बाइकलाई बे्रक !

राजधानीको एउटा स्कुलले प्लस टु सरहको 'ए लेभल' भर्ना हुन मोटरबाइक हुइँक्याएर पढ्न आउन नपाइने सर्त अघि सार्‍यो । चेल्सी इन्टरनेसनल एकेडेमीले भर्ना आवेदन खुलेको विज्ञापनमै दुई वर्ष मोटरसाइकल नकिन्ने प्रतिबद्धता खोजेको थियो ।


भर्खर एसएलसी पास गरी ए लेभल पढ्न आएका अल्लारे छात्रछात्रालाई मोटरबाइक हुइँक्याउँदै पढ्न आउने छुट दिँदा तिनको व्यक्तिगत सुरक्षा खतरामा पर्नुका साथै पठनपाठन प्रभावित भएकाले यस्तो सर्त राख्नुपरेको बताउँछन्, पि्रन्सिपल सुधीरकुमार झा । 'प्लस टुमा भर्ना हुने भनेका सामान्यतया सोह्र सत्र वर्षका हुन्छन्,' उनले भने,

'मोटरसाइकल हुइँक्याउँदा तिनको दिमागमा जोस हावी भएर होस हराउने गरेको छ ।' असुरक्षित हँकाइका कारण दुर्घटनामा परेका छात्रछात्राको समवेदना पटकपटक अखबारमा देखिन थालेकाले मोटरबाइक निषेध गर्नुपरेको उनले सुनाए ।

पाँच वर्ष स्कुल सञ्चालनमा उनले अल्लारे उमेरमा मोटरबाइकको सुविधा पाउँदा विद्यार्थीले पढाइ बिगारेको अनुभव गरेका छन् । उनको स्कुलमा ए लेभल पढ्ने पच्चीस प्रतिशत जति विद्यार्थी मोटरबाइक चढेर आउँछन् । एसएलसीमा उम्दा देखिएका विद्यार्थीले प्लस टुमा 'क्लास बंक' गरेर घुम्न निस्कने गरेका छन् । केटा र केटीको जोडी बनाएर बंक गर्ने पनि छन् । यसमा मोटरसाइकलले उनीहरूलाई सजिलो बनाइदिएको झाको अनुभव छ । यस्ताको देखासिकीमा अरूले पनि बावुआमालाई मोटरबाइक किन्न दबाब दिने उनी सुनाउँछन् ।

अभिभावकलाई यी सबै व्यहोरा अवगत गराई छोराछोरीको रहर पूरा नगर्न अनुरोध गरे पनि मोटरबाइक किन्नेको संख्या घट्नुको साटो बढेकाले यस्तो नियम लगाउनुपरेको झा बताउँछन् । 'कसैले मोटरबाइक भए मेहनत गरी पढ्छु भनेर फकाउँदा रहेछन्,' उनले भने, 'कसैले चाहिँ घुक्र्याएर बाध्य बनाउँदा रहेछन् ।'

उपत्यकाका सडकमा मोटरसाइकल गुडेको देख्दैमा यो स्कुल क्षेत्र हो भनेर छुट्टनिे गरेको महानगरीय ट्राफिक महाशाखाका डीआईजी विज्ञानराज शर्माको अनुभव छ । 'तीव्र गतिमा नागबेली गर्दै हेभी मोटरबाइक कुदाउँदै गरेका केटाहरू देखिन थाले भने स्कुल क्षेत्रमा आइपुगिएछ भन्ने ठाने हुन्छ,' उनले भने । पछिल्लो समयमा स्कुटी हुइँक्याउने किशोरीहरूले पनि किशोरको बाटो पछ्याउन थालेको उनले पाएका छन् ।

उच्च माध्यमिक विद्यालय एसोसिएसन -हिसान) का अध्यक्ष उमेश श्रेष्ठले त प्लस टु तहका छात्रछात्राले मोटरबाइक हाँकेर स्कुल आउन नपाउने आचारसंहिता बनाउन प्रयास गरेका थिए । तर विद्यार्थीको मानवअधिकार हनन हुन्छ भनेर कतिपय स्कुल सञ्चालकले विरोध गरेकाले उनको प्रयास सफल हुन सकेको छैन । 'विद्यार्थी तान्ने अस्वस्थ प्रतिस्पर्धाले गर्दा आचारसंहिता बन्न सकेको छैन,' उनले भने । आचारसंहिता बनाउने प्रयास असफल भए पनि श्रेष्ठले आफ्नो स्कुल लिटल एन्जेल्समा प्लस टुका विद्यार्थीलाई मोटरबाइक निषेध गरिदिएका छन् । यसबाहेक असुरक्षित तरिकाले कुदाउने विद्यार्थीलाई कारबाही र ट्राफिक ज्ञान दिने खालका कार्यक्रम सञ्चालन गर्न प्रहरीलाई गुहारेको उनले बताए । 'स्कुल क्षेत्रमा चेकजाँच गरी असुरक्षित तरिकाले हुइाक्याउने, लाइसेन्स नहुने र दुईभन्दा बढी सवारी गर्नेलाई कारबाही गर्न भनेका छौं,' उनले भने, 'आखिर दुर्घटनाको जोखिम कम गर्ने प्रयास त छाड्नु भएन ।'

विद्यार्थीलाई मोटरबाइक चढ्न दिँदा श्रेष्ठले देखेका नकारात्मक प्रभाव झाको भन्दा फरक छैनन् । 'स्कुल बंक गरी जोडी बाँधिएर सिनेमाहल र रेस्टुरेन्ट पुग्छन् । बसमा आयो भने स्कुल छिर्ने निश्चित हुन्छ बंक गर्ने सम्भावना कम,' उनले भने, 'तर मोटरबाइकमा हिँडेका विद्यार्थी स्कुल नआइपुग्न सक्छन् ।' उपत्यकामा मोटरबाइकल निषेध गर्ने क्रम सुरु भएको जनाउँदै यस्ता स्कुलको संख्या क्रमशः बढ्ने उनको विश्वास छ । 'पढाउनकै लागि स्कुल खोलिएको हो भने प्लस टुसम्म मोटरबाइक निषेध नगरी सुखै छैन,' उनले भने ।

महानगरीय ट्राफिक महाशाखाले स्कुले विद्यार्थीको मोटरबाइकको गति नियन्त्रण लक्षित चेकजाँच गर्ने गरेको डीआईजी विज्ञानराज शर्माले बताए । साताको कम्तीमा एकपटक बिहानको समयमा स्कुल क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँच गर्छन् । 'अधिकांश विद्यार्थी लाइसेन्सबिना मोटरबाइक कुदाइरहेको फेला पर्छन्,' उनले थपे, 'यसबाहेक तीव्र गतिमा सवारी कुदाउने, तीनजना चढ्ने, हेल्मेट नलगाउने त छँदै छ ।'

तीव्र गतिमा गुड्न चाहने जोसिला किशोरहरूले स्पोर्टी र हेभी खालका मोटरबाइक रुचाउने होन्डाको आधिकारिक बिक्रेता स्याकार कम्पनीका कार्यकारी निर्देशक सौरभज्योति बताउँछन् । सुरक्षित यात्राको उतिसारो परवाह नगर्ने भएकाले किशोरहरूलाई सुरक्षित सवारी र ट्राफिक नियमका बारेमा सचेत गराउन जरुरी रहेको उनी बताउँछन् । उनको कम्पनीले त मुलुकमै एकमात्र 'सेफ्टी राइडिङ सेन्टर' नै सञ्चालन गरिरहेको छ । 'हामी नजान्नेलाई सवारी चलाउन सिकाउँछौं, उनले भने, 'जान्नेले पनि सुरक्षित सवारी सिक्न सक्छन् ।' ट्राफिक प्रहरीले स्कुल कलेजमा गएर कक्षा सञ्चालन गरिरहेको बताउने डीआईजी शर्मा अभिभावकले पनि सिकाउनुपर्ने बताउँछन् । 'दुर्घटना भएपछि पछुताउनुभन्दा पहिले लाइसेन्स लिनुपर्छ, तीव्र गतिमा चलाउनु हँुदैन भन्ने कुरा छोराछोरीलाई सिकाउनुपर्‍यो,' उनको सुझाव छ ।

कानुनअनुसार १६ वर्ष उमेर पुगेपछि नागरिकता प्रमाणपत्र पाउन सकिन्छ । नागरिकता लिएका हरेक नेपाली सवारीचालक इजाजतपत्र -लाइसेन्स) को हकदार हुन्छन् । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका डीआईजी टपेन्द्रध्वज हमाल सवारी दुर्घटनामा अल्लारे उमेरमा लाइसेन्स दिने चलन पनि कारण रहेको बताउँछन् । 'यस्तो उमेरमा तीव्र गतिमा सवारी हुइँक्याउन मन लाग्छ । गतिमा नियन्त्रण हुँदैन,' मोटरसाइकलबाहेक माइक्रोबस पनि धेरैजसो चालक यही उमेरका भएकाले सडकमा बढी अराजक देखिने उनको ठम्याइ छ । डीआईजी शर्मा त बीस वर्षभन्दा कम्ता उमेरकालाई लाइसेन्स नै दिन नहुने बताउँछन् ।

निर्देशनालयका अनुसार आर्थिक वर्ष २०६७/६८ मा १० हजार ३ वटा सवारी दुर्घटना भएका थिए । यसमा ४ हजार २३ वटा मोटरसाइकल, दुई हजार ६ सय ५२ वटा कार, जिप, भ्यान दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ज्यान गुमाउने १ हजार २ सय ६२ जनामा १ सय ४९ बालबालिका थिए । गम्भीर घाइते हुनेको संख्या ३ हजार ३ सय १७ थियो ।
साभार - इ. कान्तिपुर

No comments: