खोइ 'भिजन'?



खोइ 'भिजन'?



राजनीतिक, आर्थिक र सामाजिक रूपमा मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउने राजनेताको अभाव

झलनाथ खनाल प्रधानमन्त्री भएपछि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरिसके। तर, उनले आफ्नो कार्यकालमा राष्ट्र र जनताले के ठोस उपलब्धि पाउँछन् भन्ने स्पष्ट पारेनन्। उनका दुवै सम्बोधन तात्कालिक राजनीतिक अवस्थाबारे निजी धारणाबाट सुरु भएर त्यसैमा टुंगिए। यसो हुनुको कारण छ, उनी कुनै आन्दोलन वा अभियानबाट आर्जित चामत्कारिक आकर्षणका कारण प्रधानमन्त्री भएका होइनन्। उनी जटिल राजनीतिक परिदृश्यमा सत्ता-समीकरणको रहलपहल चाख्दै मुलुकको कार्यकारी प्रमुख बन्न पुगेका थिए। त्यसैले, मुलुकले उनीबाट कुनै कायापलटको अपेक्षा पनि गरेको छैन। समयक्रमको रिक्तता पुर्ने औपचारिक औजारका रूपमा मात्रै उनको नेतृत्वलाई लिइएको छ।

खनाल त उदाहरण मात्रै हुन्। त्यसअघिका सबैजसो सरकार प्रमुखहरूले पनि खाली ठाउँ भर्ने भूमिकाभन्दा धेरै गर्न सकेनन्। तात्कालिक राजनीतिक अन्योल चिर्ने दृढताका साथ भावी नेपालको सपना देख्ने नेतृत्वको अभावका कारण मुलुकमा न राजनीतिक स्िथरता कायम हुन सकेको छ, न त आर्थिक समृद्धिका लक्षण देखा परेका छन्। राजनीतिशास्त्रीहरूले यसलाई नेतृत्वमा भविष्यदृष्टि वा दूरदृष्टि -भिजन)को अभावको फल भन्ने गरेका छन्।

जवाहरलाल नेहरू भारतका पहिलो प्रधानमन्त्री हुँदा विकासका ठूल्ठूला सपना मात्रै होइन, आपनो मुलुकलाई भावी विश्वशक्तिका रूपमा पनि देखेका थिए। देङ् सियाओ पिङ्ले साम्यवादको परम्परागत परिभाषामा साहसिक परिमार्जन नगरेका भए चीन आज जापानलाई उछिनेर अमेरिकालाई चुनौती दिने आर्थिक महाशक्ति बन्न सम्भव थिएन। देङ्को प्रख्यात उक्ति छ, "मलाई बिरालोको रङ कस्तो छ भन्ने कुरा मतलब छैन। कुन बिरालोले मुसा मार्न सक्छ भन्ने मात्रै मतलब छ।"
साभार - इ. कान्तिपुर

छिमेकी मुलुकका नेताहरू नेहरू, देङ्लगायतले देशका लागि सपना देखे, आफू र आफ्ना परिवारका समस्यालाई गौण ठाने। पार्टीगत स्वार्थभन्दा माथि उठेर सयौँ वर्ष परसम्मको हिसाबकिताब गरे। तत्कालीन तथ्य र यथार्थमा उभिएर भविष्यको सपना देख्ने ती नेताहरू समर्पण र प्रतिबद्धताका साथ आफ्नो सपनालाई साकार पार्न लागिपरे। "त्यसैले भिजन कसैले कसैलाई दिने कुरा होइन," विकासविद् पीताम्बर शर्मा भन्छन्, "आफँैभित्रबाट प्रस्फुटन हुनुपर्छ, उद्भव हुनुपर्छ।" शर्माका भनाइमा, भिजन भनेको राष्ट्रप्रतिको आफ्नो धारणा हो। त्यही धारणाको व्यापकताले नै नेताको स्तर निर्धारण गर्छ। जति ठूलो जनसमुदायले अपनाउन सक्ने भिजन भयो, नेता त्यति नै ठूलो हुन्छ।

खासमा भिजन नेताको व्यक्तिगत कल्पना हो, चेतनाशक्ति हो। त्यसले जनताको भावनालाई समात्छ/समेट्छ र धरातलीय आवश्यकतालाई सम्बोधन गर्छ। नेपालमा भने तत्कालका शक्तिकेन्द्रहरूसँग रुष्ट भावनालाई भजाएर नेता बन्ने छलछाम चल्छ। अभावग्रस्त मुलुकमा जनसमुदाय सधैँ सन्तुष्ट भइरहने सम्भावना पनि हुँदैन। त्यही असन्तुष्टिलाई प्रयोग गरेर अहिलेसम्म नेता वा दलहरू कुर्सीमा पुगेका छन्। कुर्सीमा पुगिसकेपछि सबै उदांगिएका छन्। "ठूल्ठूला सपना त बाँडिन्छन् तर तिनलाई विपना बनाउने खालको कार्ययोजना, चरित्र र व्यवहारका साथ कोही उत्रिँदैनन्, नेपाल राष्ट्रको पछिल्लो नियतिको कारक यही हो," विकासविद् शर्मा भन्छन्।



हिजो र आज

इतिहास खोतल्ने हो भने पृथ्वीनारायण शाह भिजन भएका एक मात्र नेता देखिन्छन्। उनी गोरखा राज्यका रजौटा थिए तर आफूलाई गोरखामै सीमित गरेनन्। तत्कालीन भूराजनीतिक अवस्था नियाले। उत्तर र दक्षिण दुवैतिर साम्राज्यवादले मिच्दै थियो। तिनलाई रोक्न उनले ५३ भन्दा बढी राजा-रजौटालाई एकीकृत गर्ने सपना देखे। त्यो सपना साकार पार्न यहाँको सामाजिक, भूराजनीतिक र आर्थिक अवस्थाको अध्ययन गरे। योजना बनाए। र, एकीकरणको राष्ट्रिय अभियान चलाए र आधुनिक नेपाल निर्माण सम्भव गरे। पृथ्वीनारायणको त्यो अभियान अहिले भविष्यदृष्टिको सर्वोकृष्ट उदाहरण मानिन्छ।

बहादुर शाह, भीमसेन थापालगायतले उनकै अभियानलाई पछ्याए, छुट्टै सपना देखेनन्। त्यसपछिका शासकमा त्यस्तो बृहत् परिकल्पना देखिँदैन। जंगबहादुर राणाले चातुर्यपूर्वक शक्ति हत्याए। भारतका बेलायती शासकलाई रिझाएर नेपाललाई स्िथर राज्य बनाइरहे। सामाजिक व्यवस्थामा केही हेरफेर गरे। बेलायत र युरोप भ्रमणमा जाँदा नेपाली झन्डा बोकेर गएका थिए, जसबाट नेपाल अविच्छिन्न स्वतन्त्र राष्ट्र हो भन्ने सन्देश प्रवाह भयो। पछि मुलुकको सार्वभौमसत्तामा प्रश्न उठाउने शक्तिका लागि समेत त्यो ऐतिहासिक सन्दर्भ उपयोगी सिद्ध भएको मानिन्छ।

कूटनीति र विकासको दृष्टिले राजा महेन्द्रमा दीर्घकालीन सोच रहेको मानिन्छ। तर, उनले विकासलाई प्रजातन्त्रको क्षतिपूर्ति वा विकल्पका रूपमा प्रस्तुत गर्न खोजे र राजनीतिक स्वतन्त्रताका विपक्षमा उभिए। ००७ सालको क्रान्तिको पृष्ठभूमिमा विश्वव्यापी रूपमा साम्राज्यवादविरोधी जागरणको लहर चलेको थियो। त्यतिखेर सहिद भएकाबाहेक प्रजातान्त्रिक नेपालको सपना देख्ने अरू नेता थिए, टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, बीपी कोइराला। तीमध्ये शिक्षित, अरूलाई प्रभाव पार्न सक्ने र बाहिरी सम्पर्कसमेत भएका कारण बीपीको व्यक्तित्व अलग थियो।

बीपीमा देशलाई कुन दिशामा कसरी लैजाने भन्ने केही फराकिलो र ठोस दृष्टिकोण थियो। "त्यो दृष्टिकोण पनि विशिष्ट परिस्िथतिमा निर्माण भएको थियो," कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरी भन्छन्। उनका विश्लेषणमा त्यतिखेर संसार प्रजातन्त्र र साम्यवादी दुई धु्रवमा विभाजित थियो। प्रजातान्त्रिक ध्रुवको नेतृत्व अमेरिका र बेलायतले गर्थे भने साम्यवादी ध्रुवको सोभियत संघले। यी दुई ध्रुवबीच संघर्ष चल्दा अरू धेरै मुलुकले आफूलाई यिनै दुईमध्ये एउटाको कित्तामा उभ्याए। तर, भारतमा संघर्षरत पढालेखा राजनीतिक अगुवाहरूले तेस्रो राजनीतिक प्रणालीको खोजी गरे। त्यसैको फलस्वरूप प्रजातान्त्रिक समाजवादको अवधारणा जन्मियो। जवाहरलाल नेहरूलगायत भारतीय नेतासँगै बीपी कोइरालाले पनि राजनीतिक संघर्ष गरे। त्यसैले प्रजातान्त्रिक समाजवादका द्रष्टामा बीपी दरिए र नेपालमा पनि प्रजातान्त्रिक समाजवाद स्थापना गर्ने सपना बोकेर फर्किए। राजनीतिमा प्रतिस्पर्धात्मक व्यवस्था र अर्थतन्त्रमा कल्याणकारी नीतिमार्फत मुलुकलाई अगाडि बढाउने बीपीको भिजन थियो।

पञ्चायतविरुद्ध संघर्ष गर्दागर्दै ०३९ सालमा बीपीको निधन भयो। उनीसँगै उनको भिजन हरायो तर प्रजातन्त्रका लागि संघर्ष जारी रह्यो। दुई ध्रुवीय विश्वव्यवस्थाको प्रतीक बर्लिनको पर्खाल ढलेपछि त्यही लहरमा आयो, ०४६ सालको परिवर्तन। अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईमा व्यवस्िथत भिजनभन्दा पनि प्रजातन्त्र र सुशासनप्रति निष्ठाको मात्रा बढी थियो। त्यही निष्ठाका कारण समयमै संविधान जारी भयो। आमनिर्वाचन सम्पन्न भयो। "तर, राज्यको पुन:संरचनालगायत राष्ट्र निर्माणका अरू पनि कतिपय मुद्दा उठ्दै उठेनन्," कांग्रेस नेता गिरी भन्छन्।

बीपीपछिका कांग्रेस नेताले दस्तावेजमा समाजवाद लेखे पनि बजारमुखी अर्थतन्त्रलाई बढावा दिने नीति र कार्यक्रम अँगाले। आफ्नो स्वतन्त्र भिजन दिने त कसैले तत्परता नै देखाएनन्।

नेकपा एमालेका नेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको अवधारणा प्रतिपादन गरे पनि उनले त्यसको कार्यान्वयन गर्ने मौका पाएनन्। उनको निधनपछि ०५१ सालमा एमालेको अल्पमतको सरकारले ल्याएको आफ्नो गाउँ आफैँ बनाऔँ कार्यक्रम परम्परागत विकासे अवधारणाविरुद्धको महत्त्वपूर्ण पाइलो मानिए पनि राष्ट्रिय विकासको बृहत् दृष्टिकोण दिन एमाले असफल रह्यो।

त्यसैले बीपी कोइरालामा बाहेक कुनै पनि राजनीतिक दल वा नेताले भिजन देखाउन सकेनन्। बीपीको भिजन अहिले न कांग्रेसले बोक्यो, न हुबहु लागू नै हुन सक्ने अवस्था छ।

परस्पर विरोधी मान्यताका कारण दल-दल, नेता-नेता विभाजित छन् तर राष्ट्रिय दृष्टिकोण वा भिजन देखिएको छैन। त्यही भिजनको अभावका कारण नेताहरू आज एउटा, भोलि अर्को कुरा गर्दै हिँडेका छन्। अहिले कुन पार्टीको भिजन राम्रो भनेर खोज्ने ठाउँ छैन। दलहरूबीच सैद्धान्तिक स्तरको बहससम्मकै अभाव देख्छन्, राजनीतिशास्त्रका सहप्राध्यापक लालबाबु यादव। "कसरी सत्ता हत्याएर अजम्मर बन्ने भन्ने धारणा मात्रै देखिन्छ," उनी भन्छन्, "त्यो पनि पार्टीगत नभएर कति ठाउँमा त व्यक्तिगत छ।"

माओत्सेतुङ्लाई देशको नयाँ तस्िबरको परिकल्पना गर्न बाध्य पार्ने घटना थियो, सडकमा भोकभोकै बसेको सहाराहीन मान्छेको दीनहीन अवस्था। उनी मानसिक रूपमा धेरै दिनसम्म बेचैन भए। त्यही प्रेरणाबाट उनी सन् १९४९ को क्रान्ति मात्र होइन, आफूले कल्पना गरेको मुलुक बनाउन बृहत् सामाजिक, राजनीतिक तथा आर्थिक कार्यक्रम लागू गर्न सफल भए। त्यसले चीन अरू देशहरूको उपनिवेशबाट मुक्त मात्र भएन, विशाल अर्थतन्त्रको बाटोमा अग्रसर भयो।

माओले आफ्नो भिजन जसरी निर्माण गरेका थिए, जुन कुराले उनलाई राष्ट्रकै मुहार फेर्न प्रेरित गरेको थियो, त्यही प्रेरणा र परिवेश सबै नेताका सन्दर्भमा लागू नहुन सक्छ। तर, तिनको विचारधारा, मुलुकको संस्कृति र तात्कालिक समस्याले उनीहरूलाई झक्झक्याउनुपर्ने ठान्छन्, सहप्राध्यापक यादव। भन्छन्, "विश्वमा जहाँ पनि राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रको दिशा बदल्ने कुरा नेतृत्वको भूमिकाले नै सम्भव भएको छ।"



राजनेताको खोजी

बि्रटिस उपनिवेशविरुद्ध अमेरिकामा 'नो ट्याक्स, नो र्‍याक्स' क्रान्ति भयो। त्यसमा सबभन्दा ठूलो भूमिका जर्ज वासिंटनको थियो। त्यहाँका १३ वटै राज्य आफूलाई स्वतन्त्र बनाउन चाहन्थे तर एकल बलबुताले सम्भव थिएन। वासिंटनले एकताका लागि पहल गरे। संयुक्त आन्दोलन सफल भयो र पछि उनकै नेतृत्वमा १३ वटै राज्यका लागि साझा संविधान लेखियो। त्यही संविधानले आजसम्म ती अलगअलग राज्यलाई एक सूत्रमा बाँधेको छ। र, अमेरिका अहिलेको महाशक्ति बनेको छ।

खास घटनाले छोएर, संगतमा परेर, समस्याले थिचिएर वा अध्ययनले खारिएर भिजन आउँछ भन्छन् राजनीतिशास्त्रीहरू। मनोविश्लेषकहरू नेताको अन्तर्यमा प्रतिभा तत्त्वको उपस्िथति पनि आवश्यक ठान्छन्, भिजन निर्माणका लागि। आफ्नो सामुन्नेका समस्याको अध्ययन, विश्लेषण गरेर समाधान निकाल्ने मात्रै नभई कालान्तरसम्म मुलुकले कुन बाटो हिँड्ने, कस्तो स्वरूप लिने भन्ने बृहत् दृष्टिकोण नेतृत्वमा पुग्न चाहनेले निर्माण गर्न सक्नुपर्छ। अनुभव, अध्ययन र विश्लेषण भिजन निर्माणका पूर्वाधार मानिन्छन्। कुनै घटना, परिवेश वा संगतले प्रेरकको काम गर्न सक्छ। सबभन्दा महत्त्वपूर्ण मानक व्यक्ति राष्ट्रप्रति समर्पित छ कि छैन भन्ने मानिन्छ।

नेताले आफ्नो अनुभवलाई अध्ययन र सिद्धान्तका कसीमा राखेर विश्लेषण गर्ने, त्यसका आधारमा भविष्यको चित्र बनाउने गर्नुपर्छ। "त्यो चित्र सपना हो र त्यही नै भिजन हो," शर्मा भन्छन्। अनि, त्यो सपनालाई साकार गर्न रणनीति, नीति र कार्यक्रम तय गरिन्छ, जो सबै पक्ष तयार भइसकेपछि व्यवहारमा रूपान्तर गर्नतिर केन्दि्रत हुन्छ।

विश्वका भिजनरी नेताहरूका उदाहरण हेर्ने हो भने कुर्सीको खेलमा मात्रै नेताहरू केन्दि्रत हुनुपर्ने देखिँदैन। भिजन हुनेहरूका लागि कुर्सी आफँै आइलागेको छ। जर्ज वासिंटनको नेतृत्वमा अमेरिकामा संविधान लेखियो। उनको त्यो भूमिकाको सम्मान गर्दै राष्ट्रपति बनाइयो। अर्कोपल्ट उनले चुनाव नै लड्न चाहेनन्। अरूलाई पालो दिन्छु भने। तर, उनलाई यति दबाब आयो कि दोस्रोपल्ट पनि चुनाव नलडी सुख पाएनन्। त्यतिखेरै उनले सर्तनामा गराए, तेस्रोचोटि कर नगर्नू भनेर। त्यही बेलादेखि अमेरिकामा एउटा पदमा दुईपटकभन्दा बढी चुनाव लड्न नपाउने नियमै बस्यो।

दक्षिण अपि|काका नेल्सन मन्डेला चाहेका भए बाँचुन्जेल राष्ट्रपति बन्न सक्थे। तर, लक्ष्य पूरा भएपछि अलग्गिएर बाहिर बसे। उनले एकपटक मात्रै राष्ट्रपति बन्न चाहे। यस्ता अरू चामत्कारिक नेतृत्व पनि कुर्सीको पछाडि दौडेको देखिँदैन। बरु जनताले कुर्सीमा बसालिराख्न प्रयत्न गर्नुपरेको छ। भारतका नेहरूलाई पटक-पटक कुर्सीमा बस्न लगाइएको इतिहास छ।

अमेरिकी विद्वान् जेम्स पि|म्यान क्लार्कले दुई सय वर्षअघि नै भनेका थिए कि नेताले सधैँ अर्को चुनावबारे सोच्छ भने राजनेताले सधैँ अर्को पुस्ताबारे सोच्छ। "यहाँ त अर्को चुनावसम्म पनि पर्खने धैर्यता नभएका नेता भए," सहप्राध्यापक यादव भन्छन्, "नेता राजनेता होइन, मालिक बन्न खोजेजस्तो देखिन्छ। मालिकले आफूलाई सधैँ मालिक नै बनाइराख्न चाहन्छ। आफ्नो पदको सुरक्षाका लागि जतिसुकै स्रोत र शक्तिको दुरूपयोग गर्न सक्छ।"

प्रजातन्त्र वा पद्धति अमूर्त हुन्छन्। तिनलाई हाँक्ने वा मूर्तता दिने नेतृत्वले हो। त्यही मूर्तता दिने माध्यम नै भिजन हो। भिजन भएका नेताहरू समानान्तर व्यक्तित्वका बीचबाट पनि जनताबाट छानिएका छन्। सन् १९४५ मा बेलायतमा क्लेमेन्ट रिचार्ड एट्ली र विन्स्टन चर्चिलबीच प्रधानमन्त्रीका लागि चुनावी प्रतिस्पर्धा भयो। त्यो लेबर पार्टी र कन्जर्भेटिभ पार्टीका बीचको चुनाव होइन, एड्ली र चर्चिलको व्यक्तित्वको लडाइँ हो भनिन्थ्यो। बहालवाला प्रधानमन्त्री चर्चिलले हारे जबकि उनको लोकपि्रयता कम थिएन। त्यो चुनावी परिणाम स्वीकार गरे। अर्कोपल्ट उनैले चुनाव जिते, कारण उनले दिएको भिजनको परिणाम पछि मात्रै देखिएको थियो। तर, नेपालमा सरकारमा कसरी आफूलाई स्थापित गर्ने, त्यसलाई कसरी निरन्तरता दिने भन्ने नै प्राथमिकताको विषय बन्दै आएको छ।

विश्वमा परिवर्तन आएको छ। त्यसैले अहिले यस्तो स्वप्नद्रष्टाको खाँचो छ, जसले राष्ट्रिय आवश्यकता, बहुसंख्यक जनताको भावना र अन्तरर्ाष्ट्रिय परिवेशलाई सजिलैसँग बुझ्न र त्यसभित्र नेपालको राष्ट्रिय स्वार्थलाई निर्माण गरेर बाँकी विश्वसँगै अघि बढाउन सकोस्। बहुआयामिक र परस्परविरोधी सोच, धारणा र अपेक्षालाई समेट्न सकोस्। सायद, शिशिर योगीले गाएको यस गीतले पनि त्यही भनिरहेको छ :

छाडेर काम सारा एक काम रोजिरहेछु

यो देशमा म एउटा मानिस खोजिरहेछु। 



भिजनका झिल्का

पृथ्वीनारायण शाह (विसं १७८९-१८३१) :
आधुनिक नेपाल राष्ट्रका प्रथम परिकल्पनाकार थिए, पृथ्वीनारायण शाह। दिव्योपदेशमा अभिलिखित उनका भनाइहरूले पनि उनको दूरदर्शिताको परिचय दिन्छन्। कहिल्यै सूर्य नअस्ताउने गरी विस्तार भएको बेलायती साम्राज्यलाई नेपालभित्र पस्न नदिने बलियो सामरिक शक्ति निर्माण गर्ने उनको सपना थियो। त्यो सपना पूरा गर्न नेपालभित्रका ५३ भन्दा बढी रजौटाहरूलाई एक गराउन हिँडे। त्यतिखेर उनले सामरिक, कूटनीतिक र सामाजिक-सांस्कृतिक चेतनाबाट निसि्रत जुक्तिहरू लगाएर ती राज्यहरूलाई एक बनाउने अभियान छेडे। उनको ५२ वर्षकै उमेरमा निधन भएकाले पछि उत्तराधिकारीहरूले पनि उनको अभियानलाई निरन्तरता दिए। फलस्वरूप नेपालले उपनिवेश बन्नुपरेन। "स्वाधीन अर्थतन्त्रको निर्माण, राज्यव्यवस्था, बसोबास प्रणाली र अन्तरर्ाष्ट्रिय सम्बन्धबारे उनका अभिव्यक्ति अहिले पनि सान्दर्भिक र मार्मिक छन्," राजनीतिशास्त्रका उपप्राध्यापक दीपक गजुरेल भन्छन्, "भिजन भएर नै उनले यस्तो बोल्न सकेका हुन्। उनको जत्तिको भिजन त्यसपछिका कुनै शासकमा देखिएन।"

जंगबहादुर राणा -विसं १८७४-१९३३) : जतिखेर भोगविलास र आन्तरिक झगडाका दिनचर्यामा डुबेका राजपरिवार र भारदारहरूका कारण अस्िथर बनेको मुलुकलाई स्थायित्व दिन एउटा बलियो शासकको खाँचो थियो, त्यतिखेर जन्मिए जंगबहादुर राणा। राजदरबारभित्रकै एक कर्मचारी जंगबहादुरले सिलसिलेवार षड्यन्त्र र हिंसाको माध्यमबाटै भए पनि सत्ता हत्याए। मुलुकको सामरिक शक्ति कमजोर भएका बेला उनले बेलायतसँग जोरी खोजेनन्, मिलेर अघि बढ्ने नीति लिए। देशको भौगोलिक, आर्थिक, सैनिक क्षमतालाई समेत ख्याल गरी उनले देश जोगाए। त्यसपछिका सबै राणाहरू उनकै भिजनमा हिँडे। राणाहरूले बेलायतीको बढी चाकडी गरे, आन्तरिक रूपमा जनतालाई शोषण गरे, निरंकुश जहानियाँ शासन चलाए। त्यो व्यवस्था १ सय ४ वर्ष चल्यो। यी पक्षतिर आलोचना गर्न सकिन्छ तर जंगबहादुरमा दूरदर्शिता भने थियो नै।

बीपी कोइराला : बहुसंख्यक नेपाली कृषि पेसामा रहेकाले उनी किसानलाई सम्पन्न बनाए मुलुक सम्पन्न हुन्छ भन्थे। बिर्ता उन्मूलनलगायत कार्यक्रम त्यसै अन्तर्गत आएका थिए। नीति तथा योजना निर्माताहरूले हलो जोतिरहेको किसानको तस्िबर भित्तामा टाँसेर काम गर्नुपर्ने उनको भनाइ थियो। खुला एवं प्रतिस्पर्धात्मक राजनीति र राज्यकेन्दि्रत अर्थतन्त्र -समाजवाद)का स्वप्नद्रष्टा थिए, उनी। त्यही अनुसार कार्यक्रम लागू गराउन खोजेको पनि देखिन्छ। तर, राजा महेन्द्रले ०१७ सालमा सत्ता हत्याएपछि त्यो भिजन कार्यान्वयन गर्न पाएनन्। उनीपछिको कांग्रेसले त्यो भिजन बोक्नै सकेन।

राजा महेन्द्र : पूर्वपश्चिम राजमार्ग बनाए। मुलुकलाई पाँच विकास क्षेत्रमा विभाजन गरी क्षेत्रीय विकासको अवधारणा लागू गरे। पहिले पटक-पटक अस्वीकृत भएको संयुक्त राष्ट्रसंघको सदस्यता दिलाएर नेपाललाई अन्तरर्ाष्ट्रिय मञ्चमा स्वतन्त्र राष्ट्रका रूपमा परिचित र स्थापित गरे। मुलुकको भौगोलिक र सामाजिक विभेदलाई चिरेर त्यसलाई विकासले जोड्नुपर्छ भन्ने मान्यता स्थापित गरे। नेपालका स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना गरे। यो उनको दूरदर्शिता थियो तर राजनीतिक स्वतन्त्रतामा अंकुश लगाएका कारण ३० वर्षमै उनले प्रतिपादित गरेको पञ्चायती व्यवस्था ढल्यो। "महेन्द्रले प्रजातन्त्रको क्षतिपूर्तिका रूपमा विकास दिन खोजे," प्रा कृष्ण पोखरेल भन्छन्, "प्रजातन्त्र र विकास सँगसँगै हुर्काउन सकेका भए उनको भिजनले राष्ट्रको समृद्धि हुन सक्थ्यो।"

मदन भण्डारी : अन्तरर्ाष्ट्रिय क्षेत्रमा कम्युनिस्ट शासनहरू एकपछि अर्को गरी ढल्न थालेको र प्रजातन्त्रको लहर चलिरहेका बेला नेपालमा शास्त्रीय कम्युनिस्ट व्यवस्था सम्भव नरहेको निष्कर्षका साथ नेकपा एमालेका नेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद -जबज)लाई नयाँ मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारे। खुला प्रतिस्पर्धाबाट सरकारमा जाने र प्रगतिशील कार्यक्रमका माध्यमबाट विकास र अर्थतन्त्रलाई अगाडि बढाउने जबजको ध्येय थियो। जबजलाई उनको पार्टीले स्वीकार मात्रै गरेन, छोटै समयमा भण्डारीसमेत राष्ट्रिय राजनीतिमा त्यसैका कारण स्थापित भए। तर, उनले राज्यसत्तामा पुगेर आफ्नो परिकल्पना लागू गराउन पाएनन्। ०५० सालमा उनको निधन भयो।



भिजनशून्य वर्तमान


झलनाथ खनाल : मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम ल्याउँदा विपक्षमा उभिएका कारण यिनी परम्परागत कम्युनिज्मका पक्षधर मानिन्छन्। अहिले पनि उनी कांग्रेसलगायत उदारवादी शक्तिहरूबाट दूरी राखेर र माओवादीसित निकट सम्बन्ध राख्नुपर्ने धारणामा अघि बढेका छन्। तर, उनले पनि मुलुकलाई संक्रमणबाट पार लगाउन दीर्घकालीन शान्ति र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन कुनै स्पष्ट खाका दिन सकेका छैनन्।



केपी ओली : राजनीतिक खेल र अभिव्यक्ति कौशलमा अन्य नेताभन्दा फरक देखिने ओली एमालेलाई उदार लोकतन्त्रकै बाटोमा हिँडाउन खोज्ने नेता हुन्। तर, आर्थिक-सामाजिक विकासबारे उनले आफ्नो स्पष्ट भिजन कतै सार्वजनिक गर्न सकेको देखिँदैन।



पुष्पकमल दाहाल 'प्रचण्ड' : मुलुकको राजनीतिक, सामाजिक र आर्थिक प्रणालीमा व्यापक पुन:संरचना गर्नका लागि उनले नयाँ नेपालको सोच अघि सारे। संविधानसभा निर्वाचनअघि माओवादीले सार्वजनिक गरेको संघीय नेपालको ढाँचासहितको अवधारणापत्रमा प्रचण्डको परिवर्तनकारी सोचको झल्को देखिन्छ। तर, उनी बढी राजनीतिक दाउपेचमा लाग्ने, उत्तेजनामा बोल्ने, बोलेका कुरामा अड्न नसक्ने कारणले हलुका बन्दै गएका छन्।



बाबुराम भट्टराई : अहिलेका राजनीतिक अगुवाहरूका बीचमा यी तुलनात्मक रूपमा केही आशलाग्दा अनुहार हुन्। माओवादीभित्र विकासको चिन्तनलाई अनवरत रूपमा बोक्ने नेता पनि हुन् यी। कृषि र उद्योगमा आधारित अर्थतन्त्रमा जोड दिने र राज्यले त्यसमा सघाउने उनको सोच हो। निर्वाह खेतीबाट बजारमुखी बनाएर उत्पादकत्व बढाउने, काम नहुँदा पनि कृषिमा अल्भिनेहरूलाई अन्य उद्योग, व्यापारमा लगाउने सोच उनमा छ। तर, जुक्तिहरू केके भन्नेमा स्पष्टता आउन बाँकी नै छ। राजनीतिक र सामाजिक क्षेत्रका बृहत् आयामहरूलाई समेट्न भने सकेका छैनन्।



सुशील कोइराला : उनी महत्त्वाकांक्षाविहीन नेता हुन्। राजनीतिशास्त्रमा यस्तालाई प्वाँख नभएका पंक्षी भन्ने चलन छ। बीपी कोइरालाको राजनीतिक र पारिवारिक सहयोगीका रूपमा लामो समय बिताएका सुशीलले स्वतन्त्र परिचय र राजनीतिक विचार निर्माणमा कहिल्यै ध्यान दिएनन्। भारत निर्वासनमा छँदा नीतिश कुमार उनका साथी थिए। नीतिश कुमार आफ्नो राजनीतिक भिजनका कारण विहारको कायापलट गर्न सफल भएका छन् भने कोइराला मुलुकको प्रमुख लोकतान्त्रिक दलको नेतृत्वमा पुग्दा पनि किंकर्तव्यविमूढ अवस्थामा छन्।



शेरबहादुर देउवा : यिनलाई नेपाली कांग्रेसमा अहिले वैकल्पिक नेताका रूपमा लिइन्छ। तर, चिन्तन/मननलाई पटक्कै महत्त्व नदिने नेताका रूपमा परिचित छन्। यद्यपि, जलस्रोतको विकासलाई उनले आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएका छन्। तर, उनी दीर्घकालीन भिजनभन्दा तात्कालिक परिवेश अनुरूप आफूलाई प्रस्तुत गर्दै आएका छन्।



के हो भिजन ?

प्रा चैतन्य मिश्र

इतिहासको पुनरावलोकन र वर्तमानको विश्लेषणका आधारमा गरिएको समृद्ध भविष्यको परिकल्पना हो, भिजन। समृद्ध भविष्य निर्माणका लागि अहिलेको विन्दुमा कसरी पगियो भन्ने समीक्षा गरिन्छ । आगामी निश्चित अवधिमा कहाँ पुग्ने भन्ने मार्गचित्र कोरिन्छ। त्यस मार्गचित्रमा अर्थतन्त्र, राजनीतिक र सामाजिक/सांस्कृतिक स्वरूपको निरूपण गरिन्छ। यीभित्र पनि सूक्ष्म आयामहरूमा पसेर भविष्यको प्रारूप दिमागमा राखिन्छ। दिमागमा आउने त्यही स्वप्न हो, भिजन। नेताले आफ्नो सपनालाई सैद्धान्तीकरण गर्छ। त्यसलाई राजनीतिमा अनुवाद गर्छ। जनतालाई सहमत गराउँछ र वैध बाटो -सरकार)बाट लागू गराउँछ।

आफ्नो इतिहासको विश्लेषणबाट भविष्यका धेरै कुराको परिकल्पना गर्न सकिन्छ। वर्तमानको विश्व समुदायलाई आकलन गर्दा त्यस्ता परिकल्पनाले थप परिमार्जन भेट्छ। विश्व र आफ्नो क्षेत्र, नेपालको सन्दर्भमा चीन र भारत कहाँ पुग्दैछन् भन्ने कुरा दाँजेर हेर्ने दिमागमा भविष्यको चित्र अझ स्पष्ट आउँछ। तर, हामी वर्तमानमा रुमलियौँ। तत्कालका विषयमा अल्मलियौँ। एकदमै अल्पकालीन सोचाइमा धेरै समय बितायौँ। त्यसै भनिएको होइन रहेछ, चिनियाँहरूले विचार गदर्ा ५०-१०० वर्षपछिको कुरा सोच्छन्, हामी तत्कालको मात्रै। हामी नाकैमुनिको कुरो मात्रै देख्छौँ। अझै त्यो पनि देख्दैनौँ।

तपसिलका विषयमा झगडा गरिरहेका हुन्छौँ। हाम्रो भिजन एक वर्षभन्दा टाढाको त हुँदै नहुने भइसक्यो। सरकारी नीति, कार्यक्रम र बजेटमा समेत एक वर्षभन्दा परको सोचाइ र व्यवहार देखाउन नसक्ने भयौँ। अहिले सानातिना कुरालाई मूल मुद्दासरह प्राथमिकता दिइरहेका छौँ। जस्तो- जातजातिको कुरा। यो महत्त्वपूर्ण कुरा नभएको होइन। थिचिएका हेपिएका समुदायलाई मुक्त गर्नु अत्यावश्यक छ। तर, यसलाई यसरी जोड दिइएको छ कि यसबाहेक अरू केही पनि विषय नै छैन जस्तो। त्यही मात्रै कुरा त हुँदै होइन।

सिंगो अर्थतन्त्र ढलपल हुन लागेको छ। युवाले काम नपाइरहेको स्थिति छ। अरू सकारात्मक कुरा पनि भएका छन्, जसले आमआकांक्षाको तह ह्वात्तै बढाइदिएको छ। लोकतन्त्र, गणतन्त्र स्थापित भएको छ। संक्रमणकालको व्यवस्थापन गर्नुपर्ने छ। यी सबै कुराको माझमा जातजातिको विषयलाई राखेर हेर्नुपर्ने हो। यसो भयो भने हामी ठीक भिजनमा पुग्न सक्थ्यौँ तर स-सानो पाटा नै सबै कुरा हुन् भन्नेमा रुमलियौँ। ठूला मुद्दालाई कति महत्त्व दिने र साना कुरालाई कति महत्त्व दिने, त्यसको अनुपात नमिलेर पनि दूरदृष्टि बनाउन गाह्रो भएको छ।

भएका भिजनका झिल्काझिल्की आपसमा झगडा गर्दागर्दै सिद्धिएको छ। मन्त्रिमण्डल बनाउन यत्रो समय खर्चिइन्छ। संविधान बनाउने समय घर्किएको छ। अन्तरिम संविधानमै पनि भावी नेपालको एउटा चित्र देख्न सकिन्छ। त्यसमा पनि भिजन छ। तर, त्यसलाई संक्रमणकालीन घडीमा ओझेल पारियो।

अहिले मूल रूपमा दुई कुरालाई ख्याल गरेर भविष्यको मार्ग र चित्र कोर्न सकिन्छ, नेपाललाई लोकतन्त्रको सूत्रमा दीर्घकालसम्म एकत्रित पार्न सक्ने संविधान र युवाशक्तिलाई काम दिन सक्ने अर्थतन्त्रको निर्माण। यी दुवै कुरा सँगसँगै लैजानुपर्छ। यी एउटाबिना अर्को टिक्नै सक्दैन। युवाले काम पाएनन् भने लोकतन्त्र खत्तम हुन्छ। लोकतन्त्र भएन भने युवाले रोजगारी पाउन सक्दैनन्। एकदमै राज्यनियन्त्रित अर्थतन्त्रले युवालाई रोजगारी दिन सक्दैन भन्ने कुरा पटकपटक प्रमाणित भइसक्यो। लोकतन्त्रको विस्तारसँगै निजी क्षेत्रको अग्रसरतासहितको, उद्योग-व्यापारसहितको पुँजीवादको विकासले मात्रै मुलुकको समृद्धि सम्भव छ। त्यो समृद्धिसम्म पुग्ने भिजन अहिले देखिएको छैन। चीन र भारत एकदमै द्रुत गतिमा हिँड्दै छन्। तिनीहरूसँग पाइला मिलाएर हिँड्न सक्यौँ भने हाम्रो भविष्य सुनिश्चित हुन्छ। होइन भने हामीभित्र धेरै द्वन्द्व हुने सम्भावना छ। त्यसकारण पनि भिजन चाहिएको छ। मुलुकले दूरदर्शी नेता खोजेको छ।

No comments: