श्रमनीतिमा व्यापक हेरफेर गर्ने मलेसियाको तयारी सबै अवैध कामदारलाई बैध बनाइने

क्वलालम्पुर (मलेसिया), चैत्र १८ - मलेसियाले अवैधानिक रुपमा रहेका सबै विदेशी कामदारहरुलाई वैधानिक बनाउने भएको छ । उसले आफ्नो श्रमनीतिमा थप हेरफेर गरी बिना कानुनी कारबाही अवैधानिक कामदारहरुलाई बैधानिकता दिने अन्तिम तयारी गरेको हो ।


यहाँस्थित नेपाली राजदुत ऋषिराज अधिकारीसँग बिहीबार भएको भेटमा मलेसियाका श्रम तथा मानव संशाधन मन्त्री सुब्रामानियम साथासिभम्ले अबैधकामदारलाई बैध बनाउने, लेभी तथा न्यूनतम पारिश्रमिक, विभिन्न देशसँगको श्रम सम्झौतालगायत विदेशी कामदारसम्बन्धी श्रमनीतिमा व्यापक हेरफेर गर्न लागिएको बताए ।
यसअघि मलेसियाले अवैधानिक कामदारहरुलाई आम माफी दिई घर फर्काउने जनाएको भएपनि त्यसो गर्दा पुनः अवैधानिक हुनेहरुको संख्या बढ्दै जानसक्ने र श्रमबजार अव्यवस्थित हुनसक्ने भन्दै यसो गरिन लागेको सुब्रामानियमलाई उदृत गर्दै राजदुत अधिकारीले बताए ।
'उहाँले यहाँ रहेका सबै अबैध कामदारहरुलाई बैध बनाउन अन्तिम तयारी गरिएको बताउनुभयो । अब चाँडै उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित मन्त्रिपरिषद् यसलाई अनुमोदन गरेपछि यो नीति लागू हुन्छ । यो हाम्रो लागि सुखद् कुरा हो' उनले भने ।
राजदुत अधिकारीका अनुसार, अबैधानिक कामदारलाई बैधानिक बनाउने नीति छिट्टै पारित हुने भएकाले बायोमेट्रीक प्रणालीअनुरुप यसलाई अघि बढाइने अन्तिम तयारी भइरहेको छ । यो नीति पारित भएपछि बायोमेट्रीक प्रणाली अनुरुप बैध तथा अबैध विदेशी कामदारहरुको विवरण दर्ता, अनुगमन र बैधानिकताका लागि कार्यन्वयन गरी तीन चरणमा यो सबै प्रक्रिया पूरा हुनेछ । यसअघि आममाफी दिइ बिना कानुनी कारबाही अवैधानिक कामदारहरुलाई घर फर्काउने बताइएको थियो । स्रोतका अनुसार, त्यसरी घर फर्काउँदा पुनः अवैधानिक बन्नेको संख्या बढ्दै जानसक्ने भन्दै पहिले गर्ने भनिएको सो निर्णय बदलिएको हो ।
राजदुत अधिकारीले मलेसियाले हेरफेर गर्न लागेको नयाँ श्रमनीति पारित भई लागू भएमा यसबाट नेपालीको मागमा कुनै असर नपर्ने बताए । उनले भने, 'अहिले यहाँ जति संख्यामा अवैधानिक कामदारहरु रहेका छन्, यी सबैलाई बैध बनाएपछि पनि माग भइरहन्छ । यसले नेपाली कामदारको मागलाई खासै असर पार्ने छैन । बरु यहाँको श्रमबजार सु-व्यवस्थित हुनेछ ।' मलेसियाले यहाँका कम्पनीहरुसँग अवैधानिक कामदारहरुको पहिचान हुने गरी उनीहरुको नाम दर्ता गराउन अन्तिम तयारी गरिरहेको छ । भेटमा सुब्रनियमले सक्दो चाँडो यो नीति पारित गरिनेमा ढुक्क हुन आग्रह गरेका थिए ।
मलेसियाको सरकारी तथ्यांक अनुसार, यहाँ करिब १८ लाख विदेशी कामदारहरु बैध रुपमा कार्यरत छन् । यी बाहेक झण्डै त्यत्तिकै संख्यामा अवैध कामदारहरुसमेत रहेको मन्त्री सुब्रनियमलाई उदृत गर्दै राजदुत अधिकारीले बताए । मलेसियाले बैध रहेका विदेशी कामदारहरु मध्ये १ लाख ७४ हजार नेपाली बैध रहेको समेत जनाएको छ । यसबारे एकिन तथ्यांक नेपाली दुतावाससँग पनि छैन । राजदुत अधिकारीले भने "हामीसँग यसबारे कुनै ठोस डाटा छैन । हामीलाई सरकारलाई यसबारे तथ्यांक उपलब्ध गराउन अनुरोध गरेको पनि धेरै समय भइसक्यो अहिलेसम्म त्यसबारे कुनै जानकारी पाएका छैनौं ।" तर, मलेसियामा हाल करिब ४ लाख भन्दा बढीको संख्यामा नेपालीहरु कार्यरत रहेको अनुमान छ ।
मलेसियाको सरकारी तथ्यांक र नेपाल सरकारको तथ्यांकलाई दाँज्ने हो भने झण्डै डेढ लाख नेपालीहरु यहाँ अवैधानिक रहेको देखिन्छ । अबैध कामदारलाई बैध बनाउने मलेसियाली सरकारको यो नीति पारित भइ लागू भएमा यसबाट अबैध अनुमान गरिएका करिब डेढ लाख नेपालीहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।
मलेसियाले नेपाल, इण्डोनेसिया, बंगलादेश, फिलीपिन्स, म्यानमार र भियतनाम लगायत देशहरुबाट विभिन्न क्षेत्रका लागि कामदारहरु लिँदै आएको छ । मलेसियाका लागि नेपाल इण्डोनेसियापछिको दोस्रो ठूलो कामदार दिने मुलुकको रुपमा रहेको छ । यहाँ सबैभन्दा बढी इण्डोनेसियन कामदारहरु अवैधानिक रहेको बताइन्छ । मलेसियाली सरकारले हेरफेर गर्न लागेको यो नीति पारित भई लागू भएमा १२ लाख भन्दा बढीको संख्यामा यहाँ रहेका अवैध विदेशी कामदारहरु बैध हुनेछन् ।
साभार - इ. कान्तिपुर

No comments: