आमा बन्ने उमेर कति ?


पच्चिस वर्ष नपुग्दै बिहे गरिसक्नुपर्छ । त्यो उमेर मान्छेको सबैभन्दा सिर्जनात्मक समय हो । एक-दुई वर्षमा बच्चा हुन्छ र हुर्काउादा तीस कटिसक्छन् अनि काम गर्ने र खुबी देखाउने जागर पनि मर्छ ।

'सुरुमा उमेर भयो बिहे गर भने । मैले टेरिनँ । अब बच्चा राम्रो हुन्न बिहे गर भन्न थालेका छन् ।' अस्ट्रेलिया क्विन्सल्यान्डमा बसेर नर्सिङ पढ्दै गरेकी बुटवलकी शोभना केसीले 'जि टक' मा गुनासो गरिन् । उनी बत्तीस वर्षकी भइन्, उनको बिहेलाई लिएर घरमा कुरा हुन थालेको १० वर्ष । पच्चीस वर्ष पुगिन्जेल उनलाई राम्रो केटो छाड्नुहुन्न भन्दै बिहे गर्ने 'प्रेसर' आउँथ्यो । दाजुभाइको सहयोगले त्यो प्रेसर टार्न सजिलो भयो । त्यसपछि उनका उमेरका दिदीबहिनीको बिहे हुँदै जाँदा 'उमेर गयो' भन्ने धेरै आए । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी शोभना अस्ट्रेलिया दुई वर्ष अगाडि गइन् र नर्सिङ पढ्न थालिन् । 'मान्छेका कुरा सुन्न दिक्क लागेर पनि यता आएकी । हरेक मान्छेलाई मसँग जवाफ चाहिने' उनको अर्काे दुखेसो छ । त्यसो त उनीसँग मात्रै होइन विवाह गर्न 'तोकिएको' उमेरभित्र नगर्नेहरूको पीडा उनको जस्तै छ । 'नेपाली समाज सूचना र सञ्चारमा देखेको आधारमा केही परिवर्तीत भएजस्तो लाग्छ । तर, २५ कटेका हरेक केटाकेटी किन बिहे गर्दैनन् भन्नेमा ९९ प्रतिशत आफन्त र गैरआफन्तको टाउको दुख्ने गरेको छ,' उनको भोगाइको निचोड हो यो ।

विराटनगर स्थायी घर भएकी सिर्जना थापा न्यु लुककी बजार व्यवस्थापक प्रमुख हुन् । उनलाई पनि दैनिकजसो परिवारबाट बिहे गर्न प्रस्ताव आउँछ । 'विवाहितको जीवन देखेर विवाह गर्ने साहस ममा छैन,' उनी भन्छिन्, 'म अहिले ९८ प्रतिशत विवाह नगर्ने पक्षमा छु ।'

उनले विवाह गर्ने योजना नै नबनाएकाले बच्चाको विषयमा टाउको दुखाउन नपरेको बताउँछिन् । 'पछि गरियो भने अनेक प्रविधि छन् । नत्र बच्चा एडप्ट गरौँला,' उनको सजिलो समाधान छ । शोभना भने विवाह गर्ने पक्षमा छन्, तर अलि ढिला । 'म पैँतीस वर्षभित्र विहे गरेर बच्चा पाउँछु । त्यतिवेलासम्म बच्चाको स्वास्थ्यमा उमेरले कुनै फरक पार्दैन,' उनी भन्छिन् ।

नेपालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ भोला रिजालको मत सुन्दा शोमनाको भनाइमा बल पुग्छ । पैँतीस वर्षसम्मलाई ढिला भन्न मिल्दैन । 'त्यसपछि भने विभिन्न समस्या आउन सक्छन् । जसका लागि आमा तयार हुनुपर्छ,' उनी भन्छन् ।

टेस्टट्युब बेबीको सेवा दिइरहको ओम हस्पिटलका सञ्चालक समेत रहेका डा. रिजाल अब नेपालमा बाझोको नाममा महिलालाई विभेद गर्ने समय गएको बताउँछन् । 'इन भिट्रो फर्टिलाइज -आइभिएफ) गरेर जुनसुकै उमेरमा पाठेघर स्वस्थ छ भने एक महिलाले बच्चा पाउन सक्छे,' उनले भने । ओम हस्पिटलबाट आइभिएफ गरी २ सय ७६ जनाले बच्चा पाइसकेका छन् । यसले विवाहित र अविवाहित दुवै महिलालाई बच्चा पाउन रहर भए जुनसुकै उमेरमा बच्चा पाउन सक्ने सुविधा दिएको छ । सर्वाेच्चले कुमारी आमाका लागि विनाप्रश्न नागरिकता दिने आदेश दिएपछि त अबका वर्षमा कुमारी आमा खुलेरै समाजमा देखिने पनि प्रस्ट छ ।

ओम हस्पिटलमा पैँतीससम्म बच्चा भएन भने आइभिएफ गर्न आउने अभिभावक धेरै छन् ।

'मुख्यत विकसित मुलुकका महिला पैँतीस कटेपछि विवाहका लागि सोच्न सुरु गर्छन् । नेपालमा ३५ कटेपछि आइभिएफका लागि आउन सुरु गर्छन्,' डा. रिजालको अनुभव छ । यसो हुनुमा चाँडो विवाह प्रमुख कारण मान्छन् उनी । '१८-२० वर्षमै विवाह भइसकेको हुन्छ । अनि पैँतीस पुगिन्जेल निकै समय गएजस्तो लाग्छ । उपचारका लागि आइहाल्छन् '

प्रसूति अस्पतालकी डा. लता पनि बच्चा पाउन ३५ नकटाउन सुझाब दिन्छिन् । उच्च रक्तचाप बच्चा अपांग हुनसक्ने विभिन्न डर हुन्छ । त्यसैले त्यसभित्रै बच्चा पाउनु राम्रो । यसो भन्दैमा ३५ भित्र विवाह गर्न नचाहने महिलाले बच्चाकै लागि विवाह गर्न आवश्यक भन्ने छैन । विश्वमा आइभिएफबाट ७० वर्षको उमेरसम्म बच्चा जन्माएका उदाहरण पनि छन् । तर, स्वस्थ बच्चा जन्माउन चाहने महिलाले ३५ भित्र विवाह गर्नुपर्ने डा. रिजालको पनि सुझाब छ । 'तीससम्म नहतारिए हुन्छ, पैँतीस कटाउन हुँदैन । त्यसपछि बच्चा पाउन नसकिने भन्ने हो बच्चा र आमाको स्वास्थ्यका लागि मात्रै भनिएको हो,' उनी दोहर्‍याउँछन् ।

विश्वमा महिलाले ढिला विवाह गर्न रुचाउने मुख्य तीन कारण छन् । ढिला विवाह भएपछि ढिला बच्चा हुने स्वाभाविक भयो -यद्यपि पश्चिमा मुलुकमा उल्लेख्य र नेपालमा पनि गन्न मिल्ने संख्यामा विवाहअघि बच्चा पाएका छन् ) त्यसले जेठी आमाको संख्या बढाउँदै गएको छ । ती तीन कारणमा पहिलो हो पढ्न र डुल्न मन पराउँछन्, दोस्रो पारिवारिक झमेला झेल्न सक्दैनन् र तेस्रो स्वतन्त्रता चाहन्छन् रआफूले चाहेजस्तो पार्टनरको खोजीमा हुन्छन् ।

नेपालमा पढाइ र करियरमा ध्यान दिन ढिला विवाह गरी बच्चा पाए पनि विश्वका अन्य मुलुकको कथा भने त्यसको विपरीत छ । अधिकांश महिला पहिल्यै विवाह गरिसकेका हुन्छन् र चालिस कटेपछि पहिलो श्रीमान्सँग सम्बन्ध विच्छेद हुन्छ र अकर्ाे विवाह हुन्छ । त्यो श्रीमान्बाट बच्चा चाहने महिलाले आइभिएफ गरी बच्चा पाउँछन् । नेपालमा भने त्यो अवस्था अझै आएको छैन । नेपालका कामकाजी युवतीको समस्या स्वस्थ बच्चा पाउन चाँडो विवाह भन्ने मात्रै हो ।

सन् २००० मा आफ्ना बीसवर्षे छोरा क्रिस्टियन गुमाएकी अमेरिकाकी जान एन्डरसनले उमेर कटेपछि आमा हुन चाहनेको सहयोगका लाग इन्टरनेटमा नै साइट खोलेकी छिन् धधध.mयतजभचकयखभचद्धण्।अom । 'कुनै आमा बूढी हुनुको मलतब यो होइन बच्चाले तपाईंलाई एक्लै पारेर जान सक्छन्,' उनले आफ्नो साइटमा लेखेकी छिन् । उसको आसय हो तपाईं जति वर्षको भए पनि सन्तान पाउनयोग्य हुनुहुन्छ । यसमा तपाईंले प्रविधिको सहयोग लिन सक्नुहुन्छ । सो साइटको उद्देश्य नै महिलालाई बढी उमेरमा आमा बन्न चाहनेलाई प्रेरित गर्ने हो । युरोपियन देशमा मानिसका व्यक्तिगत मामलामा खासै रुचि नराख्ने कारणले पनि युरोपियन र अमेरिकी देशका उमेर कटेका आमा बढी देखिन थालेका छन् ।


३५ वर्षसम्म बिहे नगरेपछि केटीको वैवाहिक जीवन सकियो भन्ने मान्यता बच्चा पाउन अयोग्य हुन्छन् भन्ने मान्यताकै कारण बसेको हो । महिलाप्रति संवेदना राख्ने माक्र्सवादी अध्येता मोदनाथ प्रश्रतिले महिला समाजमा स्थापित हुन नसकेकोबारे केही वर्षअगाडि भनेका थिए, 'पच्चिस वर्ष नपुग्दै बिहे गरिसक्नुपर्छ । त्यो उमेर मान्छेको सबैभन्दा सिर्जनात्मक समय हो । एक-दुई वर्षमा बच्चा हुन्छ र हुर्काउँदा तीस कटिसक्छन् अनि काम गर्ने र खुबी देखाउने जाँगर पनि मर्छ ।' उनको कथनलाई कलाकार अस्मिना रञ्जित पूरै समर्थन गर्छिन् । केटीले आफ्नो जीवनको विषयमा सोच्न सक्ने उमेर नहुँदै विवाहको लागि प्रेसर आउँछ । सोच्न सक्ने हुँदा धेरै ढिला भएको हुन्छ । परिवारको बन्धनमा परेपछि निस्कन कठिन हुन्छ । उनको कथनलाई सही मान्ने हो भने सार्वजनिक जीवनमा सफल भएका महिलाको सम्बन्ध विच्छेद हुनुको कारण कच्चा उमेरमा लिइएको कच्चा निर्णयलाई मान्न सकिन्छ ।

त्यसरी हेर्दा अस्मिनालाई भने करियर बनाउने र वैवाहिक जीवन दुवैमा भाग्यमानी मान्नुपर्छ । यद्यपि उनलाई यो भाग्यमानी शब्द मन नपर्न सक्छ । उनले चालिसकी हुँदा विवाह गरिन ४२ वर्षमा छोरा जन्माइन् । उनी डाक्टरी मान्यताको अपवाद पनि रहिन् । ३५ पछि आउन सक्ने सम्पूर्ण असाधारण समस्याबाट मुक्त भएको उनी बताउँछिन् । 'मेरो स्वास्थ्य एकदमै राम्रो थियो, अन्य गर्भवती महिलालाई जस्तै मलाई कमजोरी हुनेलगायतका समस्या त भयो । अरू क्रिटिकल अवस्था आएन ।'

उनलाई पनि परिवारबाट दबाब त आउँथ्यो । 'दस वर्षजति धेरै प्रेसर आयो । पछि मैले विवाह नै गर्दिनँ भनेपछि मत्थर भएको हो,' उनी सम्भिन्छिन् ।

अस्मिनाको छोरा जन्मिएपछि उनका सहकर्मी सबैभन्दा बढी उत्साहित भए । 'उमेर कटेपछि बच्चा हुँदैन भन्थेे, अस्मिनाले त जन्माई हामीले पनि बिहे गर्दा हुने भयो,' ती साथीहरूको कथन उद्धृत गर्दै यी कलाकारले सुनाइन् ।

उमेर ढल्न लागेपछिको गर्भधारणलाई लिएर मुख्यत विकसित देशमा दुई मत छ, एकथरी भन्छन्, 'यसले मातृत्वलाई नै मार्छ । पूरै विकसित भएर जन्मन पाउनु बच्चाकोे अधिकार हो ।' अर्काथरीको मतमा बच्चा पाउनु आमाको नैसर्गिक अधिकार भएकाले उसले जुन उमेरमा पनि बच्चा पाउन सक्छन् । नेपालमा त्यो विषयमा सोच्न थालिसकिएको छैन । करियरलाई नै मुख्य मानेर बिहे पर सार्ने महिला निकै कम छन् । यद्यपि धेरै महिला आजकल स्वतन्त्रता चाहन्छन् ।

करियरमा प्रशस्त समय दिएर अर्को दुई महिला अखिलकी रामकुमारी झाँक्री र कांग्रेस सभासद् आरजु देउवा पनि हुन् । यिनले जीवन आफ्नै सुरमा बाँचेका त छन् नै त्यसरी बाँच्न चाहनेलाई अप्रत्यक्ष 'बल' पनि दिएका छन् ।

--------------------------------------------------------------------------------

सन् १६६९ मा एलिजाबेथ गि्रनविलले लन्डन सर्जन तथा लेखक थोमस गि्रनविललाई अन्तिम सन्तानको रूपमा चवन्न वर्षको उमेरमा जन्म दिएकी थिइन् । उनले ३९ वटा सन्तान जन्म्ाएको बताइन्छ । उनी गर्भे टुहुरा थिए ।

सन् १९८० मा लक्की केन्नी (अमेरिकन सिभिल वारकी योद्धा) ले ५३ वर्षको उमेरमा आफ्नो अन्तिम बच्चालाई जन्म दिएकी थिइन् ।

अमेरिकन नायिका एन्डि्रन बार्बविउले ५१ वर्षको उमेरमा जुम्ल्याहा सन्तान जन्म दिइन् । विली भ्यानसँग १९९२ मा विवाह गरेपछि उनले भिट्रो फर्टिलाइजर उपचार गर्ने कोसिस गरिन् । तर, त्यो असफल भयो । पछि १९९७ मा उनी प्राकृतिक रूपमै गर्भधारण गरी आमा बनिन् ।

सन् २००० मा ऐरासिला गार्सियाले ५४ वर्षको उमेरमा तिम्हाल्हा छोरी प्राकृतिक रूपमै गर्भधारण गरी जन्माइन् । त्यसले धेरै डाक्टरलाई चकित पारेको थियो ।

सन् २००० मा पूर्व अमेरिकी सिनेटर जोन इडवार्डकी श्रीमती लिजावेथ इडवार्डले पचास वर्षको उमेरमा छोरा ज्याकलाई जन्म दिइन् । १९९६ मा उनको १६ वर्षे छोराको मृत्यु भएको थियो । केही फर्टिलिटी विशेषज्ञले डोनर एग प्रयोग गरेको हुन सक्ने बताए । त्यो कमेन्टमा एलिजावेथ भने मौन बसिन् ।

सन् २००१ मा मोर्गेन जान्तुवाले ५१ वर्षको उमेरमा पहिलो छोरी पाइन् । ४४ वर्षको उमेरमा दोस्रो विवाह गरेपछि एक बच्चा खेर गएको थियो । त्यसपछि उनले बच्चाका लागि कोसिस नगर्ने सोच बनाएकी थिइन् । तर, अनपेक्षित रूपमा ५१ मा गर्भवती भएको थाहा पाएपछि सामान्य रूपमा छोरी अउरियल जन्मेकी थिइन् ।



दाउन ब्रोकेले ५९ वर्षको उमेरमा सन् १९९७ मा छोरा जन्माइन् । यद्यपि उनको गर्भधारण अनपेक्षित रूपमा भएको थियो । सुरुको अवस्थामा उनलाई क्यान्सरको संकेत देखिएको बताइएको थियो । उनलाई प्राकृतिक रूपमा आमा बन्ने सबैभन्दा जेठी महिलाको रूपमा लिइन्छ ।
साभार : नया पत्रिका

No comments: