पर्शुरामलाई बुझाउन महेशलाई निर्देशन दिइएको छ : एमाले नेता प्रदीप ज्ञवाली


एमाले नेता तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टीले पर्शुराम बस्नेतलाई बुझाउन युवा सङ्घ अध्यक्ष महेश बस्नेतलाई निर्देशन दिइसकिएको बताएका छन्। उनले पत्रकार कुट्ने योजनाका मुख्य जिम्मेवार पर्शुरामलाई छानबिनबाट दोषी देखिएमात्र कारबाही गर्ने पनि बताए।

पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने युवा सङ्घ नेता पर्शुराम र उनलाई संरक्षण दिएको घोषणा खुलेआम गर्दै हिँड्ने युवा सङ्घ अध्यक्ष महेश बस्नेतसँग जोडेर एमालेविरुद्ध लगातार प्रश्‍न उठाउन थालिएपछि यसबारे एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन।

ज्ञवालीले राज्यले खोजेका बेला सम्बन्धित निकायमा उपस्थित हुनु र अनुसन्धानमा सहयोग पुर्‍याउनु सबै नागरिकको कर्तव्य हो भन्दै पत्रकार आक्रमणमा दोषी देखिएका दुई जनालाई पक्रेर बुझाएको पनि बताए। थप अनुसन्धानबाट कोही दोषी देखिए उसलाई पनि बुझाउने उनले बताए।

पत्रकारमाथि आक्रमण, महेश बस्नेतको गिरफ्तारी तथा त्यसपछि भएका तोडफोड सबैको उनले निन्दा गरेका थिए। उनले मानव अधिकार, लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति एमाले प्रतिबद्ध रहेको पनि दोहोर्‍याएका थिए।

पूर्ण विवरण

प्रेस वक्तव्य

२०६८ साल जेठ २२ गते विराटनगरमा नागरिक दैनिकका संवाददाता एवं प्रेस चौतारी, नेपालका सदस्य खिलानाथ ढकालमाथि भएको साङ्घातिक आक्रमण र त्यस यता विकसित घटनाक्रमको सन्दर्भमा पार्टीको दृष्टिकोणलाई केन्द्रीय प्रचार विभागको तर्फबाट निम्नानुसार स्पष्ट पार्न चाहन्छौं :


१. निर्वाध प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको भौतिक तथा पेशागत सुरक्षा लोकतन्त्रका अनिवार्य पूर्व शर्त हुन्। भयरहित वातावरणमा समाचार र विचार सम्प्रेषण गर्न पाउनु समाजको लोकतान्त्रिक चरित्रको मापदण्ड हो र राज्यले जहिल्यै यो अधिकारको प्रत्याभूति गर्नुपर्छ। सम्प्रेषित समाचारहरू सबै सही नहुन सक्छन्, तर लोकतन्त्रमा त्यसको खण्डन र आफ्नो कुरालाई स्थापित गर्ने आफ्नै सभ्य तरिका हुन्छ। यही मान्यतामाथि उभिएर हामी गतः जेठ २२ गते समाचार लेखेकै भरमा भएको पत्रकार खिलानाथ ढकालमाथि भएको साङ्घातिक आक्रमणको निन्दा र भ्रर्त्सना गर्छौं। दोषीलाई अविलम्व कानुनी कार्बाही गर्दै पत्रकारहरूको भौतिक र पेशागत सुरक्षा गर्न सरकारसँग जोडदार माग गर्दछौं। पत्रकार ढकालको उपचारको सम्पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

२. राज्यले खोजेको बेला सम्बन्धित निकायमा उपस्थित हुनु, उसले चाहेको जानकारी उपलव्ध गराउनु र अनुसन्धानमा सघाउ पुर्‍याउनु हरेक नागरिकको अनिवार्य कर्त्तव्य हो। उक्त घटनामा आरोपितहरूलाई घटनाको अनुसन्धानमा सघाउ पुर्‍याउन र घटनामा आफू सङ्लग्नता नभए निर्दोषिता प्रमाणित गर्न ध्यानाकर्षण गराउँछौं।

३. यही सिलसिलामा हिजो युवा सङ्घ, नेपालका अध्यक्ष महेश बस्नेतलाई इटहरीमा दुर्व्यवहार गर्दै गरिएको गिरफ्तारी, सप्तकोशी एफ.एम.माथि भएको हस्तक्षेप तथा खानतलासी र शङ्करदेव क्याम्पस लगायत विभिन्न ठाउँमा भएको प्रहरी ज्यादतिको निन्दा र भ्रर्त्सना गर्दछौं।

४. घटनाको निष्पक्ष छानबीन गरी सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र आयोग गठनका लागि सरकारसँग माग गर्दछौं।

५. प्रेसमाथिको आक्रमणलाई लोकतन्त्रमाथिकै आक्रमणको रूपमा लिदै यस प्रकृतिका सबै घटनाका विरुद्ध दृढतापूर्वक उँभिन सम्बन्धित सबैलाई अपिल गर्दछौं। हालसम्म भएका सञ्चारकर्मीमाथिका भौतिक आक्रमण तथा प्रेस स्वतन्त्रता हननका घटनाको यथार्थ छानविन गरी दोषीलाई कार्बाही, पीडितलाई न्याय र अकुण्ठित प्रेस स्वतन्त्रता प्रत्याभूतिको प्रभावकारी व्यवस्था गर्न सरकारलाई आग्रह गर्दछौं। लोकतन्त्रको सुदृढीकरणका निम्ति राजनीतिक दल, प्रेस जगत, नागरिक समाज र व्यक्ति– व्यक्तिको समेत सद्भावपूर्ण सहकार्य अनिवार्य भएकोले यस दिशामा गंभीर हुन सम्बन्धित सबैलाई अपिल गर्दछौं।

६. नेकपा (एमाले) सधैभरि पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्रको पक्षमा दृढतापूर्वक उँभिदै आएको तथ्यलाई दोहोर्‍याइरहनु पर्दैन। जनताको वहुदलीय जनवादको सैद्धान्तिक आलोकबाट दिशानिर्देशित भइरहेको पार्टी इतिहासदेखि नै सबै खाले अधिनायकवाद, हिंसा र आस्थाका आधारमा गरिने दमन या आक्रमणको विरोधमा उँभिदै आएको र यही मान्यताकै कारण विगतमा राज्य, विद्रोही पक्ष र अन्य आपराधिक समूहबाट पटक–पटक आक्रान्त हुँदै आएको तथ्यप्रति सिङ्गो नेपाली सञ्चार जगत अवगत नै छ। यही घटनाका बारेमा समेत पार्टी अध्यक्ष र महासचिवले पार्टीको तर्फबाट आफ्नो दृष्टिकोण सार्वजनिक गरिसक्नुभएको छ। तर पछिल्ला दिनमा यस घटनाक्रमसँग जोडेर पार्टीको लोकतन्त्रप्रतिको निष्ठा र प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धतामाथि प्रश्न उठाउँदै सिङ्गो पार्टी र यसका नेताहरूलाई लाञ्छना लगाउँदै सम्प्रेषित समाचार, सम्पादकीय र टिप्पणीप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यस्ता लाञ्छनाको हामी खण्डन गर्दछौं। साथै घटनाक्रमलाई अतिरञ्जित गर्दै अनावश्यक राजनीतिकरण नगर्न हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौं।

३ असार २०६८

प्रदीप ज्ञवाली

प्रमुख, केन्द्रीय प्रचार विभाग

नेकपा (एमाले)
साभार : नागरिक न्युज

No comments: