खगेन्द्र ८ महिनामै हटे गिनिजको पानाबाट
खगेन्द्र थापामगर आइतबार नागढुंगास्थित सरस्वती माविमा पढ्न गए। दिउँसो सिमलचौरस्थित डेरामा फर्किए र उस्तै गरी खेल्न थाले। उनले आफूमा न कुनै परिवर्तनको महसुस गरे न आफ्नो पहिचानमा कुनै फेरबदल भएकै थाहा पाए।
८ महिनाअघि 'गिनिज बुक अफ दि वर्ल्ड रेकर्डस्'मा विश्वकै होचो व्यक्तिका रुपमा नाम लेखाएका उनी आइतबारबाट यो हैसियतमा रहेनन्। तर उनलाई यसबारे कुनै हेक्का छैन। उनी यस्ता कुरा बुझ्दैनन्।
फिलिपिन्सका जुनरी बालाविङ खगेन्द्रलाई पछि पार्दै विश्वका होचा व्यक्ति बनेका छन्। खगेन्द्रभन्दा मात्र २ दशमलव ४ होचा बालाविङ आईतबार १८ वर्ष पुगेका हुन्। खगेन्द्रको उचाई २ फिट २ दशमलव ४१ ईन्च अर्थात ६७ दशमलव शुन्य ८ सेन्टिमिटर छ।
वि.सं.२०४९ असोज २८ गते बाग्लुङको धुल्लुबासकोट-६ का बाबु रुपबहादुर र आमा धनमायाको जेठो छोराका रुपमा जन्मेका खगेन्द्रले गत असोज २८ गते १८ वर्ष पुगेकै दिन गिनिजमा नाम लेखाएका हुन्। उनको शारीरिक परीक्षण गरी गिनिजको प्रमाण-पत्र दिन गिनिज बुक रेकर्डसका उप-प्रमुख मार्का फ्रिगटीको टोली पोखरा आएको थियो।
दुई वर्षे बालकजस्ता देखिने खगेन्द्र यी र यस्ता कुरा जान्ने-बुझ्ने अवस्थाका छैनन्। आफ्नै सुरमा खेल्ने र रमाउने उनी नयाँ मानिस देख्दा लजाएर घोरिने गर्छन्। गिनिजमा नाम लेखाएपछि उनले विभिन्न कार्यक्रममा भाग लिन झण्डै एकदर्जन मुलुक घुम्ने मौका पाए। उनी पर्यटन वर्ष २०११ को सद्भावना राजदुत समेत बने।
'खगेन्द्रलाई उछिन्दै फिलिपिन्सका जुनरी विश्वकै होचा व्यक्ति बने पनि हामीलाई कुनै विस्मत लागेको छैन' खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले आईतबार नागरिकसँग भने,'खगेन्द्र अरुभन्दा विल्कुल फरक छन्। उनले होचोसहित अन्य तीन विधामा मेडल पाएका छन्। बरु जुनरीलाई खगेन्द्रको पनि बधाई छ।'
प्रतिभा र कलाले खगेन्द्र हिजो जस्तै भोलि पनि उत्तिकै चर्चामा रहने उनले जिकिर गरे। बेला-बेला मुड चल्दा नाच्न र ठट्यौलीमा भने खगेन्द्र रसिक छन्।
उनले यसबीचमा अमेरिका, बेलायत, इटाली, स्वीजरल्याण्ड, जर्मनी, बेल्जियम, हल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, कतार, कोरिया, थाइल्याण्ड, भारत लगायतका मुलुकको भ्रमण गरे। पर्यटन बोर्डले सदभावना राजदुतका हैसियतले पर्यटन प्रवर्द्वन गर्न हरेक मुलुक गएर फर्केपछि ५० हजार रुपैयाँ दिने सम्झौता गरेको छ। प्रतिष्ठानका अध्यक्ष राना र बाबु रुपबहादुर पनि उनीसैगँ जान पाउँछन्।
छोराको नाम विश्वमै फैलिनु आफ्ना लागि अप्रत्यासित सत्य भएको बाबु रुपबहादुरले बताए। उनले सानोमा साह्रै चिन्ता लाग्ने अवस्थाको छोराले आज ८ महिना भए पनि गिनिजमा नाम लेखाएर नेपालकै नाम संसारमा चिनाएको गर्व गरे।
'खगेन्द्र प्रतिष्ठानको मात्र होइन राज्यकै गहना हो' उनले भने,'अब राज्यले खगेन्द्रलाई हिंडडुल गर्न, खान-बस्न के कस्तो समस्या छ हेर्नुपर्छ।'
कमजोर आर्थिक अवस्थाको उनको परिवार पोखरामा बीना रोगजारी खगेन्द्रकै नाममा बेला-बेला विभिन्न कार्यक्रममा उठ्ने चन्दा तथा सहयोग रकमबाट गुजारा गर्दै आएको छ। सरकारले अहिलेसम्म खगेन्द्रका लागि एक रुपैयाँमा आर्थिक सहयोग नगरेको उनले दुःखेसो पोखे।
प्रतिष्ठानका अध्यक्ष रानाले पनि खगेन्द्रलाई सार्वजनिक यातायातमा विभिन्न जिल्लाहरुमा पुग्न अप्ठेरो भएकाले प्रतिष्ठानका नाममा एउटा गाडीको आवश्यकता रहेको बताए। यस्तै प्रतिष्ठानका लागि एक टुक्रा जमिन, खगेन्द्रका लागि मासिक खान-बस्न ४० देखि ५० हजार रुपैयाँ आवश्यक पर्ने उनको जिकिर छ।
यी मागहरु लिएर प्रतिष्ठानले सोमबार प्रधानमन्त्री झलनाथ खनाललाई भेट्ने कार्यक्रम रहेको जनाएको छ। सोमबार अपरान्ह १ बजे प्रधानमन्त्रीसंग भेट्ने समय पाएको प्रतिष्ठानले व्यक्तिगत स्वार्थका लागि नभई सामाजिक कामका लागि ट्रष्टका रुपमा केही सहयोगको आशा लिएको छ। प्रतिष्ठानले खगेन्द्र जस्तै असमान्य र असहायहरुका लागि आश्रम बनाउने लक्ष्य समेत लिएको छ।
नागढुंगास्थित सरस्वती माविको एलकेजीमा पढ्ने खगेन्द्रको पढाई भने स्थीर छ। स्कुल भर्ना भएको दुई वर्ष बिते पनि उनले कक्षा चढेका छैनन्। पढेका कुरा नबुझ्ने र त्यसलाई लेख्न पनि नसक्ने उनलाई प्रतिष्ठानले साक्षर बनाउने प्रयास गरिरहेको छ।
'विभिन्न कार्यक्रमहरुमा भाग लिन पोखरा बाहिर गईरहनुपर्ने भएकाले कक्षामा नियमति बस्न पाउँदैन' प्रतिष्ठानका अध्यक्ष रानाले भने,'त्यसैले उ सधैं एउटै कक्षामा हुन्छ।'
विद्यालयले खगेन्द्रले पढेसम्म निःशुल्क सुविधा दिने घोषणा गरेको छ। ८ महिनाअघि गिनिजमा नाम लेखाउँदाको खगेन्द्रको उचाई र तौलमा अहिले पनि कुनै फरक छैन। स्थानीय फेवासिटी अस्पतालमा उनको शारीरिक परीक्षण गर्दा उचाई ६७.०८ सेन्टिमिटर र तौल ६.५ केजी रहेको प्रमाणित भएको थियो। अहिले पनि उचाई र तौल त्यही नै रहेको रानाले जानकारी दिए।
सामान्य झाडाबाहेक खगेन्द्रको स्वास्थ्यमा कुनै गडबडी नरहेको उनले बताए। बालरोग विषेशज्ञ डा.हुमनाथ न्यौपाने विगत ६ वर्षदेखि खगेन्द्रको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन्। रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिको कमीले सामान्य चिसोमा पनि रुघाखोकीले समात्ने बाहेकका समस्या खगेन्द्रमा नरहेको न्यौपालेले बताए।
साभार : नागरिक न्युज
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment