साईबाबाको धर्मतन्त्र FRIDAY, [ राजेन्द्र महर्जन ]


भनिन्छ, धर्म जीवित, कमजोर र निःसहाय व्यक्तिको कमजोरी हो। विश्वास या अन्धविश्वास् जे भए पनि धर्मले मरेपछि पनि नछाड्ने रहेछ। मृत व्यक्ति धार्मिक गुरु नै भयो भने उसले मरेपछि धेरै जिउँदाहरू नछोड्ने रहेछ। सामान्य असहाय व्यक्तिलाई मात्रै होइन, तिनका सहायक बन्नुपर्ने राज्य, सरकार र सरकार प्रमुखलाई पनि नछाड्ने रहेछ। भारतका धार्मिक गुरु मानिने साईबाबाको मृत्युले नेपालको सरकार र सरकार प्रमुखलाई पनि प्रभावित बनायो।
महान् गुरुप्रति श्रद्धा
संवेदनशील व्यक्तिलाई मृत्युले नछोए अस्वाभाविक हुन्छ। नेपाल सरकारका प्रमुख तथा कवि हृदयका नेता झलनाथ खनाल पनि निकै संवेदनशील रहेछन्। यसैले उनले साईबाबाको मृत्यु हुनासाथ हार्दिक समवेदना प्रकट गर्न भ्याए। समवेदना सन्देश दिए- 'उहाँ विश्वभरका लाखौं जनताका महान् गुरु हुनुहुन्थ्यो। नेपालमा पनि ठूलो संख्यामा उहाँका चेला छन्। उहाँले विश्वमा विशेषतः शान्तिको सन्देश फैलाउनुभएको थियो।'
आफू ९६ वर्षसम्म बाँच्ने घोषणा गरेका 'भगवान् साईबाबा' ८४ वर्षमै मर्नु साईरामहरूलाई असामयिक र दुःखद् लाग्न सक्छ। झट्ट हेर्दा लाग्छ, यस्तो 'शोकाकुल अवस्थामा दुखित' प्रधानमन्त्री खनालले प्रशंसाका दुई तीन वाक्यसँगै समवेदना सन्देश दिनु स्वाभाविक हो। मानवीय संवेदनाबाट द्रवीभूत भएर 'शान्तिको सन्देश फैलाउने महान् गुरु'लाई आफू र आफ्नो सरकारतर्फबाट श्रद्धाञ्जली दिँदा केको आश्चर्य? तर प्रधानमन्त्री खनाललाई थाहा छ, नेपाली राज्य औपचारिकरूपमा धर्मनिरपेक्ष छ। धर्मनिरपेक्ष राज्यको सरकार र सरकारका प्रमुखका लागि धर्मनिरपेक्षताको अर्थ के हो? धर्मनिरपेक्ष सरकारले कुनै धर्म, पन्थ, धार्मिक संस्था र आध्यात्मिक गुरु अनि भगवान्को पक्षपोषण गर्न मिल्छ कि मिल्दैन?
सेकुलर राज्य : लोकतन्त्रवादी वामपन्थ
त्यसो त पश्चिमी देशमा ग्यालिलियो र ब्रुनोलाई कैद गर्ने चर्च र राज्यलाई पृथक् बनाउन प्रयोग गरिएको थियो, 'सेकुलर स्टेट'को अवधारणा। त्यसको सार हो : राज्य लौकिक वा सांसारिक हुनुपर्छ, राज्यलाई अलौकिकता, आध्यात्मिकता, दैवी उत्पत्तिको सिद्धान्त स्वीकार्य छैन। राज्यले कुनै पनि धर्म, पन्थ, धार्मिक संस्था, आध्यात्मिक गुरु वा भगवान्को पक्षपोषण गर्दैन। यस्ता 'धर्मतन्त्र'सँग लिप्त नहुने सेकुलर राज्यको सरकारले धार्मिक आधारमा कुनै निर्णय लिँदैन, न त कसैको पक्ष नै लिन्छ। धर्मकै आधारमा पक्षपात नगरिने भएकाले सेकुलर राज्य र धर्मप्राण जनताबीच खासै विरोध हुँदैन। हरेक धर्मले सेकुलर राज्यको कानुनी परिधिमा रहेर आफ्नो प्रचार गर्छ।
नेपालको सन्दर्भमा हिजो हिन्दु राजाले मात्रै राज्यतन्त्र सम्हाल्थे भने आज जुनसुकै धर्मका जनप्रतिनिधिले पनि राज्यतन्त्र सम्हाल्न पाउँछन्। धर्मनिरपेक्ष गणराज्यका सञ्चालक आफैँ पनि आफ्नो निजी जीवनमा कुनै धर्मका अनुयायी हुन सक्छन् कि सक्तैनन् भन्नेमा विवाद हुनसक्छ। कुनै व्यक्ति साँच्चै नै लोकतन्त्रवादी छ, उसको आचरण र संस्कृति लोकतान्त्रिक छ भने ऊ कसरी धार्मिक वा धर्मको अनुयायी पनि हुन्छ र? तर्क, निरीक्षण र प्रयोगजस्ता विज्ञानको त्रिमूर्तिलाई पटक्कै नमान्ने धर्मलाई आँखा चिम्लेर स्वीकार गर्ने व्यक्ति कसरी लोकतान्त्रिक बन्छ?
तर, नेपालमा आफूलाई लोकतान्त्रिक भनी दाबी गर्ने दल र व्यक्तिको संस्कृति न लोकतान्त्रिक छ, न त आफूलाई वामपन्थी भनी ठोकुवा गर्ने पार्टी र नेताहरूको आचरण वामपन्थी छ। त्यसैले नै कांग्रेस महामन्त्रीको पृष्ठभूमि भएका प्रथम राष्ट्रपति रामवरण यादव राजाले गर्ने सबै धार्मिक अनुष्ठानमा सामेल हुन हिच्किचाउँदैनन्। मानौं, उनी धर्मनिरपेक्ष गणराज्यका राष्ट्रपति नभएर हिन्दु अधिराज्यका नयाँ राजा हुन्। गणराज्यका प्रधानमन्त्रीहरूमा पनि पुष्पकमल दाहाल ग्रहशान्ति गर्न भंैसीपूजा गर्न पुगे भने धार्मिक स्वभावका माधव नेपालले हरिद्वार गएर पुण्य कमाएको र झलनाथ खनालले बालुवाटार प्रवेशमा पूजाआजा गरी धर्मकर्म गरेको सबैले थाहा पाएकै हो। आफूलाई लोकतान्त्रिक र वामपन्थी भन्दै धर्मनिरपेक्ष राज्य पनि चलाउने तर धार्मिक-आध्यात्मिक-अलौकिक-अवैज्ञानिक काम गर्ने पाखण्डको प्रदर्शन गर्ने कार्य पनि जारी नै छ।
यी घटनाक्रम अगाडि राखेर हेर्दा धर्म जीवित मानिसको मात्रै होइन, राज्यसत्ता, सरकार, दल र नेताको पनि कमजोरी देखिन्छ। धर्मतन्त्रको शक्ति र धर्मप्राण जनताको भक्ति प्राप्त गर्न लोकरिझ्याइँको राजनीति गर्ने कमजोरी जारी राख्ने सम्भावना कमजोर भएको छैन। यस्तै कमजोरी रहिरहे भोलि दलाई लामा वा चन्द्रा स्वामीको मृत्युमा आँसुको धारा नै बगाइन सक्छ। उनीहरूको मृत्युमा पनि शान्ति, अहिंसा, प्रेम, सेवाको क्षेत्रमा गरेका महान् कार्यको प्रशंसाको पुल बाँधिनसक्छ।
साईबाबाको धर्मतन्त्र संयुक्त राष्ट्रसंघपछि सबैभन्दा विशाल आकारको विश्वव्यापी परोपकारी संस्था खोलेर मानवजातिको प्रेम र सेवा गरेकोमा साईबाबाको प्रशंसा गरिन्छ। संसारका १७८ देशमा चेला भएका साईबाबाको नाममा ११४ देशमा खोलिएका सत्यसाई केन्द्रको सम्पत्तिबाट अरु धेरै सेवा गर्न सकिन्छ। तर साईबाबाको उत्तराधिकार छनौट र साईबाबा ट्रस्टको चार खर्बको सम्पत्तिमाथि जारी हानाथापले भने हिंसा निम्त्याउन थालेको छ। साईबाबाका विश्वासिला सहयोगी सत्यजितले ट्रस्टको मुख्य जिम्मेवारी पाउने देखेर उनलाई ज्यान मार्ने धम्की दिने र उनीचाहिँ सुरक्षाका लागि प्रशान्ति निलयममै लुकी हिँड्नुपर्ने अवस्था छ। यसले साईबाबाको मुख्यालय, पुट्टपर्तीभित्र जारी आन्तरिक हिंसालाई फेरि उजागर गरेको छ। उनले दिने शान्तिको सन्देशबाट दीक्षित उनका चेलाहरूको 'शान्तिप्रेमी दिमाग'लाई पनि छर्लङ्ग पारेको छ।
हुन त साईबाबाकै एक चेला तथा इटालीका पूर्वप्रधानमन्त्री गुइलियो एन्द्रियोटी पत्रकारको हत्याको आरोपमा मुद्दा खेपिरहेका छन्। अर्का चेला तथा पूर्वप्रधानमन्त्री बेतिनो क्रेसी भ्रष्टाचारको मुद्दामा साढे पाँच वर्षको जेल भोग्दैछन्। अर्की चेली तथा इरानकी प्रिन्सेस पहलवी हेरोइन तस्करीमा फँसेकिथिइन्। नेपालका प्रधानमन्त्री खनालबाट 'विश्वमा शान्तिको सन्देश दिने महान् गुरु' भनी प्रशंसित साईबाबाका केही चेलाको हालत यस्तो छ। अर्कोतिर उनको देहान्त हुनुअघि नै सुरु भएको सत्ता-शक्ति-सम्पत्तिको संघर्षले प्रकट गरेको अशान्ति र हिंसालाई पनि बेवास्ता गर्न सकिँदैन।
साईबाबाले विश्वमा जतिसुकै मात्रामा शान्तिको सन्देश दिए पनि उनको मुख्यालय, पुट्टपर्तीका लागि हिंसा नौलो होइन। साईबाबा सुत्न लागेको बेला मार्न खोजेको आरोपमा छ जना युवा चेला ६ जुन, १९९३ मा मारिए, सशस्त्र प्रहरीसँग 'मुठभेड'मा। ट्रस्टले मुठभेड र चेलाहरूको मृत्युबारे गुपचुप राख्न खोजेपछि डिसेम्बर १९९३ मा सिआइडीले पुट्टपर्तीमा मुद्दा त दायर गर्‍यो तर साईभक्तहरूको प्रभुत्व रहेको केन्द्र सरकारको हस्तक्षेपका कारण मुद्दा सामसुम पारियो। बीबीसीको रिपोर्टिङमा पनि साईरामहरूले नै साईबाबालाई किन मार्न खोजे, कसरी उनीहरू 'आत्मरक्षा'को नाममा मारिए भन्ने प्रश्न अनुत्तरितै रह्यो।

चमत्कारप्रति वैज्ञानिक चुनौतीसाईबाबाले सुरुमा शान्ति र अहिंसाको प्रचारबाट होइन 'चमत्कार'बाट ख्याति कमाएका थिए। रिडर्स डाइजेस्टको दैवी शक्ति भएका चमत्कारी बाबासम्बन्धी रिपोर्टअनुसार उनी हावाबाटै सुनको सिक्री, औंठी र सिक्का निकाल्थे, विभूति निकाल्नु त बायाँ हातको खेल थियो। उनी ढुङ्गालाई मिश्री, फूललाई गहना बनाउँथे, मरेका मानिसलाई ब्युँताउँथे, पानीलाई पेट्रोल बनाउँथे। यस्तै 'चमत्कार'बाट ख्याति कमाएर आफूलाई सबै देवताभन्दा महान् भगवान् ठहर्‍याएका साईबाबालाई वैज्ञानिकहरूले भने चुनौती पनि दिएका थिए।
'बिगन गडम्यान' पुस्तकअनुसार सन् १९७३ मा डा. अब्राहम टी. कोवुरले साईबाबाले हावाबाट निकालेको साइको घडीबारे कम्पनीसँग सोधपुछपछि चमत्कार हातको सफाइ भएको प्रमाणित गरे। अर्का वैज्ञानिक तथा बेंगलोर युनिभर्सिटीको भिसी डा. एच. नरसिंहइयाले सन् १९७६ मा वैज्ञानिकहरूको टोली नै बनाएर साईबाबाका चमत्कारबारे खुलारूपमा वैज्ञानिक परीक्षण गर्न दिइनुपर्ने अनुरोध गरे। तर, सबै अनुरोध लत्याएर साईबाबाले वैज्ञानिकहरूलाई महत्वहीन कीरा, कुकुर र भुसुना भन्दै घोषणा गरे, 'म त्यस्तो तारा हुँ, जसको जाँच गर्ने अधिकार धर्तीको कुनै शक्तिसँग छैन।'
यस्तो घोषणा भए पनि वैज्ञानिकहरू पुट्टपर्तीको ह्वाइटफिल्ड आश्रम पुग्दा उनीहरूलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइयो र परिसरमा छिर्नै दिइएन। त्यसपछि गान्धीवादी वैज्ञानिक डा. एच. नरसिंहइयालगायत अन्य वैज्ञानिकहरूले प्रश्न उठाए, साईबाबा भगवान् हुन् भने वैज्ञानिकहरुसँग केको त्रास? भगवान् भए उनी आफैँले बनाएका सबै भाषाका ज्ञाता हुनुपर्ने हो, तर उनको तेलुगु भाषाको भाषण अनुवाद गर्न किन अनुवादक चाहियो? सर्वज्ञाता भगवान् हुन् भने विज्ञान र अन्य विषयको उनको ज्ञान म्याटि्रक पास विद्यार्थीको भन्दा किन कमजोर भएको? हावाबाट जुनसुकै वस्तु निकाल्न सक्ने भए उनले संसारमा अस्तित्वै नभएको वस्तु किन निकाल्न सकेनन्? पहिलेदेखि अस्तित्ववान वस्तु निकाल्दा पनि हातमा अट्ने खालका चिजमात्रै किन निकाल्छन्, फर्सी, मोटर, विशाल मूर्ति किन निकाल्न सकेनन्? पानीलाई पेट्रोल बनाउनसक्ने परोपकारीले गंगा नदीलाई छोएर भारतलाई पेट्रोलमा आत्मनिर्भर किन नबनाएको होला?
खुट्टा भाँचिदा र एपेन्डिसाइटिस हुँदा अस्पतालमा गएर सामान्य मानिसजस्तै अपरेसन गर्नुपरेका भगवान् साईबाबाको देवत्व र चमत्कारबारे सन्देह र प्रश्नको कुनै अभाव छैन। तर, कुनै प्रश्न, जाँचपडताल र परीक्षणभन्दा माथि ठान्ने उनी स्वघोषित उमेरभन्दा १२ वर्षअघि नै मरे। हो, स्वघोषित भगवान्का मृत्यु सामान्य मान्छेको जस्तै हुँदा धर्मप्राण मानिसमा पनि प्रश्न उठेको छ : के भगवान्को पनि मृत्यु हुन्छ र? साईबाबाले भनेका थिए, भगवान्को मृत्यु कहिले हुँदैन। त्यसो भए वैशाख ११ गते मर्ने व्यक्ति को हुन्? के उनी आन्धप्रदेश, पुट्टपर्तीका सत्यनारायण राजु मात्रै हुन्, जो पिसी सरकारको शैलीमा केही जादू देखाउँदै आफूलाई चमत्कारी बाबा र भगवान् सिद्ध गर्न खोज्थे?
साभार - नागरिक समाचार

No comments: