कान्तिपुर संवाददाता/दोहा, जेष्ठ २६
कतारमा कार्यरत नेपालीहरूले नेपाली दूतावासमा उपस्थित भएर गणतन्त्र दिवस मनाएका छन् । दूतावासले शुक्रबारको छुट्टीको अवसर पारेर जेठ १३ मा गणतन्त्र दिवसको अवसरमा शुभकामना कार्यक्रमको आयोजना गरेको थियो ।
संविधानसभाको म्याद थप्ने नथप्ने अन्योलबीच भएको गणतन्त्र दिवसको कार्यक्रममा वक्ताहरूले म्याद थपेर र समयतालिका बनाएर संविधान बनाउने र शान्ति प्रक्रियालाई संस्थागत गर्ने विषयमा जोड दिएका थिए । संविधानसभाको जेठ १४ गते रातिको बैठक अन्योल भएपछि १५ गते बिहान उज्यालो हुनुपूर्व मात्र संविधानसभाको म्याद तीन महिनाका लागि थपिएको छ ।
प्रवासमा रहेका नेपालीले नेपालमा शान्ति र संविधान निर्माण गरी विकासको कामलाई प्राथमिकता दिनुपर्नेमा आग्रह गरेका छन् । 'गणतन्त्र स्थापना भएको तीन वर्ष पुगिसकेको छ, यसलाई संस्थागत गर्न सकिरहेको छैन,' राजदूत सूर्यनाथ मिश्रले कार्यक्रममा भने- 'आज हामी जुन जोस र जाँगरका उपलब्धि हासिल गर्नुपर्ने थियो त्यो हुन सकेनको छैन ।'
'तीन वर्षसम्म गणतन्त्र संस्थागत हुन सकेन भन्दैमा निराश भइहाल्नुपर्ने अवस्था आइसकेको छैन' उनले भने- 'केही पूर्वाग्रही व्यक्तिहरू अनेक किसिमका नारा लगाए पनि संविधानसभाले धेरै काम गरिसकेको छ ।'
विभिन्न पेसाकर्मी, समाजसेवी, व्यवसायीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थित रहेको कार्यक्रममा एनआरएनका उपाध्यक्ष सागर नेपालले 'देश गम्भीर बिरामी भएको टिप्पणी गर्दै जहाँ बिमार हुन्छ त्यहाँ उपचार पनि हुने' बताए ।
कार्यक्रममा एनआरएनए एनसीसीका नरेन्द्र भाट, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष अर्जुन भट्टराई, सेफ्टी अवयरनेसका राधाकृष्ण देव, साकिर अली, मक्सुद आलम, प्रकाश आलेमगर, अमृत गुरुङ, बिनेश तामाङ, विद्यानन्द चौधरी, करिम बक्स मियाँ, कमल आचार्य, भुपराज दवाडीलगायतले गणतन्त्र दिवस सार्थक बनाउन संविधान निर्माण गर्नमा जोड दिनुपर्ने बताए । श्रम सहचारी ध्रुवप्रसाद कोइरालाद्वारा सञ्चालित कार्यक्रममा द्वितीय सचिव जयबहादुर राईले गणतन्त्र दिवसको महत्त्वमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा दल सम्बद्ध संस्थाका केही प्रतिनिधिहरूले एक अर्को दलको कामप्रति टिप्पणी गर्दै शान्ति र संविधानमा लाग्न आग्रह गरे । नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष होमनाथ शर्मा, नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदी र लोकतान्त्रिक मञ्चका अध्यक्ष रामहरि गैरेले एक अर्को दलप्रति आक्षेप लगाउँदै शान्ति र संविधानमा जोड दिएका थिए । यसैबीच जनप्रगतिशील मञ्च र लोकतान्त्रिक मञ्चले जेठ १५ गते विज्ञप्ति जारी गरी गणतन्त्र दिवस शुभकामना व्यक्त गर्दै शान्ति र संविधान निर्माणमा लाग्न आग्रह गरेका छन् ।
No comments:
Post a Comment