काठमाडौ, चैत्र १९ - १५ दिनअघि भारतमा उपचार गर्दागर्दै मृत्यु भएकी सुदामा बनियाको शवलाई नेपाल ल्याउन ठूलै संघर्ष गर्नुपर्यो ।नेपाली सुरक्षाकर्मी भारतीय सशस्त्र सीमा बल (एसएसबी) लाई अनुरोध गरेपछि तीन घन्टापछि मात्र गुलरिया-८ की ७० वर्षे महिलाको शव गाउँमा ल्याइयो ।
विवाह र अन्य त्यस्तै परम्परागत धार्मिक कार्यमा जिल्ला प्रशासनले लेखेको पत्रका आधारमा भारत आउजाउ गर्ने नेपाली सवारीसाधनलाई पनि एसएसबीले प्रतिबन्ध लगाएको छ । उसले नेपालको जिल्ला प्रशासनको साटो काठमाडौंस्थित भारतीय राजदूतावासको अनुमतिपत्र माग्न थालेको छ जब कि भारतीय गाडीलाई निर्वाध नेपाल आउजाउ गर्ने सुविधा छ ।
त्यो भारतीय ज्यादतीबारे सोमबार बिहानै गाउँलेले स्थानीय प्रशासनलाई भनेपछि नेपाली पक्षले भारतीय प्रहरीसँग आपत्ति जनायो । अनि सोही राति अबेर मिश्र बाबुछोरालाई हतियारसहित सर्लाही जिल्ला प्रहरी कार्यालयमा उनीहरूले फिर्ता गरे । छापा किन मारियो र उनीहरूलाई पक्राउ किन गरियो अहिलेसम्म खुलेको छैन ।
एकै धर्म र संस्कृतिका तथा वैवाहिक सम्बन्ध पनि जोडिएका सीमा क्षेत्रका नेपाली र भारतीयको सम्बन्धलाई भारतीय प्रहरी र एसएसबीले बेलाबेलामा अप्ठ्यारोमा पार्ने गरेका छन् । 'सीमा क्षेत्रका दुवै देशका नागरिक हैरान छन्,' गुलरिया-८ का कृष्णगोपाल गुप्ताले भने ।
कमजोर अर्थतन्त्र र गरिबीका कारण लाखौं नेपालीका लागि जीविकोपार्जन गर्न भारत जानु बाध्यता हो । त्यस्तै स्वदेशीमा उत्पादन नहुँदा र पारिपट्ट िसस्तैमा पाइँदा सामान किन्न अरू दसौं हजार नेपाल सीमा तरेर भारतीय बजार पुग्छन् । नागरिकहरूको त्यो खोलोसँगै बेलाबेला आतंकवादी र आपराधिक तत्त्वहरू पनि एक देशबाट अर्कोमा ओहोर-दोहोर
गर्छन् । तिनै तत्त्वलाई नियन्त्रण गर्न भन्दै भारतले सशस्त्र सीमा बल तैनाथ गरेको हो जसले नेपालबाहेक भुटानसँगको भारतीय सीमाको रक्ष्ाा गर्छ । चीनसँगको सीमामा भारतले 'इन्डो टिबेट बोर्डर पुलिस फोर्स' नामको संगठन खटाएको छ भने बंगलादेश र पाकिस्तानसँगको सिमानामा बोर्डर सेक्युरिटी फोर्स । नेपालसँगबाहेक अन्य सबै भारतीय सिमाना 'बन्द' छन् । 'खुला' सीमा भएकाले अर्धसैनिक प्रकृतिको एसएसबीले सामान्य नेपालीहरूसँग दैनिक व्यवहार गर्नुपर्छ जसले बारम्बार समस्या सिर्जना गर्छ । खासमा बितेका पाँच वर्षयता सीमावर्ती क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मीको ज्यादती बढेको छ ।
मुख्य नाकाहरूमा र नेपालीहरू बढी ओहोर-दोहोर गर्ने सिजनमा समस्या चर्को बन्छ । भारतीय बस्तीहरू वनवासा र गड्डाचौकीका नामबाट बढी चिनिने महेन्द्रनगर नजिकैको नेपाल-भारत नाकाबाट मुख्यतः मध्य तथा सुदूरपश्चिमका हजारौं नेपाली ओहोर-दोहोर गर्छन् । चैते दसैं नजिकिँदै गर्दा र लगत्तै नयाँ वर्षको पहिलो चाड 'विशु संक्रान्ति' का सन्दर्भमा गाउँ फर्किने नेपालीको संख्या बढ्छ ।
भारत जाँदा गड्डाचौकीदेखि वनबासा बस स्टेसनसम्म (फर्किदा त्यही बाटो) को करिब ८ किलोमिटर दूरी नेपालीहरूका लागि कालझैं बन्छ । वनबासाबाट टाँगा चढेर गड्डाचौकी पुग्दा ४ ठाउँमा जाँच गराउनुपर्छ । सुरुमा पुलपारि तैनाथ उत्तराखण्ड पुलिसले सामान पूरै खोल्न लगाएर जाँच्छ । अनि कहिलेकाहीं पुलको सुरक्षामा खटिएका भारतीय केन्द्रीय औद्योगिक सुरक्षा बलका सुरक्षाकर्मीले पनि झोला खोल्न बेर लगाउँदैनन् । पुलको किनारै रहेको भारतीय भन्सार चेकपोस्टले पनि जाँच गरेपछि सँगैको एसएसबीले पनि बेइज्जतीपूर्ण ढंगमा झोला खोतल्दै जाँच्छ । अनिमात्र नेपालतिर जान पाइन्छ ।
ती सबै जाँचमा भारतीय सुरक्षाकर्मीले खुलेआम (प्रतिझोला भारु २०) देखि लुकिछिपी धेरै सामान हुनेसँग निश्चित रकम उठाउँछन् । यो प्रक्रियामा एउटा निकायले लैजान स्वीकृति दिएको सामान अर्कोले जफत गर्दा नेपालीहरूलाई बढी समस्या हुने गर्छ ।
सस्ती पाए पनि लामो समयपछि आफन्तकहाँ पुग्दा गरिब नेपालीलाई खुसी नै हुन्छ । तर सबैले त्यस्तो खुसी पाउँदैनन् । एक महिनाअघि बर्दिया जमुनी गाविस-१ का हर्कबहादुरलाई एसएसबीले बेपत्ता पार्यो । उनलाई नेपाली भूमिमा गोली हानेर भारत लगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
भारतमा चोरी सिकार गर्दा शाहीले आफ्ना जवानलाई गोली हानी घाइते बनाएको एसएसबीको दाबी छ । शाहीकी पत्नी जुनकिरी शाही भारतीय बजारमा किनमेल गरेर फर्किंदा गोली हानेर पक्रिएको बताउँछिन् । उनको हत्या गरिएको हुनसक्ने आशंका गाउँलेले गरेका छन् ।
शाहीलाई मारेकै भए पनि त्यो एसएसबीले नेपाली मारेको पहिलो घटना हुने छैन । २०६४ कात्तिक ९ मा गुलरिया नपा-४, नीमकोठियाका राम दुलारे रविदासलाई सीमापारिको मिहीपुरुवाबाट घरेलु सामान ल्याउँदै गर्दा नेपाली भूमिमा छिरिसकेपछि गोली हानेर मारियो । पटकपटक रोकिनभन्दा नमानेपछि गोली हानेको एसएसबीले दाबी गरेको थियो । सामान तस्करी गरेको र त्यो जाँच्न खोज्दा भागेको आरोप पनि एसएसबीले लगाएको थियो । भारतीय जंगलमा घाँस काटेको भन्दै २०६५ साउन २९ मा गुलरिया नपा-११ आशापुरका मिलन लोधलाई भारतीय वन रक्षकले गोली हाने । ढाडमा छर्रा लागेपछि लोध भाग्दै नेपाल पसे ।
एसएसबीले आम नागरिकलाई मात्रै होइन नेपाली प्रहरी चौकीसमेत घेराउ गरी इन्चार्ज पनि मार्ने धम्की दिएका घटना छन् । तीन वर्षअघि बर्दियाको भिम्मापुरस्थित चौकीमा मध्यरातमा हतियारसहित प्रवेश गरेका एसएसबीले नेपाली प्रहरीलाई मार्ने धम्की दिएका थिए ।
बर्दियाका प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्यायले सीमामा हुने अवान्छित गतिविधिबारे भारतीय समकक्षीसँग हुने बैठकहरूमा कुरा राख्ने गरेको बताए । 'त्योबाहेक केन्द्रमा जानकारी गराउनुबाहेक विकल्प छैन,' उनले भने । तर केन्द्रले भारतसँग यस्ता विषयमा गम्भीर ढंगले कुरा नराख्दा समस्या समाधान हुन नसकेको मधेसी जनअधिकार फोरम, बर्दियाका अध्यक्ष कृष्णप्रसाद यादव भन्छन् ।
नेपालीप्रति एसएसबीले गर्ने दुव्र्यवहारको सीमावर्ती भारतीय बजारका व्यापारीले पनि बेलाबेला विरोध गर्ने गरेका छन् । जस्तै सर्लाहीको नेपाली गाउँ ब्रह्मपुरीका सर्वसाधारणमाथि एसएसबीले असोज ३ गते कुटपिट गरेको विरोधमा भारतीय व्यापारीले भारतीय सोनवर्षा बजार केहीबेर बन्द गरेका थिए । सस्तैमा सामान पाइने भएकाले सीमावर्ती भारतीय बजारका धेरैजसो ग्राहक नेपाली हुन्छन् । नेपालीको आउजाउ घट्दा व्यापार घट्ने भएकाले भारतीय व्यापारी पनि एसएसबीको नेपालीलाई दुःख दिने क्रियाकलापका विरुद्धमा छन् । गत दसैं, तिहार, छठजस्ता पर्वका बेला एसएसबीको नेपालीप्रतिको कडा व्यवहारका कारण सीमावर्ती भारतीय बजारको व्यापार निकै घटेको थियो । दसैंअघि भारतको सीतामढीमा भएको सीमा सुरक्षा बैठकमा नेपाली अधिकारीले एसएसबीसँग नेपालीहरूप्रतिको व्यवहार सुधार्न आग्रह गरेका थिए ।
नेपालमा आफ्नो छवि राम्राे नभएको एसएसबीलाई पनि थाहा छ । एसएसबीका एक अधिकारीले नेपाल-भारतको मैत्रीपूर्ण सम्बन्ध खलबल्याउने तत्त्वले आफूहरूलाई बदनाम गराउन चाहेको बताए । उनका अनुसार सीमामा सुरक्षा जाँच गर्नु एसएसबीको कर्तव्य हो जो 'गलत ढंगले व्याख्या' गरिनु हुँदैन ।
साभार - इ. कान्तिपुर
No comments:
Post a Comment