१५ लाख निक्षेपकर्ताको ५३ अर्ब सुरक्षित

image
निगमले गत फागुन १५ बाट विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त विकास बैंकमा रहेका २ लाख रुपैयाँसम्मका व्यक्तिगत निक्षेपकर्ताको रकम सुरक्षणको काम सुरु गरेको थि

विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त विकास बैंकमा रहेका १५ लाख निक्षेपकर्ताको ५३ अर्ब ३३ करोड रुपैयाँ सुरक्षित भएको छ । निक्षेप तथा कर्जा सुरक्षण निगममा हालसम्म विकास बैंक, फाइनान्स कम्पनी र लघु वित्त विकास बैंक गरी १ सय ४१ संस्थामा रहेका १५ लाख ७ जना व्यक्तिगत निक्षेपकर्ताको ५३ लाख ३३ हजार निक्षेप बिमा भएपछि निक्षेपकर्ता सुरक्षित भएका हुन् ।
निगमले गत फागुन १५ बाट विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त विकास बैंकमा रहेका २ लाख रुपैयाँसम्मका व्यक्तिगत निक्षेपकर्ताको रकम सुरक्षणको काम सुरु गरेको थियो । निगमका अनुसार हालसम्म ७३ विकास बैंकका ८ लाख ५० हजार निक्षेपकर्ताको २३ अर्ब २५ करोड, ६७ फाइनान्स कम्पनीका ५ लाख १६ हजार निक्षेपकर्ताको २९ अर्ब ६१ करोड र एक लघुवित्त विकास बैंकको एक लाख ४१ हजार निक्षेपकर्ताको ४७ करोड २१ लाख रुपैयाँ रकम सुरक्षण गरिएको छ । मुलुकभर ८७ विकास बैंक, ८० फाइनान्स कम्पनी र २१ लघुवित्त विकास बैंक सञ्चालनमा छन् । २१ लघुवित्त विकास बैंकमध्ये ३ मात्रै सुरक्षणको दायरामा पर्ने बताइएको छ ।
निगमका महाप्रबन्धक भोलाप्रसाद शर्मा अधिकारीले सुरक्षण सुरु भएको छोटो अवधिमै उल्लेख्य रूपमा सफलता हासिल भएको बताए । उनले वित्तीय क्षेत्रमा समस्या देखिएको अवस्थामा निक्षेपको सुरक्षणले बिगि्रएको वातावरणमा सुधार ल्याउन राहत मिलेको बताए । 'निक्षेप सुरक्षण गर्ने संस्था समस्याग्रस्त भए पनि निक्षेपकर्ताको रकम सुरक्षित भएको छ, यसले गर्दा निक्षेपकर्तालाई कुनै असर गर्दैन,' अधिकारीले भने, 'आगामी आर्थिक वर्षबाट वाणिज्य बैंकका निक्षेपकर्ताको निक्षेपको सुरक्षणको कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ ।'
विकास बैंक तथा वित्त कम्पनीले बिमाका लागि सम्झौता गर्दै आएका छन् । विकास बैंक, वित्त कम्पनी र लुघवित्त विकास बैंकमा साना निक्षेपकर्ता बढी हुने र बैंक संकटमा गएमा साना ग्राहक मारमा पर्ने हुँदा त्यस्ता निक्षेपकर्ताको कर्जालाई सुरक्षण गर्न बिमा सुरु गरिएको हो ।
निक्षेपकर्ताको सुरक्षण गर्दा विकास बैंक र वित्त कम्पनीले निक्षेपको प्रतिसय रुपैयाँ वाषिर्क बीस पैसाका दरले सुरक्षण दस्तुर बुझाउनुपर्छ ।
विशेष पुनर्कर्जाको ब्याजदर १० प्रतिशत

काठमाडौं/ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने विशेष पुनर्कर्जा र अन्तिम ऋणदाता सुविधाअन्तर्गत प्रवाह गर्ने कर्जाको ब्याजदर १० प्रतिशत कायम गरेको छ ।
राष्ट्र बैंकले बैंकिङ ब्याजदर ७ प्रतिशत र ३ प्रतिशत पेनल दर गरी १० प्रतिशत ब्याजदर कायम गरेको हो । राष्ट्र बैंकले जेठ २६ मा पुनर्कर्जाको ब्याजदर वाषिर्क ७ प्रतिशत मात्रै कामय गरे पनि आइतबार थप तीन प्रतिशत पेनल दर थप्ने निर्णय गरेको हो । राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले विशेष पुनर्कर्जा र अन्तिम ऋणदाता सुविधको ब्याजदर १० प्रतिशत कायम गर्ने निर्णय भएको जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या बढ्दै गएपछि राष्ट्र बैंकले विशेष पुनर्कर्जा र अन्तिम ऋणदाता सुविधाको व्यवस्था गरेको हो । तरलताको समस्या भोगिरहेको भिवोर विकास बैंकलाई ५० करोड रुपैयाँसम्म अन्तिम ऋणदाता सुविधाअन्तर्गत ऋण दिने निर्णय गरिएको छ ।
साभार : नयाँ पत्रिका

No comments: