हामी आफैंले बनाएको सरकारको राजीनामा माग्दैनौ'


काठमाडौ, जेष्ठ १७ - माओवादी सचिव सीपी गजुरेलले झलनाथ खनाल नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने पार्टी निर्णय विपरित राजीनामा गराउने भनी अध्यक्ष प्रचण्डले गरेको सहमतिको विषयमा पार्टीमा गंम्भीर छलफल हुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा गजुरेलले पार्टीले राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीको राजिनामा गराउने विषयमा म्याण्डेड नदिएकोले त्यस्तो सहमति कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे । उनले पार्टी निर्णय विपरित कसरी यस्तो भयो भन्ने विषयमा पार्टीभित्र गंम्भीर छलफल हुने स्पष्ट पारे । गजुरेलले भन,‘हामिले आफैं बनाएको सरकारको राजिनामा माग्दैनौं । पार्टी निर्णय विपरित प्रधानमन्त्रीको राजिनामामा हस्ताक्षर भएको छ ।’
गजुरेलले राष्ट्रिय सहमति कायम नभई प्रधानमन्त्रीको राजिनामा नआउने स्पष्ट पार्दै अहिले प्रधानमन्त्रीलाई राजिनामा दिन लगाएर मुलुकको अवस्था झनै कष्टकर बनाउन नहुने तर्क गरे ।
उनले यहि सरकारमा अरु दल आएर राष्ट्रिय सहमतिको स्वरुप दिनु पर्ने भन्दै अन्य पार्टी आए सोही अनुरुप सरकारको नेतृत्वमा आलोपालो हुने समेत स्पष्ट पारे ।
संविधानसभाको म्याद थप्नु अघि तीन प्रमुख दलहरुबीच भएको पाँचबुँदे सहमति कार्यान्वयन सहज ढंगले हुनै नसक्ने दावी गर्दै गजुरेलले संविधानसभाको म्याद थप सम्बन्धमा माओवादीलाई चेपुवामा पारिएको र पार्टीको निर्णय विपरित प्रधानमन्त्रीको राजिनामाको विषय उल्लेख भएकोले पनि कार्यान्वयन सहज नभएको दावी गरे ।
माओवादीले तत्काल हतियार सरकारलाई नबुझाउने स्पष्ट पार्दै गजुरेलले समायोजन र हतियार बुझाउने काम सँगसँगै हुनु पर्ने बताए । उनले भने, ‘हतियार खोसिएका नागरिकलाई के मा समायोजन गर्ने ? हतियार नभएको पनि सेना हुन्छ । त्यसैले समायोजन र हतियार बुझाउने काम सँगै बढ्छ । पहिला हतियार बुझाउने काम मान्य हुदैन ।’ महिनाभित्र सेना समायोजन सक्ने भनी पार्टीको तर्फबाट भएको सम्झौता ऐतिहासिक भुल भएको भन्दै उनले शान्ति प्रक्रिया टुङग्याएर संविधान पछि बनाउने कुरा मान्य नहुने चेतावनी दिए ।
यस्तै कांग्रेस नेता गोपालमान श्रेष्ठले कांग्रेसलाई प्रधानमन्त्रीको राजिनामाको विषयमा हतार नभएको स्पष्ट पार्दै अर्को प्रधानमन्त्री को भन्ने विषय सहमति नभई राजिनामा आउन नहुने तर्क गरे । कार्यक्रममा सिंचाईमन्त्री रघुवीर महासेठले सहमतिको बैकल्पीक व्यवस्था नभई प्रधानमन्त्रीले कुनै पनि हालतमा राजिनामा नगर्ने दावी गर्दै बैकल्पिक व्वस्था नभई प्रधानमन्त्रीले राजिनामा दिने सहमति नभएको बताए । उनले भने, ‘कसैले माग्दैमा प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न । जुन दिन विकल्पमा सहमति बन्छ । त्यसपछि एक घण्टामा प्रधानमन्त्रीले राजिनामा दिनु हुन्छ ।’
साभार - इ. कान्तिपुर

No comments: