पिताको देहान्तमा जीवन र जगतलाई हेर्दा


बाँचेकाहरूका लागि आफन्त वा पि्रयजनको मृत्यु 'सालनालदेखि ब्रह्मनाल'सम्मको हाम्रो जीवनचक्रमध्ये सबभन्दा कठोर वियोगको घटना हो । इष्टमित्र, परिचित र आफन्तको निधन सुन्दा म मध्यरातमा पनि उठेर पुग्ने गरेको छु, सान्त्वना दिन्छु । तर जसलाई परिआउँछ, त्यसमाथि आमा-बाबुको देहान्तको घटनाका बेला म स्वयम् पनि असहाय र टुहुरो भएको छु ।

माक्र्सवाद पनि एकदिन मर्नेछ भन्ने सन्दर्भमा माओत्सेतुङले भनेको सम्भिmन्छु, जुन कुराको उत्पत्ति हुन्छ, त्यसको अन्त्य अनिवार्य छ । सबै जीवितहरू अनिवार्य मर्नेछन् र प्रकृतिको बाटोबाट मोक्षमा विलिन हुन्छन् भनी विलियम सेक्सपियरले सयौं वर्षअघि नै लेखेका थिए । हाम्रा धर्मशास्त्रहरू पनि त्यही बताउँछन्, सृष्टि, स्थिति र प्रलय सांसारिक अनिवार्य गति

हुन् । तर आफूलाई परिआउँदा यस्ता शाश्वत सत्य सन्देशको कहाँ सम्झना हुनु ! गत वैशाख २१ गते मेरा पूज्यपिता भगवानसिंंह केसीको ८४ वर्षमा देहान्त भएकोले म आशौचकिरिया तथा ४५ दिनको पुत्रकर्मबाट आजै निस्कँदैछु ।

लाङटाङ हिमाल तथा गोसाइँकुण्डको भौगोलिक सेरोफेरो, समशीतोष्ण जलवायु, सिन्धुपाल्चोक जिल्लासँग जोडिएको चन्द्रावती खोलाको निर्मल जलले सिंचेको, मलिलो र हराभरा मेरो जन्म-ग्राम नुवाकोटको 'राउतबेँसी' हो । प्रशस्त वनक्षेत्र भएकोले बिचलित भएर गाउँतिर पसेका चितुवा, घोरल, हरिण, चित्तल आदि जङ्गली जन्तु घर-आँगनमै आइपुग्ने गरेको र वन जानेहरूसँग कालिजको सिकार, निउरो, जङ्गली च्याउ, टुसा, कुरिलो, ऐँसेलु, काफल बटुल्ने गरेको आदि बाल्यकालका सम्झना मभित्र अझै ताजा छन् । यही सुरम्य गाउँमा दोलखाको जिरीबाट दस पुस्ता

-करिब अढाई सय वर्ष) पहिले हाम्रा पुर्खाको एउटा समूह बसाइँ आयो । नुवाकोट आएका दाजुभाइमध्ये कोही काठमाडौंको लाजिम्पाट र नैकाप, कास्कीको भलाम, टिस्टुङतिर पनि बसाइँ

गए । जिरीभन्दा अगाडि मेरा पुर्खा रामेछापको नामाणी-बेतालीमा बसोबास गर्थे । आज रूकुम जिल्लामा पर्ने गौतमकोटबाट करिब चार सय वर्षअघि उनीहरू त्यता बसाइँ आएका थिए । मेरा पिता, नुवाकोटका दाजुभाइमध्ये समकालीन पुस्ताका सर्व ज्येष्ठ

हुनुहुन्थ्यो । त्यो ज्येष्ठताको यसपाली अन्त्य भयो ।

मेरा जिज्यूबुबा मेजर ऐवर्णमान सिंहले जनरल सिंहबहादुर बस्नेतका बाजे ठमेलका कर्णेल पहलमानसिंह बस्नेतकी कान्छी छोरी शिवकुमारीसँग विवाह गर्नुभयो, जसकी जेठी छोरीसँग वीरशमशेरले विवाह गरेका थिए । यसरी हाम्रो पुख्र्याैली साइनो तत्कालीन राणा शासकसँग पनि जोडिन पुग्यो । परन्तु साइनो जेसुकै होस्, हामी मध्यमवर्गीय किसान परिवारका हौं, 'सुनका टाँक लगाउने' सम्भ्रान्त होइनौं ।

२०१८ सालमा बुबा तत्कालीन राउतबेँसी गाउँ पञ्चायतमा, इच्छा नहुँदा-नहुँदै सर्वसम्मतिद्वारा प्रधानपञ्च र जिल्ला सभासद हुनुभयो । तत्कालीन राउतबेँसी वरिपरिका बेतिनी र गाउँखर्कसमेत मिलाएर आजको गाविसभन्दा तीन गुणा ठूलो

थियो । त्यसैताका बुबाकै पहल र प्रयासमा त्यस भेगकै पहिलो कौकेश्वरी प्राथमिक विद्यालय स्थापना भयो, जो आज उच्च माध्यमिक विद्यालयका रूपमा स्वर्ण महोत्सव मनाउँदैछ । गाउँमा पुल-पुलेसा, कुलो, खानेपानीजस्ता विकास र बस्ती सुधारका काममा उहाँको योगदान थियो । गाउँको विकासका प्रसङ्ग बुबालाई जीवनको अन्त्यसम्म पनि अत्यन्त चाखको विषय हुन्थ्यो । गाउँमा मोटरबाटो पुगेका दिन उहाँ अत्यन्त खुसी हुनुभयो ।

दुइटा पृष्ठभूमिका कारण गाउँका अनेक प्रतिकूलता र व्यवधानलाई छिचोल्दै बुबा-आमाले सबै छोराछोरीलाई पढाउन काठमाडौं पठाउनुभयो । पहिलो, मेरा आमा यशोदादेवी राणाकालीन पुस्ताकी भए पनि मावली हजुरबा शेरबहादुर पण्डित र हजुरआमा मानकुमारीले उहाँलाई घरमै लेखपढ तथा धर्मशास्त्रको ज्ञान दिलाउनुभयो । उहाँको मेधावी र लगनशील विशेषताका कारण संस्कृत र धर्मशास्त्रमा निकै दख्खलसँगै शिक्षाको महत्त्वबोध थियो, विवाहसँगै आमाले त्यही चेतना बोकेर आउनुभएको लाभ हामीलाई मिल्यो र गाउँमै स्थायी रूपमा गुरुलाई राखेर हामी सबैको प्रारम्भिक शिक्षा चल्यो । दोस्रो, हजुरबुवा भीमभक्तमान सिंहले बुबालाई बाल्यकालमा दरबार हाइस्कुलमा भर्ना गराउनुभए पनि स्वास्थ्यका कारण उहाँ बीचैमा पढाइ छोडी गाउँ फर्किन बाध्य हुनुभयो । त्यसैले अाफ्ना अधुरा इच्छालाई उहाँले हामीबाट पूर्ण गराउने सपना लिनुभयो । त्यसैको परिणामले आज म यहाँसम्म आइपुगेको

छु । मेरा ६ भाइ तथा तीन बहिनी आ-आफ्ना विधाका विज्ञ हुनसकेका छन्, मनको आँखाले हेर्ने र दिमागको भरमा बाँच्ने अभ्यास पाएका छन् । तर हाम्रा कैयौं बालसखा यस्तो मौका जुटाउन नसक्दा गाउँमै जीवन धानिरहेका छन् ।

जीवनको लामो कालसम्म बुबाआमालाई गाउँमा एक्लै छोडेर हामी छोराछोरी विद्यार्जनका लागि काठमाडौंमै रह्यौं । पार्टी प्रतिबन्धका बेला राजनीतिक संघर्षमा सक्रिय हुँदा मेरो र भाइहरूको जेल जाने-आउने भइरहन्थ्यो । विद्यार्थी जीवनमै म राजनीतिमा पूर्णकाल समर्पित भइसकेको थिएँ । संघर्षको त्यो क्षणमा बुबाआमाबाट पढाइ बिग्रेला भन्ने फिक्रीबाहेक

हामीलाई कहिल्यै पनि राजनीतिबाट विमुख वा निरुत्साहित बनाउने प्रयास भएन ।

वृद्धावस्थामा ०४५ सालदेखि बुबाआमा गाउँबाट काठमाडौं आएर मसँगै बस्न थाल्नुभएकोले मलाई राजनीतिक सक्रियतामा झन् उत्साह थप्यो । लामो यात्रा वा राजनीतिका गम्भीर कार्यसम्पादनमा म घरबाट निस्कनुअघि बुबाआमाबाट आशिर्वाद र कुलदेवताको टीका लिने गर्थें । त्यसबाट अन्तरमनमा सत्य-निष्ठा जागृत हुने गथ्र्यो र इच्छाशक्ति तथा आत्मबल बढ्थ्यो । आफ्नो गन्तव्य र लक्ष्यमा निरन्तर दृढतापूर्वक लाग्नु, कर्तव्यमा सोच-विचार पुर्‍याउनु, लक्ष्य प्राप्तिको अठोटबाट नथाक्नु, चुनौतीबाट नभाग्नु, जिम्मेवारीबाट नचुक्नु, अन्यायमा नझुक्नु जस्ता आमाबुबाको निरन्तर शिक्षा, आशिर्वाद, स्नेह र प्रेरणाका स्रोत हुन् । नैतिक हिम्मत तथा शिक्षाका यस्ता स्रोतबाट म अब बञ्चित एवं अपूरणीय क्षतिको अनुभव गर्न थालेको छु ।

करिब साढे दुई वर्ष अगाडि आमाको देहान्त भएपछि वृद्धावस्थाका अतिरिक्त बुबामा एक्लोपनको मानसिक पीडा तथा न्यास्रोपन पनि बढ्न थाल्यो, जो बुढेसकालमा पत्नीवियोगको स्वाभाविक मनोवैज्ञानिक परिणति थियो, यद्यपि पत्नी प्रतिमासहित सबै भाइ-बुहारी र छोराछोरीहरूले उहाँको न्यास्रोपन हटाउने र उहाँलाई कुनै कमी महसुस हुन नदिने अनवरत प्रयास गरिनै रह्यौं ।

वैशाख १४ गते एकाबिहान म नित्यकर्ममा थिएँ, उहाँलाई साथी राखिदिएको कमल अत्तालिँदै आएर 'बुबा लड्नुभयो' भन्दै बोलाए । सधैंको झैं अघिल्लो साँझ उहाँसँगै बसेर निकै लामो पारिवारिक कुरा गरेको थिएँ मैले । चुरोट पिउन डाक्टरले मनाही गरेको सम्झाएको पनि थिएँ, तर उहाँको त्यही हक्की र 'कमान्डिङ' शैलीमा प्रतिक्रिया आयो ।

सबेरै नित्य स्नान सकेर चिया-चुरोट खाएपछि बुबा बेहोश

हुनुभएछ । नेपाल बन्दले गर्दा चारैतिर सुनसान थियो । तैपनि महाराजगन्ज शिक्षण अस्पतालमा पुर्‍याएर आकस्मिक परीक्षण र उपचारपछि आईसीयुमा राखियो । त्यो दिनदेखि मलाई रातभर निद्रा परेन । विगतका सन्दर्भहरू पुनःजागृत भएर मानसपटलमा नाच्न थाले । मन कहिले बाल्यावस्थामा पुग्थ्यो त कहिले घरायसी जीवनका अनेक सन्दर्भमा । घरगाउँ, धारा, बगैंचा, पीपल चौतारी, खेतीपातीका चित्रहरू मानसपटलमा घुमिरहे । कहिले बुबाको त्यो सहज ठट्यौलो मिजास, मनको कुरा भन्न थालेपछि को रिसाउला वा खुसी होला भन्नेतिर ध्यानै नदिने हक्की र कमान्डिङ स्वभाव सम्भिmन्थेँ । वृद्ध बुबाआमाप्रति छोराले पुर्‍याउनुपर्ने श्रद्धा र सेवा मैले गरे पनि यथेष्ट समय दिन नसकेकोमा कतै कमी पो राखेँ कि भन्ने प्रश्न पनि मनमा उठिरह्यो । वृद्धावस्थामा आमाबुबाप्रति छोराछोरीका अनिवार्य कर्तव्य हुन्छन्, जिद्दीपन, बाल्यपन र पुराना मान्यता

सम्भिmरहने वृद्धावस्थाको विशेषतालाई सहज मानेर आमाबुबाको सेवाप्रति हामी कति समर्पित छौं भन्ने सबैको साझा प्रश्न आफैंभित्र उठिरहन्छ ।

चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूले अथक प्रयत्न गरे पनि गत वैशाख २१ गते एकाबिहान अचेत अवस्थामै उहाँको देहान्त भयो । उहाँहरूले स्वस्फुर्त उत्साह तथा व्यावसायिक निष्ठाका साथ गर्नुभएको उपचारका लागि म कृतज्ञ छु ।

अस्पताल राखेदेखि नै उहाँलाई हेर्न र हामीलाई सान्त्वना दिन नातेदार तथा आफन्त, मेरो पार्टीका सभापति, वरिष्ठ नेता, संसदीय दलका नेता, सभामुख, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, विभिन्न पार्टीका सभापतिहरू, नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, गन्यमान्य, स्वतन्त्र व्यक्तिहरू, पत्रकारहरू, विभिन्न पेसामा संलग्न महानुभावहरू, विद्यार्थीहरू, मेरो गृहजिल्लाका सहकर्मी, इष्टमित्र, समर्थक तथा शुभेच्छुकहरूको आउने क्रम चलिरह्यो । निधनका बेला घरमा र आर्यघाटमा श्रद्धाञ्जली, समवेदना तथा सहानुभूति प्रकट गर्नेहरूबाट पनि त्यस्तै हार्दिकता पाएँ । देश-विदेशबाट समेत मैले श्रद्धाञ्जली तथा समवेदनाका सन्देश पाएको छु । दुःखको घडीमा आत्मीयताका साथ समवेदना दिनुहुने सबैप्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद व्यक्त गर्छु । वास्तवमा यो आत्मीयता नै मैले आफ्नो जीवनमा कमाएको र नभजाई राख्नुपर्ने पुँजीका रूपमा लिएको छु ।

लेखक कांग्रेस केन्द्रीय सदस्य हुन् ।
साभार - इ. कान्तिपुर

No comments: