बढ्यो किताब पढ्ने संस्कृति

मनोज दाहाल- दुई दसकअघि स्कुल पढ्दा हामी युधीर थापा र प्रकाश कोविदका उपन्यास खुब चाख मानेर पढ्थ्यौं। गुलकावली, सुनकेशरी र तोतामैनाका कथाजस्ता मिथमा आधारित हातेपुस्तकले पनि आकर्षित गर्थे। वेदप्रकाश शर्मा, गुलशन नन्दा र कर्नल रञ्जितलगायतका हिन्दी उपन्यास त हिटलिस्टमा छँदै थिए।
स्तरीय नेपाली किताब सर्वसाधारणको पहुँचमै थिएनन्। मुनामदन, बसाइँ, शिरीषको फूल, पल्लो घरको झ्याल, नासो, दोषी चश्माजस्ता एक्कादुई ‘पपुलर लिट्रेचर'बाहेक नेपाली किताब हम्मेसी बजारमा पाइँदैन थिए।


अंग्रेजी पढ्ने पाठकको प्रतिशत धेरै पातलो थियो। सहरबजारका गिनेचुनेमात्र। मैले स्कुल सकेपछि मात्र पहिलो अंग्रेजी किताब पढेको थिएँ- अर्नेस्ट हेमिङ्वेको द ओल्डम्यान एन्ड द सी। त्यो पनि कुनै रहरले होइन, क्याम्पसको टेक्स्टबुक भएकाले।

नेपाली किताब छापिन्थे तर गाउँघरमा पुस्तक पसल थिएनन्। सहरबजारमै पनि किताब किन्न पाइने ठाउँ कम थिए। गतिला पुस्तकालय मुलुकमै दुईचारवटा थिए। गाउँघरतिर पनि सानातिना पुस्तकालय त हुन्थे तर धेरै किताब हुँदैन थिए। मन हुनेले पनि धित मर्ने गरी पढ्न पाउँदैन थिए।

छयालीस सालको परिवर्तनपछि पछिल्ला दुई दसकमा पढ्ने संस्कृति सानदार ढंगले विकास भएको छ। सहरबजारमा ठुल्ठुला पुस्तकपसल खुलेका छन्। गाउँघरतिरका सानातिना स्टेसनरी पसलमा कापीकलममात्र होइन, साहित्यिक किताब पनि पाइन थालेका छन्।
साभार : नागरिक न्युज






पढ्ने संस्कृति बढ्नुका कारण

अफसेट प्रेसको आगमनसँगै प्रकाशन सजिलो
साक्षरता वृद्धि, जताततै स्कुलकलेज खुल्नु
निजी मिडियाको विकास
बर्सेनि हुने पुस्तक प्रदर्शनी
बजारीकरण र सहज वितरण सञ्जाल
सरल भाषा र सकारात्मक सोचका किताब
पुस्तक पसलको संख्या वृद्धि
साहित्यमा डायस्पोराको रुचि




साठी सालयताका आठ वर्षमा त एउटै शीर्षकको बिक्री २० हजार नाघेका थुप्रै उदाहरण छन्। पत्रकार नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे', व्यवसायी कर्ण शाक्यको गैरआख्यान कृति ‘सोच' र लेखक जगदीश घिमिरेको संस्मरण ‘अन्तर्मनको यात्रा' ट्रेन्डसेटर बनेका छन्। साठी सालपछि निस्किएका यी तीनै किताबले बोकेका सकारात्मक दृष्टिकोण र सहज भाषा नै बिक्री बढाउने मुख्य आधार हुन्।

‘अहिलेको युवापुस्ताका लागि यी किताब क्लासिकजस्तै भइसकेका छन्,' प्रकाशनगृह नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्। नेपालयले छापेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे' उनको दाबीमा ४० हजार बिक्री भइसकेको छ र अहिले छ वर्षपछि पनि बर्सेनि यसका तीन/चार हजार नयाँ पाठक थपिइरहेका छन्।

एउटा अध्ययनअनुसार छयालीस सालअघिका १ सय २५ वर्षमा जति नेपाली किताब छापिएका थिए, पछिल्ला दुई दसकमा पनि त्यत्ति नै नेपाली किताब छापिएका छन्- करिब १५ हजार। अर्थात् अहिलेसम्म छापिएका ३० हजार नेपाली शीर्षकमध्ये आधा पछिल्ला दुई दसकमा छापिएका हुन्- वार्षिक करिब ७ सय ५०।

अघिल्ला १५ हजारमध्ये मुस्किलले सय किताब हजार प्रतिभन्दा बढी बिके होलान्। छयालीस सालअघि हजार प्रति किताब बिक्नु नै लेखकका लागि खुसीको खबर हुन्थ्यो। टेक्स्टबुक र भानुभक्तको रामायणजस्ता लोकप्रिय किताब ‘बेस्टसेलर' हुन्थे।

साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठान वा रत्न पुस्तक भण्डारले वार्षिक केही किताब छाप्थे जुन कमजोर वितरण सञ्जालका कारण पाठकहरूसम्म कमै पुग्थे। अहिले प्रज्ञा प्रतिष्ठानले त किताबै छाप्न छाड्यो, साझा र रत्नका सामान्य शीर्षक पनि पाँच हजार सजिलै बिक्री हुन थालेका छन्।

मदन पुरस्कार प्राप्त कृति ‘अन्तर्मनको यात्रा' तीन वर्षमै २५ हजार प्रति बेचिसकेका जगदीश घिमिरेले २०२७ सालमा पहिलो उपन्यास ‘लिलाम' हजार प्रतिमात्र बिक्री हुँदा साथीभाइको वाहवाही पाएका थिए। ‘त्यत्तिबेला हजारवटा किताब किन्ने पाठक पाउनु पनि ठूलो सफलता मानिन्थ्यो,' घिमिरेले भने।

उनका अनुभवमा पनि ‘पल्पसा क्याफे', ‘सोच' र ‘अन्तर्मनको यात्रा' बढी बिक्नुमा सहज भाषा र सकारात्मक दृष्टिकोण नै मुख्य कारण हुन्। यसअघि देवकोटा, बिपी, पारिजात, भूपिका किताबमात्र हजारौं प्रति बिकेको उनले देखेका थिए।

पछिल्लो आठ वर्षमा एकपछि अर्को कीर्तिमान बने पनि छयालीस सालको परिवर्तनपछि नै पढ्ने संस्कृति बढ्न थालेको हो। यसमा पर्याप्त कारण छन्।

कोलकाता र बनारसमा धेरैजसो छापिने नेपाली किताबको प्रकाशन मुलुकमा छयालीस सालपछि भित्रिएको अफसेट प्रेसले सजिलो पारे। जताततै खुलेका स्कुलकलेज र पाठ्यक्रमले नै किताब पढ्न प्रोत्साहित गरेकाले पनि पठन संस्कृति फस्टाएको हो।
बहुदलीय व्यवस्था स्थापना भएपछि विकास भएको निजी मिडियाले पुस्तक समीक्षा र यससम्बन्धी समाचार प्राथमिकतासाथ छापेर पनि पढ्ने संस्कृति बढाएको हो। साहित्य अहिले अधिकांश पत्रपत्रिकाको नियमित सामग्री बनेको छ।

बर्सेनि हुने प्रदर्शनी, पुस्तकको बजारीकरण, सहज वितरण सञ्जाल, सहरबजार र गाउँघरमा खुलेका पुस्तकपसल पनि पढ्ने संस्कृति बढाउने आधार हुन्। साझा, प्रज्ञा प्रतिष्ठान र रत्नअतिरिक्त पछिल्ला दुई दसकमा दर्जनजति गतिला प्रकाशनगृह थपिएका छन् जसले राम्रो किताब लेखे नछापिने लेखकहरूको डर हटाइदिएका छन्। विदेश गएका लाखौं नेपालीहरूका लागि किताब पनि कोसेली बन्ने गरेका छन्।

साझा प्रकाशन र नेपाल प्रकाशक महासंघले बर्सेनि राजधानीमा गर्ने पुस्तक प्रदर्शनीमा ओइरिने भिड पढ्ने संस्कृति बढेको गतिलो उदाहरण हो। गत वर्षको अन्त्यतिर राजधानीमा भएको साझाको पुस्तक प्रदर्शनीमा झन्डै ५० लाख मूल्यबराबरको किताब बिक्री भएको थियो। महासंघले शनिबार भृकुटीमण्डपमा सुरु गर्ने साताव्यापी १५ औं नेपाल शिक्षा तथा पुस्तक प्रदर्शनीमा झन्डै डेढ सय स्टल हुनेछन् जहाँका मुख्य पाहुना स्कुलकलेजकै विद्यार्थी हुनेछन्।

पछिल्लो समयमा चर्चित विदेशी कृतिको नेपाली अनुवाद पनि बजारमा उपलब्ध हुने गरेका छन् जसमा अंग्रेजी नजान्ने पाठकहरूको राम्रै चाख देखिने गरेको छ। फुटपाथदेखि पुस्तक पसलहरूसम्म पाउलो कोहेलो, तसलिमा नसरिनलगायतका विदेशी लेखक देखिने गरेका छन्।

अंग्रेजी लेखन पनि बढ्दै गएको छ। एसियन कम्युनिकेसन ह्यान्डबुकका अनुसार नेपालमा वार्षिक ५० शीर्षकमा अंग्रेजी किताब छापिन्छन्। नेपाली लेखक पेन्गुइन, रुपा, अक्सफोर्डजस्ता विदेशी प्रकाशनको रुचिमा पर्न थालेका छन्।

मेरो हातमा अहिले पेन्गुइनले भर्खरै छापेको नेपाली कथाकार रवि थापाको किताब ‘नथिङ टु डिक्लेयर' छ।
दुई दसकपछि अहिले वेदप्रकाश शर्माका उपन्यासहरू र्‍याकबाट हराउँदै गएका छन्। नयाँ पुस्ताका पाठकले युधीर थापा र प्रकाश कोविदलाई चिन्दैनन्। दन्त्यकथाहरू त दन्त्यकथै भइसके।

हामी बुद्धिसागरको ‘कर्णाली ब्लुज', युग पाठकको ‘उर्गेनको घोडा, नारायण ढकालको ‘प्रेतकल्प' पढिरहेका छौं। कृष्णप्रसाद भट्टराईको आत्मवृत्तान्त ‘मेरो म', तारा राईको ‘छापामार युवतीको डायरी' र लैनसिंह वाङ्देलको ‘मुलुकबाहिर म' हाम्रा र्‍याकमा छन्। स्टेफन हकिङको ‘द ग्रान्ड डिजाइन' र नोम चोम्स्कीको ‘मेकिङ द फ्युचर'ले पनि हामीलाई आकर्षित गरिरहेका छन्।

No comments: