पाकिस्तानद्वारा अमेरिकालाई चेतावनी

अमेरिकाले डोर्न हमला बन्द नगरे पाकिस्तान भएर अफगानिस्तान जाने नेटो सेनाको सप्लाइ बन्द गर्ने चेतावनी संसद्ले दिएको छ




इस्लामावाद/ पाकिस्तानी संसद्ले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा पुनर्विचार गर्न माग गरेको छ । अमेरिकी सेनाले पाकिस्तानी भूमिमा छिरेर ओसामा बिन लादेनलाई मारेपछि पाकिस्तानी सम्प्रभुताको हनन भएको पाकिस्तानले आरोप लगाएको छ । अमेरिकाले डोर्न हमला बन्द नगरे पाकिस्तान भएर जाने नेटो सेनाको सप्लाइ बन्द गर्ने चेतावनी पनि संसद्ले दिएको छ । अमेरिकाले विनाअनुमति पाकिस्तानी भूमिमा बिन लादेनको हत्या गरेपछिको उत्पन्न स्थितिबारेमा पुनर्विचार गर्न शनिबार संसद् बोलाइएको थियो । शनिबार बसेको यस आकस्मिक बैठक दस घन्टासम्म चलेको थियो । संसद्ले अमेरिकी अभियानको सम्बन्धमा अनुसन्धान माग गरेको छ । यसैगरी, दुवै सदनले अमेरिकी चालकरहित विमान वा डोर्न हमला पूर्ण स्थगन गर्ने माग राखेका छन् । यदि डोर्न हमला स्थगित नभएमा पाकिस्तानमार्फत अफगानिस्तान जाने नेटो सेनाको सप्लाइ बन्द गरिने चेतावनी दिइएको छ । गत वर्षमात्र अफगानिस्तानसँग सीमा रहेको पहाडी इलाकामा अमेरिकाले एक सय डोर्न हमला गरेको थियो । ओसामा बिन लादेनविरुद्ध भएको अमेरिकी हमलाको स्वतन्त्र छानबिन गर्न पनि संसद्ले माग राखेको छ । अमेरिकी हमलाले पाकिस्तानको सम्प्रभुता उल्लंघन गरेको पनि पाकिस्तान संसद्ले सर्वसम्मतिले प्रस्ताव पास गरेको हो ।

विन लादेनविरुद्ध गरिएको सैन्य कारबाही सफल भएपछि अमेरिकाले कारबाहीको खबर लिक हुने डरले पाकिस्तानलाई सुरुमै नदिइएको बताएको थियो । पाकिस्तानी इतिहासमा पहिलोपटक खुफिया संस्थाका प्रमुख सुजा पासा संसद्मा पेस भएका थिए । उनले सांसदको प्रश्नको उत्तर दिएका दिए । सांसदका कडा प्र्रश्नको जवाफ दिइसकेपछि उनले प्रधानमन्त्रीसमक्ष्ा राजीनामा पेस गरेका थिए । तर, प्रधानमन्त्री रजा युसुफ गिलानीले उनको राजीनामा स्वीकार गरेनन् ।


अलकायदाप्रमुखको पाकिस्तानमा रहेको सम्बन्धमा पाकिस्तानी संसद्ले पारित गरेका कुनै पनि प्रस्तावमा उल्लेख छैन । अधिकांश छलफल पाकिस्तान र अमेरिकाको सम्बन्धमा केन्दि्रत छ ।

२ मेमा अमेरिकी सैन्य अभियानमा अलकायदाप्रमुख ओसामा बिन लादेन पास्कितानको एबटावादस्थित भव्य घरमा मारिएका थिए । बिन लादेनको मृत्युपछि पाकिस्तान र अमेरिकाको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा बिगि्रएको छ ।

ओसामा बिन लादेन आफ्नै देशमा बसिरहेका पाकिस्तानी अधिकारीलाई जानकारी भएको आरोप लगाउँदै अमेरिकी कंग्रेसका सदस्यले पाकिस्तानलाई दिँदै आएको अर्बाैं डलर सहयोग कटौती गर्न माग गरेका छन् ।

'पाकिस्तानी जनताले अब अमेरिकाको त्यस्तो रवैया सहने छैन । एकतर्फीे रूपमा गरिएका यस्ता कारबाहीले यस क्ष्ाेत्र र विश्वको शान्ति र सुरक्षा ठूलो मुल्य चुकाउनु पर्नेछ,' संसद्ले पारित गरेको प्रस्तावमा भनिएको छ ।



हमलाको अमेरिकाद्वारा निन्दा

पाकिस्तानमा शनिबार भएको दुई शंृखलाबद्ध विस्फोटको अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ ।

विदेश मन्त्रालयले जारी विज्ञप्तिमा सो हमला अमानवीय भएको बताइएको छ । यस्ताखालका अतिवादी संगठनले गरेका हमलाप्रति अमेरिकाले सधैँ निन्दा गर्ने बताएको छ ।

पाकिस्तानमा शनिबार भएका दुई आत्मघाती बम विस्फोटमा कम्तीमा ८० अर्ध सैन्य अधिकारी एवं अन्य कर्मचारीको मृत्यु भएको थियो ।

उत्तर-पश्चिमी पाकिस्तानमा भएको बम हमला पाकिस्तानको सबक्दारस्थित एक अर्धसैनिक केन्द्रमा गराइएको थियो ।

हालै पाकिस्तानको एबटावदामा भएको आक्रमणका क्रममा मारिएका विश्व आतंककारी सञ्जाल अलकायदाका नेता ओसामा बिन लादेनको हत्यापछि पाकिस्तानमा भएको यो सबैभन्दा ठूलो हत्याको घटना हो । ओसामा बिन लादेनको हत्याको बदला लिन यो विस्फोट गराइएको पाकिस्तान तालिवानले बताएको छ ।

पाकिस्तानी तालिवानीका प्रवक्ता असनुल्लाह असानले पाकिस्तानी सञ्चारमाध्यमलाई फोनमार्फत विस्फोटको जिम्मा लिएका छन् ।
साभार : नया पत्रिका

No comments: