काठमाडौं,
नेपाल-चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले नेपालका लागि चीनका नवनियुक्त राजदूत याङ हौउलनसँग शिष्टाचार भेट गरी दुई मुलुकबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध थप सुदृढ पार्ने विषयमा छलफल गरेको छ ।
भेटमा अध्यक्ष श्रेष्ठले नेपालमा चिनियाँ लगानी, पूर्वाधार विकास, चिनियाँ बैंक स्थापना, जलस्रोत एवं पर्यटन प्रवर्द्धनमाथि जोड दिएका थिए । उनले नेपालले प्रत्येक वर्ष व्यहोर्दै आएको ठूलो व्यापार घाटा कम गर्न व्यापार वृद्धि र लगानी विस्तार आवश्यक रहेको बताए ।
भेटमा राजदूत याङ हौउलनले दुई मुलुकबीचको सम्बन्ध विस्तारका लागि आर्थिक सहकार्य एवं व्यापारलाई आधार बनाई नेपाल-चीन उद्योग वाणिज्य संघसँग सहकार्य गरी समस्या समाधानको पहल गरिने बताए । उनले हाल दुई मुलुकबीच व्यापार विस्तारमा मुख्य बाधक यातायात ढुवानी रहेकाले आफ्नो कार्यकालमा सरलीकरणका लागि विशेष जोड दिने आश्वासन दिएका थिए ।
कोष कर्मचारी युनियनमा दाहाल
काठमाडौ/ नागरिक लगानी कोष कर्मचारी युनियनको अध्यक्षमा सुभाषचन्द्र दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । यो उनको तेस्रो कार्यकाल हो । यसअघि पनि उनी दुईपटक सम्म अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यसैगरी, उपाध्यक्षमा राजु भुर्तेल, सचिवमा पिताम्बर अर्याल र कोषाध्यक्षमा सविता घिमिरे चयन भएका छन् । सदस्यमा मोहनकुमार थापा, अरुण पौडेल र पुरुषोत्तम भट्टराई रहेका छन् । दाहालले आगामी दिनमा कोषलाई अझ सशक्त बनाउन आफू, युनियन र सबै कर्मचारी लागिपर्ने जानकारी दिए । उनले कोषमा रहेको जनशक्तिलाई सदुपयोग गर्न सके कोषको क्षमतामा अझ विस्तार गर्न सकिने बताए ।
रिलायबलको रेमिट सम्झौता
काठमाडौं/ रिलायवल फाइनान्सको रेमिट सेवा रिलायवल रेमिटमार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रकम पठाउन डिसिबिएल बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले सम्झौता गरेका छन् ।
रिलायबलको सहकार्यमा ११ सयभन्दा बढी भुक्तानी केन्द्र र ७५ जिल्लामा रेमिट्यान्स कारोबार हुने गरेको छ । सम्झौतापछि दुई वित्तीय संस्थाले रिलायबल रेमिटमार्फत मुलुकभर रहेका भुक्तानी केन्द्रबाट विदेशबाट पठाएको रकम ग्राहकलाई उपलब्ध गराउन सक्नेछन्
No comments:
Post a Comment