नेपाली खेलाडी उत्साहित

काठमाडौं, असार १६ (नागरिक)
            आगामी विश्वकप क्रिकेट प्रतियोगितामा पुनःचार एसोसिएट राष्ट्रको सहभागिता हुने समाचारले नेपाली खेलाडी उत्साहित भएका छन्।
केही समय अघि भारत, श्रीलंका र बंगलादेशमा सम्पन्न विश्वकपका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन् २०१५ को विश्वकपमा एसोसिएट सदस्य राष्ट्रलाई सहभागी नगराउने निर्णय गरको थियो। 
जसको एसोसिएट राष्ट्रले कडा आलोचना गरेका थिए। हङकङमा सञ्चालन भइ रहेको विश्व क्रिकेटको सर्वोच्च संस्थाको वार्षिक सम्मेलनमा उक्त निर्णय उल्टाइएको क्रिकेटको वेवसाइट क्रिकइन्फोले जनाएकोछ।
'यो हाम्रा लागि ठूलो समाचार हो।' नेपाली क्रिकेट टोलीका अगुवा पारस खडकाले भने,'हाम्रा लागि यो एउटा अवसर हो। हामी अब तैयारी साथ अगाडि बढ्नु पर्छ।'
खडकाले सबै एसोसिएट्स राष्ट्रले अब पुनः विश्वकप सहभागिताका लागि प्रयास गर्ने हुनाले नेपालले पनि त्यही स्तर र गतिमा कोशिश गर्नु पर्ने बताए।
'अब मुलुकमा बढीभन्दा बढी क्रिकेट हुनु पर्‍यो। खेलाडीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नियमित अनुभव हासिल गर्नु पर्‍यो। त्यति भए मात्र हाम्रो क्रिकेट त्यस स्तरसम्म पुग्न सक्ने छ।' खडकाले भने।
उनले अब प्रशासनको भर नपरेर खेलाडी आफैले मिहिनेत गरेर आफ्नो स्तर उकास्नु पर्ने बताए।
आइसिसीको यस वैठकलाई आफूले 'फलो' गरि रहेको पूर्व कप्तान विनोद दासले बताए।
हाम्रो जस्तो मुलुकका लागि यो निकै खुसीको कुरा हो। यसबाट नेपालले विश्वकप जस्तो प्रतियोगितामा पुनः खेल्न पाउने सम्भावना आएको छ।' उनले भने,'तर हामीले यसका लागि तैयारी पनि त्यही किसिमको गर्नु आवश्यक छ।'
देशमा क्रिकेट गतिविधि विगतका तुलनामा कम भएको बताउदै उनले खेलाडीले खेल्ने र खेलको माध्यमबाट जीविकोपार्जन गर्ने वातावरण पाएपछि नेपाली क्रिकेटको स्तर उकासिने उनले बताए।
नेपाली क्रिकेटलाई अहिलेको स्थितीमा ल्याउनमा संचार जगतको ठूलो हात भएको बताउदै उनले भने,'तर अब संचारसँग अन्य क्षेत्र पनि अगाडि आउनु पर्छ।'
नेपाली क्रिकेटको विकासको जिम्मा लिएर वसेको नेपाल क्रिकेट संघ (क्यान)ले अब वैकल्पिक श्रोत जुटाउदै क्रिकेटलाई अगाडि बढाउनु पर्ने उनले बताए।
उनले राष्ट्रिय खेलकुद परिषदका वर्तमान सदस्य सचिव खेल पृष्टभूमीबाट आएको व्यक्ति भएकोले पनि आफूले ठूलो आशा गरेको बताए।
हुनत यस किसिमका आशा हामीले विगतमा पनि गरेका थियौँ। तर अहिलेका सदस्य सचिव खेलकुद पृष्टभूमिबाट आएकोले उहाँको नेतृत्वमा यस पटक भने नेपाली खेल जगतले फड्को माने आशा मैले लिएको छु।' दासले भने।
आइसिसीको यस निर्णयबाट नेपाली खेलाडीले पनि खेल्ने उद्देस्य पाएका छन्। तर त्यो उद्देस्य प्राप्त गर्न भने त्यति सहज छैन। त्यसका लागि क्यान लगायत सबै क्षेत्रले आआफ्नो स्थानबाट सहयोग गर्नु पर्छ।' उनले अगाडि भने।
क्यानका प्रवक्ता तारकमणी दीक्षितले यो नेपालका लागि निकै उत्साहजनक खबर भएको बताए।
'यो हाम्रा लागि निकै खुसीको खबर हो। यस खबरबाट हामी निकै उत्साहित भएका छौँ।' उनले भने,'यसबाट विश्वकपको ढोका हाम्रा लागि पनि खुल्ला भएको छ, त्यसको तैयारी राम्ररी गर्नु पर्छ।'
यसका लागि क्यान योजनाबद्ध रुपमा अगाडि बढ्ने उनले बताए।
डिभिजन ४ अघि नै नेपाली टोलीका लागि अभ्यासको व्यवस्था मिलाउने उनले बताए।
'हामीले भारत, पाकिस्तान अथवा बंगलादेशमा टिमलाई अभ्यास खेलका लागि नेपाली टोलीलाई पठाउने व्यवस्था मिलाउदै छौँ।' उनले भने।

No comments: