगमन गर्दा आँखा चिम्लनुको सट्टा व्यवस्थापन र प्राधिकरणले त्रुटि देखिनासाथ चेतावनी दिने तथा सुधारको निर्देशन दिए न्यूनतम मापदण्डको रनवे र हेलिप्याड बन्थ्यो । तर ठूलादेखि साना तहसम्म कमिसनमा लिप्त भएपछि विमानस्थल बिना अवरोध कसरी सञ्चालन हुने ?

No comments:
Post a Comment