संविधान निर्माण 'लुँडोको खेल'

काठमाडौं, असार १५ (नागरिक)
            कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संविधान निर्माणको काम 'लुँडोको खेल'जस्तै भएको बताएका छन्। खेल सम्पन्न हुनै लागे पनि नागको मुखमा पर्नेबित्तिकै एकाएक तल झर्ने लुँडोको खेलसँग उनले संविधान निर्माणलाई तुलना गरेका हुन्।

संविधान निर्माणलाई मुख्य विषय बनाएर राजधानीका मुख्य सञ्चारमाध्यममा कार्यरत व्यावसायिक पत्रकारहरूको संस्था 'पाँचबुँदे सहमति पत्रकार सरोकार समिति' सँगको भेटमा पौडेलले भने, 'संविधान निर्माण लुँडोको खेल बनेको छ, खेल्दै गयो माथिपुग्छ, फेरि सर्पको मुखमा परेपछि स्वाट्टै तल झर्छ।'
कांग्रेस संसदीय दलको कार्यालयमा भएको संक्षिप्त कुराकानीमा पौडेलले संविधान निर्माणमा भएका हालसम्मका प्रगति एकैपटक तल झर्ने गरेको उदाहरण दिँदै भने, 'विवाद समाधान उपसमितिको सोमबारको बैठकमा माओवादीका नेताले संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने शब्दमा नै विवाद गरे, जो संविधानसभाको पहिलो बैठकले नै निर्णय गरिसकेको विषय थियो।'

माओवादीले द्वन्द्वका अवशेष बाँकी राख्न चाहेको आरोप लगाउँदै पौडेलले भने, 'द्वन्द्वका अवशेष सम्पूर्ण रूपमा समाप्त पार्ने कि बाँकी राख्ने भन्ने द्वन्द्व हो, अहिलेको सम्पूर्ण विवाद यसैमा छ।' उनले माओवादीभित्रको द्वन्द्वबाट शान्तिप्रक्रिया र संविधान निर्माण प्रभावित भएको पनि बताए।

संविधान निर्माणका लागि कम्तिमा दुईतिहाइ सभासद्को समर्थन आवश्यक हुने बताउँदै पौडेलले एक तिहाइभन्दा बढी माओवादीको रहेकाले पनि माओवादीको सहमति अनिवार्य रहेको उनले बताए।

माओवादीसँग नयाँ सहमति गर्न जरुरी नभएको उल्लेख गर्दै शान्तिसम्झौता लगायत विगतका सहमतिको कार्यान्वयन नै शान्ति र संविधानका लागि पर्याप्त हुने पौडेलले दाबी गरे। 'स्ट्यान्डर्ड नर्म्स' पूरा भएकाहरू सेनामा समायोजित हुने र नभएकाहरूलाई पुनःस्थापनामा जाने शान्तिसम्झौतामा नै उल्लेख भएको पनि पौडेलले बताए। माओवादी विगतका सहमतिप्रति इमान्दार भएमा सबै समस्याको हल छिटै निस्कने पनि उनले बताए।

No comments: