नसिरूद्दिनले सिकाएका कुरा

स्मृति ढुंगाना, काठमाडौं, वैशाख २९- बलिउड अभिनेता नसिरूद्दिन शाहले नेपाली युवा कलाकारका निम्ति सञ्चालन गरेको नौ दिने प्रशिक्षण सम्पन्न भएको छ। मंगलबार मुम्बई फर्कनुअघि उनले आगामी कात्तिकको दोस्रो सातातिर यसै समूहलाई थप प्रशिक्षण दिन काठमाडौं आउने जानकारी नागरिकलाई दिए।



उनले यहाँ बस्दा नेपाली कलाकारहरू नम्रता श्रेष्ठ, कर्म, रिचा शर्मा, विनय श्रेष्ठ, दयाहाङ राई, शान्ति गिरी, राजन खतिवडा, मानष राज, गुञ्जन दीक्षित, आकांक्षा कार्की र सञ्चारकर्मी रविन्द्र मिश्रलगायतसँग अनुभव आदान प्रदान गरेका थिए।
‘आउनुअघि नेपाली युवा पुस्ता यति प्रतिभाशाली होलान् भन्ने लागेको थिएन,' शाहले नागरिकलाई भने, ‘मौका पाए उनीहरुले धेरै राम्रो गर्न सक्छन्।'

वैशाख १८ मा सुरू भएको प्रशिक्षणमा नसिरूद्दिनले मुख्यतः अभिनयलाई कसरी सत्य बनाउने र प्रस्तुत हुनुअघि कलाकारले के कुरामा ध्यान दिने भन्नेमा जोड दिएका थिए। शेक्सपियरका नाटकहरुमा काम गर्दै आएको नाट्य संस्था ‘नेपाल शेक्स' को आयोजनामा कार्यशाला सम्पन्न भएको हो। पछिल्लो समय अभिनयमा राम्रो प्रतिभा देखाउदै आएका कलाकारलाई छनोट गरिएको दावी आयोजक मिता होसालीको छ।

पहिलो पटक अभिनयसम्बन्धी कार्यशालामा सहभागी भएका पत्रकार रविन्द्र मिश्रले अभिनयबारे आफुमा रहेको भ्रम कार्यशालापछि हटेको बताए। ‘यस्तो प्रशिक्षण कलाकार मात्र होइन निर्देशकहरूलाई पनि दिइनु पर्छ जस्तो लाग्यो,' उनले भने, ‘हामीले अभिनय भन्ने गरे पनि यो बास्तवमा सत्यको अभिव्यक्ति रहेछ।'

युवा अभिनेता कर्म कुनै बेला पुनेमा पढ्दा नेपालमा नसिरूद्दिनको नाटक हुँदैछ भन्ने सुन्नासाथ हेर्न आइपुगेको क्षण स्मरण गर्छन्। ‘त्यस्ता कलाकार सँगै बसेर उनको अनुभव जान्ने मौका पाएँ,' उनले भने, ‘प्रयोगात्मक प्रशिक्षणमा सरिक हुँदा रमाइलो लाग्यो।' ‘लुक्स' र ‘गेटअप'मा मात्र ध्यान दिएर कलाकारिता गर्ने प्रचलनको अब अन्त्य हुने विश्वासमा उनी पुगेका छन्।

अर्की अभिनेत्री नम्रता श्रेष्ठका निम्ति यस्तो कार्यशाला पहिलो थियो। ‘अभिनय गर्ने कलाकारले मेहेनत गर्नुपर्छ भन्ने कुरा मलाई मनपर्‍यो,' उनले भनिन्, ‘अब म यसैमा लक्षित हुनेछु।'

अभिनय र वास्तविक जीवन बेग्ला बेग्लै भए पनि यो दुवैमा कति सामीप्य रहेछ भनेर जान्ने मौका पाइएको प्रतिक्रिया नम्रताको थियो। ‘सोझै संवाद बोलेर नहुने रहेछ,' उनले यस बीचमा सिकेको कुरा बताइन्, ‘सम्वन्धलाई आत्मसात गरेपछि बोलिएको संवाद मात्र जीवित हुँदो रहेछ।'

कलाकारले मिहिनेत गरे मात्र अभिनयमा वास्तविकता आउने कुरा थाहा पाएको बताए अभिनेता दयाहाङ राईले। ‘अभिनय जहाँ गर्दा पनि एउटै हुन्छ,' उनी भन्छन्, ‘तर, परिस्थिति अनुसार फरक अभिनय देखाउन सक्नेले मात्र भूमिकामाथि न्याय गर्न सक्छ।'
केहि नाटकको अनुभव लिइसकेकी शान्ति गिरीलाई पहिले अभिनय भनेको कसैलाई देखाउनका निम्ति गर्ने कुरा हो भन्ने लाग्थ्यो। ‘तर, नसिरुद्दिनले अभिनय देखाउनका निम्ति नभएर पहिले आत्मसात गर्नुपर्ने कुरा भएको सिकाए,' उनले सुनाइन्, ‘त्यसरी आत्मसात गरेको सत्यलाई प्रस्तुत गर्न सके मात्र प्रभावकारी हुने रहेछ।'

रंगकर्मी राजन खतिवडाका अनुसार अभिनय सिकाउने गुरुहरु सबैको आ आफ्नै तरिका भएपनि शाहले चाहि सत्यसँग नजिक्याउने काम गरेका थिए। ‘त्यो सत्यसम्म जाने बाटो मा हिड्न मानसिक र शारिरीक रुपले कसरी तयार हुनुपर्छ भन्ने सिकाए,' उनले भने, ‘आजसम्म आफूले सिकेको कुरा सबै पखालिएको र फेरि नयाँ उर्जाले भरिएको अनुभव भइरहेको छ।'

अभिनेता विनय श्रेष्ठलाई भने यो कार्यशाला नसिरूद्दिनको कलाकारिता अनुभव बुझ्ने हिसाबले फलदायी लाग्यो। ‘मैले अभिनयसम्बन्धी अध्ययन गरेको हुदँँा यहाँ भनिएका कुरा नौलो लागेन,' उनले भने, ‘बरु शाहले ३५ वर्षे अभिनय यात्रामा भोगेका कुराहरु यति कम समयमा हामीले सँगै बसेर जान्न पाउनु उपलब्धिमूलक रह्यो।'

अभिनेत्री ऋचा शर्मालाई भने यस्तो कार्यशालामा अब नेपाली फिल्मका थप कलाकार पनि समेटिनु पर्छ जस्तो लागेको छ। ‘नसिरूद्दिनले भनेजस्तो बास्तविक अभिनय गर्ने कलाकार नेपालमा छैनन्,' उनले भनिन्, ‘अभिनयका निम्ति मेहनत गर्नुपर्छ भन्ने जानकारी सबैलाई दिइनु जरुरी छ।'

कार्यशालामा ‘बाइसाइकल थिभ्स्' र ‘माई लेफ्ट फुट' नामक फिल्म समेत देखाइएको थियो।
साभार : नागरिक न्युज

No comments: