बंगलादेशमा नेपाली विद्यार्थीमाथि आक्रमण


बंगलादेशको चटगाउँस्थित युनिभर्सिटी अफ साइनस एण्ड टेक्नोलोजी (युएटीसी) को छात्रबासमा रहेका नेपाली विद्यार्थीमाथि त्यही अध्ययनरत नेपाली विद्यार्थीहरुको हतियारधारी समूहले शुक्रबार राती आक्रमण गर्दा १५ जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् ।

चट्गाउबाट विद्यार्थीहरुले दिएको जानकारी अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । आक्रमणकारीले धारिलो हतियार प्रहार तथा होस्टलको तीन तलामाथिबाट विद्यार्थीलाई खसालिदिएका थिए । घाइतेहरुको स्थानीय चट्गाउँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेको समाजले जनाएको छ । पेटमा छुरा लागेका दीपक गिरी र तीन तलाबाट खसालिएका शैलुजनन्द भुरेलको अवस्था गम्भीर छ । भुरेलको अझै होस आएको छैन । आक्रमणमा ओमप्रकाश पण्डित, जगलाल जैसवाल, पुस्पा भुसाल, सौभाग्य शाह, सन्जय यादव, मोहम्मद इमरान, दिपेश उप्रेती र शेखर यादव पनि घाइते भएका छन्् । उनीहरुको टाउकोमा र शरिरका अन्य भागमा गम्भीर चोट लागेको छ ।

आक्रमणकारीहरु पनि सोही विश्वविद्यालयमा अध्यनरत रहेको त्यहा अध्ययनरत एक विद्यार्थीले बताए । सामान्य भनाभनमा उनीहरुले हतियार प्रहार गरेका थिए । यसअघि पनि उक्त समूहले विद्यार्थीलाई धम्की दिदै आक्रमण गर्दै आएको थियो । आक्रमणपछि विद्यार्थी त्रसित छन् । 'उनीहरु कुनै पनि बेला आएर हामीलाई आक्रमण गर्न सक्छन् भन्ने त्रासले हामी आतंकित भएका छौं', सम्पर्कमा आएका एक विद्यार्थीले सुरक्षाको कारण नाम उल्लेख नगर्न भन्दै चटगाउबाट कान्तिपुरसित भने, 'हतियार धारी समूह भएकाले कुन बेला के हुन्छ भन्न सक्ने अवस्था छैन ।' छात्रबासमा १ सय ५० विद्यार्थी बस्दै आएका छन् ।

शुक्रबार राती भएको घटनाबारे कलेजलाई जानकारी दिए पनि वेवास्ता गरेको ती विद्यार्थीले बताए । कलेज प्रो नुरुल इस्लामले सञ्चालन गरेका हुन् । पीडित विद्यार्थीहरुले शनिवार उनका छोरा ए आइ इस्लामलाई भेटेर आफूहरुको सुरक्षा गर्न माग गरेका छन् । ढाकास्थित नेपाली दूताबासलाई समेत घटनाबारे जानकारी दिएको ती विद्यार्थीले बताए ।

'स्थानीय प्रहरीले हाम्रो सुरक्षाका लागि कुनै सहयोग गरेन' ती विद्यार्थीले भने, 'हामीले आक्रमणकारीको नाम सहित क्याम्पस र प्रहरीलाई किटानी दिएका छौं । तर कुनै वास्ता भएन । छात्रबासका विद्यार्थी अत्यन्त त्रासमा छन् ।' आक्रमणकारी विद्यार्थी लागू पदार्थको लती भएको विद्यार्थीहरुले बताए । ती विद्यार्थीले भने, 'पेटमा छुरी रोपेर कोठा लक गरेर उनीहरु गए । हामीले साथीहरुको जसो तसो उद्दार गर्‍यौं । कलेज र कसैलाई कम्प्लेन गरे मारिदिने धम्की दिएका छन् ।'
साभार - इ. कान्तिपुर

No comments: