काठमाडौ, वैशाख ३० - जुमनु राईको ह्याटि्रक मदतमा सहिद स्मारक रेडबुल 'ए' डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले बिहीबार महिन्द्रा बाँसबारी क्लबलाई ४-१ ले निराश पारेको छ । वर्षाले प्रभावित खेलमा बाँसबारीका अफ्रिकी खेलाडी डेनिस ओको ओचिन्सले सान्त्वना गोल गरे ।
एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीले फ्रेन्ड्स क्लबमाथि ३-१ को जित निकाल्यो । उसका सन्तोष साहुखल, विजय गुरुङ र अनिल गुरुङले गोल गरे । चार खेलमा शतप्रतिशत नतिजा निकाल्दै पुलिस १२ अंकसाथ पहिलो स्थानमा छ । जावलाखेलको समान १२ अंक रहे पनि पुलिस गोल अन्तरमा बलियो
छ । मनाङले ४ खेलबाट १० अंक बटुलेको छ ।
जुमनुको यो सिजनको दोस्रो ह्याटि्रक हो । उनले बौद्ध फुटबल क्लबविरुद्ध पहिलो ह्याटि्रक गरेका थिए । जुमनु लिगका सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अग्रस्थानमा छन् । उनको गोल सङ्ख्या १० पुगेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमै पाँचै गोल सम्भव भएका थिए । पेनाल्टीबाट पुलिसले ५० औं मिनेटमा अग्रता लिने मौका पायो । जुमनुले प्राप्त पेनाल्टीको सदुपयोग गरे । बाँसबारीका खेलाडी दिलबहादुर तामाङले जुमनुलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जुन बेला जुमनुको नजिक बल थिएन ।
'रेफ्रीको गलत निर्णयको सिकार भयौं,' बाँसबारीका प्रशिक्षक हरिओम श्रेष्ठले भने, 'पेनाल्टी नै खेलको 'टर्निङ प्वाइन्ट' भयो । त्यो पेनाल्टी नदिइएको भए नतिजा जे पनि हुन सक्थ्यो ।' वर्षाले गर्दा खेल्न गाह्रो भएको पनि उनले बताए । पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पहिलो हाफमा पाएको मौका सदुपयोग गर्न नसकेको बताए । पुलिसले पहिलो हाफमा तीन सुनौला मौका गुमाएको थियो । उसका भरत खवास, रमेश कटुवाल र सुरज विश्वकर्मा गोल गर्नबाट चुकेका थिए ।
पुलिसका लागि दोस्रो गोल भोला सिलवालले ६२ औं मिनेटमा गरे । उनले सुरज विश्वकर्माले ३५ यार्डबाट प्रहार गरेको फ्रिकिकलाई सदुपयोग गर्दै पोस्टको दिशा दिए । जुमनुले ७२ औं मिनेटमा योगेश श्रेष्ठको पासमा गोल गरे । उनले खेलको इन्ज्युरी टाइमको पहिलो मिनेटमा योगेश श्रेष्ठकै पासमा गोल गर्दै ह्याटि्रक पूरा गरे ।
दशरथ रंगशालामा भएको अर्को खेलमा कप्तान आजादले पाँचौं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए । उनले पोस्टको बायाँ भागबाट उत्कृष्ट गोल गरे । विजय गुरुङले १९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । उनले अनिलको ब्याक-पासमा गोल गरेका थिए ।
अघिल्लो सिजन भारतको आइलिग खेलेर घर फर्केका अनिल गुरुङले मनाङका लागि पहिलो खेलमै राम्रो प्रदर्शन गरे । मनाङका लागि दोस्रो गोल २३ औं मिनेटमा सन्तोषले गरे । उनको कडा प्रहार सुन्दर गोलका परिणत भएको थियो । सन्तोष साहुखलको क्रसमा अनिलले ७४ औं मिनेटमा गोल गरे ।
प|mेन्ड्सका प्रशिक्षक पारस चौधरीले टिमको मिडफिल्ड कमजोर रहेको स्वीकारे । अर्को खेलमा दुई विदेशी खेलाडी आएपछि टिम बलियो हुने बताए । मनाङका प्रशिक्षक बालगोपाल महर्जनले चाहिएको ३ अंक प्राप्त भएको बताए । शुक्रबार हुने खेल कारणवश रोकिएकाले शनिबार हुने एन्फाले जनाएको छ ।
साभार - इ. कान्तिपुर

No comments:
Post a Comment