डन र नेताको सहयात्राः १२ फागुनमा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार, वरिष्ठ नेता शरदसिंह भण्डारी र गणेश लामा ।
राजधानीमा जग्गा प्लटिङ, म्यानपावर, ठेक्कापट्टा, बालुवाखानी, व्यापारिक कम्प्लेक्स, पार्किङ, रेस्टुरेन्ट, रात्रि व्यवसाय, रक्तचन्दन तस्करी आदिमा फैलिएको सङ्गठित अपराधमा संलग्न दादाहरूलाई राजनीतिक छहारी दिने काममा मधेशी दलहरू अगाडि सरेका छन्। काठमाडौंका कुख्यात डन गणेश लामा (हे. बक्स) लाई एकैपटक केन्द्रीय नेतासरहको हैसियत दिएर २० पुस २०६७ मा दलबलसहित स्वागत गरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले अहिले उनलाई उपत्यका इञ्चार्ज बनाउन लागेको छ।
स्वागत छः १९ चैतमा सोमबहादुर तामाङ (अभिषेक) लाई टीका लगाइदिँदै तमलोपाका अध्यक्ष महन्थ ठाकुर।
अध्यक्ष गच्छदारबाट पार्टीको आर्थिक कारोबार हेर्ने जिम्मेवारी पाएका लामाको पार्टी प्रवेशसँगै बानेश्वरको ह्वाइट हाउस कलेज अगाडि एउटा भवनमा भ्रातृसङ्गठनहरूको कार्यालय खोलिएको छ। १२ फागुनमा सो कार्यालय उद्घाटन हुँदा अध्यक्ष गच्छदार, वरिष्ठ नेता शरदसिंह भण्डारी र लामा सँगै थिए (हे.तस्बिर)। समय परिस्थिति अनुसार नेपाली काङ्ग्रेस, जनशक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टी चहारिसकेका लामा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उप-प्रधानमन्त्री तथा भौतिक योजना मन्त्री रहँदा भएको सीधा सम्पर्कबाट पार्टी प्रवेश गरेको बुझ्िएको छ। स्रोतका अनुसार, लामा र गच्छदारलाई भौतिक योजना तथा निर्माण मन्त्रालयको ठेक्कापट्टाले नजिक बनाएको थियो। त्यही बेला लामाको सिरुवा कन्स्ट्रक्सनले मन्त्रालयबाट क वर्गको लाइसेन्स पाएको थियो।
गुण्डागर्दी, रकम असुली, अपहरण र हत्यासम्मका अपराधमा कोही समातिने बित्तिकै भ्रष्ट प्रहरी अधिकृत र नेताहरूको दबाबले कारबाही नहुने अहिलेको अवस्थामा गणेशले गच्छदारको छहारी पाएका हुन्।
गणेश लामासँगै मधेशवादी हुनेमा अन्य व्यक्तिहरूमा दीपक राउत, पञ्च लामा, तेन्जिङ शेर्पा, राजकुमार लामा, मीना सुवेदी, विनोद राठोर, बलराम सेढाई, रामहरि आचार्य, धर्म कार्की, शिशिर पराजुली, कुमार राउत, केदार राउत, नारायण केसी, विकास लामा, दोर्जे शेर्पा, अप्सरा कोइराला आदि छन्। फोरम लोकतान्त्रिकका एक वरिष्ठ नेता लामा समूहको पार्टी प्रवेशलाई अपराधको बलमा जमेका व्यक्तिहरूको दुनो सोझयाउने हर्कतको रूपमा लिन्छन्। पार्टी उपाध्यक्ष रामेश्वर राय भने मधेशवादमा सहमत भएर पहाडी युवाहरू आउनु स्वागतयोग्य भएको बताउँछन्। उनी भन्छन्, “अल्पसङ्ख्यक र पिछडिएका समुदायको हितका लागि सबै मिलेर अगाडि बढ्नुलाई गलत मान्नुहँुदैन।”
रक्तचन्दन तस्करी, क्यासिनो, बालुवाखानी र हाउजिङसँगै निर्माण क्षेत्रमा हात हालेकालामालाई उपप्रधानमन्त्री समेत रहेका गच्छदारको धाप मिलेकाले अवैध धन्दा चलाउन झ्ान् सजिलो भयो।
उता तराई-मधेश लोकतान्त्रिक पार्टीले पनि अभिषेक भनिने सोमबहादुर तामाङको समूहलाई आश्रय दिएको छ। १९ चैत २०६७ मा तमलोपाले टीका लगाएर हुलेको तामाङ समूहमा २२५ जना छन्। यो समूहमा भेषराज थपलिया, विकास श्रेष्ठ, विवेक लामा, दुर्गाबहादुर तामाङ, राजु तामाङ, राजु राणा, गोपाल महरा, राजा पण्डित, सुमित डङ्गोल, सूर्य शेर्पा, विन थापा मगर, रामदास मानन्धर, निराजन लामा, मिलन परियार, राजकुमार थापा, रामेश्वर मानन्धर, केदारप्रसाद फँुयाल, गणेश क्षेत्री, धर्म शाही, उपेन्द्र आचार्य, रङ्गेश तामाङ, सुरेश लामा, प्रेम तामाङ, मानबहादुर तामाङ, राजकुमार घिसिङ, सोम लामा, राजु लामा, अविनाश तामाङ, सुजन मगरलगायत छन्।
तामाङ समूह तमलोपाको भ्रातृ सङ्गठन तराई-मधेश सुरक्षा सेवा संघको सदस्यता लिएर पार्टी प्रवेश गरेको हो। पार्टी अध्यक्ष महन्थ ठाकुरको विशेष निगरानीमा चल्ने उक्त संघका अध्यक्ष कौशलेन्द्र शर्माको पहलमा उनीहरूलाई लिइएको स्रोतको भनाइ छ। यसमा पार्टी महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले पनि विशेष चासो लिएको तमलोपाका भित्रियाहरू बताउँछन्।
डन भनेर चिनिनेहरू भन्दा पनि तिनलाई संरक्षण दिनेहरू वास्तविक डन हुन्। - राजेन्द्र सिंह भण्डारी प्रमुख, सीआईबी
स्थापनाको केही समय भूमिगत रहेको तराई-मधेश सुरक्षा सेवा संघ तमलोपा नेताहरूको सुरक्षाको जिम्मेवारी बहन गर्ने भ्रातृ सङ्गठन हो। यसका गतिविधिबारे तमलोपाका धेरैजसो नेतालाई अहिले पनि थाहा छैन। तामाङ समूहलाई स्वागत गर्न तमलोपाको केन्द्रीय कार्यालय बिजुलीबजारमा आयोजित कार्यक्रममा पनि पार्टीका धेरै केन्द्रीय नेता र भ्रातृ सङ्गठनका प्रतिनिधि उपस्थित थिएनन्। संघका अध्यक्ष कौशलेन्द्र शर्मा भन्छन्, “पार्टी चलाउन विभिन्न शक्ति परिचालन नगरी नहुने भएकाले काठमाडौंका पहाडी युवकहरूलाई एकत्रित गरेका हौं। काठमाडौंमा हामीलाई विरोधको सानो कार्यक्रम गर्न पनि ठूलो कठिनाई थियो।” अध्यक्ष शर्माको भनाइबाट तामाङ समूहलाई विभिन्न दबाब र विरोध अभियानमा परिचालन गर्ने रणनीति अनुसार संघमा ल्याइएको बुझन सकिन्छ।
विक्रम राई
बानेश्वरस्थित फोरम लोकतान्त्रिकको भ्रातृ संगठनहरूको कार्यालय जहाँ लामाको निजी कार्यालय पनि छ।
पार्टीका नेता र केही भ्रष्ट प्रहरी अधिकृतको साथ पाएर मौलाएको आपराधिक समूहहरूको सञ्जाल तोड्न प्रहरी सङ्गठनलाई कठिन भइरहेको तथा गुण्डागर्दी, रकम असुलीदेखि अपहरण र हत्यासम्मका अपराधमा कोही समातिने बित्तिकै तिनै अधिकृत र नेताहरूको दबाबमा कारबाही नहुने गरेको अवस्थामा गणेश लामाले उप-प्रधानमन्त्री भइसकेका गच्छदारको छहारी पाएका हुन्। २०४६ पछि उदाएका राजधानीका आपराधिक डनमध्ये चक्रे मिलनले सङ्गठित अपराध शुरु गरेदेखि नै एमालेको, दीपक मनाङेले राष्ट्रिय प्रजातन्त्र पार्टीको र राजु गोर्खालीले नेपाली काङ्ग्रेसको छाता ढेका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारी प्रहरीलाई आफ्नै ढङ्गले काम गर्न दिए सङ्गठित अपराध नियन्त्रण हुन धेरै समय नलाग्ने बताउँछन्। दलका नेता र अपराध समूहका नाइकेको एकअर्कालाई उपयोग गर्ने स्वार्थका कारण अपराध मौलाएको उनको ठम्याइ छ। आपराधिक समूह र नेताहरूको साँठगाँठले सामाजिक मूल्यमान्यतासँगै राजनीतिक, सामाजिक, आर्थिक आचारमा विचलन आएको बताउने डीआईजी भण्डारी भन्छन्, “आपराधिक समूहका त निश्चित पात्र र परिधि हुन्छन्। डन भनिने ती व्यक्ति र समूह भन्दा पनि तिनलाई संरक्षण दिनेहरू वास्तविक डन हुन्।”
यी हुन् गणेश लामा
काभ्रे खहरेपाङमा जन्मे-हुर्केर राजधानीको पशुपति क्याम्पसमा आईएसम्म अध्ययन गरेका गणेश लामा (३२)ले दीपक मनाङेको सहयोगीका रूपमा राजधानीको रात्रिकालीन व्यवसायमा पकड जमाएका हुन्। २०६० सालदेखि भारतबाट भित्रिने रक्तचन्दन चीनको खासा पुर्याउने धन्दामा लागेपछि रातारात चम्किएका उनले काभ्रेलीहरूको आफ्नै समूह खडा गरे।
राजधानीमा राजु गोर्खालीको पलायनपश्चात् चक्रे मिलन र दीपक मनाङेपछिको तेस्रो गुण्डा शक्तिको रूपमा उदाएका लामाले चक्रे र मनाङे जेल परेपछि यहाँको क्यासिनो, बालुवाखानी र हाउजिङसँगै निर्माण क्षेत्रमा हात हाले। क्यासिनोमा हारेका नेपालीहरूलाई महङ्गो व्याजमा ऋण दिने गिरोहका एक नाइके रहेका उनलाई यहीबीचमा गच्छदारको धाप मिलेकाले अवैध धन्दा चलाउन झ्न् सजिलो भयो।
२०५० सालमा विवाह गरेर श्रीमती र एक छोराका साथ तीनकुनेमा बस्दै आएका लामाको सम्पत्ति एक अर्ब हाराहारी आँकिन्छ। सिरुवा कन्स्ट्रक्सन बाहेक उनको उपत्यकाका तिनै जिल्लामा जमिन; काठमाडौं र ललितपुरमा घर, विभिन्न होटल, ब्याङ्क र सहकारीहरूमा शेयर, ठमेलमा केही डान्स बार र मेलम्ची ऐकोन क्रसर उद्योग छन्। प्लस टु पढिरहेका भाइ राकेशको नाममा समेत क्रसर उद्योग, कन्स्ट्रक्सन कम्पनीको शेयर र दुई वटा अलग्गै घर राखेका लामा मेट्रो फाइनान्स ठमेलका शेयर होल्डर र स्मृति निर्माण फर्मका मालिक पनि हुन्। यसबाहेक रामेछाप सडक कालोपत्रे र बनेपा बसपार्क निर्माण, इमिग्रेसन निर्माण कम्पनी सिन्धुली, हाईवे निर्माण कम्पनी तीनकुने, सूर्य विनायक मेटरियल सप्लाई कम्पनी, वाग्मती सिंचाई, काठमाडांै जिविसलगायतको ठेक्कामा पनि संलग्न रहँदै आएका छन्।
विलासी गाडीमा हिँड्ने लामा विभिन्न समयमा पक्राउ परे पनि नेताहरूको सहयोगमा छुट्दै आएका छन्। २०६२ मा हातहतियार, खरखजाना र ज्यान मार्ने उद्योगमा दुई पटक तथा २०६६ मा एकपटक पक्राउ परेका उनी ६ माघ २०६६ मा गोठाटारमा एक बालकको ज्यान जाने गरी भएको गोलीकाण्डमा मुछिएर दुबई फरार भएका र ११ भदौ २०६७ मा जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा आत्मसमर्पण गर्न आइपुगेका थिए। तर, उनले त्यसअघि नै अदालतबाट सफाई लिएर आएकाले १५ दिनभन्दा बढी थुन्न नमिलेको तत्कालीन प्रहरी उपरीक्षक रमेश खरेल बताउँछन्।
नेपाल प्रहरीको सीआईबीले ८ असोज २०६७ मा राष्ट्र ब्याङ्कको वित्तीय ईकाईलाई पत्राचार गरेर सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार लामाको सम्पत्ति छानबिन गर्न अनुरोध गरेको छ।
सभार : हिमाल






No comments:
Post a Comment