हङकङमा बैंकभन्दा हुन्डीमा आकर्षण 'न त सरकारबाट कारवाही होला भन्ने डर छ न कुनै सहुलियत पाइने लोभ'

हङकङ, फाल्गुन २३ - तेह्र वर्षदेखि हङकङमा कार्यरत किसन राईले एकपटक पनि बैंक वित्तीय संस्थामार्फत नेपाल रकम पठाएका छैनन् ।



पेसाले पत्रकार उनलाई नेपाल पैसा पठाउन वैध माध्यमभन्दा हुन्डी नै विश्वासिलो र सुविधायुक्त लाग्दो रहेछ । अनधिकृत व्यक्ति वा समूहले गर्ने पैसाको गैरकानुनी स्थानान्तरण (हुन्डी) अवैध भएको उनलाई राम्ररी थाहा छ । तर बिनाकुनै झन्झट लेनदेन हुने भएकाले राईले यो बाहेकको अर्को विकल्प सोचेकै छैनन् । स्थानीय एभरेस्ट साप्ताहिकका सम्पादक राई एक प्रतिनिधि पात्र मात्र हुन् । समाचार लेखनका क्रममा २० जनासँग सोधिएको प्रश्नमा एक जनाले पनि हुन्डीबाहेकको माध्यम प्रयोग नगरेको बताए ।

यहाँ दुई दर्जन बढी नेपाली हुन्डी कारोबारी छन् । संकलित रकममध्येको ठूलो हिस्सा चीनमा सामान खरिदका लागि आउने नेपाली तथा भारतीय व्यापारीहरूलाई बिक्री गरिन्छ । बेलायत, जापान, कोरिया, मलेसिया लगायत देशमा हुन्डीबाट संकलित रकमसमेत हङकङ आउने गरेको छ । यहाँका अधिकांश कारोबारीले कानुनबाट छलिन मुख्य व्यवसाय भने अर्कै देखाउने गरेका छन् । सानो ठाउँमा दैनिकजसो हुने भेटघाट र चिनजानका कारणसमेत मानिस यिनैमार्फत पैसा पठाउन विश्वासिलो मान्छन् । 'जुनसुकै तरिकाले पैसा पठाए पनि कुनै अप्ठयारो नपर्ने भएपछि मान्छेले बढी फाइदा हुने सजिलो विधि रोजेका हुन्,' राईले भने, 'इमान्दारीसाथ बैंकबाट पैसा

पठाउनेलाई पनि सरकारले के नै सुविधा दिएको छ र ?' हङकङमा बसोबास गर्ने झन्डै २० हजार नेपालीमध्ये ९९ प्रतिशतले हुन्डीबाटै कारोबार गर्ने गरेको उनको दाबी छ । हुन्डीको अवैध कारोबार फस्टाउनुको कारण नेपाल सरकारको फितलो कानुन भएको उनको ठम्याइ छ ।
साभार - इ. कान्तिपुर

यहाँ बसोबास गर्ने २० हजारले सरदर ४ हजार हङकङ डलरका दरले पठाउँदा पनि मासिक ८ करोड हङकङ डलर (करिब ७६ करोड रुपैयाँ) नेपाल भित्रिने गरेको अनुमान नेपाल च्याम्बर अफ कमर्स हङकङका कोषाध्यक्ष राजेन्द्र थापाको छ । 'सरकारले आँखा चिम्लेकै कारण करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ,' थापाले भने, 'विदेशमा कमाइ गरी नेपालमा घरसम्पत्ति जोडेकालाई सरकारले कुन माध्यमबाट पैसा भित्र्यायो भनी विरलै सोधखोज गर्छ ।' डरकर नै नभएकाले हुन्डीले धेरै प्रश्रय पाएको उनले ठोकुवा गरे । राजनीतिक अस्थिरतासँगै सुरक्षाको प्रत्याभूति नहुँदा पछिल्ला केही वर्षमा हङकङमै पैसा जोहो गर्ने लगायत व्यापार र अचल सम्पत्तिमा लगानी गर्नेहरू समेत बढेको उनले बताए । 'न त सरकारबाट कारबाही होला भन्ने डर छ न कुनै सहुलियत पाइने लोभ,' रेस्टुरेन्ट व्यवसायी कमल पौडेलले भने, 'चोर र साधुलाई एकै ठाउँ राखेपछि घाटा बेहोरेर किन वैध बाटो रोज्नु ।' दुई दशकभन्दा बढीको हङकङ बसाइमा यिनले समेत हुन्डीबाहेकको विकल्प प्रयोग नगरेको सुनाए । हुन्डी विस्थापित गर्न सरकारले विदेशबाट वैध ढंगले रकम पठाउनेलाई असल नागरिकका रूपमा पुरस्कृत गर्नुपर्ने उनले सुझाए ।

हङकङमा वैध तरिकाले रकम पठाउन सकिने दर्जनौं बैंक, वेस्टर्न युनियन, एक्सप्रेस मनी, मनीग्राम लगायत रेमिटन्स कम्पनी छन् । तर नेपालीले रकम पठाउन अत्यन्तै विरलै मात्र यी माध्यम प्रयोग गर्छन् । 'वैधानिक तवरले रकम पठाउन प्रोत्साहित गर्ने मैले निकै प्रयास गरें,' युएई एक्सचेन्जका कारोबार व्यवस्थापक अहितराज थापाले भने, 'वर्षौंदेखि हुन्डीप्रतिको आकर्षण, बैंकका तुलनामा आकर्षक दरभाउ, सजिलो प्रक्रिया लगायतका कारण आशा गरेजस्तो सफलता मिलेन ।' सरकारको कडा नीतिबिना हुन्डीको अवैध कारोबार नरोकिने उनले बताए ।

No comments: