लन्डन/ विश्व नम्बर एक महिला टेनिस खेलाडी कारोलिन वोज्नियाकीले विश्वका सफल महिला टेनिस खेलाडीसमेत विम्बल्डन टेनिस च्याम्पियनसिपमा विलियम्स दिदी-बहिनीसँग खेल्न डराउने बताएकी छिन् ।
यो वर्ष पहिलो ग्रान्डस्लाम खेल्न लागेका सेरेना र भेनस विलियम्सले विगतमा झैँ अल इंग्ल्यान्ड क्लबको ग्रास कोर्टमा दबदबा कायम गर्ने विश्वास वोज्नियाकीको छ । गत वर्ष विम्बल्डन जितेपछि चोट तथा स्वास्थ्यका कारण २९ वषर्ीया सरेना झन्डै एक वर्ष कोर्टबाहिर रहेकी थिइन् ।
चारपटककी विम्बल्डन च्याम्पियनले एक वर्षको विश्रामपछि गत साता इस्टबर्नमा भेरा जोनारेभासँग हार्नुअघि मात्र एक खेल जितेकी थिइन् ।
गत जनवरीमा चोटका कारण अस्ट्रेलियन ओपनको तेस्रो चरणमा आन्दि्रया पेट्कोभिकसँग खेल परित्याग गरेपछि ३१ वषर्ीया भेनसले इस्टबर्नमै पहिलो खेल खेलेकी थिइन् ।
विलियम्स दिदी-बहिनीले लामो समय कोर्टबाहिर बिताए पनि विम्बल्डनमा उनीहरूको कीर्तिमान सम्झनलायक छ । ती दुईले कुल नौ विम्बल्डन उपाधि आफ्नो नाममा लेखाएकै कारण वोज्नियाकीले कसैले पनि उनीहरूसँग खेल्ने आँट नगर्ने बताएकी हुन् ।
'वास्तवमा उनीहरूसँग खेल्न कोही पनि चाहँदैन । उनीहरू अनुभवी मात्रै होइनन्, वास्तवमै राम्रो पनि खेल्छन्, विशेष गरी ग्रास कोर्टमा,' वोज्नियाकी भन्छिन्, 'सुरुवाती चरणमा उनीहरूसँग खेल्न त झन् सबै डराउँछन् ।'
'अब उनीहरूले कस्तो खेल्छन्, त्यो त हेर्नै बाँकी छ । उनीहरूसँग खेल्न सर्भिस र रिटर्न दुवैमा माहिर हुनुपर्छ,' उनी भन्छिन्, 'मलाई लाग्छ, ग्रास कोर्ट ती दिदी-बहिनीकै लागि बनाइएको हो ।' 'मलाई थाहा छ, बितेको ११ वर्षभित्र विलियम्स दिदी-बहिनीले नौपटक विम्बल्डनको उपाधि जितेका छन् । यसले नै उनीहरू कति सफल च्याम्पियन हुन् भन्ने पुष्टि गर्छ ।'
गत वर्ष सेरेनासँगै विम्बल्डनको सेमिफाइनलमा हारेकी वोज्नियाकी विलियम्स दिदी-बहिनीका असल मित्र पनि हुन् । सेरेना बिरामी हुँदा उनलाई हेर्न वोज्नियाकी क्यालिफोर्नियासमेत पुगेकी थिइन् । 'सरेना र भेनस असल छन् । मेरो उनीहरूसँग राम्रो सम्बन्ध छ । हामी लकर रुममा समेत एकआपसमा ठट्टा गछार्ंै,' उनले भनिन् ।
यसपालि पूर्वच्याम्पियन मारिया सारापोभाले समेत सेमिफाइनलमा सेरेनासँग भिडन्त गर्नुपर्ने हुन सक्छ । सारापोभाको विचारमा समेत यसपालि विलियम्स दिदी-बहिनी उपाधिका बलिया दाबेदार हुन् । 'उनीहरू यहाँ धेरै वर्षदेखि च्याम्पियन रहेका छन् । उनीहरू ग्रासमा जसलाई पनि हराउन सक्छन्,' सारापोभा भन्छिन्, 'उनीहरू फेरि कोर्टमा फर्किएका छन्, यो राम्रो कुरा हो ।'
साभार : नयाँ पत्रिका
No comments:
Post a Comment